Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
सेवा (श्रीओम श्रेष्ठ रोदन) - [2008-05-10]

रामभक्त बाजे प्रत्येक दिन मन्दिरमा गएर पूजा गर्दथे । गाईहरुलाई खाना खुवाएपछि मात्र आफूले भोजन गर्दथे । परसेवालाई आफ्नो धर्म ठान्ने रामभक्त बाजे मनको मात्र हैन धनको पनि सम्पन्न थिए । गाँउमा जसको घरमा जे समस्या परे पनि सघाउँने;सहयोग गर्ने उनै बाजे हुन्थे । उनको नाम गाउँमा मात्र हैन देशभरि नै प्रसिद्ध भैसकेको थियो । अखबारमा उनको चर्चा रेडियो टेलिभिजनहरुमा उनको अन्तर्वार्ता आइरहन्थ्यो । उनले राष्ट्रिय स्तरका आदर्श समाज सेवाको पदक सम्मान र अभिनन्दनहरु धेरै पाइसकेका थिए ।



त्यही गाउँका बेखाचाले पनि समाज सेवामा नाम कमाएका थिए । उनी मासु पसल चलाएर घर परिवार चलाउँथे । उनी सबैलाई मासु बेच्दथे तर आपुू खाँदैनथे । उनी पेशा र इमान्दारितालाई नै आफ्नो धर्म ठान्दथे । उनले कहिल्यै मरेका खसी कुखुराहरु बेचेनन् कहिल्यै बाख्री काटेनन् तौलमा कसैलाई मारेनन् । त्यसैले उनको पसल निक्कै चलेको थियो ।



संयोगले रामभक्त बाजे र बेखाचाको मृत्यु एकै दिन भयो । दाहसंस्कार एउटै स्थानमा हुने भएकोले गाउँका मलामीहरु दुबै संस्कारमा सहभागी भए । संचार माध्यममा बाजेको मृत्यु समाचार बनेकोले उनको संस्कार स्थलमा भीड बढेको थियो । गाउँका बूढापाकाहरुले बाजे र बेखाचाको तुलनात्मक प्रसंसा गर्न थाले । कसैले रामभक्त बाजेको बढी बखान गरे कसैले बेखाचाको । सबैले मृतक मध्येको को बढी इमान्दार र को बढी धर्मात्मा भन्ने तर्क चल्न थाल्यो । धेरै बेरसम्म भएको कुराकानी सुनेपछि एकजना व्यापारी बोल्यो- 'आत्मा साक्षी राखेर भन्ने हो भने जसले प्रतिफलका लागि सेवा गर्दैन वा स्वीकार गर्दैन उही बढी धर्मात्मा र समाजसेवी हुन्छ ।'



त्यस पछि गाउँलेहरुले बेखाचाको जलिरहेको चितामा हेरेर शिर झुकाए ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम