Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
लिम्बू संस्कृतिमा राजनीतिक संस्कार (डीबी आङ्बुङ) - [2007-12-24]

१. सन्दर्भ



विगतमा नेपाली राजनीतिको आवाद गरेर राज्य सञ्चालन गरिरहेको बेला अरुको आँखीडाही लागेर शासन सत्ताबाट हत्याइएपछि युगौंपश्चात् पुनः आदिवासी जनजातिहरू जागेको बेला हो- आज । आज धेरै समयसम्म विविध षडयन्त्रपूर्वक र योजनावद्ध ढङ्गले नेपालको राजनीतिबाट पाखा पारिएका बहुसङ्ख्यक आदिवासी जनजातिहरूमा बल्ल राजनीतिक जागरण आएको छ । यस सन्दर्भमा पछि आएका जात-समुदायहरूले यो भूमिमा पछि ल्याएका राजनीतिक दर्शन र संस्कारभन्दा पनि यहीको ढुङ्गा, माटो र हावा, पानी तथा त्यसले विकास गरेको संस्कार संस्कृतिअनुरुपको आफ्नै मौलिक राजनीतिक संस्कार वा दर्शनको खोजी र अवलम्बन गर्नु आजको आवश्यकता भएको छ । यसरी विकास गरिएको राजनीतिक दर्शन र संस्कारले मात्र अब नेपाललाई साँच्चिकै स्थायी शान्ति र दिगो विकाससहितको नयाँ नेपालमा रुपान्तरण गर्नसक्दछ । जो आफ्नो संस्कृति प्रति सचेत र जानकार छैनन् तिनीहरू राजनीतिको माथिल्लो ओहोदासम्म अरुलाई लिस्नो बनाउँदै पुग्ने संस्कार छ । यसरी शासनसत्तामा पुगेका नेतृत्वबाट हामीले के आसा गरेका हुन्छौं र आखिरमा के पाउँछौं - राजनीतिलाई एउटा संस्कारमा ढालेर संस्थागत गर्न सकिएन भने वा संस्थागत गरेर संस्कारगत गर्न सकिएन भने यस्तो राजनीतिले देश र जनतालाई मुक्ति दिलाई समुन्नतिको मार्गमा लैजानको सट्टा झन झन समस्याको भासमा मात्र भसाउँदै लैजान्छ । आफ्नै संस्कार संस्कृतिभित्र पनि राजनीतिक संस्कारको विकास गराउने अमूल्य संस्कारगत निधिहरू यहाँका आदिवासी जनजातिसंग छन् । अहिले ती निधिहरुको अध्ययन र बुझाइको खाँचो छ । आजको अवस्थामा संस्कृति र संस्कारसंग समायोजन नगरिएको राजनीति वा सामाजिक कार्य कुनै पनि सफल र स्थायी हुनसक्दैन । हिजोसम्म संस्कारगत कुराहरूलाई बाधा वा अवरोधका रुपमा लिइन्थ्यो । त्यसले गर्दा समस्या र सम्भावनाको पहिचानै हुनसकेन । समस्या र सम्भावनाको सही पहिचानै नगरीकन गरिएका समाधान र किकासका कार्यहरू सफस र स्थायी हने त सम्भावनै रहेन । आज हामी त्यही गलत विचारको पासोमा परेकाछौं । अझैपनि यस्ता आधारभुत सवाहरूमा ध्यान नदिई दगुर्ने हो भने

जीवनभर दगुरेर अमूल्य समयलाई खर्चिंदा पनि आखिरमा हातलागे शून्य नै हुने कुरा पनि निश्चित छ ।

राजनीतिको विषयमा आजसम्म अपनाइका दर्शन र गरिएका बहसहरूको जरा पहिल्याउँदा प्रायः सबै सवालहरू भारत र चीन वा पश्चिमा देशहरूको उपयोगिता नष्ट भएका विचार वा संस्कारहरूको मात्र अनुकरण गरिँदै आइएको छ । अब के हामीले आफ्नै राजनीतिक दर्शन र संस्कारको खोजी, पहिचान वा निर्माण गर्दै अवलम्बन गरेर अघि बढ्न सक्दैनौं - त्यो संस्कार विशिष्ट र अनुकरणीय होस्, यस्तो संस्कारको खोजी गर्नु हाम्रो कर्तव्य हो । त्यसका आधारहरू हाम्रै पूर्वीय दर्शन, आफ्नै संस्कार-संस्कृतिका मूल्य-मान्यताहरूबाट राजनीतिक संस्कारको विकास गर्दै सबै जनताको मन जितेर जान सक्नुपर्ने भएको छ । यस विषयमा बहस र प्रयासको थालनी हुन्छ कि भन्ने ध्येयले यो कोसिस गरिएको हो ।







२. संस्कार/संस्कृति



कुनै पनि कार्य जसलाई धार्मिक अर्थमा पवित्रता र अपवित्रताको रुपमा स्थापित गरिन्छ भने त्यसलाई संस्कार वार्कर्मकाण्ड भनिन्छ । प्रतीकसंगको सम्बन्धमा स्थापित गर्न गरिने शारीरिक कार्यकलापलाई पनि कर्मकाण्ड वा संस्कार भनिन्छ । संस्कारगत कार्यहरू सन्ततीहरूमा सांस्कृतिक एवं परम्परागत माध्यमले प्रसारण हुँदै आएको हुन्छ । संस्कारगत अवसरहरूलाई सामाजिक अवस्थाको रुपमा पनि लिइन्छ, जुन पृथक र उत्सवमय पनि हुन्छ । कुनै संस्कारहरूले समाजमा रुढीवादीता वा त्यससंगसंगै रहने शक्तिको रुपमा पनि कार्य गर्दछ । तर, पनि यी कार्यकलापहरू सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवधानको रुपमा पनि खडा भइदिन्छन् । जीवनचक्रीय संस्कारहरूले साधारण र जटिल किसिमको दुवै

समाजमा त्यस समाजलाई निरन्तरता दिन उत्तिकै महत्वपूर्ण भुमिका खेल्दछ । मानव शरीरको वृद्धि र विकाससंगै विभिन्न कर्मकाण्डहरूको सञ्चालन हुनु सबै मानव समाजको चारित्रिक विशेषताहरू हुन् र यसको लागि सामाजिक नियन्त्रण र व्यवस्थाको खाँचो पर्दछ । जीवनचक्रीय संस्कारहरू शारीरिक परिवर्तनलाई सामाजिक रुपमा र्सार्थक र महत्वको बनाउने क्रममा आधारभुत आवश्यकता हुन्छन् । यस्ता जीवनचक्रीय संस्कारहरू नवजात शिशु वा नयाँ सदस्यलाई परिवारमा सामेल गर्न र मृतकलाई

परिवारबाट पृथक गराउन दुवै अवस्थामा प्रयोग हुन्छन् । संस्कारगत कार्यहरू वर्तमानमा सामाजिक जीवनका सबै क्षेत्रहरूमा विद्यमान देखिन्छन् । यो एउटा यस्तो आधारभुत माध्यम हो, जसबाट व्यक्ति र समूह दुवैले आफ्ना आइपरेका समस्याहरू सामाजिक अस्तित्वको पवित्रता र अपवित्रताको पक्षबाट समाधान गर्दछन् । त्यसैगरी, कुनै समाज वा समुदायमा स्थापित व्यवहारको तौरतरिकाहरूलाई रीतिथिति भनिन्छ । नियमित सामाजिक अभ्यास वा र्सवस्वीकृत व्यवहारिक नीति-नियमहरू जुन अनौपचारिक रुपमा सञ्चालित हुन्छन् र यसले कुनै सांस्कृतिक समुदायलाई अर्कोबाट पृथक देखाउँछ भने त्यसलाई पनि रीतिथिति भनेर बुझ्न सकिन्छ ।







३. राजनीति र राजनीतिक संस्कारः



राजनीति शास्त्र राजनीति र सरकारको अध्ययन वा विज्ञान हो । राजनीतिले परम्परागत संस्कार-संस्कृति र मूल्य मान्यताको आडमा समाज व राष्ट्रलाई व्यवस्थित र न्यायपूर्ण रुपमा सञ्चानल गर्न आवश्यक अनेक नीति नियमहरूको निमार्ण र लागू गर्ने गराउने गर्दछ । आजसम्म यो नीति निर्माणको तहमा जुन जाति वा समुदायको पहुच रह्यो उसले आफ्नै धर्म-संस्कृतिको जगमा नीति-नियम वा विधि-विधानहरूको निर्माण गरी राज्य सञ्चालन हुँदै आएको छ । राजनीतिक प्रणालीभित्रको मूल्य, मान्यता र विश्वासहरूलाई राजनीतिक संस्कार भनिन्छ । सधैँ यो विश्वास गरिन्छ कि विशेष राजनीतिक संस्कारको निर्माण लामो अन्तरालको ऐतिहासिक विकास र यसको विशेष चरित्रले निर्माण गर्दछ । कुनै पनि व्यक्ति, जाति वा समुदायको संस्कारले राजनीति गराइका संस्कृतिलाई प्रभाव पार्दछ, त्यसैलाई राजनीतिक संस्कार भनिन्छ । यही प्रक्रियाबाट नयाँ राजनीतिक संस्कारको विकास पनि हुदैजान्छ । त्यो व्यक्ति, जाति वा समुदाय जोसंग आफ्नै खालको पृथक संस्कार हुँदैन र भएपनि त्यसबाट निर्देशित हुन सक्दैन उसले आफ्नो राजनीतिक संस्कारलाई अरुको भन्दा कुनै विशिष्ट किसिमको बनाउनै सक्दैन । यस्तो अवस्थाम सदैव सही राजनीतिक संस्कारको समस्या खड्किरहन्छ । यस्तो अवस्थामा त्यस व्यक्ति वा जाति आफ्नो राजनीतिबाट केही नयाँ कुराहरू सिक्न सक्दैन । सदैव ऊ अर्कै संस्कार संस्कृतिको पिच्छलगु वा भरौटे मात्र भइरहेको हुन्छ । मानिसले आफ्नो विचार र संस्कारलाई प्रत्येकपल नयाँ नयाँ सोचले नवीकरण र रुपान्तरण गरिरहनु पर्दछ । मानिसको सोचले संस्कारलाई र संस्कारले सोच वा विचारलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले, प्रत्येक राजनीतिज्ञ तथा सामाजिक कार्यकर्ताहरूले आफ्नो र अरुको पनि संस्कार-संस्कृतिबारे ज्ञान राख्नु अत्यावश्यक हुन्छ । उसले अरुको संस्कृतिलाई घृणा र उपेक्षा गर्नुको सट्टा त्यसबाट नयाँ कुराहरू सिकेर आफू पनि रुपान्तरित हुन सक्नुपर्दछ ।







४. संस्कृति र राजनीतिको सम्बन्ध



राजनीतिविनाको संस्कृति बाँच्न वा अस्तित्वमा रहन सक्दैन । संस्कृतिविनाको राजनीति चल्न वा टिक्न सक्दैन । नेपालको सर्न्दर्भमा आदिवासी जनजाति संस्कृतिहरू आजसम्म राजनीतिविनाको संस्कृकितको रुपमा रहे । यसरी राजनीतिको छत्रछायाँ नपाएपछि कतिपय आदिवासी संस्कृतिहरू लोप भए त कति विकृत वा हिन्दूकृत भए । यसरी नै नेपालमा हिन्दू धर्मसंस्कृतिले लामो समयसम्म राजनीतिको मलजल पाइरहृयो र आज पनि यो संस्कृतिको हावी छ, हरेक क्षेत्र र पक्षमा जरा गाढेको छ । कुनै पनि संस्कृति अस्तित्वमा रहन यसले स्थानीय पर्यावरण वा प्राकृतिक नियम, राज्यको राजनीतिक शासन व्यवस्था र विश्वको सांस्कृतिक आक्रमण वा हस्तक्षेपबाट संघर्ष गरी बचेर अस्तित्व कायम गर्दै जानु पर्दोरहेछ भन्ने ज्ञान आजको परिस्थितिले सिकाउँदछ । राजनीति र संस्कृतिको सम्बन्ध निरपेक्ष हुन सक्दैन । तर आज, लोकतन्त्र वा गणतन्त्र पनि बहुसांस्कृतिक चरित्रको हुन आवश्यक छ । ठाउँ , जाति र परिस्थिति अनुसार बेग्ला-बेग्लै वा धेरै संस्कारहरूको समतामुलक प्रतिनिधित्व वा समावेशी स्थान आजको राजनीतिमा हुनुपर्दछ न कि कुनै एकको मात्र वर्चश्व रहोस् ।







५. लिम्बू संस्कार-संस्कृतिमा राजनीतिक संस्कारको खोज

अब लिम्बू संस्कृतिको केही पक्षभित्र केही राजनीतिक संस्कारको खोजी र पहिचान गरिहेरौं ।




क. साप्पोक् चोमेन् -कोखपूजा

लिम्बू जातिमा गर्भमा रहेको शिशुको समेत रक्षाको लागि औपचारिक संस्कार सम्पन्न गर्ने गरिन्छ । सम्भवतः यो लिम्बू जातिमा मात्र रहेको विशिष्ट संस्कार हो । यो अनुष्ठान प्रायः गर्भ रहेको नौ महिनाभित्रमा गर्ने गरिन्छ । यो अनुष्ठान कार्य गर्दा मानवको सृष्टि, गर्भधारण र त्यसले पारेको प्रभाव, अनुभूति वा समस्याबारे रोचक मुन्धुम वाचन गरिन्छ । अब यस संस्कारबाट हामीले कस्तो खालको शिक्षा वा सामाजिक मूल्य मान्यतको पहिचान गर्न सक्छौं त - उहिले आजको जस्तो अनेक अड्डा अदालत वा औपचारिक न्यायालयहरू नभएको बेला यो संस्कारको उपादेयता के थियो त - यसबारेमा अलिक गहन रुपले सोच्दा जो कोहीले पनि केही कुराहरूको अड्कल गर्न सकिन्छ । गर्भधारण र सन्तान उत्पादनका तत्कालीन अनुभव र अनुभूतिहरू आज पनि मुन्धुम्को रुपमा सुन्न पाउनु के कम महत्वको कुरा हो र - उसबेलाको अवस्था आजको जस्तो साइनो सम्बन्धले व्यवस्थित थिएन । बहुपति र पत्नीहरू हुन्थे । विकासको क्रममा जव मानव समाज व्यवस्थित रुपमा सञ्चालन हुन थाल्यो तब कुन सन्तान कस्को हो भन्ने सवालले पनि महत्व राख्नथाल्यो । बेवारिसे शिशुको अस्तित्व संकटमा पर्दै गएपछि गर्भावस्थामै त्यस शिशुको अस्तित्वकलाई उसका पिता र परिवारले औपचारिका रुपमा स्वीकार्नु पर्‍यो कि परेन त - लिम्बू समाजको सामाजिक तथा साँस्कृतिक मूल्य मान्यताहरू महिला पुरुषमा विभेद

गर्ने खालको नभएकोले गर्भिणी महिलाको सामाजिक प्रतिष्ठा र स्वीकृतिको लागि उनको गर्भको सहर्षस्वीकृति र रक्षाको लागि उक्त परिवार वा पिताले यो गर्भरक्षाको अनुष्ठान सम्पन्न गर्नु आजको वैज्ञानिक र व्यवस्थित समाजमा पनि खेलाँचीको कुरा हो र - यसबाट हामीले राजनीतिक संस्कारको रुपमा आफ्नो व्यक्तिगत वा सांगठनिक उत्तरदायित्व बहनका पाठहरू सिक्ने कि नसिक्ने त - आफ्ना गल्ती वा आफूले गरेको कामको जिम्मेवार आफै हुने कि नहुने - योभन्दा धेरै संस्कारगत शिक्षाहरू यो

संस्कृतिबाट सिक्न सकिन्छ । कसले कति कुरा बुझ्ने वा सिक्ने भन्ने कुरा त ऊ आफ्नो संस्कृति वा सामाविक एवं राजनीतिक दायित्वप्रति कतिको सचेत र उत्तरदायी छ भन्ने कुरामा पनि भरपर्छ ।



ख. जन्म र याङ्दाङ फोङ्मा -जन्म र कोक्रो उठाउनी

बच्चा जन्मिने दखतमा छरछिमेकका महिला-पुरुषहरू आफूले निभाउनु सक्ने भुमिका अनुसार गाह्रो-साँघुरो र आपत- विपतका लागि तयारी भई सहयोग गर्ने कुरा त सामान्य भयो । विशेषतः अनुभवी महिलाहरूले आफूलाई परेको अप्ठ्यालाई सम्झेर सुत्केरीलाई शारीरिक र मानसिक रुपमा साथ र सान्त्वना दिने नै भए । लिम्बू समाजमा बच्चा छोरी भए तीन दिन र छोरा भए चार दिनमा कोक्रो उठाउने -याङ्दाङ्फोङ्मा) संस्कार गर्ने चलन छ । यसो सुन्दा शंका लाग्छ कि लिम्बू संस्कृति विभेदपूर्ण छ कि जस्तो लाग्न सक्छ । तर, मुन्धुम्मा महिलाको जीवनक्रहरू पुरुषको भन्दा केही छिट्टै वृद्धि र विकास भई चल्ने प्रसंगहरू छन् । विज्ञानसम्मत ढंगले हेर्दा पनि पुरुषभन्दा महिलामा केही छिट्टै शारीरिक वृद्धि र मानसिक विकास भई परिपक्व हुने कुरा र्सवविदितै छ । यही विज्ञानको नियम अनुसार पनि पुरुषभन्दा महिलाको संस्कारत चक्रहरू केही छोटो र छिटो हुनुलाई स्वभाविक मान्न सकिन्छ । कोक्रो उठाउनी संस्कार गर्दा फेदाङ्मा वा तुम्याहाङ्ले नवजात शिशुलाई ऊ जन्मेको समाज र संसारको परिचय गराउँछन् । छोरा छोरी दुवैलाई सामाजिक मुल्य मान्यतानुसारको कार्यहरू गर्न कर्तव्यबोध गराउने र आशिष दिने गरिन्छ । यसरी आफ्नै मातृभाषामा बच्चाको नाम जुर्राई दिएर त्यस दिनदेखि त्यही नामले सम्बोधन गरी बोलाउने चलन हुन्छ । फेदाङ्मा वा तुम्याहाङ्ले विभिन्न फूल, जीवजन्तु, पंक्षी र डाँडाकाँडा, खोलानाला वा समुन्द्र आदिको नाम पुकार्दै त्सस्तै सुन्दर,शक्तिशाली, दीर्घायु र विवेकी हुने आशिष दिन्छन् । यही दिनबाट बच्चालाई पवित्र पारी सर्वस्वीकार्य गराइन्छ । यस संस्कारबाट व्यवहारिक वा राजनीतिक संस्कारको शिक्षा लिन खोज्दा, मानिस आफू एक्लै बेसहरा होईंदो रहेछ । हरेक अवस्थामा एकापसको साथ सहयोग चाहिँदो रहेछ । महिला पुरुषबीचमा जति समानता छ है भनेर वकालत गर्दा पनि प्राकृतिक जिम्मेवारी र शारीरिक तथा मानसिक वृद्धि र विकासमा केही पृथकता पनि रहेछ । यसलाई विभेदभन्दा पनि सही पहिचानको रुपमा लिनुपर्ने रहेछ । साथै, मानिस आफू सृष्टिको र्सवश्रेष्ठ प्राणी भएर पनि ऊ केही अपूरो र अधुरो पनि रहेछ । त्यसैले, मानिसले मान्छेबाटमात्र नभएर पशुपंक्षी र कीरा फट्याङ्ग्राको जीवन र आचरणबाट पनि धेरै ज्ञानगुनका कुराहरू

सिक्न सकिँदो रहेछ भन्ने पाठ यी संस्कारले सिकाँदछन् । त्यसैले,राजनीतिक वा सामाजिक कार्यकलापहरू गर्दा आफूमात्र ज्ञानी र सर्वेसर्बा भएजस्तो भइयो भने सही भुमिका निभाउन नसकिने रहेछ भन्ने शिक्षा यस्ता संस्कारबाट पनि पाउन सकिँदो रहेछ ।



ग. माङ्गेन्ना -शीर उठाउनी

यो माङ्गेन्ना लिम्बू जातिहरूले आफ्नै घरपरिवारमा प्रत्येक सदस्यले छ महिना वा वर्षो एकपटक अनिवार्य रुपमा सम्पन्न गर्ने संस्कार हो । माङ्गेन्नाको शाब्दिक अर्थ \\\\\\\'संरक्षक महिला चेली\\\\\\\' वा \\\\\\\'दैविक आत्मरक्षा\\\\\\\' भन्ने लाग्दछ । यसमा चेली माइती वा महिला पुरुषको महत्वपूर्ण भुमिका रहन्छ । माङ्गेन्ना चेलीको लागि माइती र माइतीको लागि चेलीको अनुपस्थितिमा अधुरो र अपूर्ण रहन्छ । चेलीको माङ्गेन्ना -शीर) उठाउन माइती र माइतीको शीर उठाउन चेलीको उपस्थिति जरुरत पर्दछ । एक माइतीको लागि उसको ढलेको शीर उठाउन योग्य र पवित्र उसको चेली र चेलीको लागि माइती मात्र हुनसक्दछ । माङ्गेन्ना संस्कार चेली माइती वा महिला पुरुषबीचको अपरिहार्यता र सु-सम्बन्धको प्रतीक पनि हो । यो अनुष्ठान सम्पन्न गर्न फेदाङ्मा वा साम्बाको लागि पनि निकै कठिन कार्य मानिन्छ । उक्त अनुष्ठान गर्दा फेदाङ्मा वा साम्बाले त्यो सम्बद्ध जाति वा थरीको ऐतिहासिक तथा मिथकीय रुपरेखा र चेली माइतीको पवित्र सम्बन्धको मुन्धुमबारे राम्रो ज्ञान हुनुपर्दछ । फेदाङ्मा वा साम्बाले १० लिम्बूहरूको बसाइ सर्राईको मिथक वा किम्बदन्तिको वाचन गर्नुपर्दछ । यो मिथकको सुरुवात मानव जातिको उत्पत्तिस्थल \\\\\\\'मुनाफेन् तेम्बे\\\\\\\'बाट हुन्छ । शीर उठाउनी अनुष्ठान गर्दा फेदाङ्मा वा साम्बाले घरमुली वा अनुष्ठान कर्तालाई उत्साह र आशिष दिने गर्दछन् । येबो वा मैनाम दिंदैं कुनै आपद विपद आई नपरोस्, आँखी डाही नलागोस् भनी आशिष दिने वा उत्प्रेरित गर्ने गरिन्छ । अब त्यस्तो हुँदैन भनेर भरोसा जगाउने गरिन्छ । माङ्गेन्ना आफैमा एकप्रकारले पूर्खा र प्रकृति प्रतिको सम्मान वा आदरभाव व्यक्त गर्ने अनुष्ठान पनि हो । लिम्बू जातिमा वर्तमानको सुख वा दुःख भनेको विगतको कामको फल हो भन्ने कुरामा विश्वास गरिन्छ । यस मुन्धुमले पनि सोही भावलाई इङ्गित गर्दछ । यस माङ्गेन्ना मुन्धुम्को प्रारम्भ सृष्टिको कथा, मानव जातिको उत्पत्ति, विकास र उसको बासस्थानको विकाससंगै हुन्छ । त्यसप्रति मानव जातिको चाखलाग्दो बर्साई सर्राईको परिघट्नाको वर्णन हुन्छ । आखिरिमा मानव जाति आफू बस्ने सुहाउँदो ठाउँमा पुगेर वा रोजेर बस्न थालेको मुन्धुमको वर्णन हुन्छ । यर्सअर्थमा, यो अनुष्ठान उक्त व्यक्ति वा वंशको वंशीय वा ऐतिहासिक रुपरेखा पनि हो । सम्भवतः माङ्गेन्ना मुन्धुमचाहिं मानव जातिको फिरन्ते जीवनसंग सम्वद्ध छ । यो युग वा अवस्था खाद्य सामग्रीको संकलन र सिकारी प्रणालीमा आधारित थियो । लिम्बू जातिले आफ्नो उत्पत्ति तथा विकासको जीवन्त इतिहास यही माङ्गेन्ना मुन्धुमबाट थाहा पाएर अझै पनि अस्तित्वमा छन् । यसैले, उनीहरूको संस्कार, संस्कृति जीवन्त छ । अझै उनीहरूमा आफ्नै खालको जीवनशैली छ । लिम्बू संस्कार र सभ्यतामा यो माङ्गेन्ना मुन्धुम लिम्बू वंशको ऐतिहासिक बसाइ सराइ वा विकासक्रमको गतिविधि थाहा पाउने उपयोगी माध्यम पनि हो । यसरी यस माङ्गेन्ना अनुष्ठान लिम्बूलगायत समस्त मानवजातिकै लागि अनगिन्ती सामाजिक तथा राजनीतिक सस्कारहरूको स्रोतको रुपमा रहेको छ । विशेषतः व्यक्ति, परिवार, समाज र जातिको इतिहास र महत्वबारे यस संस्कारले राम्रो शिक्षा प्रदान गर्दछ । आजको विभेदित समाजमा चेली माइती वा महिला र पुरुषबीको परिपूरक सम्बन्धको सार्थकता र समान महत्व यस संस्कारले सिकाउँदछ । एक व्यक्ति, जाति वा वंशको आफ्नै किसिमको विकासक्रम र इतिहास हुन्छ । यस इतिहासले उसलाई सदैव उत्प्रेरित र सही मार्ग प्रशस्त गरिरहेको हुन्छ । यसबाट हामीले कुनै पनि संघ संगठन वा व्यक्तिगत जीवनलाई सञ्चालन गर्दा पनि त्यसको विकास क्रमको इतिहास, दर्शन र लक्ष्य हुनपर्दोरहेछ । यस्तो विगत,वर्तमान र भविष्यवेगरको व्यक्ति र संस्थाको र्सार्थकता नहुँदो रहेछ भन्ने ज्ञान हुन्छ ।



घ. मेःक्खिम् -विवाह

मानिसले सानो उमेरमा थाहै नपाई टालाटुली बटुलेर खेल्दाहोस् वा भात पकाई खेल्दादेखि नै विवाहको नाटकहरू गर्दै आइएको हुन्छ । जीवनको विहानीभरि साँचेको सपना विवाहलाई लिम्बू संस्कृतिले खेलाँचीको रुपमा मात्र लिँदैन । यो कुरा लिम्बू तरुण-तरुणीहरूले माया-प्रीतिको नृत्य धाननाच नाच्दा नाचको शैली र भनिने गीत पालामको भाका वा भावले प्रस्ट्याउँदछ । लिम्बू समाजमा आफूलाई लागेको कुराहरू ठाडै कसैलाई आघात पर्ने गरी भन्ने चलन थिएन । प्रेमको प्रस्ताव प्रत्यक्ष बोलिले भन्दा पनि ख्याल्लि वा पालामको भाका वा व्यवहारले प्रकट गर्ने चलन थियो । यो चलन अझै पनि छ भन्न नसकिने अवस्था छ । विभिन्न संस्कृतिको प्रभाव र असरले कतिपय संस्कारहरूको अवशेषमात्र बाँकी छन् । कसैको विवाह गर्नु परेमा वा कसैका लागि \\\\\\\'मेन्छिन्\\\\\\\' वा \\\\\\\'थाङ्बेन्\\\\\\\' रोज्नु परेमा धनसम्पत्ति भन्दा पनि कूल घरान वा संस्कारलाई हेर्ने गरिन्छ । ऊ कस्तो संस्कार वा बानी व्यहोराले युक्त छ भन्ने कुरा प्रमुख मापदण्ड हुन्छ । ऊसंग पहिले के थियो र अहिले के छ भन्दा पनि सम्भावनाहरू के के छन् भन्ने आधारबाट एकापसलाई मूल्याङ्कन गर्ने गरिन्छ । किरात मुन्धुममा प्राकृतिक वा आत्मिक सुन्दरताको गहन वर्णन छ । सुन्दर सोचले युक्त मानिस सधैं सबैका लागि सुन्दर हुन्छ भन्ने भाव मुन्धुममा पाइन्छ । मानिस पनि सृष्टिकर्ताले संसारलाई सुहाउँदो र सार्थक बनाउन आखिरिमा सिर्जना गरेको हो भन्छ, मुन्धुमले पनि । लिम्बू समाजमा विवाहको लागि केटापक्षबाट प्रस्ताव बढाइन्छ । केटी मगनी मुन्धुममा मानव जीवन र फूल तथा फूलबारीको सुन्दर र अनुपम वर्णन गरिन्छ । प्रस्ताव गरिने केटीलाई सुन्दर फूलबारीको अति सुन्दर र सुवासलेयुक्त फूलको प्रतीकको रुपमा वर्णन गरी उक्त फूललाई टिप्न मागिन्छ । त्यस्तै केटी पक्षका तुम्याहाङको तर्फबाट पनि साविकैको प्रत्युत्तर वा सोधनी हुन्छ ।

प्रस्ताव स्वीकार भएपछि केटाले केटीको पछ्यौरीमा चाँदीको ढक -युप्पारुङ्) बाँधीदिने गरिन्छ । यो \\\\\\\'युप्पारुङ\\\\\\\'लाई विवाहपछिको प्रेम, उत्तरदायित्व र स्वतन्त्रताको प्रतीकको रुपमा लिइन्छ । विवाहमा सहभागी हुने लोकन्दी, माइती र पाहुनापात, च्याब्रुङवादक र खबरदारी बन्दुकेको संयोजनले एक विवाह पूरा हुन्छ । लगन गर्दा वाचन गरिने मुन्धुम, हाक्पारे साम्लोको माध्यमबाट गाइने जीवनको फूल जगाउने अनुष्ठान \\\\\\\'फुङ्वा चाङ्मा\\\\\\\' र घुन झार्ने \\\\\\\'थकथाम्मा\\\\\\\' मुन्धुमले साँच्चिकै सुस्ताएको जीवनलाई जगाई दिन्छ र भौतिक शरीरको मिलन गराउँछ र दुइ भिन्न आत्मालाई एकै बनाइदिन्छ । यस्तो सिलसिलावद्ध र कारुण्कि तथा अर्थपूर्ण संस्कारमा हुर्किएका लिम्बू समुदायको राजनीति तथा सामाजिक संस्कार साँच्चै नै सबै समुदायको लागि अनुकरणीय हुनुपर्ने हो । यदि त्यस्तो छैन भने अवश्य पनि त्यही संस्कारको बुझाइमा कमी छ भनेर बुझुनु पर्दछ । त्यस्तो सामाजिक कार्यकर्ता वा राजनीतिक नेताले उक्त समाजलाई सही नेतृत्व र मार्गदर्शन दिनु त के झनै क्षतविक्षत मात्र नपार्देला भनेर ढुक्क हुन सकिन्न । एउटा विवाहजस्तै सामाजिक कार्य वा राजनीति गर्राई पनि एउटा सम्झौता वा विधिको शासन हो । यदि कसैले त्यो सम्झौतालाई तोड्छ र विधिविधानमा चल्दैन भने त्यसमा सामाजिक वा रानीतिक संस्कारको उल्लङ्घन भएको मान्नुपर्दछ । सामाजिक कार्यकर्तालाई समाजले र रानीतिक कार्यकर्ता वा नेतालाई समाज र इतिहास दुवैले नियन्त्रण गरी काबुमा राख्दछ । मानवा समाजमा आफूले गरेको गल्तीबाट कहिल्यै पनि उम्कन सकिन्न । सिकार गरेर भागेको जंगली जनावरजस्तै भाग्न सकिन्न ।



ङ. नाहाङ्मा

लिम्बू जातिमा अत्यन्त मनितो गरिने देवतामा हारारा पित्चम्मा र खाम्बुत्लिङ् नाहाङ्मा हो । यस जातिको आख्यान र मान्यतानुसार पुरुष-माइती) एक्लैले केही गर्न सक्दैन । स्त्री-चेली शक्तिलाई धागो, डोरी, पात, घुङ्रिङ इत्यादिका रुपमा आफूसंग राखिन्छ । यो नाहाङ्मा विशेष गरी घरको मूली व्यक्तिको गरिन्छ । कुनै ठूलो महत्वपूर्ण काम गर्नुअघि सफलता र शुभसाइत वा सौभाग्यको लागि यो अनुष्ठान गर्ने गरिन्छ । यो अनुष्ठान केवल घरको मूलीको मात्र र सबै बयस्क परिवार सदस्यहरूको पनि गरिन्छ । नाहाङ्मा अनुष्ठान प्रायः तीनवर्षो अन्तरालमा गर्ने गरिन्छ । सक्नेले वर्षौपिच्छे पनि गर्नेगर्छन्, गर्न सकिन्छ । यो माङ्गेन्नासंगै पनि गर्न सकिन्छ । यो अनुष्ठान गर्दा घरभित्र सबै ढोका बन्द गरेर भित्रबाहिर नगरीकन सम्पन्न गरिन्छ, कुनै संगठनको बन्दसत्र जस्तो । नाहाङ्मा संस्कार परिवारमा शक्ति प्राप्त गर्न गरिने पुजा हो ताकि सम्पूर्ण कमजोरी वा बाधा व्यवधानहरू परास्त होऊन् । आज यो अनुष्ठानलाई आत्मप्रेरणा वा उत्प्रेरणाको स्रोतको रुपमा लिइन्छ । यस पूजामा बन्दुक, गुलेली, ढाल-खो-), तरबार र भाला आदि हतियार सामग्रीहरूको पनि पूजा वा प्रयोग गरिन्छ । केवल फेदाङ्मा र साम्बाले मात्र यो अनुष्ठान सम्पन्न गर्न सक्दछन् । कुनै अवस्थामा मुन्धुम्मा परेको अस्पष्टता वा दुविधालाई समाधान गर्न भद्र भलाद्मी (तुम्याहाङ्) तथा र्सवसाधारण व्यक्तिहरूको सहयोग लिइन्छ । लिम्बू समाजमा कुनै पनि अनुष्ठान गर्दा फेदाङ्मा वा साम्बासंगै यी भद्र व्यक्तिको पनि आमन्त्रण साक्षी वा सहयोगीको रुपमा गरिएको हुन्छ । यस अनुष्ठानमा मानिसलाई उसको \\\\\\\'चोःत्लुङ्\\\\\\\' मा पुर्‍याएर ल्याइन्छ । यो चोत्लुङ्लाई मानव जातिको शक्ति, प्रतिष्ठा र प्रगतिको प्रतीकको रुपमा लिइन्छ । यस संस्कारले लिम्बू जातिलाई बलवान र लडाकू चरित्रको हुन प्रेरित गर्दछ । सामाजिक तथा राजनीतक कार्यहरूका बुद्धि र बल दुवै शक्तिको अपरिहार्यतालाई यस अनुष्ठानले इङ्गित गर्दछ । कुनै पनि महान कार्य सम्पन्न गर्न लासेलुसे पाराले हुँदैन । त्यसको लागि सामर्थ्यवान, आँटी र हातहतियारले पनि सुसज्जित हुनुपर्ने रहेछ भन्ने पाठ यस संस्कारले सिकाउँदछ । कुनै गलत कार्य गरेर शीर ढलेको वा केवल व्यक्तिगत स्वार्थले मात्र उत्प्रेरित नेतृत्वले सफलताको सिँढीमा पुर्याउँदैन । फेदाङ्मा वा साम्बाले चोःत्लुङ्मा पुर्‍याउन गरेको तयारी वा कसरत, लिएको साथ वा अपनाएको होसियारीपन सबै सबै राजनीतिमा पनि अपनाउनु पर्दछ भन्ने पाठ यसबाट सिक्न सकिन्छ । घरको मुली घरको नेता भएझैं कुनै पनि संघ संगठनको पनि र्सवमान्य नेता हुनुपर्छ, उसले सही नेतृत्व गरेको हुनुपर्दछ । र, अरुले पनि नेताको मान, मर्यादा र सम्मान गर्नुपर्दछ भन्ने शिक्षा पनि यस संस्कारबाट लिन सकिन्छ ।



च. तङ्सिङ् तक्मा

किरात लिम्बू समुदायमा गरिने संस्कार तङ्सिङ्को अर्थ वर्तमानका सन्तति र पूर्खासंगको संयोजन हो । यसलाई लिम्बू समाजमा महत्वपूर्ण अवसरको रुपमा लिइन्छ । यसको शाब्दिक अर्थ, \\\\\\\'समन्वयको कार्यमा नजिक हुनु, सम्झौतामा पुग्नु वा आउनु अथवा समय र परिस्थिति अनुरुप सही वा सुहाउँदो हुनु\\\\\\\' भन्ने हुन्छ । यसको अर्को अर्थ पूर्खाको बाटोमा हिँड्नु वा त्यसलाई खेद्नु भन्ने पनि हुन्छ । तङ्सिङ तक्मा निश्चित परिवारको पूर्खाले बसाएको वा सुरुवात गरेको सामाजिक एकता, ऐक्यवद्धता र समन्वयको संस्कार हो । यसो गरे राम्रो सम्बन्ध, समन्वय वा एकता रहिरहन्छ भन्ने विश्वास गरिन्छ । यस संस्कार सम्पन्न गर्दा सराप बगाउने -माङ्हुप् वादेम्मा) अनुष्ठान पनि गरिन्छ । यसमा मानव समुदायमा भएको अन्तक्रिर्या र द्वन्द्व तथा त्यसको समाधानको मुन्धुम् पाइन्छ । लिम्बू संस्कृतिमा कसैले अहित वा \\\\\\\'कु\\\\\\\' गरेमा उसलाई आजीवन नराम्रो होस् भनी सराप्ने मुन्धुम् पाइन्छ । यसरी सरापेको साँच्चै लाग्छ र त्यस्तै हुन्छ भन्ने मान्यता पनि छ । त्यसैले जान अञ्जानम पिता पूर्खाको पालामा लागेको सरापलाई वर्षौपिच्छे बगाउने चलन छ । यसको सार हामीले त्यस्तो कार्य गर्नै हुँदैन जसको कारण कसैलै हामीलाई सरापोस् । यस्ता सराप लाग्ने कार्य गरेमा ऊ मानसिक तनाव वा पीडामा परेर परलोक हुन्छ भन्ने विश्वास पनि छ, यो संस्कारमा । यो तङ्ससिङ तक्मा अनुष्ठानले हामीलाई संस्कारगत रुपमा एकापसमा मिलेर बस्नु, सहकार्य वा समन्वय गरेर कार्य गर्नु अथवा कार्य गर्दा अतीत, वर्तमान र भविष्य सबै काललाई मनन गरेर काम गर्नु भन्ने पाठ सिकाउँदछ । छ. सिमेरिङ -मृत्यु संस्कार लिम्बू जातिहरूको मृत्यु संस्कारका अनुष्ठानहरू एकदमै मार्मिक, हृदयविदारक र अर्थपूर्ण छन् । मृतकको बाँच्न पाउने अधिकार वा उसको मृत्यृको कारणबारे गहनरुपमा व्याख्या-विश्लेषण वा चिन्तन-मनन गरिन्छ । यसको मुन्धुम् मृतकलाई चिहानमा पुरेर बाटोमा र्फकंदै गर्दा कोही मुन्धुमविद्ले भन्छ- आजको यो दुःखदायी घट्नामा हामी सबै इष्टमित्र सहभागी भई सदगत गर्‍यौं । यो मृत्यु र सदगत्को कार्यप्रति यदि कोही व्यक्तिहरूको चित्त बुझेको छैन वा शंका-उपशंका लागेको भएमा कृपया, त्यो कुरा भन्नु होला । हामी त्यो चित्त नबुझाई वा शंका-उपशंकाको निदान गर्नेछौं । यहाँ कोही त्यस्तो हुनुहुन्छ त -\\\\\\\' भन्ने भावमा सोधनी गरिन्छ । यदि कसैको यो मृत्युप्रति शंका लागेमा वा कसैको कर्तव्य भएको थाहा भएमा अथवा सद्गत गर्राईमा चित्त नबुझेको भएमा यही अवसरमा आफ्नो कुरा राख्न पाइन्छ । यदि त्यस्तो नभए \\\\\\\'यहाँ हामीमध्ये त्यस्तो कोही छैनौ है भन्नुपर्दछ । यस संस्कारले आजभन्दा हजारौं वर्षअगाडि जुनबेला वर्तमानको जस्तो नियम कानुनहरू थिएन, त्यसबखत पनि न्यायसंगत कार्य हुन्थेछ भन्ने ज्ञान हुन्छ । अन्तिम कर्म बर्खन्तको दिन वा सुद्ध्याँइ - खाउमा) अनुष्ठान गर्दा पनि यही भावको मुन्धुम् भनेर अन्तिम् विदाइ गरिन्छ । यस संस्कारले मानिसको जीवनको महत्वबारे प्रकाश पार्दछ । कोही समस्या वा आपद् विपद्मा हुदा उसलाई बचाउन सथासक्य प्रयास गरियो कि गरिएन भनेर खोजी गर्दछ । मानिसको जीवनलाई खेलाँची सम्झेर कसैको व्यक्तिगत स्वार्थपूर्ण सामाजिक वा राजनीतिक सौदाबाजीमा समपर्ण गर्नुहुन्न भन्ने भाव झल्किन्छ । मानिसको मृत्यु भएझैं विचारको पनि मृत्यु हुनसक्छ । त्यति सजिलै विचारको मृत्यु पनि हुनुदिनु हुन्न । मानिसलाई आपसमा साइनो सम्बन्धले भन्दा पनि विचार र

भावनाले बाँधेको र बचाएको हुन्छ ।





६. किरात दर्शन



किरात लिम्बू संस्कृतिभित्रका केही अंश माथिका कुराहरूले संकेत गर्ने दर्शन मध्यम मार्गीय शैलीको छ । यसले हामीलाई सबैको सामयिक अस्तित्वलाई स्वीकारेर जीवन, समाज र राज्यको सञ्चालन गर्नुपर्दछ भन्ने भाव झल्कन्छ । कुनै पनि अतिवाद वा कट्टरताले जीवन र समाजलाई निरस र निर्रथकमात्र बनाउँदछ । बहु जाति र संस्कृतिको सामाजिक तथा राजनीतिक अस्तित्वलाई स्वीकार्ने बहुसांस्कृतिक एवं सह-अस्तित्ववादी किरात दर्शनको पहिचान र विकास गर्नु आजको आवश्यकत हो ।





७. निष्कर्ष



नेपालमा संघीय राजनीतिको अभ्यास भइरहेको बेला यो राजनीतिक संस्कारको बहसले केही मौलिक दर्शनको उद्घाटन गर्न सक्छ कि भनेर शुरुवात गरिएको हो । किरात लिम्बू संस्कृतिभित्र मात्र पनि यस्ता दर्शनका स्रोतहरू असिमित छन् केवल पहिचान र उद्घाटनको मात्र खाँचो छ । वैचारिक बहस र अन्तर्त्रिया गरौं, यस प्रक्रियाले हामी सबैलाई निखार्दछ र तिखार्दछ पनि । हामीहरू कतिपय सवालमा आफ्नै संस्कार, संस्कृति र धर्म दर्शनभित्र रहेका अनुपम ज्ञानहरूलाइ पहिचान गर्न नसकेर पनि पछि परेका हुन्छौं । अब हामीले आफ्नै संस्कृतिमा पनि राजनीतिक संस्कारहरू खोजेर मौलिक राजनीतिको सूत्रपात गरौं । आफ्नै संस्कृतिकै कठघराबाट अहिलेको राजनीति र राजनीतिक संगठन वा नेतृत्वलाई नियालौं, जोखौं र सही बाटो पहिल्याउँ । यसरी नै अब हामीले किरात धर्मदर्शनको खोजी पनि गर्न बाँकी छ ।



साभारः निङ्वा-सो स्मारिका २०६४

लिम्बू विद्यार्थी मञ्च त्रिभुवन विश्वविद्यालय इकाई समिति कीर्तिपुर, नेपाल

लेख:

Special Thanks to the Blogger of www.limbuwan.blogspot.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम