Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
दैलौ लगाएको आवाज…(गोविन्द बेल्वासे) - [2008-06-23]

दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही बैठक कोठा मै विस्तरा लगाई दिए । दिनेशका श्रीमान श्रीमती नै दुवैजना पढाउने काम गर्छन् । दुवै जना दिनभरिको थकाईले मस्त निद्रामा परिहाले । बाऊ विचरा बसमा धेरै यात्रा गर्ने बानी पनि नभएको त्यसैमा पहाडका घुम्तीहरु टाटा बसमा यता उता हल्लदै लामो यात्रा गरेर गाउँको दैनिकीबाट काठमाडौंको धुवाँ र धुलोको कक्टेलमा परेर लखतरान पारेकोले एकै छिनमा झपक्क निदाएका मात्र थिए । दैलो लगाएको क्वाइ…यु को आवाजले उनलाई निद्राबाट बिउँझायो । ओढिराखेको सिरकबाट टाउको निकालेर यस्सो ढोका तिर चिहाए …॥ ।



पहिला त पहिलो निद्राकै झोकमा गाउँकै घरको आफनै विस्तरामा सुतेको भान भएर उनले दैलो तिर हेरे । तर आँखा खोल्दा उनी त छोराको डेराको बैठक कोठामा भएको यथार्थमा दैलो उघारेको आवाज विश्लेषण गर्न थाले । त्यो ढोका त लाउँदा र उघार्दा त्यस्तो आवाज आउने खालकै छैन । आवाज भने गाउँको त्यो अलकत्रा पोतेको र उही बाँसारुखे कर्मीले बनाएको ढोका उघार्दा आउने जस्तै थियो त । अनी उनी अलि विचार गर्न थाले । कतै गाउँकै घरमै सुतेको भ्रमले त त्यस्तो भएको हैन ! …॥अंह ! त्यो भ्रम मात्र होइन साँच्चै नै दैलो लगाएको आवाज थियो ।



दिनेशले बत्ती स्वीच अफ गरेर निभाएर ढोका लगाएर गए पछि भित्रबाट चुक्कल लगाएर उनी सुतेका थिए । अध्याँरो भए पनि बाहिरको जुनको उज्यालोले गर्दा भित्र पनि अलि अलि त देखिन्थ्यो । आखिर ढोका त लगाएकै छ । त्यो दैलोको आवाजले सोँच बढाउँदै गयो । त्यसले त बुढालाई चिन्तितै पार् यो । फेरि निदाउने प्रयास त गरे तर दिमाग घुमिफिरी फेरि त्यही क्वाइ…।यु गर्दै ढोका लागेको आवाजमै रुमलिन्छ । अनि निद्रा लाग्ने कुरै भएन । यसो विचार गरे वल्लो पल्लो घरबाट आएको आवाज पनि थिएन त्यो । आवाज त यही कोठाकै थियो भन्ने कुरामा उनी निश्चित थिए तर उनको विचारमा त्यो आवाज त्यहाँ निस्कने सम्भावना पनि थिएन । सोच्दा सोँच्दै उनी त कतै भूत प्रेतले यो डराउन दिएको हो कि भन्ने सोच्न थाले । उनको दिमागले विश्लेषण गर्दै गयो । भूतले नै त्यो आवाज निकालेको हुनसक्ने किम्वदन्तीहरुमा उनको मन भौतारिन थाल्यो । गाउँबाट हिड्ने अघिल्ला राति आफ्नी बुढीमाउ श्रीमतीले भनेका कुरा सम्झन थाले - बुहारीको चार महिना भयो नछुनी नभएको भन्थी । यस्तो भुताहा घरमा बच्चा जन्माउने हुर्काउने कुरै भएन । भोलि बिहानै उठेर छोरालाई डेरा खोजेर सरिहाल्न लाउने निश्कर्ष निकाले उनले । यस्तो भूताहा घरमा कसरी बसेका होलान छोरा बुहारी यस्तो तसा्रउँदो रै छ यो कोठामा । खै छोरा बुहारीलाई यहाँ तसा्रउछ भन्ने थाहा नभएर त होला सुत्ने बेलामा केही संकेत पनि गरेनन् खै !



साँवाको भन्दा ब्याजको माया बढी लाग्छ भन्थे । त्यस्तै भयो उनको मनमा पनि । छोरा बुहारी त्यस्तो भूतले तसा्रउने घरमा कसरी बसेका होलन भन्ने भन्दा पनि अझै बुहारीको पेटमै भएको सन्तान त्यो भूतले तसा्रउने घरमा कसरी बस्ला भन्ने पिरले उनलाई सताउन थाल्यो । अनि महाभारतको अभिमन्यूको कथा सम्झन थाले उनले । अभिमन्यूले आपुनी आमाको पेटमै भएका अवस्थामा चक्रब्यूको घेरा तोडेर भित्र जाने ज्ञान प्राप्त गरेको कुरा उनको मनमा आयो । कतै आफ्नो सन्तानलाई पनि पेटमै हुँदा यो भुतको असर पर्यो कि भन्ने डर लाग्न थाल्यो । अर्जुनले चक्रब्यू तोड्ने बिषयमा आफनी श्रीमतीलाई सुनाउँदा अभिमन्यूले ती कुरा आमाको गर्भमा हुँदै सुनेको प्रसँग आफनो स्थिति सँग दाँज्न थाले उनले । त्यो पेटमै भएको सन्तानलाई पनि त अभिमन्यूलाई पेटमै भएको बेला आमाले सुनेको कथाले असर गरे जस्तै भूतले तसा्रएको असर परेहोला नि ! भविष्यमा जन्मने आफनो सन्तानलाई भूतको असर पर्ने चिन्ताले सताउन थाल्यो । अर्जुनले चक्रब्यू तोड्ने क्रममा भित्र कसरी छिर्ने भन्ने विवरण सुनाउँदा सम्म आमा जागै रहेकीले अभिमन्यूले पछि चक्रब्यू भित्र जान त सके । तर त्यति सुन्दा सुन्दै आमा निदाएकीले पेटमा रहेका अभिमन्यूले चक्रब्यूको घेरा तोडेर निस्कने कसरी भन्ने अर्जुनको ब्यहोरा सुन्न पाएनन् । त्यसैले चक्रब्यूमा परेर उनी महाभारतको लडाईमा मारिएको प्रसँग सम्झेर उनी झन् झन् डराउन थाले । आखिर पुरुष प्रधान सामन्ती संरचनाका हरपरिवेशले जकडिएकै भएर त होला उनले बुहारीको पेटमा आफनो नाति नै रहेको र नाति अभिमन्यू जस्तै भएको अनुमानका भ्रममा भूतले आफनो नातिलाई तसा्रउला कि ! भन्ने डरले भूतबाट नातिलाई जोगाउन के गर्ने भन्ने योजना पनि उनले बनाउन थाले ।



हुन पनि त्यो अध्याँरो कोठामा ढोका लगाएको लगाएकै छ । तर खुलेको दैलो लगाउँदा आउने आवाज आउनु भूतले तसा्रएको भन्दा अरु हुनुसक्ने सम्भावना उनले अनुमान गर्ने कुरा पनि भएन । भूतले तसा्रउने सम्बन्धमा उनले सुनेका किम्बदन्तीहरुमा मात्र त्यस्तो ढोका लगाएको आवाजको प्रसंग थियो । त्यसैले उनको मन त्यही भूतले तसा्रएको प्रसंग कै वरिपरि घुमिरहर् यो । त्यो सुनसान रातमा काठमाडांैको धेरै घरको भीडमा भूतले तसा्रएको कथाले पनि उनको ज्ञानसँग त्यती मेल खाएन । मान्छेको भीडबाट त भूत पनि भाग्छ भन्थे । उनले आफनो बालक कालमा सुनेका भूतका कथामा त कित चिहान घारीको प्रसंग हुन्थ्यो कित पधेरा वा खोलाको बगर वा बाँसघारीको आस पासको सुनसान ठाउँको प्रसंग हुन्थ्यो । त्यसैले उनले आफनो मनलाई भूतको प्रसंग भन्दा अलि पर लगेर त्यो दैलो लगाएको आवाजलाई विश्लेषण गर्न थाले । हुन त उनले आफु सुतेको कोठा भित्रबाटै आएजस्तो सुनेका थिए त्यो आवाज । तै पनि घरको अरु ढोकाबाट पो त्यो आवाज आए होला कि भनेर पनि उनको ध्यान बाँडियो ।



उनी डराई डराई आफूले ओढिराखेको सिरक पन्छाएर विस्तारै उठे । डराउँदै डराउँदै उनी ढोकासम्म पुगे । विस्तारै ढोकाको चुक्कल खोलेर ढोका उघारे । विस्तारै ढोका लगाएर पनि विचार गरे । तर खोल्दा र लगाउँदा त्यस्तो आवाज नै आएन । उनले त्यो आवाज त्यो ढोकाबाट आएको थिएन भन्ने कुरामा आफूलाई ढुक्क पारे । अनि त्यो पुल्याटका अन्य ढोका हेर्न गल्लीको बत्ती बाले । सबै ढोका ठीक ठाक देखे उनले । त्यस्तो दैलो लाउँदा आफनो गाउँको घरको दैलोबाट आउने जस्तो आवाज निस्कने कुनै ढोका पनि उनले देखेनन् । त्यसपछि उनको दिमाग झन नाच्न थाल्यो आखिर त्यो आवाज आयो कहाँबाट उनले भूतको कुनै अन्य लक्षण पनि फेला पार्न सकेन्न । उनले आफनो बालक कालमा सुनेका भूत सम्बन्धी कथाहरुको कुनै पक्ष कतै मिल्छ कि भनेर खुब सोँच बिचार गरे तर कतै केही पाएनन् । एकमनले छोरा बुहारीलाई उठाएर आफूले सुनेको त्यो दैलो लगाएको आवाजका विषयमा कुरा गर्ने पनि विचार गरे तर फेरि उनले विचार बदले । भूतको अन्य कुनै संकेत नभेट्दा सम्म पर्खने र यदि फेरि केही लक्षण नपाए बिहान छोरा बुहारी उठे पछि नै कुरा गर्ने निर्णय गरे ।



धेरै बेर सम्म भूतको अरु कुनै लक्षण नदेखे पछि उनले आफूले धेरै बर्ष अगाडि पढेको मनोहरा देखि मानव सम्मु भन्ने मोदनाथ प्रश्रीतको पुस्तक सम्झिए । उनले त्यो पुस्तकका तर्कका आधारमा त्यो दैलो लगाएको आवाजलाई वैज्ञानिक रुपमा पुष्टि गर्ने प्रयास पनि गरे । तर आफ्नो ज्ञानको परिधि भित्र त्यो आवाजको स्रोतलाई उनले ठम्याउनै सकेनन् । अध्यात्मवाद र अलौकिक शक्तिहरुको तर्कबाट आफनो शंका भगानउ र डारविनको विकासवादलाई सहज तरिकाले बुझन त्यो पुस्तकका कुराहरु खुब केलाउने प्रयास गरे । तर उनको बुद्धिले त्यो दैलो लगाएको आवाज कहाँबाट आएहोला भन्ने पत्ता लगाउनै सकेनन् । अल्मल्लमा पदापर्दा थाकेर लखतरान परेको शरीरलाई उनले फेरि त्यही विछ्यौनामा थन्काए । फेरिपनि त्यो भूतको चर्तिकला अनि बैज्ञानिक विश्लेषणमा दिमाग घुमाउँदा घुमाउँदै उनी निदाए ।



थाकेको ज्यान त्यसमाथि दैलोको आवाजको चिन्ताले विथोलेको निद्राले छाड्दा ढोकामा टक् टक्को आवाज थियो । बाहिर उज्यालो भैसकेको कुरा झ्यालबाट आएको प्रकासले जनाइहाल्यो । त्यस माथि बुहारीको स्वरले रातिको दैलो लगाएको आवाजबाट भूतले तसा्रए जस्तो आवाज होइन भन्ने पुष्टि गरिहाल्यो । उनले उठेर लुङ्गी बेर्दै आफू समालिएर ढोका खोले । बुहारी चिया लिएर उभिएकी रहिछन् । चिया टेवलमा राखेर बुहारी भान्सा तिर गइन । उनी टवाइलेटबाट कोठामा फर्कदा छोरा दिनेश त्यही कुर्चीमा बसेको भेटाए उनले । बाबु छोरा दुवैले चियाको चुस्की लिदै विछ्यौना निद्रा र आराम बारे प्रसंग सुरु गर्ना साथ उनले छोरालाई दैलो लगाएको आवाजबाट आफू तसे्रको र कहाँबाट त्यो आवाज आयो भन्ने बुझ्न नसकेको बताए ।



कुरा गर्दै गर्दा दिनेशले त्यही कोठामा रहेको कम्प्यूटर खोलेर इमेल हेर्ने तरखर गर्न थाले । हालचालै डिएसएल ब्रोडब्याण्ड जोडेका छन् उनले । इन्टरनेट डिस्कनेक्ट गर्ने र जोड्ने झन्झट पनि नहुँने र टेलिफोनको विलको चिन्ता नि नहुने । हुन पनि सबैको बिदेश जाने धुनलाई उनले बुझेका थिए । त्यसैले आफू पनि मौका समातेर विदेश हानिने तालमेल मिलाउन इन्टरनेट नभई हुँदैन भनेर उनलाई थाहा थियो । त्यसैले जनतन कम्प्यूटर र इन्टरनेटको व्यवस्था गरेका हुन् दिनेशले । यसो देश विदेश साथीभाईसँग च्याटस्याट गरेर कसरी विदेश पुग्ने भन्ने प्रयासलाई बाबुसँग गफ गर्दै उनले अगाडि बढाइरहे ।



बाबु चािहंले त रातभरि भूतले आपुूलाई तसा्रएको र आफनो नातिलाई भुतबाट बचाउन डेरा सर्न छोरालाई अर्ती दिने भूमिका बाध्दै थिए । छोरो चाँही यता बावुका कुरा पनि सुन्दै याहु म्यासेन्जरको च्याटमा विदेशका साथीसँग गफ गर्दै थिए ।

त्यत्तिकैमा त्यो सहज वातावरणमा एउटा उर्जा थपियो । बाबु चाँहीले अलि उत्तेजित जस्तो भावमा भने - हो यस्तै दैलो लगाएको आवाजले हो मलाई रातभरि चिन्तित पारेको । दिनेशले पनि अलि अलमल पर्दै बावुका कुरामा ध्यान दिए । अनि त्यो दैलो लगाएको आवाज ूक्वाई…यूले बाबुलाई रातभरि सताएको कुरा बुझे । अनि बल्ल दिनेशको घैटोमा पनि घाम लाग्यो । याहुँ म्यासेन्जर खुलै छाडेर उनी सुत्न गएका थिए । त्यस पछि अनलाइनमा भैराखेको कुनै साथी अफलाइन जाँदा आएको दैलो लगाएको आवाजले बावुको निद हराम पारेछ भन्ने कुरा बुझे । एक छिन इन्टरनेट च्याट याहुँ आदि प्रविधिको बारेमा बावुलाई उनले बुझाएपछि बल्ल बाबुको मन ठाउँमा आयो ।



के को भूत हुनु के को तसा्रउनु ! आखिर प्रविधिको खेल रहेछ झण्डै भूतको कुरा उठाएर छोराका अगाडि लाजमर्दो भएको । झण्डै डेरा सर्न लगाएका बुढाले त ! यो रेडियो टिभी भिडियो फोन मोवाइल के के को कुरा बुझि सक्नु र ! अझ इन्टरनेट र बेवसाइटका कुरा झन् के के हो के के हो ! बुझे पनि सुख्ख छैन नबुझे पनि रातभरि भूतको डरले सुत्न देन । हुन पनि नाम पनि के को भूतकै जस्तो याहू॥ भनेर राखेका नि



---------------------------------------









कलम काकालाई भतिज किबोर्डको पत्र



काका कलमजी

नमस्कार जय नेपाल अभिवादन तथा मेरो ुइन्टरु

मेरो र माउसबीचको मित्रता मनपराउनेहरुको कमी छैन । तर तपाईको र मेरो सम्बन्धका बारेमा विविध अनुमान हुने गरेका छन् । तपाई र मेरो बीचमा कुनै कटुता छैन-भन्ने हामी दुवैलाई थाहा भए पनि चाँडक्य नीतिका अनुयायी भनुवाहरुलाई यस कुरामा विश्वास छैन ।

तपाईलाई त मैले आफनो अग्रज र मार्ग दर्शकको रुपमा बुझेको छु । तपाईका अगाडि म बच्चै हु नी । मेरो त उमेरै कति पो भयो र ! तपाईको बाँस र निगालाका रुपको बालक पन मैले अहिले ब्यहोरिरहेको छु भन्दा पक्कै बढी कुरा गरेको ठहरिने छैन । तपाईको त्यो बालक अवस्थामा दवात मसी संगको मित्रतालाई पनि अहिले मेरो र माउस बीचको सम्बन्धका बारेमा चर्चा परिचर्चा भए जस्तै चर्चा परिचर्चा हुने गथ्यो रे । मसीको सिसी भित्र चोवलीने बाहिर आउने फेरी भित्र जाने र बाहिर आउने क्रमलाई अनेक कोणबाट विवेचना पनि भएकै हो । बुझ्नेले मानव विकास तथा सभ्यता बढाउनमा तपाईको योगदान बताए । नबुझनेले मसी पोखिदा फोहोर हुने तथा दाग लाग्ने घटनाको दोष पनि तपाईलाई दिए ।



मेरो किबोर्ड र माउसको उमेरमा अलि फरक छ । म उनी भन्दा अलि जेठो छु । तर मसी र तपाई कलम काकाको उमेर ठ्याक्क मिलेको भन्छन् सवैले । कलम र मसी एकै पटक जन्मेका हुन भन्छन् बरु आधुनिक युगमा मसीलाई तपाईले आफु भित्रै समाहित गरेको तपाईको पाको उमेरलाई झट्ट् हेर्दा मसी र तपाईले सँगै बाँच्ने सँगै मर्ने भनेर खाएको कसम पनि पुरा भएको भान हुन्छ । आज भोलि त तपाई र मसीको सम्बन्ध पनि फेक्ट्री भित्रै लुकेर हुने गर्छ । सिसिभित्र खुलेयाम डुबुल्की मारेर भित्र बाहिर गर्ने तपाईको चाला हराएकोमा तपाईलाई आधुनिक बनेको पनि भनिन्छ । माउस नानीसँग मेरो सम्बन्ध जोडिए पछि हाम्रो उपस्थिति घर-घरमा हुन थालेको हो । तर मेरो अस्तित्व भने त्यो भन्दा धेरै पहिले देखि भएको हो । सिपीयू महोदयको नेतृत्व र माउससँगको सहकार्यले टाइपराइटरको मेरो पुरानो भूल्ले स्वरुपलाई सुधारेको हो । दशैंको आशिर्वाद लागेर होला डाडाँ काँडा ढाक्ने सन्ततीका रुपमा मौलाएर घर-घर सम्म पनि म अटाएको छु । आज भोलि त घर काम जताततै ठटाइन्छु म । घोचीघोची कजाइन्छु म ।

मेरो अहिलेको बालकपन सत्ताको संरचना जस्तो छ । इलेक्ट्रोन प्रोटोन र न्यूटनको अस्तित्व काम र कर्तब्यलाई बैज्ञानिकले सन्तुलित पारेर माउस नानी सिपियू र म किर्वोड बहादुरको विकास गरेका हुन । हाम्रो काम र कर्तब्य पनि कार्यपालिका ब्यवस्थापिका र न्यायपालिकाको जस्तो छ । मोलेक्यूवस भित्रको इलेक्ट्रोनको भूमिका जस्तो चलायमान भूमिका मैले निभाईरहेको हुन्छु । दश औलीका थिचाइवाट फटफटाइरहेको हुन्छु । मेरो उमेर पनि बढ्दै जाँदा कुनै न कुनै दिन त मेरो स्वरुप पनि सुन्दर बन्ला ।

मसीसँग विवाह भएर हजुरले आफै भित्र विलय गराएको र पुूस्रदको बेला मनुष्यको छातिमा टेक्ने तपाईकलमको अवस्था जस्तै मेरो पनि अवस्था बन्ला भन्ने पनि आशा छ । माउस नानीलाई अरुले हत्केलामा थुनेर किचिक्क थिचेको म छेवैमा बसेर हेरिरहने दिन कहिले हराउँला भनेर पर्खिबसेको छु । मेरो आशा पनि ज्ञानेन्द्रले नारायणहिटी छोड्लान कि भनेर राजनैतिक दलहरुले आशा गरे जस्तै भएको छ । मेरी माउस पियारीलाई अरुले समाएर यता उता नचाउने चलन कुनै न कुनै दिन हराउला भनेर पनि आशा गरेको छु ।



मेरी माउसको बैस चढ्दो छ । झन पछि झन सुन्दर बन्दै छिन् । कहिले काँही त उनी आफनो पुच्छर पनि लुकाएर वायरलेस माउसको रुपमा मस्किन्छिन् । म पनि के कम भनेर पुूर्ति लाउनलाई मात्र भए पनि टुप्पी काटेर वायरलेट किर्वोड बनिदिन्छु ।

कलमजी उमेरले त हजुर मेरोकाका जस्तो हुनुहुन्छ । काकी रुपी मसीको त बिलय नै भैसक्यो । सँच्चै भनौ मने त तपाईको र मसी काकीको लगन गाँठो गाँसिएको पनि थुप्रै भैसक्यो । कसैले भन्छन् किर्बोड भतिजाले कलम काकाको अपुताली नै स्याहारी सक्यो । अब कलम काकाको के काम । तर के हुन्थ्यो कलम काकाको मार्गमा चल्ने म भतिजाको त्यस्तो विचारै होइन । काकाको आफनै भूमिका छ । वैज्ञानिकहरुले मेरो बारेमा सोँच्दा उनीहरुलाई हरतरहले सहयोग गर्ने पनि कलम काका हजुर नै हुनुहुन्छ । बरु कागज र मसी दुइटी सौता काकीहरु आपसमा झगडा गरिरहेर हैरान भएकोले तपाईले मसी काकीलाई आपुूमा बिलय गर्नु भएको पो हो कि भन्ने लाग्छ मलाई त । मसी काकी पनि अलि रिसाहा पो थिइन त । कहिले काँही रिस उठ्दा त कापी भरी पोखिएर कापी नै भताभुङ्ग पार्थिन । आजकाल भने कापी काकी एक्लै भएर मोजमस्ती गरेकी छन् । तपाई कलम काकाको र कागज काकीको जोडा खुवै मिलेको छ ।



भतिजको नाताले पनि कलम काकाको काम सघाउँनु मेरो कर्तब्य हो । अपुताली स्याहार्ने त मेरो विचार हुँदै होइन । हजुरले चिन्ता लिनै पर्दैन् । हजुरको अस्तित्व सदैव रहने छ । पि्रन्टर सँग मेरो मिलिभगत माथि हजुरले गरेको शंकामा सत्यता छैन । म आफनै रफ्तारमा काम गरिरहेको हुन्छु । हाम्रो दुनियाँ तपाईको दीक्षा अनुसार अगाडि बढिरहेको छ । तरबार र तपाई मध्ये को बलियो भन्ने तछाड मछाड पनि हामीमा छैन । हामी त बरु एक आपसमा सहायक हुनसक्छौ । मलाई ठटाए घोचे हजुरलाई औलाले अड्याएर हत्केलामा माया गरे भन्ने पनि मलाई डाहाड छैन । मलाई त हजुर कलम काकाको आशिवार्दमा चल्न पाए हुन्छ । हजुरकै मार्गदर्शनमा चल्न पाए हुन्छ । आखिर हामी काका भतिज नै अक्षरको खेती गर्नेका सेवक न हौ ।

भवदीय





किबोर्ड बहादुर

----------------------------------------------------------









किबोर्डको पत्र



आदरणीय मेरा संचालकज्यू

नमस्कार जयनेपाल र अभिवादन सहितको मेरो ुक्लिकु

मेरो ुइन्टरु र मेरी अभिन्न मित्र माउसको ुक्लिकुका वारेमा मैले अब परिचय गराई रहन परोइन भन्ने विश्वास लिएको छु । मेरो नाम ूकिबोर्डू हो । मेरै छेउमा रहिरहने र तपाइलाई सहयोग गर्ने अवस्थामा सहकार्य भैरहने माउससँगको मेरो मित्रतालाई हजुरले मनपराउनु भएको छ भन्ने ठानेको छु । तपाईको आपत्ती छैन होला भन्ने ठानेर माउस नानी र मेरो सम्बन्ध गहििरंदै गएकोले हामी लगन गाँठोमा बाँधिन पाए हुन्थ्यो भन्ने मेरो चाहना अवगत गराउन चाहान्छु । हामी दिनरात सँगै बसेको देख्दा हाम्रो सम्बन्ध र नाताको बारेमा निकै टिका टिप्पणीहरु पनि भएका रहेछन् ।

मैले प्रकट गरेको मेरो चाहनाका वास्तविक तथ्य र व्यहोरा हजुरका जुनाफमा जाहेर गर्नु भन्दा पहिला मेरा पीर मर्काबारे उल्लेख गर्न चाहान्छु । सर्व प्रथम त मेरा रुपका बारेमा मेरो गुनासो छ । मलाई कालो वर्ण रुप दिएकै कारण मैले थुप्रै समस्या भोग्नु परेको छ । म कालो भएकै कारण मेरो वरिपरि भएका फोहर प्रति तपाईको ध्यान जान नसकेको हो भन्ने मैले बुझेकै छु । मेरा हरेक अंगका बीचमा रहेका खाली ठाउँ फोहोर जम्मा हुने ुबिनु बनेको हुन्छ । प्रयोगशाला ल्याव मा लगेर परीक्षण गरेको खण्डमा यो बिन भित्र तपाइको ट्वाइलेटमा भन्दा बढी ब्याकटेरिया लगायतका किटाणु भेटाउनु हुनेछ । आफनो ट्वाइलेटमा सधै जसो के के केमिकल हालेर सफा गर्ने तर मलाई कहिल्यै सफा नगर्ने हजुरको चाला प्रति मेरो सारै ठूलो असन्तुष्टि रहेको छ ।



पहिले पहिले त हजुरहरुले मलाई अलि कम ठटाउनु हुन्थ्यो । एक छिन औला औलाले ढटाए पनि धेरै समय मलाई विश्राम गर्न दिनु हुन्थ्यो । काम नहुँदा ढाकेर राख्ने हुनाले पनि फोहरले मलाई त्यती सताउने गर्थेन । तर आजकाल हरेक दिन इमेल भन्ने पत्र लगायतका लेखन कार्यमा पनि मलाई ठटाइ-ठटाइ औलाले घोची-घोची काममा लगाउनु हुन्छ । कुनै दिन पनि विश्राम पाउँदिन । तपाईका छोरा छोरीले गेम खेल्दा त झन मलाई कतिठटाउँछन भने सितिमिती मैले विश्राम नै पाउन छाडेको छु । मलाई जति ठटाए पनि जति घोचे पनि मेरै छेऊँकी पियारी माउसलाई औलाले विस्तारै क्लिक गरेको धुनले भने मलाई रोमान्स गराइरहन्छ । वडो माया गरेर मेरी पियारीलाई तपाईले हत्केलामा थुनेर यता उता नचाँउदा भने मलाई डाह पनि लाग्छ । तपाएको चोर औलाले किचिक्क थिचेर क्लिक गर्दा उनको ज्यान सिरिङ्ग हुन्छ । त्यसको सन्देश सिपियु र स्क्रिनमा जाँदा मैले पनि चाल पाइरहेको हुन्छु । डाहड लाग्छ ईश्या हुन्छ मुमुरिन्छु तर म लाचार छु तपाईको विरुद्ध म केही गर्न असमर्थ छु ।



म त हजुरको सेवक ठहरिए । तपाइले अह्राएको मान्नु मेरो कर्तब्य हो । तर मेरो सुख सुविधा प्रति ध्यान दिएर मलाई सुविधा पुर् याउनु भयो भने हजुरको सेवामा खटिदा मेरो कार्यदक्षता इफिसेन्सी बढ्यो भने तपाईलाई फाइदा हुने छ । मलाई सुविधा दिन तपाईको कोष भरिपूर्ण हुनेछ । आशा छ मेरो गुनासोलाई हजुरले मनन गर्नुहुनेछ । ध्यानदिनु हुनेछ र कार्यान्वयन पनि गर्नुहुने छ ।

मेरो सुविधाका लागि मेरा कुना काप्चामा रहेको फोहोर भ्रष्टाचार सफा गरिदिनुहुन सादर अनुरोध छ । तपाईको व्यस्त दैनिकीलाई मैले बुझेकै छु । यो व्यस्ततामा कम से कम हप्ताको एक दिन मेरो फोहोर हटाइदिनु हुन यदि सिफारिस गर्नुपर्छ भने मेरी पियारी माउसको सिफारिस गराउन सक्छु । माउस पियारी त अलि रिसाहा पनि छन् । उनलाई फोहोरले सतायो भने तपाईलाई उनले चेताइ हाल्छिन् । उनको विस्तरा सफा गर्न तपाईलाई विवस पार्छिन । कहिले काँही त उनको पिधंको डल्लो खोलेर तपाइले सफा गरी दिएको म टुलुटुलु हेरेर बस्छु । उनी भने लाजले भुतुक्क भएकी हुन्छिन् । उनको फोहोर सफा गरेपछि तपाइले फेरि उनलाई हत्केलाले थुन्दा मेरो मन रोइरहेको हुन्छ । उनलाई सफा गरेपछि तपाइको स्क्रिनको एरो सरसर्ती दगुरेको हुन्छ । तपाई रमाइरहेको पाउँछु । त्यसबेला माउस नानी र मेरो खस्यांक खुसुक्क चल्ने गर्छ । हामी तपाईलाई पक्षपाति ठहर् याउँछौ । मानवअधिकारका कुरा उठाउन हामी मानब नभए पनि कम्प्युटाधिकारका आधारमा समानताको कुरा उठाएर आन्दोलन गर्ने पनि कहिलेकाही कुरा चल्छ तर अझै हामीले संघर्ष र आन्दोलन गर्ने विचार भने गरिसकेका छैनौ ।



तपाई माउसलाई सफा राख्ने तर किवोर्ड सफा नगर्ने पक्षपाती भएको हाम्रो ठहर छ । हाम्रो फैसलाका ठहर खण्डमा हप्तामा कमसेकम एक दिन किवोर्डको फोहोर फाल्न लगाइने आदेश उल्लेख गरिएको छ । यो आदेश नमानेमा तपाईलाई सजाय स्वरुप बजारमा गएर अर्को किवोर्ड किनेर ल्याउन सजाय तोक्न तपसिल खण्डमा हामीले जनाएका छौ । हाम्रो फोहोर नफालेका कारण तपाईका कि्रयाकलाप बन्द गर्न हामीले किबोर्ड बन्द आन्दोलन चलायौ भने इन्टरनेटबाट किबोर्ड अर्डर गर्ने अनलाइन शोपिङ विकल्प पनि हराउने छ । त्यसैले आजैबाट आफनो किबोर्ड सफा गर्न यो चेतावनी पनि दिइएको जानकारी गराउन चाहान्छु ।



यो त हजुर साइवरको जमाना । हामी विना तपाइका हातमुख पनि नजोडिने जमाना । त्यसैले हाम्रो सेवा गर्नु तपाईको बाध्यता पनि हो । आजभोली हाम्रै सहायताले तपाईका नयाँ साथी बन्छन् । पुराना साथीहरुसंग भलाकुसारी हुन्छ । हाम्रै सहयोगले तपाईको व्यापार चल्छ हाम्रै कारण तपाइको रोजीरोटी चल्छ । हामी विना कसैको दैनिकी चल्दैनन् । कोही भने रेलमा हिडँदा पनि मलाई साप्रा मािथ राख्छन् । माया गरेका हुन भनौ भने पियारी माउस सँगको साथ छोडाउँछन् । हेला गरेका हुन भनौ भने टेबुलको किर्बोड भन्दा साचालकज्यूको साप्रा माथि बस्ने ल्यापटपको किर्बोड भएका नाताले तुलनात्मक रुपमा मलाई अलि सफा राख्छन् । तर के गरु हजुर ल्यापटपले नपुंसकता बढाउँछ भनेर अनुसन्धानकर्ताले के भनेका थिए मलाई त टेबुलमै थन्काउन थालेका छन् । मेरो व्यथा र मर्म त जनताको जस्तो छ हजुर संाचालकको रोव रवाफ सरकारको जस्तो छ । आधुनिक दास बनाउने आजको जमनामा भूमण्डलीकरणको गति बढाउनमा पनि मेरै देन छ । त्यसैले हजुर मेरी संगिनी माउसको साथ मलाई सधै मिलोस भन्नका लागि हाम्रो लगन गाँठो चाँडै बाधियोस । यो लगन गाँठोबाट जन्मने नयाँ संविधानले दुःख र पीडामा बाँचेका जनतालाई उत्थान गरोस । त्यसैका लागि हामी जनतारुपी किर्बोड र पियारी माउसको लगन गाँठो बाध्ने नयाँ संविधानको जन्ममिति पर्खिरहेको व्यहोरा सविनय नम्र निवेदन गर्दछु ।

भवदीय

सधै तपाइको हिर्काइ खाने



किर्बोड







-गोविन्द बेल्वासे



 Urlhttp://www.nepalisandesh.com/govind/


तपाईंको प्रतिकृया

Very good Stories...keep doing those job
wish you best of luck

Surendra from Nuwakot, Belkot-1,
Now: kathmandu



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम