Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
खेवा लिम्बू र पंक्षी (राजकुमार दिक्पाल) - [2007-12-20]

किरात लिम्बूहरूमध्ये धनकुटा र तेह्रथुम जिल्लाका केही गाविसहरूमा छथरे लिम्बूहरू बसोबास गर्छन् । धनकुटा जिल्लाको हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, घोर्लिखर्क, तेलिया र ताङ्खुवा गाविस तथा तेह्रथुमको ओख्रे, पोखरी, फाक्चामारामा रहेका छन् । छथरे लिम्बूमा छवटा थर हुन्छन् र उनीहरूलाई खेवा लिम्बू पनि भनिन्छ । छथरे लिम्बूहरूमा तिगेला, तुम्बा, माङ्याक, मादेन, चोङबाङ तथा आङ्लाबाङ (आङ्खेवा) पर्छन् । उनीहरूलाई खेवा भन्नुको अर्थ खे भनेको लिम्बू भाषामा वन हो भने वा को अर्थ कुखुरा वा पक्षी हुन्छ । यी लिम्बूहरूको एउटा विशेषता के हो भने उनीहरू कुनै पनि पक्षीको मासु खाँदैनन् । पक्षी खाएमा आफूहरूलाई त्यसले पिरोल्ने वा अशुभ हुने सांस्कृतिक तथा धार्मिक विश्वास उनीहरूमा छ ।





ताक्लुङ यक



छथरे लिम्बूहरू आफ्नो पितृभूमिको सम्मान गर्दै तेह्रथुमको ओख्रे गाविसमा रहेको ताक्लुङ यक (गढी) लाई उनीहरू आफ्नो इतिहासको विरासत मान्ने गर्छन् । उक्त गढीको ऐतिहासिक पक्ष केलाउने हो भने सो गढी छैटौँ शताब्दीमा लिम्बूवान दस प्रान्तमा विभाजित हुँदा छथरे लिम्बूहरूले खडा गरेका हुन् । इडेन भ्यान्सिर्टार्टको पुस्तक गुर्खाज (१९०६) मा उनले उक्त ठाउँमा ताक्लुङ खजुमहाङ राजाले शासन गरी उनले चिमलिङ्ग गढी वनाएको उल्लेख छ । सोही कुरालाई किराँत विद्वान् इमानसिंह चेम्जोङले आफ्नो पुस्तक हिस्ट्री एण्ड कल्चर अफ किरात पिपल (१९६७) मा र्समर्थन गरेका छन् । तर ताक्लुङ गढीका सम्बन्धमा इतिहासकारहरू प्रेमबहादुर लिम्बू र भुपेन्द्रनाथ ढुङ्गेल तथा शिवकुमार श्रेष्ठले विमति प्रकट गरेका छन् । लिम्बू र ढुङ्गेलको संयुक्त इतिहासकृति सङ्क्षिप्त नेपाल इतिहास अनुसार उक्त पुस्तकमा लेखिएअनुसार उक्त गढीलाई ताक्लुङदेन यकि भनिएको छ र यसलाई राजधानी वनाएर खेबोहाङले शासन चलाएको उल्लेख गरिएको छ । तर उनीहरू सबैको भनाइप्रति असहमति जनाउँदै लिम्बूवानसम्बन्धी पछिल्लो इतिहासकृति लिम्बूवानको ऐतिहासिक अध्ययन (२०४२) मा इतिहासकार शिवकुमार श्रेष्ठले उक्त गढीमा रहेर इमिमुहाङले छथर इलाकाको शासन गरेका र उनी खेवा थरका लिम्बू थिए भनेका छन् । उनले ताक्लुङ यक वनाएर शासन चलाएको उक्त पुस्तकमा उल्लेख छ । वास्तवमा श्रेष्ठको भनाइ सत्यताको नजिक किन पनि छ भने सो गढीलाई अझै पनि यस क्षेत्रका छथरे लिम्बूहरू आफ्नो इतिहासको विरासत मान्छन् र वर्षोनि त्यहीँ पितृपूजा गर्ने गर्छन् ।





त्यहा २०१२ सालसम्म विभिन्न शिलालेखहरू रहेका थिए भन्ने कुरा मानव उत्पति र खेवा वंश (२०५५) पुस्तकमा उल्लेख छ तर ती सबै अहिले भूक्षयका कारण नष्ट भइसके भने त्यहाँका महत्वपूर्ण सामग्रीहरूसमेत लोप भएर गइसकेका उक्त पुस्तकमा उल्लेख छ । यद्यपि त्यहाँ छथरे लिम्बूहरूले पूजा गर्न भने छाडेका छैनन् । छथरे वंशावलीअनुसार छैटौँ शताब्दीमा यसै गढीमा रहेर छथरे प्रान्तको शासन गर्ने लिम्बू राजाका इमेबुङका दसौँ पिँढीका हाङजिलीहाङ्दुम्बाका चार भाइ छोरा आपसमा छुटि्टदा खेवा लिम्बूहरू चार थरमा विभाजित हुन पुगे । जेठा छोरा मुक्तिमहाङ खेवालाई तिगेला भन्न थालियो । यस्तै, माइलो लुम्दुमहाङलाई मङ्याक, साइँलो लेतुमहाङलाई आङ्लाबाङ र कान्छो चोङहिमलाई चोङबाङ भन्न थालियो र यी चार जना चार थरमा विभाजित हुन पुगे । तीमध्ये मङ्याक थरबाट अर्को दुइ थर निस्क्यो । उनका सन्तानमध्ये एकले मादेन र अर्कोले तुम्बा थर लेख्न थाले । त्यसपछि यी खेवा लिम्बूहरू छथरमा विभाजित हुन पुगेको खेवा वंशावलीमा उल्लेख छ ।







खेवा अर्थात् वनकुखुराको कथा





खेवा लिम्बूहरू कुनै पनि पंक्षीको मासु खाँदैनन् । उनीहरू पंक्षीको हत्या गर्न हुँदैन भन्ने मान्यता राख्छन् । उनीहरू पंक्षीलाई शुक्रताराका रूपमा सम्मान गर्छन् र शुक्रतारा झुल्केको समयमा कहिँ कतै हिँडे साइत पर्छ भन्ने विश्वास राख्छन् । यस सम्बन्धमा लिम्बू मुन्धुममा एउटा रोचक किम्वदन्ती उल्लेख पाइन्छ । सत्ययुगमा पोङ्गेनदिङ नामका एक बालक थिए । उनी नै खेवा लिम्बूका पूर्खा हुन् । उनी जीवनयापनका लागि शिकारीको रूपमा जङ्गलजङ्गल चाहार्थे । यसरी जङ्गल चाहार्नेक्रममा उनले एक दिन एउटा वनकुखुराको फुल बाटामा भेटे । त्यो फुललाई उनी अत्यन्तै माया गर्थे र त्यसलाई आफैँसित राखेर सुत्ने गर्थे । समय पुगेपछि त्यो फुलबाट एउटा चल्लाको जन्म भयो । कालान्तरमा त्यो एक भाले कुखुरा बन्यो । त्यस कुखुरालाई त्यो बालकले पालनपोषण गरी हूर्काएको हुनाले कुखुरा बालकप्रति आभारी थियो । एक दिन त्यस वनकुखुराले जवान भइसकेका त्यस मनुष्यलाई भन्यो, हे मनुष्य अब तिमीले आफ्नो सृष्टिलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि तिमीले विवाह गर्नुपर्छ । तिम्रो विवाह गराएर मलाई लगाएको गुणको बदला तिर्नेछु । मनुष्य अक्क न बक्क भयो । उसले ठानेको थियो यो संसारमा केवल ऊ र त्यस वनकुखुरा मात्र रहेको छ । त्यसैले उसले सोध्यो, हे वनकुखुरा तिमीले यो के भनेको - मैले कसरी र कोसित विवाह गर्ने र सृष्टि चलाउने ? उसले आफ्नो विवाह सम्भव नभएको भन्दै वनकुखुराको प्रस्तावप्रति आर्श्चर्य व्यक्त गर्‍यो । त्यसपछि तिम्रो लागि म एउटा जीवनसाथी ल्याएरै छाड्छु भनी भाले उडेर बेपत्ता भयो । ती मनुष्यलाई भने कौतूहल भयो । केही दिनपछि त्यो वनकुखुरा एउटी सुन्दरी कन्यालाई लिएर आइपुग्यो । मनुष्य चकित भए । त्यसपछि वनकुखुराले ती सुन्दरीलाई औँल्याउँदै भन्यो, हे मनुष्य मैले तिम्रो लागि यिनै कन्या ल्याइदिएको छु, यिनीसँगै तिमी विवाह गर अनि आफ्नो सृष्टिलाई अगाडि बढाएर लैजाउ । यसपछि ती मनुष्य र कन्याबीच विवाह संस्कार सम्पन्न भयो । विवाहपछि वनकुखुराले बिदा माग्दै भन्यो, अब मैले तिम्रो गुनको बदला तिरेको ठानेको छु । अब म तिमीहरूबाट बिदा हुनुपर्छ । मलाई बिदा देऊ । तर यी लोग्नेस्वास्नी भने वनकुखुरालाई अत्यन्तै माया गर्थे । आफ्नै परिवारका सदस्य ठान्थे । त्यसैले उनीहरू वनकुखुराको आफूहरूबाट अलग्गिने कुराप्रति र्समर्थन गर्न सक्दैनथे । अझ वनकुखुराले आफूले गर्नुपर्ने कर्म गरेकोले आफू जानैपर्ने बताउँदै भन्यो यदि मलाई देख्नु वा भेट्नु छ भने भोलि बिहानको मिर्मिरेमा आकाशको पूर्वतर्फ हेर्नु मलाई त्यहीँ पाउनेछौ, तिमीहरूले मेरो सिर र पुच्छर देख्नेछौ ।





आफ्ना परिवारको सदस्य सरहको त्यो वनकुखुरो आफूहरूबाट विछोडिएपछि विहृवल वनेका सम्पतीले भोलि बिहानै पूर्वतर्फ आकाशमा मिर्मिरे उज्यालो हुनासाथ हेरे । त्यो वनकुखुरा त शुक्रतारा पो भएछ । त्यसपछि दम्पतीले भने, सेवारो (नमस्कार), तिमी वनकुखुराको रूपमा आएका माङ (भगवान्) पो रहेछौँ । हाम्रो कल्याण गर प्रभु । त्यसपछि उनीहरूले आफूबाट जन्मने सन्तानको वंश खेवा (वनकुखुरा) राख्ने निर्णय गरे ।





यसरी वनकुखुराले जुराएको यी दम्पतीबाट दुइ छोराको जन्म भयो । उनीहरूमध्ये जेठो छोरोचाहिँ बाबुआमाको अर्ति-उपदेश मान्ने गर्थ्यो भने कान्छो छोरो चाहिँ बाबुआमाले भनेको मान्दैनथ्यो । आमाबाबुले भनेको शिकार गर्दा कुनै पनि पक्षीको प्राण लिनु हुँदैन भन्ने अर्ति-उपदेश विपरीत ऊ जङ्गलजङ्गलमा घुमी पक्षीहरूको बध गर्ने गर्थ्यो । कहीँ कतै जाँदा पनि शुक्रतारा झुल्केको समय उपयुक्त साइत हो भन्ने आमाबाबुको भनाइलाई पनि ऊ लत्याउने गर्थ्यो ।





एक दिन ऊ कुनै साइतविना जङ्गलमा शिकार गर्न गयो । वनकुखुराको शिकार गर्नका लागि बेलुकाको साइतमा घर छाड्ने बेलामा आमाबाबुलाई भन्यो, यदि म भोलि बिहान भाले बास्दाबास्दै आइँन भने म मरेको ठान्नुहोला । धनुकाँड लिएर हिँडेको ऊ रातभर शिकारको खोजीमा भौँतारिँदा भौँतारिँदै बिहान शुक्रतारा पनि झुल्किसकेको थियो । त्यसैबेला उसले एउटा वनकुखुरा देख्यो र तत्काल धनुकाँड प्रहार गर्‍यो तर उसको निशाना असफल भयो । बरु त्यो वनकुखुराले भन्यो, मलाई मार्न खोजेर तिमीले ठूलो गल्ती गर्‍यौ । मैले तिम्रो सृष्टिका लागि काम गरेको थिएँ । यसो भनिसकेपछि वनकुखुरा तत्काल त्यहाँबाट अल्पियो । वनकुखुराको शिकार गर्न गएको त्यो व्यक्तिको पनि तत्काल मृत्यु हुनपुग्यो । यसरी आफ्नो सृष्टि चलाइदिएका कारण खेवाहरू वनकुखुराको मात्र होइन सम्पूर्ण पंक्षी जगतको सम्मान गर्छन् र पंक्षीको शिकार गर्ने मात्र होइन, उनीहरू पंक्षीको मासु खाँदैनन् पनि । यसले गर्दा खेवाहरूले आफ्नो सांस्कृतिक आस्थाका कारण पंक्षीहरूको संरक्षण पनि गर्दै आएका छन् ।





राजकुमार दिक्पाल

from: Madhupark





तपाईंको प्रतिकृया

daai namaskar,
tahnks for the information yau shared through this website. And we hope that more informations related with different castes and clan will be shared in the days to come.keep on writing.


tara chemjong limbu
gc school
gurkha contingent, mount vernon park
singapore

Dear Raj,
Sewaro.

It's a very good write up. Could you please provide me its full reference? Full reference includes: Year of publication, volume, number and page numbers.
It seems that I should mention this in our forthcoming book- Indo-Nepal Kiranti Bhashaharu. I hope u'll certainly help me. Thanks.

Regards,

Dr Lal Rapacha
Humboldt GF Post-Doc Fellow
University of Leipzig
Leipzig, Germany



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम