Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
गीतकार टंक सम्बाहाम्फे र कर्णप्रिय गीतहरूको सार (हाङयुग अज्ञात) - [2008-05-17]

कहाँ पुग्यौ छिरिङ तिमी ढुङ्गामाथि नाउँ खोपी

बाटो हेरूँ कुहिरो आउँछ गुम्बा, पाटी, गाउँ छोपी

- टिका चाम्लिङ, सपनाको रङ्ग (नेपाल)



गीतको विषयमा लेख्नुपर्दा मलाई अत्यन्तै गारो पर्छ । तेसमाथि पनि मायापिरतीका गीतहरूमा समिक्षा या भूमिका लेख्नुपर्‍यो भने मेरो मस्तिष्क शून्य हुन्छ । तर, भर्खरै हङकङका गीतकार टंक सम्बाहाम्फेको गीतिएल्बम् सारमा संकलित गीतहरू सुनिसकेपछि मलाई के लागेको छ भने गीतका विषयमा लेख्नुका लागि मस्तिष्क होइन, हृदय चाहिने रहेछ । हङकङेली नेपाली साहित्य (हनेसा)को जग हाल्नेमा पहिलो कविगोष्ठी गर्ने किरात याक्थुङ चुम्लुङका भूपेन्द्र चेम्जोङ र चन्द्र मादेन, नेपाली साहित्य प्रतिष्ठानका पहिलो अध्यक्ष र्राई चन्द्र दुमी, प्रतिष्ठानकै क्रान्ति सुब्बा, देश सुब्बा, शरण सुब्बा, शिव प्रधान, प्रकाशकृष्ण बाक्सिला र नेपाल कुश्शाहरूकै लहरमा प्रतिष्ठानका वर्तमान अध्यक्ष टंक सम्बाहाम्फे उभिएका छन् । अविराम र पूर्वक्षितिजले हालेको जग आज सृजनशील साहित्यसम्म आइपुगेको छ भने विभिन्न ब्लग र बेवपत्रिकाहरूमा हनेसा फैलिरहेको छ । प्रिन्ट मिडिया छोडेर यतिबेला टंकजी पनि ब्लग र वेबपत्रिकाको सञ्चालनतिर छन् । हिजो हनेसाको जग हाल्नेहरू कोही युके पुगे, कोही नेपाल फर्के, कोही मकाउतिर छन् भने केही थोरै मात्र हङकङमा छन् र ती थोरैहरूमा गीतकार टंक सम्बाहाम्फेको नाम बिर्सिनु हुँदैन । टंक सम्बाहाम्फे कविता पनि लेख्छन् र उनका कविताहरूका बारेमा अन्यत्रै विमर्श गरेको छु । यहाँ उनको सार एल्बमका शब्दहरूमाथि मात्रै केन्द्रित हुन चाहन्छु । यथार्थमा म समिक्षात्मक टिप्पणीभन्दा पनि गीतकार टंक सम्बाहाम्फे र उनका प्रकाशित दशवटा गीतहरू बारे भूमिका लेख्न गइरहेको छु । किनभने गीतको सन्दर्भमा समिक्षा र समालोचना गर्ने सामर्थ्य ममा छैन । भूमिका भनेपछि छुट पाउँछु होला, झिनो आस छ ।



गीतकार टंक सम्बाहाम्फेलाई मैले हङकङमै चिनेको हूँ जसरी उनले पनि मलाई यहीँ आएर चिने । यता आउने बेला उता नेपालमा टंकजीको नाम इश्वरवल्लभ, कृष्ण धराबासी र गोविन्दराज भट्टर्राईले सोधिपठाए । यसबीचमा नेपालका शिखर गीतकार इश्वरवल्लभको पार्थिव शरीरले चराचर जगत छोडिसकेको छ । कृष्ण धराबासी पनि झापा छोडी काठमान्डौ भित्रिएका छन् भने गोविन्दराज भट्र्राई त्रिविविमै खुट्टा हल्लाइरहेका छन् । नेपाली साहित्यका यी ठूला स्रष्टाहरूले सोधिपठाएका टंक सम्बाहाम्फेसित हङकङ आएको केही समयपछि नै भेट भइहाल्यो । उनले फोन गरे, भेटौं भने, स्टारफेरीको म्याकडोनाल्डमा भेटेर गफ भयो । नेपालबाट उनका लागि मैल इश्वरवल्लभ, धराबासी र भट्टराईले सोधिपठाएको पार्सल दिएँ । उनी खुशी भए, म पनि रमाएँ । पछि दोश्रो भेटमा उनले आफ्नो कोठामा लगे र एच्के नेपाल डट्कम् आफूहरूले सुरू गर्दै गरेको जानकारी गराए । तेतिबेलै कवि तथा पत्रकार पशन तमुसित पनि भेट गराइदिए । तेश्रो भेट उनको गीतिएल्बम् मनोभावको विमोचन कार्यक्रममा भयो । जहाँ उनले मलाई दुइ शब्द राख्ने मौका दिए । पशन तमु र अन्तराष्ट्रिय साहित्य समाज हङकङलाई धन्यवाद । त्यसपछि निरन्तरनिरन्तर हामी सँगै हिँडिरहेका छौं, एच्केनेपाल डट्कम्ले धेरै प्रगति गरिसकेको छ र टंकजीले धेरै राम्रा राम्रा गीतहरू लेखिभ्याएका छन् ।



यौटा ग्रीकेली मिथक छ गीतसङ्गीतको विषयमा । सङ्गीतदेव अपोलो र आख्यानात्मक कविताकी देवी कल्लियपका छोरा अर्फेस महान् सङ्गीतकार र गायक हुन्छन् । जब उनले गीत गाउन र ल्युट् (विणाजस्तो बाजा) बजाउन सुरू गर्थे तब मानिसहरूले मात्रै होइन, जनावर र रूखहरू, खोला र ढुङ्गाहरूले पनि उनको गीत सुन्थे अरे । पछि उनले आफ्नी प्रेमिका युरेडाइस (जसलाई बिहेकै दिन सर्पले ठुँगेर मार्छ) लाई गीतै गाएर मर्त्यलोकबाट फर्काई ल्याउँछन् । हिन्दू मिथकमा पनि कृष्णजीले सोर हजार गोपिनी र गाइवस्तुलाई बाँसुरी बजाएर आफ्नो बसमा राखेका थिए अरे । यता हामी लिम्बूहरूको जीवनमा पनि पालाम र हाक्पारेको खुबै सुन्दर संसार छ । सात दिन सात रातसम्म धान नाच्दै पालाम गाउने तरूनीतन्नेरीहरू यहीँकतै छौं । तर, गीतसङ्गीतको विषयमा लिम्बू मिथकहरू हराएका छन्, कवि टंक वनेमले भेटेका छन् भने सप्पैलाई थाहा दिनु होला । तेसोरी, गीतसङ्गीतका विषयमा उहिलेउहिलेबाट नै कथाहरू बुनिएका छन् । र, ती कथाहरूको सार के हो भन्दाखेरि पे्रम नै गीतसङ्गीतको स्रोत हो अनि गीतकार टंक सम्बाहाम्फेको सार एल्बम्को सार पनि प्रेमबिना गीतसङ्गीत हुँदैन भन्ने नै हो । यसरी सार एल्बम्मा समेटिएका गीतहरूले प्रेमकै पूजा गर्छ, अर्चना गर्छ । प्रेमले उत्पन्न गर्ने आशा र निराशा, हाँसो र रोदन, सुख र दुःख, मिलन र विछोड, प्रशंसा र जलन आदिइत्यादि रसहरूलाई नै गीतका शब्दमा टंकजीले सजाएका छन् । जस्तो यी तलका गीतका अंशहरू हेरौं,



ढल्यो त्यसै दिन मेरो साँझ सँगै डुब्न

रह्यो त्यसै चाह मेरो तिमीसम्म पुग्न । १



गुराँस टिपी लाएका थियौं हामी सानो छँदा

लुकामारी खेलेकाथ्यौं रानी वन घुम्दा । २



सँगै हाँस्ने मन थियो विवशताले टाढी गयौ

हात मेरो समाएर फेरि किन छाडी गयौ । ३



माया थियो कति चोखो समुद्रको गहिराइजस्तो

कसम थियो दुइ मुटुको चम्किरहने जूनजस्तो । ४



एउटा सुन्दर संसार थियो मनको बस्तीभित्र

हुरी आई उर्डाई लग्यो मेरो भाग्यसित । ५



डाँडामाथि बादलुले घामै छेक्यो कि ?

सताइरहन्छ सम्झनाले माया बस्यो कि ? ६



वर्षाको मौसम रिमझिम पानी परिरह्यो

जुनेलीमा भेटौं भन्थ्यौ जून झरिगयो । ७



भाग्य सबको चम्किदिन्छ आफू कर्महारा

रम्न खोज्दा यो आँखामा बग्छ आँसु धारा । ८



तिमी थियौ आफ्नो भन्ने एक्लै पारी छोडी गयौ

साँचो माया दिन्छु भनी सारा नाता तोडी गयौ । ९



जहाँ जाउँ पछ्याउँछ तिम्रै छायाँले

जति सम्झूँ लठ्याउँछ तिम्रै मायाले । १०





यसरी सङ्कलित दस गीतहरूको सार प्रेम हो । कृष्णभक्त र्राईको स्वर तथा सङ्गीत कर्णप्रिय छ । दिनेश सुब्बा र हेमन्त शिशिरको सङ्गीत पनि सुन्दर सुनिन्छ । विषेशगरिकन दिनेश सुब्बाले आफ्नो मौलिक पहिचान यसपटक पनि कायम राखेका छन् ।



हङकङेली नेपाली गीतसङ्गीतमा छ्याप्छ्याप्ती भइरहेका गीतिएल्बम्हरूको फेहरिस्तमा मनोभावपछिको उनको यो दोश्रो एल्बम पनि स्तरीय छ । प्रेमबिम्बहरूको घना जङ्गलभित्र उनले गीतहरूलाई घुमाएका छन् । गीतका मिटरहरू ठ्याक्कठ्याक्क मिलाएका छन् । कोमल शब्दहरूको माला पहिर्‍याएर गीतलाई उनले हृदयस्पर्शी बनाएका छन् र पीडाहरूको मह घोलेर शब्दहरूलाई मर्मस्पर्शी बनाएका छन् । तर, कतिपय ठाउँमा मिटर मिलाउनकै लागि मिटर मिलाएको पाइन्छ जसले गर्दा शब्द र भावको सम्बन्ध टुक्रिएर गीतकारले केमा जोड दिन खोजेका हुन् पत्ता लगाउन गारो भइदिन्छ । गायक र सङ्गीतकारलाई सुनेपछि त्यो गारोपन फेरि फुस्किन्छ र गीतको आनन्द लिन सकिन्छ । माथि टिपिएका गीतका अंशहरूले पनि पाठक तथा श्रोताहरूलाई सार गीतिएल्बम्मा समेटिएका गीतहरूको विषयमा थोरै उज्यालो देला । गीत सुन्दा जुन आनन्द आउँछ त्यसलाई शब्दमा उतार्न सकिदैन । मलाई यही अनुभव भइरहेको छ । नेपालका समकालीन गीतकारहरूकै लहरमा उभिएका गीतकार टंक सम्बाहाम्फेबाट नेपाली गीतसङ्गीतले अझै धेरै अपेक्षा गर्दा फरक पर्दैन ।



हङकङेली गीतकारहरूमा रामकृष्ण वान्तवाको नाम उल्लेखनीय छ । सारको प्रकाशनपछि टंक सम्बाहाम्फेलाई उनकै समकक्षमा राख्दा हुन्छ । अन्य गीतकारहरूमा तिलक थापा र डि.बि पालुङ्वा संघर्ष गरिरहेका छन् । गीता पालुङ्वा पनि राम्रै गीत लेख्छिन् । प्रदीप कन्दङ्वा, प्रकाश के.सी., राई चन्द्र दुमीका थोरै गीतहरूमा सङ्गीत भरिएका भए पनि यी स्तरीय गीतकारहरूमा गनिन्छन् । गणेश इजम पुराना गीतकार हुन्, गीतकार टंक सम्बाहाम्फेकै समकालीन पनि । हङकङमा अन्य धेरै गीतकारहरू छन् जसका गीतहरू सङ्गीतबद्घ भएका छैनन् । भोगेन एक्लेको गीतमा पनि सङ्गीत भरिदै छ । मैले सम्झेको गीतकारहरू अहिले यिनै हुन् । देश सुब्बाले पनि दुइचारवटा गीत लेखेका छन् । देवेन्द्र खेरेसको कवितालाई सङ्गीत भर्न भनेर सङ्गीतकार शिव सुब्बाले मेरै आँखा अगाडिबाट लगेका छन् । दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली, विक्रम गुरूङलगायत अरू धेरै सङ्गीतकर्मीहरू हङकङमा क्रियाशील छन् । तेही भएर पनि हङकङमा गीतकारहरूको ठूलो माहौल निर्माण भइसकेको छ । यसैलाई संस्थागत गर्न प्रदीप कन्दङ्वाको अध्यक्षतामा आदिबासी गीतकार समाज हङकङको स्थापना भएको छ र आदिबासी नामको एल्बम निकाल्ने तयारीमा यो संस्था क्रियाशील भइरहेको छ । गीतकार टंक सम्बाहाम्फे आदिबासी गीतकार समाज हङकङका वरिष्ठ सल्लाहकार सदस्यमा छन् । दुइजना हङकङेली गीतकारहरूको नाम लिनुपर्‍यो भने म रामकृष्ण वान्तवा र टंक सम्बाहाम्फेको नाम लिन्छु । अरू गीतकारहरूले चित्त नदुखाउनु होला, सार सुन्नु होला । अन्तमा कवि टंक सम्बाहाम्फेकै कविता अंशबाट यो छोटो भूमिका सकाउन चाहन्छु ।



सधैँसधैँका लागि हातहरू

उठ्नुपर्छ/जुट्नुपर्छ

गाउँबस्ती र सहरबाट

हरेक तह र तप्काबाट

देशका हरेक अङ्गअङ्गबाट

बहुल विचार उठ्नुपर्छ

बहुल जाति, धर्म, सँस्कृति र भाषा उठ्नुपर्छ

समावेशी र संघीयताको पक्षमा जुट्नुपर्छ

किनकी तिनै बहुल हातहरूको संरचनाले

बनेको छ हाम्रो देश ।









हाङयुग अज्ञात






तपाईंको प्रतिकृया

Wow, how wonderful lycris colletion, i guess sound should be so good too.
I hope I wll meet soon this creation.

thanx



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम