Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विविध (पाठक पृष्ठ)
एन्टिबायोटिक्स औषधि र चुनाती - [2008-05-29]

टाइफाइड भएको बेला एन्टिबायोटिक औषधि सिप्रोफ्लोक्सासिन खाए पुनः टाइफाइड हुँदा सोही एन्टिबायोटिक औषधिले काम नगर्ने गुनासो आउँछ ।
कैयौं बिरामीलाई कतिपय एन्टिबायोटिक औषधिको प्रभाव नपरेपछि सोभन्दा कडा खालको औषधि दिनुपरेको सम्बन्धित चिकित्सकहरु पनि बताउँछन्। रोग निम्त्याउने जीवाणु -ब्याक्टेरिया मार्नका लागि प्रयोग गरिने एन्टिबायोटिक औषधि प्रभावहीन हुनुमा बिरामी स्वयम् पनि जिम्मेवार देखिन्छन्। बिरामीले रोगविरुद्ध एन्टिबायोटिक औषधि पूरा मात्रा नखाई बीचैमा छोड्दिनाले रोग पुनः बल्झिन सक्छ। औषधि खाँदाखाँदै बीचैमा छोड्दा शरीरभित्रका ब्याक्टेरियाहरु पूर्णहरुपले नष्ट भइसकेका हुँदैनन्। फलस्वरुप, जीवित ब्याक्टेरिया शक्तिशाली भएर एन्टिबायोटिक औषधि नै पचाइदिन सक्ने क्षमता -रेसिस्टेन्ट वृद्धि हुन्छ र पुरानो एन्टिबायोटिकले कामै नगर्ने हुन्छ।यसका साथै, बजारमा अहिले दर्जनौं औषधि कम्पनीले उत्पादन गरेका विभिन्न एन्टिबायोटिकहरु पाइन्छन्, जसमध्ये कतिपय एन्टिबायोटिक औषधिहरु गुणस्तरहीन छन्।
साल्मोनेल्ला टाइफी नामक ब्याक्टेरियाका कारण टाइफाइड हुन्छ। बर्सेनि करिब ६ लाखको मृत्यु गराउने टाइफाइडका ब्याक्टेरियाहरु शक्तिशाली हुँदै गएका छन्। विश्वका विभिन्न ठाउँमा क्लोरामफेनिकोल र अन्य एन्टिबायोटिकले प्रभाव पार्न छोडेका छन्। गम्भीर प्रकृतिको झाडापखाला -पेट दुख्ने, बान्ता हुने, ढाड दुख्ने र जलवियोजनसँगै हल्का ज्वरो आउने मा यसअघि जस्तो लोपरामाइड एन्टिबायोटिक्सको प्रेस्क्राइब हुन छाडेको छ। यो एन्टिबायोटिक्स पनि प्रभावहीन हुँदै गएको चिकित्सकहरु बताउँछन्।
ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोगको उपचारका लागि प्रतिजैविक औषधि -एन्टिबायोटिक को प्रयोग गरिन्छ। टाइफाइड, क्षयरोग, निमोनिया, एक्युट डायरिया, आउँ-रगत -डिसेन्ट्री, लहरे खोकी, भ्यागुते रोग, धनुष्टड्ढार, प्लेग, कुष्ठरोग, मस्तिष्कज्वरो -मेनेन्जाइटिस०, हैजा, यौनजन्य रोगलगायतका रोगहरु ब्याक्टेरियाबाट हुने गर्छन्। यी रोगहरु लागेको यकिन भएमा चिकित्सकले प्रायः एन्टिबायोटिक औषधि प्रेस्क्राइब गर्छन्।
मुख, आन्द्रा, प्रजनन अंगलगायत शरीरका नरम र संवेदनशील अंगमा ब्याक्टेरियाहरु फैलिने गर्छन्। जीव वैज्ञानिकहरुले संसारमा लाखौं ब्याक्टेरियाहरु भएको पत्ता लगाएका छन्। ब्याक्टेरियाविरुद्ध एन्टिबायोटिक औषधि भरपर्दो मान्ने गरिन्छ। विश्वमा टाइफाइडबाट मृत्यु हुनेहरुमध्ये अधिकांशको मृत्यु चाँडै एन्टिबायोटिक औषधि सेवन गर्न नपाएर हुने गरेको छ। उचित एन्टिबायोटिकको प्रयोग नभएमा १५ देखि २० प्रतिशतमा यो रोग बल्झिने खतरा हुन्छ।
त्यस्तै कुष्ठरोगीले पनि तत्काल एन्टिबायोटिक खानुपर्ने हुन्छ। कुष्ठरोगीको नाकबाट दैनिक जीवाणुहरु बाहिर निस्किरहेका हुन्छन्। ती जीवाणु अर्थात् ब्याक्टेरियाहरु कम्तीमा सात दिनसम्म सुकेको सिँगानमा पनि बाँचेका हुन्छन्। एन्टिबायोटिकका साथसाथै अन्य बहुऔषधियुक्त उपचारले कुष्ठरोग निको हुने चिकित्सकहरु बताउँछन्।
बाथमुटुरोगको प्रारम्भीक चरणमा घाँटीमा सङ्क्रमण हुन्छ। त्यही बेला एन्टिबायोटिक दिएर नियन्त्रण गरियो भने सो रोग मुटुमा पुग्न पाउँदैन। डा। रेग्मी थप्नुहुन्छ- एन्टिबायोटिकले उपचारात्मक र निदानात्मक दुवै काम गर्छ।
ब्याक्टेरियाबाट हुने रोगविरुद्ध प्रयोग हुने एन्टिबायोटिकको महत्त्वलाई हेर्दा यो जीवनदायी -लाइफ सेभिङ० औषधिका रुपमा पनि रहेको छ। तर बिरामीले आफूखुशी एन्टिबायोटिक खाएमा वा डाक्टरको निर्देशनबमोजिम पूरा अवधिसम्म नखाई बीचैमा छोडेमा यो औषधि झन् समस्या बन्न सक्ने डा। पिया बताउनुहुन्छ।
एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएकोले यी औषधिहरु मानवस्वास्थ्यका लागि खतरा बन्दै गएका छन्।
बिरामीलाई एन्टिबायोटिक प्रेस्क्राइब गर्नुअघि कुन ब्याक्टेरियाका कारण रोग लागेको हो भनी छुट्याउन कल्चर र सेन्सिटिभिटी परीक्षण गर्नु महत्त्वपूर्ण मानिन्छ। कफ, पिसाब, रगतमा ब्याक्टेरियाहरु धेरै हुने भएकोले यी पदार्थको कल्चर गरेर सङ्क्रमण गर्ने ब्याक्टेरिया पत्ता लगाउनुपर्छ। यसपछि पत्ता लागेको ब्याक्टेरियाविरुद्ध कुन एन्टिबायोटिक प्रभावकारी हुन्छ भनी सेन्सिटिभिटी परीक्षण गरेर मात्र औषधि प्रेस्क्राइब गर्नुपर्दछ।
विकसित मुलुकहरुमा कल्चर र सेन्सिटिभिटी परीक्षण गरेर मात्र औषधि प्रेस्क्राइब गर्नुपर्ने अनिवार्य नियम छ। तर नेपालमा भने सम्बन्धित चिकित्सकले क्लिनिकल परीक्षणकै आधारमा एन्टिबायोटिक दिने गरेका छन्। नेपाल फर्मास्युटिकल्स एसोसियसनका अध्यक्ष बाबुराम हुमागाईं औषधि उत्पादन, चिकित्सक, औषधि विक्रेता र स्वयम् बिरामीबाट पनि एन्टिबायोटिकको दुरुपयोग भइरहेको बताउनुहुन्छ।
एन्टिबायोटिक औषधिको खपत बढ्दै गएका कारण उत्पादकहरुले जथाभावीरुपमा यी औषधिको उत्पादनमा जोड दिएका छन्। सम्बन्धित डाक्टरहरुलाई कलम, डायरी, मोटरसाइकलसम्म बोनस दिनुका साथै कतै जानुपर्दा प्लेन टिकट र कार्यक्रम प्रायोजनको समेत व्यवस्था गरिदिनाले कतिपय चिकित्सकहरुले रुघाखोकीको बिरामीलाई पनि एन्टिबायोटिक प्रेस्क्राइब गरेको पाइएको छ। जब कि रुघाखोकीको कारक तत्त्व भाइरस हो। सामान्य रुघाखोकीलाई उपचार गरे सात दिनमा र उपचार नगरे एक हप्तामै ठीक हुन्छ समेत भन्ने गरिन्छ।
क्लिनिकको परीक्षणकै आधारमा एन्टिबायोटिक दिने गरिन्छ। कल्चर र सेन्सिटिभिटी परीक्षण गर्नुस् भन्दा बिरामीले खर्च बढाइदिएको गुनासो गर्ने र अर्को पटकदेखि जँचाउन नआउने गरेको उल्लेख गर्दै एक चिकित्सक भन्छन्- बिरामीको आर्थिक अवस्था हेरेर पनि सामान्य परीक्षणकै आधारमा एन्टिबायोटिक दिनुपर्ने हुन्छ। तर नेपाल आएका विकसित मुलुकका पर्यटकहरु भने बिरामी भएका बेला एन्टिबायोटिक दियो भने रिसाउने गरेको अनुभव चिकित्सकहरु सुनाउँछन्।
एन्टिबायोटिकको दुरुपयोगसँगै यसका खतरा पनि डरलाग्दोसँग बढ्दै छन्। अधिकांश एन्टिबायोटिक औषधि खाना खानु एक घण्टाअगाडि खानुपर्छ। तर चिकित्सक र औषधि विक्रेताले नबुझाइदिंदा कतिपय बिरामीले खानापछि औषधि खाने गरेको समेत पाइन्छ।
चिकित्सकको निर्देशनबमोजिम नभई आफूखुशी एन्टिबायोटिक खाँदा त्यसबाट झन् ठूलो समस्या आउने गरेको छ। रोगका लक्षण हराउनेबित्तिकै एन्टिबायोटिक बीचैमा खान छोड्दा रोग पुनः बल्झिने र ब्याक्टेरियामा औषधिविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुन पुग्छ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम