Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
लेखकले आफ्ना कुण्ठा नै लेखेको हुन्छ- कृष्ण धरावासी संगको कुराकानी - [2008-05-04]

कृष्ण धरावासी, ४७, नेपाली आख्यानका महत्वपूर्ण अध्याय हुन् । लु नमस्ते गरें है भन्दै मोबाइल रिसिभ गर्ने उनी बिदा माग्ने बेलामा भन्छन्, जय होस् । कपालमा हिउँ पर्न थालिसकेको छ । तर, कालोले छोप्ने क्रम बाँकी छ । मुस्कुराउँछन्, यो सीताजी -जीवन-संगिनी) को काम हो ।

अहिले उनी सिद्धान्तपरक नयाँ किताब लीला-यात्राको तयारीमा जुटेका छन् । राधा उपन्यासबाट मदन पुरस्कारप्राप्त उनी भन्छन्, लेखकले जे लेखे पनि वास्तवमा उसले आफ्ना मनका कुण्ठा नै लेखेको हुन्छ ।






१ तपाईं यस ब्रह्माण्डमा हँदै हुनुहुन्न । तपाईंको कुनै अस्तित्व छैन । तपाईं ँयहाँ’ हुनुका केही प्रमाण छन् ?

म यहाँ हुनुको पहिलो प्रमाण तपाईं हो । तपाईं जो अहिले मसँग कुरा गरिरहनुभएको छ । अर्को प्रमाण म हाफैं हँु । किनभने, म छु नि त । म नभएको भए अहिले म यहाँ हुन्थेँ त ?





२ तपाईं मोफसलमै हुँदा हिट हुनुहुन्थ्यो । राजधानीमा आएर केही गुमाएजस्तो लाग्दैन ?

राजधानीमा आएर गुमेको छैन, थपिएको छ । थपिएको भनेको कति ती शुभचिन्तकहरू जोसँग मेरो प्रत्यक्ष भेट भएको थिएन । उनीहरूसँग सशरीर भेट हुन पाएको छ । विचारहरू आदान-प्रदान भएका छन् । मेरा नयाँ मित्रहरू थपिएका छन् । लेख्नका लागि नयाँ-नयाँ विषय भेटिरहेको छु । यथार्थमा भन्ने हो भने जीवनमा मानिसले गुमाउने भन्ने कुरा त केही नै हुदैन । जहिले पनि नयाँ कुराको प्राप्ति मात्र भइरहेको हुन्छ ।





३ राधा का लागि सबैभन्दा प्रिय के होला ? कृष्णको बाँसुरी या तपाईंको उपन्यास ?

राधालाई त 'राधा उपन्यास पनि छ भन्ने नै थाहा छैन बिचरालाई । उनलाई पि्रय त कृष्णको बाँसुरी नै हो । त्यसको धुनले उनी जीवनभर लठ्ठएिकी छिन् । राधा आफैं एउटा प्रेम-तत्त्व हो, जो संगीतमय छ, एकान्तीय छ ।





४ तपाईंले लेखेका किताब कति गहुं्रगा छन् ? प्रायः लेखकहरू आफैंले बोक्न नसक्ने किताब किन छाप्छन् ?

सबैभन्दा धेरै कमजोरीले भरिएको मान्छे हो, लेखक । ऊभित्र यति धेरै विरोधाभास, असन्तुष्टि, अन्योल र महत्त्वाकांक्षा हुन्छन् कि ऊ ती कुरालाई नै व्यक्त गर्न लेख्ने गर्छ । एउटा लेखिसक्यो, लेख्छु भनेको कुरा लेखिँदैन, छुटिहाल्छ । अनि, फेरि अर्कोपल्ट लेख्न बस्छ । जति लेखे पनि लेख्न भनी थालिएको विषयको अलिखितताले गर्दा लेखिन्छ । अनि, लेख्दालेख्दै बोक्न नसकिने हुन सक्छ । लेखकले जे-जे लेखे भने पनि वास्तवमा उसले आफ्नै कुण्ठा लेखेको हुन्छ । बाफ रे कति हुँदा रहेछन् आफैंभित्र पनि कुण्ठा, हकि ।





५ मर्नु र उपन्यास लेख्नुमा कुन बढी आनन्ददायी छ ?

मर्न बाँकी नै छ । जीवनमा यसअघि कहिल्यै मरिएको छैन । मर्न भ्याइएको पनि छैन । दिनदिनै मर्नेलाई देख्दा कसरी फुर्सद निकाल्न सकेको होलान् जस्तो लाग्छ । मर्न त के गाह्रो छ र ? मरिदिनु त हो नि । उपन्यास लेख्न पो गाह्रो । विषयवस्तु चाहियो । पात्र छनोट गर्नुपर्‍यो । तिनीहरूले आपसमा झगडा गर्छन् मिलाइदिनुपर्‍यो । कहिलेकाहीँ कथाको बीचैबाट रिसाएर हिँडिदिन्छन् फकाएर ल्याउनुपर्‍यो । सजिलो छैन उपन्यास लेख्न । कति सजिलै मरेको देखिन्छ । बाँचिदिए पनि त हुने भन्यो फुस्सै मरिदिन्छ । उपन्यासमा पनि बेकारमै मरिदिन्छन् कतिपय पात्रहरू । दिक्क लाग्छ यो मृत्युको सहजता ।





६ तपाईंलाई सबैभन्दा बढी दुःख केमा लाग्छ ? जन्मिएकोमा, बाँचेकोमा या नमरेकोमा ।

यी तिनै कुरा दुःखपूर्ण होइनन् । साह्रै सुखपूर्ण, आनन्ददायी र संयोगले प्राप्त भएका हुन् । बुबा टीकाराम र आमा अम्बिका कृतज्ञताका पात्र छन् ।





७ तपाईं उपन्यास किन लेख्नुहुन्छ ? आफू स्वयं उपन्यास हुन नजानेर कि नसकेर ?

उपन्यास हुन साहै्र गाह्रो रहेछ । आधा बाटो उपन्यास हुन मैले आफ्नो ३५ वर्षको जीवनलाई धरापमा पार्नुपरेको थियो । मनभित्र उमारेको कथा त आफ्नो इच्छाको प्रस्तुति हो । तर, साँच्चै भोगिएको जीवन उपन्यास बन्न बर्सौंको प्रतीक्षा र संघर्षमय छ । आफैं उपन्यास भएपछि नै उपन्यास लेखेको हुँ मैले । आफैं उपन्यास नभई लेख्न नसकिने रहेछ । किन लेख्छु उपन्यास ? त्यो त भन्न सक्दिनँ तर देखेको कुरा जब नलेखी सक्दिनँ । अनि, लेख्दा-लेख्दै त्यो उपन्यास हुने गरेको छ । खै के भएको हो ?





८ जीवनमा लेखक’ हुन गाह्रो कि मान्छे’ हुन गाह्रो ?

मान्छे नभई त लेखक नै हुन सकिँदैन नि । मान्छे नभएर विचार, वाद, जात, धर्म, दल आदिको भरिया भइयो भने कसरी लेखक हुनु ? वैचारिक धरातलको मानवीय आधार \\\'मान्छे\\\' को यथार्थ पहिचान हो । त्यसैबाट लेखक बन्न सकिन्छ । लेखक हुन पहिला मान्छे नै हुनुपर्छ र मान्छे हुन धेरै गाह्रो छ ।





९ सबैभन्दा क्रिएटिभ काम कुन हो ? तीन घन्टा लगाएर चर्चित किताब पढ्नु वा तीन घन्टा एकान्तमा मौन बस्नु ?

दुवै काम क्रिएटिभ हो । त्यससँगको समय इमानदारीसाथ बिताएको भए । समस्या त घन्टा मात्र बित्ने तर त्यतिकै बित्नेले पो मार्छ त । राम्रो किताब तीन घन्टा लगाएर पढ्दा पनि आफ्नो ज्ञानको सीमा बढ्छ । गम्भीर भएर तीन घन्टा बिताइएमा पनि उत्कृष्ट सिर्जनाको पूर्वाधार तयार हुन सक्छ । तर, बिताइने ती तीन घन्टालाई पो हामी कतिको मूल्य दिन्छौं ?





१० लेखक हुनलाई 'मान्छे’बाट एक कदम अगाडि हिँड्नुपर्छ कि एक कदम पछाडि छुट्नुपर्छ ?

लेखक भनेको त्यस्तो अलग्गै बेग्लै विशेष मान्छे होइन । ऊ पनि अरू जस्तै आममान्छे हो । आममान्छेका भिडभित्रै विषय हुन्छन् जीवन हुन्छ । जीवनलाई लेख्न जीवनभन्दा अघि वा पछि हिँडेर कसरी सम्भव होला र ? जनताभन्दा टाढा गएर लेखकले विषयको गम्भीरतालाई समात्न सक्दैन । पाठकमाझ नउभिएका कृतिहरू यस्तै अघि वा पछिको दूरीले नापिएका समस्या हुन् ।





११ धान्न गाह्रो के लाग्छ ? आलोचना कि यौवन ?

यौवन धान्न त के गाह्रो छ र ? आउँछ, उर्लिन्छ, रमाउँछ र बिस्तारै थन्किन्छ । यौवन भनेको एक किसिमले बियरको फिँजजस्तै त हो नि । के-के न होला जस्तो, भरे त शान्त र स्थिर । गाह्रो त आलोचना नै हो । जुन कुरा आफूमा छैन त्यो पनि अरूले देखाइदिन्छ वा जुन कुरा आफूमा छ त्यो उनीहरू देखिदिँदैनन् । सबै आलोचना सृजनात्मक नै हुन्छन् भन्ने छैन । कतिपयले निराशा पैदा गर्छन्, बाटो नै फेरिदिन्छन् ।





१२ भावी पुस्तालाई के छोडिदिनु राम्रो राधा कि रूख ?

भावी पुस्तालाई त 'राधा नै छोडिदिनु ठीक होला कि ? किनभने, तिनले उनीहरूलाई जीवन चिन्न सिकाउलिन्, प्रेम गर्न सिकाउलिन्, विद्रोह गर्न सिकाउलिन । जीवनमा यी सबै कुरा अनिवार्य छन् ।









बुद्धिसागर



साभार:

From: nayapatrika







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम