Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
हो, विद्रोह हुनसक्छरामबहादुर थापा 'बादल' पोलिटब्युरो सदस्य, नेकपा माओवादी - [2006-07-07]

आपसमा मतभेद बढेपछि गत वर्ष हिउँदमा रुकुम, चुनवाङमा सम्पन्न पार्टीको बैठकबाट 'एकअर्कामा विलीन भएका' मध्ये प्रचण्ड र डा. बाबुराम भट्टराई सार्वजनिक कार्यक्रममा सधैँ सँगै देखिन्छन्। तर, उसबेला 'विलीन भयौँ' भन्दै अध्यक्ष प्रचण्डलाई अँगालो हालेर रोएका अर्का वरिष्ठ नेता रामबहादुर थापा 'बादल' उनीहरूभन्दा भौतिक रूपमा निकै टाढा भेटिए, सप्तरीको कल्याणपुरमा। करीब दुई घण्टा लामो अन्तर्वार्ताको क्रममा उनले चाहँदा नचाहँदै विवादको तूष अझै बाँकी रहेको प्रशस्त छनक दिएका छन्।



माओवादी पार्टीमा सशस्त्र सङ्घर्षका योजनाकार र सङ्गठनमा राम्रो पकड भएको मानिने बादलले हेडक्वार्टरमा महत्त्वपूर्ण जिम्मा दिइएका डा. भट्टराई र स्वयं अध्यक्ष प्रचण्डविरुद्ध समेत साङ्केतिक रूपमा थुप्रै असन्तुष्टि व्यक्त गरेका छन्। भारतको नयाँदिल्लीबाट मकवानपुरहुँदै पूर्वाञ्चल पुगेको बेला प्रचण्ड र बादलबीच लामो कुराकानी भएको थियो। मतभेद छताछुल्ल नहोस् भनेर गरिएको भनिएको उक्त वार्ताले समेत बादललाई सन्तुष्ट पार्न सकेको देखिएन।



कतिपयले आशङ्का गरेझैं बादललाई माओवादीकै सुरक्षा घेराभित्र राखिएको भने खुल्न सकेन। तर, अन्तर्वार्ताको क्रममा पार्टीभित्रको विवादबारे उन्मुक्त भई बोल्दा कोठा बाहिर बसेका माओवादीकै नेताहरूले पटक–पटक 'समय अभाव' भन्दै अवरोध पुर्‍याएको देख्दा उनी \'कतै स्वतन्त्र छैनन् कि!\' भन्ने आभास मिल्थ्यो।




• जनक अर्याल/जेबी पुन





सरकार–माओवादी वार्तालाई कसरी लिनुभएको छ?

निर्णायक बनाउनुपर्छ भन्ने हाम्रो जोड छ। त्यो निर्णायक नहुन पनि सक्छ। विफल हुने सम्भावना पनि छ। तर, त्यो हाम्रो हातमा छैन।



वार्ता विफल हुने सम्भावना देख्नुहुन्छ?

षड्यन्त्र, सशस्त्र दमन, बाह्य हस्तक्षेप भयो भने वार्ता विफल हुनसक्छ। तर हाम्रो कारणले वार्ता विफल हुँदैन। अहिले लिङ्गरिङ गर्ने, सेनाले वक्तव्य दिने, सहमतिमा सही गरेर फेरि विरोध गर्ने, जुन कुरा भइराखेको छ, त्यसले वार्तालाई बल पुर्‍याउँदैन।



वार्ताबाटै गणतन्त्र आउँछ त?

आउँछ भनेर हामी लागिरहेका छौँ। शान्तिपूर्ण रूपले गणतन्त्र आउनु सकारात्मक हुनेछ। जनताको चाहना पनि त्यही छ। हामीले चाहेर मात्रै आउने होइन, जनताले चाह्यो भने आउँछ।



तपाईँले वकालत गरिरहनुभएको गणतन्त्र र एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद उस्तै हो कि भिन्न छ?

एमालेको जनताको बहुदलीय जनवाद र हाम्रो गणतन्त्र भिन्न मात्र हैन, उल्टो छ। एमालेहरू संसदीय गणतन्त्रको कुरा गर्छन् भने हामी संघीय गणतन्त्रको कुरा गर्छौँ। उनीहरूको गणतन्त्रमा राजा नहुने भो, तर संरचना भने यथावत् रहिरहने भो। उनीहरू ७५ जिल्ला, १४ अञ्चल र संसदीय वा एकात्मक गणतन्त्रको अवधारणामा छन्। हाम्रो मान्यतामा भारतको जस्तो संसदीय, संघीय व्यवस्थाले यहाँको जातीय, वर्गीय, लिङ्गीय समस्यालाई सम्बोधन गर्न सक्दैन। त्यसैले हामीले परम्परागत मोडल हैन, नयाँ मोडल प्रयोग गर्नुपर्छ भनिरहेका छौँ, जुन समानुपातिक र संघीय प्रणाली भएको व्यवस्था हो।



जिउँदोहुँदा विरोध गर्ने माओवादीहरू अहिले किन मदन भण्डारीको प्रशंसा गर्ने स्थितिमा पुगे?

मदन भण्डारी सामन्तवाद, साम्राज्यवाद विरोधी भएकाले हत्या भएको हो भन्ने हाम्रो बुझाइ छ। जहाँसम्म जनताको बहुदलीय जनवादको कुरा छ, त्यो संसदीय र सुधारवादी धार हो। आन्दोलनको बलमा अहिले एमाले लोकतान्त्रिक गणतन्त्र भन्ने स्थितिमा आयो। सुधारवादी जनताको बहुदलीय जनवादलाई क्रान्तिकारी बहुदलीय जनवादमा रुपान्तरण गरौँ भन्ने हाम्रो जोड हो। मदन भण्डारी देशभक्त र जनवादी थिए। त्यो अर्थमा हामीले उनको प्रशंसा गर्नुपर्छ।



संविधानसभाबाट अपेक्षित परिणाम नआए फेरि युद्धमा फर्किनुहुन्छ?

हामीलाई मात्र एकोहोरो प्रश्न गर्नुभएन। हामीलाई तपाईँ जनमुक्ति सेना के गर्नुहुन्छ, हतियार के गर्नुहुन्छ? भनेर पनि सोधिन्छ। भोलि गणतन्त्र आयो भने तपाईँहरू के गर्नुहुन्छ भन्ने प्रश्न हाम्रो पक्षबाट पनि गर्न सकिन्छ। यस्ता प्रश्न राख्नेहरूका बीचमा एउटा यस्तो विधि निश्चित हुनुपर्‍यो, जसले एउटा सहमति बनाउँछ र जनतामा अन्तरविरोध पैदा हुन दिँदैन।



तत्कालै हतियार व्यवस्थापन गर्दा के फरक पर्छ?

प्रश्न \'टिट फर ट्याट\' को हो। भोलि जे पनि हुनसक्छ, भविष्य अनिश्चित छ। तर हामीले भविष्यलाई निश्चित गर्नका निम्ति जनमतको कदर गर्ने, जो निर्णय आउँछ त्यो मान्ने भनेका छौँ। सेनालाई तत्कालको निम्ति अन्तर्राष्ट्रिय र राष्ट्रिय सुपरीवेक्षणमा राख्ने भनेका छौँ।



माओवादी सेना विघटन गर्न किन ढिलाइ भइरहेको छ?

जनमुक्ति सेना र नेपाली सेना विघटन गरी जनतालाई मिलिसियाकरण गरौँ भन्ने हाम्रो प्रस्ताव हो। हामीले सीधा भनेका छौँ– पुरानो सत्ता र हाम्रो नयाँ सत्ता विघटन गरौँ र वैचारिक र राजनीतिक आधारमा नयाँ सेना बनाऔँ। भोलि संघीय सरकार बन्यो भने विभिन्न संघहरूका आ–आफ्नै मिलिसिया हुन्छन्। तिनीहरूलाई तालिम दिने हो भने \'रेगुलर\' सेना त १० हजार भए पुग्छ। आम जनता सशस्त्र भए कसैले कसैलाई धम्क्याउने कुरा आउँदैन।



आफ्ना सेनाहरू असक्षम छन् भनेर त यसो भन्नुभएको हैन?

योग्यता भनेको के हो? राजाको स्याहारसुसार गर्ने, खुट्टा मोल्ने र मतियारहरूको खुट्टा मोल्ने कामलाई योग्यता मान्ने कि जनताको निम्ति बलिदान गर्ने र लड्नेलाई योग्यता मान्ने? छाती ३६ इन्च भएका, हात र तिघ्रा ठूलो हुनेलाई साम्राज्यवादी र दरबारले योग्य मान्छन्। त्यसैले उनीहरू मतवालीहरूलाई योग्य मान्छन्। किनकि उनीहरू सोझा हुन्छन्। ब्रिटिसले छान्दा पनि सोझो मगर–गुरुङलाई छान्ने गर्छ। पृथ्वीनारायण शाहले पनि त्यही गरे। बाहुनक्षेत्री बाठा हुन्छन्, उल्टै बिगार्छन् भनेर उनले अयोग्य देखे। मधेशीलाई झन् अयोग्य देखे। त्यस कारण अब योग्यताका बारेमा विश्लेषण हुनुपर्‍यो। जनमुक्ति सेना शाही सेना भन्दा हजारौँ गुणा योग्य छन् भन्ने १० वर्षले देखाइसक्यो।





अरू नेताहरू धमाधम सार्वजनिक हुँदा पनि तपाईँ चाहिँ किन भूमिगत नै?

यिनीहरू वार्तामा बस्दैनन्, वार्ता यिनीहरूको चालबाजी मात्र हो भन्ने दुश्मनको प्रचारबाजीलाई चिर्न र हामी वास्तवमै शान्तिकोे पक्षमा छौँ भन्ने सन्देश दिन तीन सदस्यीय वार्ता टोली गठन गर्‍यौँ। तर त्यसमा जातीय, लिङ्गीय, क्षेत्रीय प्रतिनिधित्व हुन सकेको छैन। त्यसका लागि वार्ता टोली पुनः विस्तार गर्न सकिने भनिएको छ। वार्तामा त्यसरी आउन नसकिएकोले शङ्का–उपशङ्का भएको हुनसक्छ। फेरि हामीले केन्द्रीय हेडक्वार्टर पार्टीको आन्तरिक काममा लाग्ने निर्णय गरेका र वरिष्ठ टिम पछि सार्वजनिक हुने भनेका छौँ।



तर तपाईँ असन्तुष्ट भएको कारण वार्ता प्रक्रियामा सहभागी नभएको भन्ने चर्चा छ नि?

मैले यस्ता कुरालाई षड्यन्त्र भनिराखेको छु। यसले जनता र आन्दोलनकारीबीच फुट पैदा गराउँछ। हाम्रो प्रस्तुतिमा पनि अस्पष्टता रह्यो, जसले गर्दा जनतामा अन्योल देखियो। त्यो अस्पष्टतालाई \'क्लियर\' गर्नुपर्छ। कुनै विद्रोह गर्न वा असहमत भएर नभई कार्य विभाजनले गर्दा म बाहिर नआएको हो। वार्ता टोलीमा सबै बस्ने कुरा भएन।



प्रचण्डसँगको टकरावले गर्दा बादललाई सुनियोजित रूपमा बाहिर आउन नदिइएको भन्ने पनि छ!

सत्यलाई स्वीकार्नुपर्छ। विवाद भएको हो, हुन्छ। यो अन्तिम पनि होइन शुरु पनि होइन। एउटा जिउँदो पार्टीमा विवाद हुन्छ, अन्तरसङ्घर्ष चल्छ। तर ती समाधान हँुदै जान्छन्। हाम्रो पार्टीमा पनि बहस भएको र त्यो विवादको रूपमा प्रकट भएको हो। हरेक क्रान्तिकारी पार्टीमा मतभेद, विवाद र छलफल हुन्छ र त्यसले सही विचार जन्माउँछ। हामी कुनै व्यक्तिका दास होइनौँ। त्यसैले क्रान्तिकारी नीतिनिर्माणमा सङ्घर्ष गर्छौँ र त्यसलाई जनतामाझ लैजान्छौँ। त्यसलाई व्यक्तित्वको टकराव मान्दैनौँ।



तपाईँलाई षड्यन्त्रपूर्वक हटाउने वा \'सेबोटेज\' गर्नेसम्मको तयारी भइरहेको छ भनिन्छ। कति सत्य हो?

यो हाम्रो पार्टीको मात्र समस्या होइन, नेपालका अरू पार्टीको पनि र अन्तर्राष्ट्रिय समस्या नै हो। अहिलेको पीढीको मात्र हैन, अघिल्ला पीढीको पनि समस्या हो। यो हाम्रो आत्मसमीक्षाको विषय भएको छ। जसले क्रान्ति चाहन्छ, समग्र मुक्ति चाहन्छ, तिनीहरूको कमजोरीको कुरा भो। तर, अहिले हामीले त्यसको समाधान पाएका छौँ।



तपाईँ प्रचण्डको रापले यति पग्लिनु भो कि आत्मसमर्पण गर्नुभयो रे हो?

यसमा राम्रो भएको जस्तो लाग्नेहरू पनि छन्, किनकि पार्टी फुटेन। अर्कोतर्फ घँुडा टेक्यो भन्ने पनि छन्। तीमध्ये एकथरी रवीन्द्र श्रेष्ठहरूले भन्दै आएका हुन्, घुँडा टेक्यो भनेर। यो प्रक्रियामा उनी सहमत नरहेको घटनाक्रमले देखायो र पछि उनले \'विद्रोह गरेँ\' भने। हामी त्यसलाई विद्रोह मान्दैनाँै, उनी भागेका–पलायन भएका हुन्। उनले वस्तुगत परिघटना र आवश्यकतालाई बुझ्न सकेनन्। रवीन्द्र भनेको हाम्रो पार्टी भित्र लामो इतिहास बोकेको एउटा प्रतिभाशाली युवा पनि हो। तर त्यस्ता प्रतिभाहरू खासखास अवस्थामा \'टेस्ट\' मा जानुपर्छ। प्रतिभाहरू सधैँभरिका लागि निरपेक्ष हँुदैनन्। त्यसैले न मैले आत्मसमर्पण गरेको हो, न अध्यक्षले। हामीले एउटा \'रियलाइजेसन\' गरेको हो। त्यसलाई आत्मसमर्पण भन्ने नकारात्मक पदावली बढी प्रयोग भएको छ। हामी त्यसलाई रुपान्तरण भन्छौँ। हामीले एकअर्कालाई नयाँ ढङ्गले चिन्ने/बुझ्ने कुरा भो।





अध्यक्ष प्रचण्डसँग तपाईँको विमति कुन–कुन विषयमा थियो?

हाम्रो बहस मूलतः नेतृत्व, नेतृत्व सम्बन्धी अवधारणा, नेतृत्वको विकास सम्बन्धी प्रक्रिया र त्यसको विलोपको प्रक्रियामा केन्द्रित थियो। नोकरशाही वा अराजकतावाद, जनवाद र केन्द्रीयताको अवधारणा कसरी बुझ्ने भन्ने मुद्दामा बहस भएको हो।



यसलाई सरल भाषामा भन्न सकिँदैन?

सरल भाषामा भन्दा अहिले माओवादी नेतृत्व सरकारमा जान्छ कि जाँदैन, हामी एमाले हुन्छौँ कि हुँदैनाँै भन्ने कुरा हो। हामी सरकारमा जाँदैनौ, म जादिनँ। म राष्ट्रपति हुदिनँ। सरकारमा गएँ भने म केपी ओली हुनसक्छु, पजेरोवादी हुन सक्छु। मैले यसो भन्नुको कारण छ। किन सोभियत सत्ता ढल्यो? किन हिजोको चीन र आजको चीनमा जमिन–आकाशको फरक छ? कम्युनिष्टहरूले सत्तामा नहँुदा संसार जिते, तर जितिसकेपछि सबै गुमाए, खत्तम भए। सोभियत संघ ढल्नुको पछाडि अमेरिकालाई दोष दिएर मात्र हुँदैन। यी जनजातिहरू ज्ाो बहुसङ्ख्यक छन्, किन पराजित/उत्पीडित भए, किन यिनीहरू म्ााथि अल्पसङ्ख्यकले शासन गरिराखेको छ? बाहुनलाई किन दोष दिने? हामीले आफ्ना कमीकमजोरी ठम्याउन सक्नुपर्छ। त्यो नसच्याउँदासम्म कसैको मुक्ति हँुदैन। नेपालको कम्युनिष्ट आन्दोलन बिग्रियो भनेर केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी र पुष्पलालहरूलाई दोष दिएर समस्याको हल हँुदैन। त्यसैले हामीले सत्तामा मुख्य हैन सहायक नेताहरूलाई पठाउनु पर्छ भन्यौँ। उनीहरूले गल्ती गरे भने सत्तामा नगएकाहरूले तिनलाई ट्रयाकमा ल्याउन सक्छन्।



तर तपाईँको अध्यक्ष नै राष्ट्रपति बन्ने, सत्तामा जाने सुनिन थालेको छ।

यो त अध्यक्षको कुरा भो। हाम्रो नीति र विचारको कुरा भन्नुहुन्छ भने अहिले बन्ने अन्तरिम सरकार स्थायी सत्ता हैन, त्यसले एउटा बेस बनाइदिन्छ। त्यसको आधारमा भोलि एउटा वैधानिक सत्ता बन्छ। अन्तरिम सरकार भनेको आन्दोलनलाई गणतन्त्रसम्म लैजाने एउटा संयन्त्र हो। सत्ताभन्दा पनि यसले आन्दोलनको संयन्त्रको काम गरिरहेको हुन्छ। विद्रोहलाई विजयसम्म लैजानको निम्ति विद्रोही संयन्त्रको नेताको रूपमा सत्तामा जान सकिन्छ। भोलि संविधानसभाको निर्वाचन पछि बन्ने सत्तामा जानुहुँदैन।



तपाईँका यस्ता कुरा पार्टीमा लागु होलान्?

हामीले हल्ला कम, काम बढी गर्नुपर्छ। हल्लाखोर त संसदवादीहरू हुन्छन्। हामी जनतामा टिक्ने, जनतालाई ठीक ढङ्गले नेतृत्व गर्ने र आफ्ना आधारहरू मजबूत गर्ने हो। मैले पश्चिम, मध्य, पूर्व र भ्याली, सबै ठाउँमा काम गरेँ। कार्य विभाजनको हिसाबले वार्ता टोलीमा पनि गएँ। पञ्चायतकालमा भाषण गर्दै हिँडेँ। हुनसक्छ, भोलि म प्रवासमा जाउँला। मलाई किराँत र मधेशीको अनुभव थिएन, अहिले यहाँका जनतालाई बुझियो, राम्रै भइराख्या छ।



तपाईँ जस्तो नेताले पूर्ण जिम्मेवारी नपाएको हो त्यसो भए?

जनताको भावना अनुसार कसरी जानुपर्छ भन्ने कुरामा हाम्रो योजना अपुरो पनि हुनसक्छ। विगतमा हामीले त्यस्ता गल्तीहरू गरेका छौँ। कुनै नेतालाई \'माइनस\' गर्न, उसको प्रभावलाई साइजमा राख्न षड्यन्त्र हुनसक्छ भन्ने पनि छ। बादललाई रोक्न कतै षड्यन्त्र भइरहेको त छैन? एकातिर जनताबाट यस्तो कुरा उठ्छ भने अर्कोतिर भ्रम सृजना गर्ने प्रयास पनि भइरहेको छ। षड्यन्त्रकारीका कुरा छाडौँ, कसलाई नेता बनाउने भन्ने त जनताले निर्णय गर्ने हो। आफैँले भनेर नेता बनिँदैन। जनताले मलाई नेता माने त पुग्यो नि! कैयन् छन्, जो मपाईँबाटै नेता बनेका छन्। नेता भनेर उफ्रया छ, उफ्रया छ। जति उफ्रियो ऊ त्यत्ति नाङ्गिन्छ। धेरै कुरा गर्छ केही हुँदैन।



तपाईँ बाहिर ननिस्कने?

मलाई बाहिर हेर्न चाहने जनभावनाको म स्वागत गर्छु। अरू भूमिकाहरू पनि लिनु पर्‍यो, अरू रूपमा पनि प्रकट हुनु पर्‍यो भन्ने जनताको चाहनालाई मैले पूरा गर्नुपर्छ। र, त्यो चाहना जनता आफैँले पूरा गर्छन्। मैले त जनताको आदेश मान्दिने मात्र हो। अरू कसैले मलाई भित्र राख्न खोजेका थिए होलान् तर जनताले तानेर बाहिर ल्याइदिए। नेतालाई जनता र सङ्घर्षले जन्माउँछ। नेता आफैँ जन्मँदैन। जनताको कोखबाट, जनताको इच्छाबाट जन्मने हो।



माओवादी पार्टीमा प्रतिभाहरू \'टेस्ट\' मा जाने कुरा तपाईँ माथि मात्र किन लागू हुन्छ? किन हरेकपल्ट तपाईँलाई नै बढी जोखिमपूर्ण र चुनौतीपूर्ण जिम्मा दिइन्छ?

म शुरुदेखि नै चुनौतीहरूलाई फेस गर्दै आएको मान्छे हुँ। जनयुद्धको थालनी गोरखाबाट शुरु गरेका थियौँ। पृथ्वीनारायण शाहले नेपालको एकीकरण सामन्ती कोणबाट गोरखाबाट शुरु गरेकोले हामीले पनि त्यसलाई उल्ट्याएर २०४५ सालतिर त्यहीँबाट शुरु गरेका हौँ। मेरो नेतृत्वमा सिरानचोकमा तालिम पनि गर्‍यौँ। तर हामी त्यहाँ असफल भयौँ .। त्यसपछि रोल्पा रुकुमबाट थालनी गर्‍यौँ। मेरै नेतृत्वमा सिज (सिस्ने–जलजला) अभियान शुरु भो। त्यसपछि भ्यालीको चर्चित काण्ड भो, त्यहाँबाट म गण्डक खटाइएँ। दोस्रो चोटि म पहिलो सङ्कटकालमा भ्याली इन्चार्ज भएर आएँ। हाम्रा धेरै साथीहरू सिद्धिए, कोही बेपत्ता भए, म चान्सले बचेँ। किरण (मोहन वैद्य) जी पक्राउमा परेपछि भ्याली र पूर्वलाई जोडेर बनाइएको कमाण्डमा आएँ। महाकालीदेखि मेचीसम्मको मेरो अनुभवको प्रक्रिया पूरा भएको छ। यसले मलाई व्यक्तिगत फाइदा दिएको छ। यसबाट मलाई सङ्गठनात्मक प्राधिकरण र सामाजिक प्राधिकरण प्राप्त भएको छ। यी दुई चीजको सम्मिश्रणले मात्र ठोस नेता बन्छ। जनताका बीच बसेर काम गर्ने जनप्रिय नेतामा मात्र यी दुवै गुण विद्यमान हुन्छन्।



बादलको प्रत्यक्ष संलग्नता बिना शान्तिवार्ताको औचित्य छैन र बादलले विद्रोह गर्नसक्छ भनिँदैछ नि?

त्यो पनि ठीकै हो। विद्रोह गर्नु जनताको जन्मसिद्ध अधिकार हो। त्यस्तो अधिकारलाई कहीँ पनि बन्देज लगाउन पाइँदैन। जुन कुरा हामी आफू भित्रै लागू गर्न सक्दैनौँ भने त्यो समाजमा कसरी लागू हुन्छ? निश्चित रूपमा भोलि पार्टीमा कुनै पनि नेताले जनता वा क्याडरमाथि अन्याय गर्‍यो भने विद्रोह हुन्छ। नेताले गद्दारी गर्‍यो भने विद्रोह हुन्छ। म गर्छु विद्रोह। राष्ट्र र जनताप्रति कसैले विश्वासघात गर्छ भने हरेक नागरिकले विद्रोह गर्नुपर्छ। तर, अहिलेसम्म कसले घात गर्‍यो भन्ने देखिएको छैन।



हिमालबाट साभार







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम