Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
उसको पर्खाई (ध्रुब थुलुङ/हालः तेह्रथुम) - [2008-06-06]

आज एक बर्षपछि उसँग भेट हुने पहिलो दिन हो । मन फुरुङ्ग भएको छ । एक बर्षसम्म कसरी मैले मेरो दिनहरु कटाएँ त्यो मलाई मात्र थाहा छ । आज बिहानै उठेर नित्यकर्म सिध्याए पछि भान्छामा पसेर उसको मन पर्ने खानेकुराहरु तयार गर्न म तन्मय मन्मय लागेको छु । साँच्चै यो बिछोड भनेको कस्तो चिज होला है ? म आफुले आफैलाई प्रश्न गर्छु । फेरि मनमनै मुसुक्क हाँस्छु खुशीले । उसलाई मनपर्ने खानेकुरा पाकीसके पछि हटकेशमा हतार हतार राख्छु अनि आफ्नो बाटो लाग्छु जहाँ मैले उसलाई एक बर्षअगाडी हात हल्लाउँदै बिदाई गरेको थिएँ गह्रुँगो मन लिएर । बिचरा ऊ ! आँखा भरि आँसु पारेर मसँग बिछोडिएको थियो ।

बर्षातको समय भएकोले बाटो हिलाम्य थियो । मैले पुग्नु पर्ने ठाउँ एक घण्टाको उकालो काटेर जानु पर्ने थियो । लेक नै भएकोले जुकाको प्रकोप पनि त्यति कै थियो । तर मैले तिनीहरु कसैको पर्वाह नगरी उकालो चढीरहेँ उसैको हँसिलो अनुहार र चन्चले व्यवहार सम्झँदै । खै कुन्नी कसरी त्यो उकालो पार गरेँ मलाई थाहै भएन । एक घण्टाको उकालो बाटो आज त चालै नपाई पो पार गरेछु । चौतारीमा पुगेपछि वरिपरि आँखा दौडाएँ कतै अगाडी नै आईपुगेर मलाई छल्नको लागि झाडी तिर त लुकेर बसेको छैन ऊ । तर मेरो आशा निरासामा बदलियो । त्यहाँ ऊ आईपुगेकै थिएन । मैले फेरि ऊ आउने बाटो तिर हेरेँ कतै आउँदै पो छ की भनेर तर उसको अत्तोपत्तो थिएन ।

मैले उसलाई कुरेर (पर्खेर) बसेको एक घण्टा भैसक्दा पनि ऊ आईपुगेको थिएन । सयौं मान्छेको ओहोर दोहोर भईरहेको भिडमा पनि म उसैलाई खोज्दै थिएँ । हरेक गाडीको ढ्यार्रढुर्र हुँदा ऊ आएको हो कि भनेर चियाउँथे तर उसको भने अत्तोपत्तो थिएन । उसलाई यसरी कुर्नु पर्दा मलाई रीस पनि नउठेको होइन । अनि फेरि लाग्दै पनि थियो सायद बाटोमा गाडी बिग्रियो कि - नत्र भने ऊ कहिल्यै पनि आफ्नो समय भन्दा ढीलो गर्दैन थियो । कि आज उसलाई छुट्टी पो मिलेन कि - कि मैले पो उल्टो सुनेँ कि - आदि इत्यादि सोँच्दै रहेँ म । नाडीको घडी हेरेँ आजको गते त ठीकै छ । अनि फेरि शंका गरेँ मेरो घडीलाई नै, सायद यसले गलत दिन बताईरहेको छ ।

यतिकैमा देखेँ ऊ मुसुमुसु हाँस्दै म तर्फ आईरहेको थियो । मन खुसीले गद्गद् भयो । उसलाई आधि बाटैमा गएर अँगालो मारौं झैँ भयो तर तत्काल सम्हालिएर उसलाई घुर्क्याउनको लागि रिसाए झैँ गरि अर्को तर्फ फर्किएर बसेँ । ऊ मेरो छेवैमा आएर बस्यो । अझै मैले उसलाई नहेरेको र रिसाए झैँ गरिरहेको देखेर उसले आफ्ना कोमल हातले मेरो दुबै गालामा समातेर मेरो अनुहार आफुतर्फ तान्यो । मैले आफुलाई सम्हाल्नै सकिन । उसलाई जोडले अँगालोमा बाँधेर चुम्न थालेँ । हामी एक अर्काको मायामा पूरै हरायौँ ।

वास्तबमा ऊ मेरो कोही नभएर ५ (पाँच) बर्षो नाबालक एक्लो छोरो "निसान" थियो । ऊ शहरमा बोर्डिङको होस्टेलमा बसेर पढ्छ । अहिले उसको बर्षे बिदामा घर आएको हो । साँच्चे भन्ने हो भने उसको बाबुले वीरगति प्राप्त गरे पछि ऊ बाहेक अरु को नै पो छ र मेरो सहारा ।



कल्पनाः ध्रुब थुलुङ हालः तेह्रथुम







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम