Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
भिक्टोरिया क्रस विजेता जीवित योद्धा सँगको साक्षात्कार (दयाकृष्ण राइ) - [2007-12-06]

नोभेम्वर २७ तारिखको दिन विजय दिवश अर्थात दोस्रो विश्वयुद्धमा युद्धबन्दी भएका ब्यक्तिहरुलाई क्षतिपुर्तिको लागि अदालतबाट मुद्दा फैसला भएको तथा पीडित पुर्खाहरुको विजयको दिन । तर यही २४ तारिख शनिवारको दिन छुट्टीको समय पारेर कार्यक्रम सम्पन्न भएको थियो । स्थल हृवाईटहल गोरखा योद्धाको सालिक उभिएको ठाउँ । रात भर लाटकोसेरो झैं पाले (गार्ड) को भूमिका निर्वाह गरेर दिवा सपना देख्ने मेरा अर्धमुद्रित नयनले सालिकलाई नियाल्न थालें । सालिकले पार्लियामेन्ट हाउस र टेन डाउनिङ्ग स्ट्रीट, प्रधानमन्त्री निवास तर्फ फर्किएर भनिरहेको थियो- हे साम्राज्यवादी वेलायत मैले तिम्रो साम्राज्य विस्तारकोलागि रगत र पसिना बगाएं । मेरा साखा सन्तानले अहिले सम्म पनि युनियन ज्याकको झण्डा मुनी रहेर दुइ सय वर्षको इतिहासलाई निरन्तरता दिईरहेका छन् । तर खै समान अधिकार प्रदान गरेको - के यी मेरा सन्ततीहरु तिम्रो देशको रक्षक हुन कि भिखारी हुन मलाई जवाफ चाहिन्छ । यसरि न्यायको लागि अपील गरिरहेको सालिक न त भी.सी. तुल बहादुर पुनको सालिक थियो त्यो, न त अन्य कुनै चिरपरिचित गोरखाको थियो । त्यो त केवल एउटा समग्र गोरखाहरुको प्रतिक अजङ्गको सालिक मुनी गोरखाहरुले देस्रो विश्व युद्धमा लडेको स्थानहरु लेखिएको स्मारक थियो । त्यहि सालिक मुनी बयोबृद्ध तुल बहादुर पुन भी. सी. ले प्रथम र दोस्रो विश्व युद्धमा जीवन उर्त्र्सग गरेका पुर्खाहरुको चीरआत्माको शान्तिको लागि पपी फूलको गुच्छा चढाएर श्रद्धान्जली अर्पण गर्नु भयो । बयोबृद्ध बुवा भी.सी. पुनलाई प्रथम पटक प्रत्यक्ष साक्षात्कार गर्ने अवसर मिलेको दिन हो आज । उहाँको अनुहार हेर्ने बितिकै मलाई उहाँको सुपुत्र अर्जुन पुन भाईको तस्वीर मेरो आखा अगाडि प्रतिविम्वित हुन थाल्यो । अर्जुन भाई र मेरो जापानमा रोजगारीको अवसरमा भेट भएको थियो । यदि भी.सी. पुनको बहादुरी प्रति मुल्याङ्कन गरी पहिल्यै उनलाई अहिले दिईएको सुविधा उपलब्ध गराएको भए अर्जुन वावु अहिले वेलायतको ओक्सफोर्ड विश्वबिद्यालय या क्याम्ब्रिज विश्वबिद्यालयमा अध्यनरत हुनुपर्ने हो, तर जापानमा मजदुरी गर्न बाध्य छन् ।



अर्जुन भाई युवा जोस र जाँगर वोकेर रोजगारीको क्रममा जापान पुगे पनि निकै सचेत युवा भएकोले विभिन्न संघ संस्थाहरुमा आवद्ध थिए र म पनि आवद्ध थिएं । त्यसैले हाम्रो सम्बन्ध प्रगाढ बन्न पुग्यो । सन २००० सालमा भी.सी. अगम सिं राइ र गञ्जु लामाको सँगसँगै जस्तो अवसान भएको समाचार सुने पछि भी.सी. द्वयको सम्झनामा भूतपूर्व सैनिक संघ जापानले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाली सेवा समितिको अध्यक्ष तथा भी.सी. का सुपुत्र भएको नाताले हामीले कार्यक्रमको प्रमुख अतिथिको रुपमा अर्जुनलाई आमन्त्रण गरेका थियौं । समवेदना प्रकट गर्ने क्रममा आपनो पुज्य पिताको समकालिन योद्धाहरुको सम्झनामा डाको छोडेर रोएका थिए र म स्वयंले कार्यक्रम सञ्चालन गरेकोले मैले पनि आँसु रोक्न सकिन । सवै हल नै स्तब्ध भएर आँसु बगाई रहेको दृश्य अहिले पनि मेरो स्मृतिपटलमा ताजै छ । आज आठ बर्ष पछि बिजय दिवशको उपलक्ष्यमा उही मेरा सहयात्री भाईको बुवा जीवित योद्धाको आशिर्वचन वेलायतमा सुन्न पाउदा मेरो छाती गर्वले फुल्यो । तर कता-कता मलाई त उही अर्जुन भाईको सम्झनाले पिरोलिरहृयो । अहिले अर्जुन भाई जापानमा के गर्दै होलान ? उनले मलाई ज्यादै सम्मान गर्थे विश्वास गर्थे । सन २००१ सालमा भी.सी. पुन प्रतिष्ठानको स्थापना गर्ने क्रममा मलाई नेतृत्व प्रदान गर्न उनी ज्यादै उत्सुक थिए र मैले दुइ तीन वटा संस्थाको नेतृत्व गरिरहेकोले थप अभिभारा सम्हाल्न गाह्रोपर्ने भएकोले म सल्लाहाकारमा मात्रै बस्नु परेकोमा उनले गुनासो पनि ब्यक्त गरेका थिए ।



गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आयोजना गरको उक्त ऐतिहासिक बिजय दिवश कार्यक्रममा होन्सलोका काउन्सलरले आफ्नो बक्तब्यमा भी.सी. तुल बहादुर पुनलाई आफ्नो होन्सलो शहरमा राख्न पाउँदा म लगायत होन्स्लोका जनता ज्यादै गौरवान्वित छौं भन्नु भएको थियो । मैले मन मनै सोचे तिमीहरुले पहिल्यै यस्तो सोचिदिएको भए मेरो सहयात्री भाई पनि आज आफ्नो बयोबृद्ध बुवालाई सम्हालेर हृवील चियर गुडाउँदै हामी सँगै विजय दिवश मनाईरहेको हुने थिए । यस्तै यस्तै सोचमग्न हुँदै कार्यक्रमको समापन पश्चात लण्डन भिक्टोरियाबाट बस चढेर कार्डिफ सेन्ट्रल स्टेशन सम्मको चार घण्टाको यात्रा पार गरेको थाह पत्तो नै पाईन ।





दयाकृष्ण राइ

वेल्स कार्डिफ







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम