Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
दर्जन प्रश्न कृष्णभूषण बलसित (बुद्धिसागर) - [2008-04-28]

कृष्णभूषण बल, ६० का कविताले नेपाली कवितामा महत्वपूर्ण स्पेस माग्छन् । उनी अहिले आफ्ना पुराना कुरालाई सम्भिmएर केही चकित छन् ।उनी अहिले संस्मरण-लेखनमा व्यस्त छन् ।उनी विराटनगरमा बसेर काव्य-साधना गरिरहेका छन् । उनले सुनाए- 'मैले बाबुको विवाह देखेको छु,' उनका बुबाले दोस्रो बिहे गरेका थिए । यो प्रसंग पनि उनको नयाँ पुस्तकमा समेटिनेछ । उनी भन्छन्, 'नराम्रा कविता लेख्नभन्दा मर्न जाती ।'



१ द्वापरयुगका भगवान् कृष्ण र कलियुगका कवि कृष्णमा कत्तिको तालमेल छ ?

द्वापरयुगका कृष्ण र कलियुगका कृष्णमा तुलना हुनै सक्दैन । त्यस युगको कृष्णको कूटनीति अहिलेका कृष्णमा छैन । अहिलेका कृष्णहरू शोषित, पीडित र दुःखी छन् र अहिलेका कृष्णका साथी पाण्डव पनि छैनन् । बरु, अहिलेका कृष्णले असंख्य दुर्योधनहरूको सामना गर्न परिराखेको छ । त्यसैले द्वापरयुग र कलियुगका कृष्णको कुनै तुलना र तालमेल छ जस्तो लाग्दैन ।



२. नयाँ कविता किन नलेख्नुभाको ? कविताले तपाईंलाई नभेटेको कि तपाईंले कवितालाई ?

लेख्छु, तर बाहिर बसेर लेखेको नदेखिँदो रहेछ । हल्ला गराउन पनि नसकिँदो रहेछ । लेख्ने क्रममा कहिले आफूले कविता नभेट्ने र कहिले कविताले आफूलाई नभेट्ने क्रम लगातार चलिरहँदो रहेछ । तर, तपाईं विश्वास गर्नुहोस् मेरो ओढ्ने-ओछ्याउने, सोच्ने र पढ्ने सबै कविता नै हुन् ।



३ तपाईंलाई मदिरा र कवितामा कसले बढी लठ्याउँछ ?

मदिरा र कविता उस्तै-उस्तै स्वादका भए पनि मदिरा मलाई बदनाम गराउन हल्ला गरिएका कुरा हुन । मदिराले मलाई लोभ्याउँदैन । किनभने, बन्देज नभएको विषयको कुनै आकर्षण हुँदैन, म सुरुदेखि नै कवितातिरै लोभिएँ । मलाई बढी कविताले नै लठ्याउँछ ।



४. कविता नभएको भए, को बढी निराश हुन्थ्यो ? कवि कि समालोचक ?

कविता नभएका भए यो सृष्टि पनि हुने थिएन । सायद, कविता त प्रकृति हो, सुन्दर सृष्टि हो, रचना हो । कविसँगै कविता हुन्छ कवितासँगै कवि हुन्छ । कविले कविता नलेख्देको भए सायद समालोचक छबढी निराश हुन्थे होला ।



५. चुरोट, मदिरा र कविता नभएको भए, कृष्णभूषण बल के गरिहेका हुन्थे ?

चुरोट र मदिराले कृष्णभूषणलाई बचाएको हैन । कृष्णभूषणलाई नाम दिने, इज्जत दिने कविता नै हो । हरहालतमा कृष्णभूषण लेख्थे होलान् । चुरोट, मदिरा मसँगै जन्मिएर आएका हैनन् । त्यस कारण यी दुई थोकको अभावमा कृष्णभूषण बाँच्नै नसक्ने मानिस हैन ।



६. सुन्दर ँप्रेम-कविता’ प्रेम सफल भएपछि लेखिन्छ कि असफल भएपछि ?

त्यसो त मैले प्रेम-कविता लेखेको छँदै छैन । तर, यसो भनेर मैले प्रेम नै गरिनँ भनेर चहिँ भन्दिनँ, प्रेम थुप्रै गरियो । मेरो विचारमा प्रेम सफल होस् वा विफल दुवै अवस्थामा कविले कविता लेख्छ नै, यस्तो लाग्छ ।



७. एकदिन मात्रै भूपी शेरचनको आत्मा तपाईंमा सवार भयो भने तपाईं के गर्नुहुन्थ्यो ?

एकदिन मात्रै भूपी दाइको आत्मा ममा सवार भए अझ बढी लेखिन्थ्यो होला । इज्जतसाथ भूपी दाइलाई उभ्याएर घुम्ने मेचमाथिको अन्धो मान्छेलाई देखाउँथेँ र नेपालीको जर्जर स्थिति देखाएर अझ बढी लेखाउँथेँ ।



८. तपाईंको जीवनमाथि कसैले सिनेमा बनाउन चाह्यो भने त्यो कत्तिको रोचक होला ?

म आफैं आजकाल मेरा संस्मरण लेख्दै छु । दोहोर्‍याएर पढ्छु र सोच्छु यी घटनालाई सिलसिला बनाएर सिनेमा बनाए राम्रो हुन्थ्यो होला जस्तो लाग्छ ।



९ कति होला कविताको आयु ?

सृष्टि रहेसम्म कविताको आयु हुन्छ । तर, सृष्टिको आयु पो बरु मान्छेको बगुन्द्रोले छोट्याइरहेको छ ।



१०. मानिसलाई जीवनले बढी लखेट्छ कि मृत्युले ?

मृत्यु अपरिहार्य हो । जीवनले नै मानिसलाई लखेटिराखेको हुन्छ । हरदम धपेडीमा डढाइरहेको हुन्छ । धामपानी, सुख-दुःख, प्रेम सबै जीवन हो । जीवनले मानिसलाई खेदिराखेको हुन्छ भन्ने मेरो धारणा छ ।



११. कविताको चीरहरण व्यापकै बढेको छ रे । तपाईं त कृष्ण, कति लामो ँचीर’ तपाईंका हातमा छ ?

मेरो हातमा कसैको चीर छैन । न त मैले कसैको चीरहरण नै गरेँ । न त गर्नेवाला नै छु । त्यसैले मेरो हातमा कसैको पनि चीर छैन भनेको हुँ ।



१२. तपाईंलाई मर्न डर लाग्छ कि नराम्रो कविता लेख्न ?

मर्न डर लाग्दैन मलाई तर नराम्रो कविता लेख्न डर लाग्छ । त्यसैले मेरो कविताको उद्योगमा कविता थोरै उत्पादन हुन्छ । उत्पादन भएपछि, तेस्रो मुलुक निर्यात हुन लायक होस् भन्ने मेरो सोच छ ।







बुद्धिसागर

From: Nayapatrika







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम