Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
घनचक्करमा एकचक्कर (शार्दूल भट्टराई) - [2008-01-24]

केही नवीनताका साथ देखापरेको \'घनचक्कर\'ले नेपाली उपन्यास विधामा नयाँ बान्कीसहित आफ्नो उपस्थिति जनाएको छ।





पुस्तकः घनचक्कर लेखकः सञ्जीव उप्रेती

प्रकाशकः पब्लिकेसन नेपालय कालिकास्थान, काठमाडौं

पृष्ठः २४७ मूल्यः रु.२५०



कुनै घटना वा परिस्थितिले मान्छे पागल हुनसक्छ। तर एउटा सद्दे मान्छेलाई पागल घोषित गरियो भने त्यो मान्छेको मनोदशा कस्तो होला? पागल बनेका भन्दा जबर्जस्ती पागल बनाइएका व्यक्तिको मनोदशा बढी पीडादायी हुन्छ। \'घनचक्कर\' देशको राजनीतिक द्वन्द्व र विसङ्गतिबाट प्रभावित भएर विचलित अवस्थामा पुगेको त्यस्तै एउटा तथाकथित पागलको मनोदशालाई केन्द्रबिन्दुमा राखेर बुनिएको उपन्यास हो।



चिन्ता र छटपटीमा रहेको उपन्यासको नायक विश्वविद्यालयमा पढाइरहेको र न्यू काठमाडौं पोष्ट मा स्तम्भ पनि लेखिरहेको हुन्छ। तर आफन्तहरूकै समाजले उसलाई पागल ठान्छ। ऊ आफूमा रहेको चिन्ता, छटपटी, गडबडी सबैको समग्र समाधानको \'खोज\'मा लाग्छ। जोगी बनेर घरबाट हिँड्छ र पाटीमा बस्न पुग्छ। एउटा मन्त्रालयको कन्टेनरबाट कागजको चिर्कटोमा \'घनचक्कर\' शीर्षकमा लेखिएको बेनामी लेख भेट्छ। जीवनरुपी घनचक्करका राजनीतिक, मनोवैज्ञानिक, अस्तित्वपरक र पदार्थवादी चार वटा प्रमुख कारक रहेको उल्लेख भएको त्यो लेखको पानो कुनै काम नभएको ठान्दै फालिदिन्छ। पछि ऊ घर फर्किने निष्कर्षमा पुग्छ। बीचमा आफन्तले भेटेर पागलपनको उपचार गर्न जबर्जस्ती अस्पताल पुर्‍याउँछन्। अस्पतालबाट निस्किने प्रयास गरिरहेकै अवस्थामा पत्नीले डिस्चार्ज भएको बताएपछि ऊ खुसी हुन्छ र घर फर्किन्छ।



एकदमै सङ्क्षिप्तमा, उपन्यासकार सञ्जीव उप्रेतीको \'घनचक्कर\'को कथा यही नै हो। तर यो कथाभित्र अरू पनि उपकथा, घटना र चरित्र तथा ऐतिहासिक ठाउँ र विवरणहरू छन्।



मान्छे पागल नै नभए पनि देशमा देखापरिरहेका घटना र परिस्थितिले उसलाई मानसिक प्रताडना दिएर पागल बनाउँछन्। देशको राजनीतिले धेरैलाई पागल बनाइसकेको छ। प्राज्ञिक अस्तव्यस्तताबाट पागलपनको मानसिकता व्यहोर्न बाध्य हुनेहरू, प्रशासनिक, आर्थिक र सामाजिक पद्धतिका कारण पीडा भोग्नेहरू कोही सद्दे मनस्थितिमा बाँच्न सकेका छैनन्। सामाजिक विसङ्गतिले धेरैलाई विक्षिप्त अवस्थामा पुर्‍याएको छ। तर, यस्तो पीडा भोग्नेहरू हैनन्, यस्तो स्थितिको सिर्जना गर्नेहरू पागल हुन्। उनीहरूको मानसिक अवस्था स्वस्थ भइदिएको भए अरूले पागलपनको पीडा भोग्नुपर्ने थिएन। यो वास्तविकतालाई रमाइलो पाराले किताबमा लिपिबद्ध गर्ने काम गरेका छन्― उपन्यासकार उप्रेतीले।



देशको अवस्थाबाट नागरिकको मन कसरी विचलित हुन पुगेको छ र उसले कस्तो मनोदशामा देशका घटनाहरूको अध्ययन गरिरहेको छ भन्ने कुरालाई उपन्यासकारले विभिन्न विम्ब र प्रतीकका माध्यमबाट प्रस्तुत गरेका छन्।



विचलित मनोदशाबाट मुक्ति प्राप्त गर्ने खोजमा उपन्यासको नायक फेरीवाल योगी दिलवरनाथ र शक्तिरेखाको अनुसन्धाता जर्मन टुरिष्ट फ्रेञ्ज राइनर कहाँ मात्र पुगेको छैन, जोगी समेत बनेर हिँडेको छ। उपन्यासमा प्रतीकात्मक रूपमा उपस्थित गराइएका यी प्रसङ्गले उपन्यासको कथा विस्तार पनि गरेका छन्। त्यस्तै देशको समस्या समाधान गर्ने जिम्मा लिएको मन्त्रालयमा गुच्चा खेलिनु, अझ् गुच्चा कसरी खेलिनुपर्छ भनेर प्रशिक्षण दिइनु र त्यही मन्त्रालयको कन्टेनरमा \'घनचक्कर\' लेखिएको कागज भेटिनु जस्ता प्रसङ्गलाई पनि उपन्यासकारले प्रतीकात्मक रूपमै वर्णन गरेका छन्। \'प्याजको डल्लो\' तथा चुलिएको \'प्याजको धरहरा\' जस्ता विम्बको प्रयोग सुन्दर ढङ्गले गरिएको छ। उपन्यासकार सञ्जीव उप्रेती विम्ब र प्रतीकको प्रयोगमा सचेत देखिन्छन्। विम्ब र प्रतीकात्मक प्रसङ्गहरूलाई नबुझने हो भने यो उपन्यास पढ्नुको आनन्द बाँकी रहन्न।



उपन्यासकारले जनआन्दोलन, माओवादी जनयुद्ध, दरबार हत्याकाण्डलगायतका घटनालाई समावेश गरेका छन्। राजनीतिक पार्टी र तिनका नेताहरूको चिन्तनमा आएको विचलनको प्रसङ्ग पनि उठाएका छन्। यस्ता राजनीतिक प्रसङ्गहरूको प्रस्तुतिमा पनि उपन्यासकार कलात्मक सचेतताका साथ उभिन पुगेका छन्। उपन्यासलाई कुनै वैचारिक मापदण्डमा हेर्न नमिले पनि यसले निराश वर्तमानमा समेत भविष्यप्रति आशावादी हुनुपर्ने विचार बोकेको छ। आफ्नो जीवनलाई पूर्ववत् काममा सक्रिय गराउने निष्कर्षका साथ नायक घर फर्किएको घटनाबाट उपन्यासले मान्छेलाई भविष्यको आशामा बाँच्ने सन्देश दिएको छ।



केही नवीनताका साथ देखापरेको \'घनचक्कर\' कमजोरीहरूबाट मुक्त पनि छैन। कमजोरी कथानकमै पनि देखिन्छ। जस्तै― अरूले पागलपनको विकास भएको भनेकै भरमा नायक घर छोडेर जोगी बन्नुपर्ने कारणको तार्किकतालाई उपन्यासकारले प्रभावशाली ढङ्गले प्रस्तुत गर्न सकेका छैनन्। नायकमा आशा र निराशा, उदासीनता र आक्रोश, उत्साह र हतोत्साह जस्ता कुराहरू पटकपटक आउने र जाने गर्छन्। तर एउटा परिस्थितिबाट अर्को परिस्थितिमा फड्को मार्दा बीचमा हुनुपर्ने कुनै घटना वा परिवर्तन देखिँदैन। जोगी बनेर त्रिशूल काँधमा हाली जुलुसमा निरङ्कुशता मुर्दावाद, लोकतन्त्र जिन्दावाद भन्दै सैनिकलाई ढुङ्गा हानेर हिँडेको जस्ता प्रसङ्गहरू पनि अस्वाभाविक लाग्दछन्।



उत्तर आधुनिकतावादी उपन्यासको चर्चामा रहेको यो किताबमा उत्तर आधुनिकतावाद भनेको उत्तर आधुनिक युगको कलावादी धारणा, विचार र चिन्तनको संश्लेषण हो भन्ने मान्यतालाई स्थापित गर्ने आग्रह उपन्यासकारमा देखिँदैन। संरचनात्मक कलाचेतका दृष्टिले उपन्यासमा प्रस्तुतिकरण तथा भाषाशैलीको पृथक् महत्व हुन्छ। उत्तर आधुनिकतावादी चिन्तक फुको र डेरिडापछिका ल्योतार्डले आख्यानलाई भाषिक खेल मानेका छन्। आख्यानको सामाजिक सम्बन्ध पनि यही भाषिक खेलमा आधारित रहेको ल्योतार्डको विचार छ। सम्भवतः उपन्यासकार उप्रेती पनि यो मान्यतासँग नजिक रहन चाहन्छन्। तर यो उपन्यासमा त्यही मान्यतासँग सरोकार राख्ने भाषा कतिपय ठाउँमा सुरुचिकर हुनसकेको छैन। भाषाको प्रयोगमा एकरुपता भेटिँदैन। इतिहासका घटना र नामका बारेमा गरिएको लामो चर्चाले पाठकलाई उपन्यास हैन इतिहासको विवरण पढिरहेको अनुभव गराउँछ।



यस्ता केही कमजोरी रहे पनि समग्रमा \'घनचक्कर\'ले नेपाली उपन्यास विधामा नयाँ बान्कीसहित आफ्नो उपस्थिति जनाएको छ। उत्तर आधुनिकतावादसँग जोडिएको चर्चाकै कारण पनि सञ्जीव उप्रेतीको यो कृति नेपाली साहित्यमा चर्चायोग्य कृतिको पङ्तिमा रहनेछ।







• शार्दूल भट्टराई

from: Himal







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम