Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
बालसाहित्यकार कृष्णप्रसाद पराजुली - [2008-01-24]

'चुइँचुइँ गर्दै दिनको,

एकडाडु घिउ खान्छ ।

'मुसो' भन्दा बोल्दैन

'धानचरी' भन्दा 'ज्यू' भन्छ ।'



यस्ता मिठा बालगीत लेख्ने साहित्यकार कृष्णप्रसाद पराजुली २०६३ साल असार २४ गते बहत्तर वर्ष लाग्नुभयो । उहाँलाई बालसंसारको हार्दिक शुभकामना छ ।



श्री पराजुलीले नेपाली बालसाहित्यलाई अहिलेसम्म सत्र वटा कोसेली दिइसक्नुभएको छ । उहाँका बालगीत, कविता र कथाले नेपाली बालबालिकाको संसारलाई रमाइलो बनाइरहेका छन् ।



उहाँले रच्नु भएको 'रमाइला नानी' सबैभन्दा धेरै रुचाइएको पुस्तक हो । यो तीन भागमा छापिएको छ । चालिस वर्षघि लेखिएको यो कृति अहिले पनि बालबालिकाहरूका लागि प्रिय छ । यसको १७ औँ संस्करणसम्म प्रकाशित भइसकेको छ । 'जुनतारा' 'चरी आयो' 'सुनकल्छे हिमाल' पनि निक्कै लोकप्रिय बालगीत-कविताका पुस्तक हुन् ।



बालकथा साहित्यमा उहाँका 'सुनौला तीन कुरा', 'चार चङेरी',' लुकामारी', 'सुनकेस्रा', 'हिमाली डाँफे', 'मेरो मुरली' र 'फूलजस्तो मन' सात वटा संग्रह छापिइसकेका छन् ।



उहाँले नेपाली बालसाहित्यतिर प्रायः कसैले चासो नलिएको बेलामा यो क्षेत्रमा कलम चलाउनु भएको थियो । बालसहित्यतिर लाग्ने प्रेरणा कसरी आयो भन्ने प्रश्नको जवाझमा उहाँ भन्नुहुन्छ, "बालसाहित्य लेख्ने प्रेरणा प्राप्त हुनामा पहिलो कारक तत्व त मैले भोग्दै आएको बालजीवन नै हो । पछि मलाई लाग्यो बालकका निमित्त साहित्यिक सामग्री नभई हुँदैन । यिनै विभिन्न कुराले मलाई कुतकुत्यायो, घचघच्यायो र म बालसाहित्यको सृजनामा लागेको हुँ ।"



श्री पराजुली सबैभन्दा धेरै पुस्तक बिक्ने नेपाली लेखकभित्र पर्नुहुन्छ । अहिलेसम्म उहाँका ३५ वटा पुस्तक प्रकाशित भइसकेका छन् । तीमध्ये उहाँका 'रमाइला नानी', 'राम्रो रचना ः मिठो नेपाली', 'पन्ध्र तारा र नेपाली साहित्य' जस्ता कृतिहरू पच्चीसौँ संस्करणसम्म छापिएका छन् । उहाँको पहिलो प्रकाशित पुस्तक 'पूर्व एक नम्बर' (काभ्रे र सिन्धुको परिचयात्मक अध्ययन) हो भने पछिल्लो पुस्तक 'इन्द्रिनी' -एकांकी संग्रह) हो ।



श्री पराजुलीको जन्म विक्रम संवत १९९२ साल असार २४ गते, (इ.सं. ८ जुलाई, १९३५) काभ्रे जिल्लाको भमरकोटमा भएको थियो । उहाँ पशुपतिप्रसाद पराजुली र महादेवी पराजुलीको माहिलो छोराको रुपमा जन्मनु भएको थियो । हाल उहाँ ललितपुर उपमहानगरपालिकाको सानेपामा बस्नुहुन्छ ।









स्रोतः 'कृष्णप्रसाद पराजुली संक्षिप्त परिचय', प्रकाशकः कृष्ण साहित्य सदन, सानेपा, ललितपुर, फोन ५५५०९३८ । तथा 'नेपाली बालसाहित्यको इतिहास', लेखकः प्रमोद प्रधान, प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँ, फोन ४२१८०६३ । फोटोः विनय कसजू







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम