Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
डायास्पोराको जङ्गलमा देश खोजिरहेका विश्वासदीप प्रति (डा. गोविन्दराज भट्टराइ) - [2007-11-20]

चार वर्ष पहिले गृहयुद्धका पीडा लिएर आएका विश्वासदीप तिगेला यसपालि अर्को कृति देश बोक्नुको पीडा लिएर आएका छन् । दुवै कृति नियात्रा निबन्ध हुन् । अघिल्लो कृतिबारे मैले उत्तरआधुनिक ऐना (२०६२) मा समीक्षा चर्चा प्रस्तुत गरेको छु भने यस रचनामा म देश बोक्नुको पीडाको परिचय गर्न चाहन्छु ।



र्सवप्रथम त विश्वासदीपको लेखकीय चेतना र साधना अनि शक्तिको नेपाली साहित्यले प्रशंसा गर्दछ । विदेशमा सैन्य सेवामा रहेका व्यक्ति तिगेलाले आफैं सुन्दर सिर्जना गर्ने र अरुलाई पनि प्रेरित गर्ने काम गरिरहेका छन् । नेपाली साहित्यको समृद्धिमा यिनले योगदान पुर्‍याइरहेका छन् ।



आज आएर नेपाली साहित्यको स्वरूप र दिशा परिवर्तित हुँदैछ । अवको समय बिस्तृत, व्यापक र ग्लोबल भएकाले हाम्रा साहित्यकार अथवा पाठकले एउटा सीमित क्षेत्रको, देश भित्रको मात्र सिर्जना पढेर पुग्दैन । देश बाहिर के लेखिँदैछ, कोको सिर्जनामा लागेका छन्, कसरी ती अघि बढिरहेका छन् भन्ने कुराको पनि जानकारी राख्नु पर्दछ । देशबाहिर बसेर लेखिएका रचनामा केकस्तो विशेषता पाइन्छ त्यो पनि थाहा पाउनु पर्दछ । विश्वग्रामीकरणले सीमित पारेको जगतमा के कस्ता भूगोल र संस्कृति छन्, कस्ता इतिहास र साहित्य छन्, ती बुझनु आवश्यक छ । त्यहाँ नेपाली कसरी बसेका छन्, तिनीहरूको मानसिकता के कस्तो छ, सो कुरा बुझनु आवश्यक छ । त्योभन्दा पनि महत्वपूण्ा कुरा के छ भने अन्य भूगोल, संस्कृति, भाषा र सभ्यताका मानिसका बारेमा ज्ञान हुनु अत्यावश्यक छ । नत्र हाम्रो ज्ञानको सीमा साँघुरिने छ । विश्वासदीपले यस्तो ग्लोबल ज्ञानलाई विस्तार गर्ने काम गरेका छन् ।



अहिले बाहिरी मुलुकतिर पसेकाहरूले आफ्नो देशबाट टाढा भएको र नौला परिवेश भोग्नु परेको परिस्थिति लेखिरहेका छन् । बाहिरी परिस्थितिको बसाइलाई डायास्पोरा भनिन्छ । अब नेपाली साहित्यभित्र पनि डायास्पोरिक लिटरेचरले स्थान पाउन थालेको छ । गतवर्षेखि गरिमाले एउटा स्तम्भ नै मासिकरूपमा डायास्पोरालाई छुट्याएको छ । उता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यो वर्षेखि डायास्पोरा पुरस्कार प्रदान गर्न थालेको छ । डायास्पारिक चित्र र चरित्र बोकेका कृतिहरू आउन थालेका छन् । होमनाथ सुवेदीको उपन्यास यमपुरीको महल (२०६४) एक उदाहरण हो । हङ्कङ्बाट, बेलायतबाट, अमेरिकाबाट प्रकाशित अनेक कृति पूर्वी युरोप, पश्चिमी एसिया, अप्रिmका अनेक भूभागबारे अनेक कृति प्रकाशित भइरहेका छन् । तीमध्ये एउटा हो विश्वासदीपको प्रस्तुत कृति । यो भिन्न डायास्पोराको चित्र हो । देश बोक्नुको पीडामा नौवटा निबन्ध सङ्कलित छन् । तीमध्ये पहिलो छ सधैँ मन घोच्ने केही



गुनासाहरू । यो रचना नेपालकै परिवेशको छ- अन्तर्राष्ट्रिय एअरपोर्टको । त्यहाँ भएका पुराना कर्मचारी, तिनको पुरानो मानसिकता, तिनीहरूको आलश्य र अकर्मण्यता अत्यन्तै दुःख लाग्दा छन् । तिनीहरूको आलश्य र जुम्स्याईं, त्यहाँको अव्यवस्था, ढिलासुस्ती र सुविधाको अभाव देख्ता र भोग्दा लेखकलाई दुःख र पीर लाग्छ । दिग्दारी र चिन्ताले छोप्छ । हवाइअड्डा भनेको सम्पूर्ण विदेशीले सम्वन्धित देशकोबारेमा पहिलोपल्ट अनुभव गर्ने स्थान हो, प्रवेशद्वार । त्यहाँबाटै त्यस्तो अनुभव लिनु पर्दा विदेशमा हाम्रो कस्तो सन्देश पुग्ला भनी लेखक चिन्तित छन् । यो स्वाभाविक चिन्ताको अनि लज्जाको विषय हो ।



दोस्रो निवन्ध छ कोसोभो यात्रा जिउँदी आमाको चिहान तयारी । यो एउटा उत्कृष्ट रचना हो मर्मश्पर्शी पनि । यसमा १९९० पश्चात युगोस्लाभिया टुक्रिएपछिका विभिन्न देशले भोगेको स्थितिको संकेत छ । प्रस्तुत रचना कोसोभोमा केन्द्रित छ त्यहाँको जातीय, भाषिक र धार्मिक विखण्डनका स्थितिहरूको भयावह चित्र प्रस्तुत भएको छ । जीवनको मूल्य समाप्त छ, मानवीय संवेदना समाप्त छ; भय, त्रास, असुरक्षा र मृत्युले ढाकेको छ । यसको एउटा उदाहरण जिउँदै आमाको चिहान खनेर एउटा छोरो उनको मृत्युको प्रतीक्षा गर्दछ ।



तेस्रो रचनामा निबन्धकार कोसोभोबाट केन्यातिर लाग्दछन्- केन्या यात्रा एउटा सुन्दर क्षणको अन्त्यमा । अप्रिmकाको केन्या भूमी सुक्खाले ग्रस्त छ । जनता गरिबीले आहत छन् । हरेक अवस्थामा लेखक अरुको परिस्थितिसँग आफ्नो तुलना गर्दछन् । त्यहाँका गोठालाहरु देख्ता आफ्नै बाल्यकालमा गोठालो गएको, दुखी छाप्रामा पढेको वा बसेको सम्झना हुन्छ । धेरै चरित्रमा केन्या पनि नेपाल झैँ देखिन्छ । बिजुलीका खम्बा छन्, तार चुँडिएका । एड्सले प्रत्येक छमध्ये एक व्यक्ति ग्रस्त छ । कृषि र पशुप्रणाली उस्तै, पछौटेपन उस्तै । तिगेलाको निरीक्षण शक्ति अति सूक्ष्म र तीब्र छ । उनको तात्कालीनता प्रशंसनीय छ- यो घटनाको उनले जहाजमै लेखे ।



चौथो निबन्ध छ गरीब देशको नागरिक हुनुमा बढी मानवता । उनी वेलायतको गाँउगाउँमा पुग्छन् । त्यहाँका खेतीपातिमा डुबेका कृषक देख्ता आफ्नै बाल्यकालको सम्झना गर्छन । दुखी समाजमा हुर्केका उनी बाल्यकालको अभाव र कष्ट सम्भिnन्छन्- पढ्ने इच्छा थियो, टुकी बाल्ने मट्टीतेल फारो गर्नु पथ्र्यो । आज उनले तिनै कुरा लेख्तैछन् । अतीत र वर्तमान मिसाएर एउटा फ्युजन तर लेख्नु सजिलो छैन । लेख्तालेख्तै सिर्जनामा लागेकैले आज उनीहरुको पल्टनमा पनि एउटा माहोल बनेको अनुमान गर्न सकिन्छ । लेखनकै क्षेत्रमा विभिन्न गोष्ठीमा भाग लिने अवसरसमेत उनले पाएका छन् । दुखबाट उठेका जीवनमा धेरै उपलब्धी छन् । यो सम्झेर उनलाई ढुक्क पनि लाग्छ ।

पाँचौ निबन्ध छ मलेसिया यात्राको- गुफाको राजधानी मुलु यात्रा । त्यहाँ पुग्दा आफ्नो गाउँको थामडाँडा पुगेझैँ हुन्छ । त्यहाँको अवस्था देख्दा पनि आफ्नै देशको गतिको सम्झना हुन्छ- अझ दुगतिको । हत्या हिँसाले देश समाप्त छ ।



मनमा देश विकासको तरङ्ग उठाउँदै सारवाक क्षेत्रमा जान्छन्, त्यहाँ विश्वप्रसिद्ध गुफाको अवलोकन गर्छन्, स्थानीय बासिन्दाको जीवन शैली टिपेर फर्किन्छन् ।

छैठौँ निबन्ध देश बोक्नुको पीडा । यो शिर्षकबाटै पुस्तकको नाम रहेको छ । यस निबन्धले पनि अन्तर्राष्ट्रिय जगतमा नेपाली जातिको छबि धमिलो हुँदै गएको, नेपालीले हिनत्व भोग्नु परेको कुरा प्रकट गरेका छन् । त्यसै गरी सातौँ निबन्ध राम्रो सपना देखेको रातमा पनि लेखक केन्यामा छन् । अतीत स्मरणले उनलाई झस्काउँछ; उनी भावुक बन्छन् । त्यहाँको जीवन निम्न गर्तमा डुबेर एड्सले निलेको, गरीबी र अन्धकारले खाएको देख्तछन् । यो मानव सभ्यताकै लज्जास्पद पराजय लाग्दछ । यो पीडादायी चित्र उनी अँध्यारामा बसेर र्टचको सहायताले लेख्छन् । कति गाह्रो छ सिर्जना गर्नु ! एउटा सपना देख्छन् त्यो आफ्नै देशको उन्नतिको हुन्छ । यसरी सपना बिपना सबै देशकै उन्नतिको सम्झनामा समर्पित तिगेला यसकै चिन्ता र पीर बोकेर हिँड्छन्, लेख्छन् । त्यही हो उनको देश बोक्नुको पीडा ।



आठौँ निबन्ध छ बेलायतमा खुसीको सपिङ । यसमा बेलायतको बजार, त्यहाँका नेपाली र त्यहाँका बसाइको विशेषता उतार्छन् भने अन्तिम निबन्ध छ अफरिकाका साम्बुरु जातिको परिचय ।



नेपाली साहित्यका केन्द्रहरु परिवर्तित हुँदैछन् । नयाँ केन्द्र बन्दैछन् । ती अनेक डायस्पोरा हुन् । विश्वासदीपले एउटा विशेष खण्डको, अरु नेपालीले नलेखेका भूभागको, त्यहाँका बासिन्दाका जीवन र तिनका संस्कृतिको चित्र प्रस्तुत गरेका छन् । यो डायस्पोरिक चित्र हो, नवीन जो अति महत्वपूर्ण छ ।



नेपाली यात्रा-संस्मरण साहित्यमा तिगेलाले आफ्नो स्थान सुरक्षित राखेका छन् । उनी भित्र एउटा स्थिर लेखक उदाइसकेको छ । उनमा परिस्कार छ, नवीनता छ र फेरेसनेस । हरेक ठाउँमा उनी इमान्दार छन् र हरेक पल देशको उन्नतिको चिन्तामा छन् । यस्ता तिगेलाको देश बोक्नुको पीडा अत्यन्तै नौलो र पठनीय यात्रा निबन्धसङ्ग्रहको नेपाली वाङ्मयमा स्वागत गर्दछु ।







डा. गोविन्दराज भट्टराइ



(शनिवार २६ असौज २०६४ का दिन बानेश्वर, काठमाडौँ स्थित रारा कम्प्लेक्समा कृति विमोचनका अवसरमा पाठ गरिएको)



 Download 




तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम