Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
इराक सपना र चुत्थो राष्ट्रभक्ति (निराजन बतास) - [2008-07-02]

कोठाको मैलो भित्तामा साङलाहरु ऊँधोऊँभो कुध्नमा तँछाडमछाड गरिरहेका छन् । देशकै परदेशी कोठा जहाँ म बस्छु । म भन्दाको अर्को खाटमा दुइ युवक लम्पसार घुरिरहेका छन् । मध्यरातको समय । घ्यार्र-घ्यार्र…।उनीहरु दुइतमासले घुर्दै निकै बलियो सपनामा छन् ।

कति मजाले निदाएका मच्छडले टोक्दा पनि चालै पाउँदैनन् । बाहिर बलेसीमा धरर झरेको छानाको पानीले उनीहरुले देख्ने सपनालाई किन्तु असर पारिरहेको छैन । डाँडै बोकेर उर्लिने खोलको किनार होस् मानाै साँगुरो खाटमा च्याप्टिएर सुतिरहेका उनीहरुको सपनामा हावाले पात समेत हल्लाउँदैन । उनीहरु निकै दृढ देखिन्छन् । सपनाकै चाङ्माथि सुतेजस्तै लाग्ने उनीहरुको कपडा नजिकैको र् याकमा छ । गर्मीले उनीहरु घरि-घरि मुख लेबारेर ओल्टोकाल्टो गरिरहेछन् ।



मान्छेको चोला हो नियतिले जहाँ जा भन्यो त्यतै जानुपर्ने रैछ । पाँच दिनदेखि तत् साँगुरो कोठामा नै बास गर्दै आएका उनीहरु उठेर जर् याकजुर् यक गर्दै मसँग बोल्ने गर्छन्-के गर्नु यो रुपियाँ भन्ने चीजको लागि । उनीहरु शहरिया होइनन् गाऊँबाट मैलो झोला बोकेर परदेश लाग्न लागेका सोझा गाउँले साथी हुन् । त्यै भएर पनि उनीहरुको र मेरो कुरा मिल्छ । आफ्नै जिल्लाआफ्नै गोत्रका ती अल्लारे साथीहरु समुद्रपार उड्ने तरखरमा छन् । भविष्य सोचेर उनीहरु जायजेथा साहुलाई बुझाएर मुग्लान हुइकिन लागेका मेरै दामलका ती जवानहरु । उनीहरुको पाखुरा दरिलो काँध र गर्धन देखेर मलाई लोभ लाग्छ । निकै परख र तागत देख्दछु म उनीहरुको सुगठित शरीरमा । पर्लक्क पर्लक्क चपरी पल्टाइदिने र बाँझो फोर्ने र भीर सम्याउने बर्कत भएका उनीहरु केही दिन पछि आफ्नो देशको नेटो काटेर जाँदैछन् । भारत हुँदै उनीहरु इराक जान लागेका हुन् पैसा कमाउन । उनीहरु घरिघरि सपनामा बोल्दै स्वाँ-स्वाँ सुतिरहेको आवाजले मात्रै पनि म ब्यूँझिरहेछु ।

पढ्दा पढ्दै छोडेको उनीहरु मसँग फुस्रदमा बोल्छन्-पढेर पनि पैसा नै कमाउने नपढे पनिु अर्को साथीले भन्छ-आ ! त्यै भएर विदेश जाने सोचेको नि । इराक नेपाल सरकारले समेत बैदेशिक रोजगारीको लागि प्रतिबन्ध गरेको ठाऊँ । उनीहरु दलाल मार्फत् नै जानीजानी भारत हुँदै जान खोजिरहेका छन् । प्रकि्रयाको कुराइमा उनीहरु घुरिरहेका छन् । जहाँ जोखिम त्यहाँ राम्रो कमाइ भन्छन् सबै उनीहरु आफु जाने देशको राम्रो पक्षको बचाऊ गर्छन् । देश छोड्ने बेला भएर पनि होला उनीहरु मसँग धेरैबेर कुरा गर्न मन लागिरहेको हाऊभाऊ देखाउँछन् । म अनुकुल पारेर उनीहरुलाई साथ दिइरहेको छु । दुनियाँ गएकै छन् हाम्लाई नि केही नहोला नि । बैदेशिक रोजगारीको कुरा चल्दा र इराकको कुरा निस्कदा सबै नेपालीको एक चोटि आङ् सिरिङ्ग हुन्छ जहाँ ४ वर्ष पहिले १५ नेपाली सेरिएर मारिएका थिए । िझंगा मारिए जसरी निमोठेर मारिएका नेपालीहरुको त्यो अवस्था यी दुइ साथीले पनि अहिले दिनमा कम्तीमा ५ चोटि सम्झिरहेको बताउँछन् । उनीहरुको कुरो छ-जे त होला नि ! जे लेख्या छ त्यो टर्दैन नै । डेढ लाख बढीको ऋण तमसुक गरेर उनीहरु बाँच्नको लागि पैसाको झोली सम्झेर एकोहोरिएका छन् ।

राजधानी उपत्याकाको परदेशी कोठा । छोटो समयमा चिनेजानेका साथी कहिलेकाही भेला हुन्छन् र तिक्तता पोख्छन्- आज पढेर के गर्नु हौ भोलिपसर्ि विदेश जानुपर्ने होला । उनीहरु अवसरको लागि विदेश जाने कुरा गरिरहेका हुन्नन् तर बैदेशिक रोजगारीको लागि श्रमिकको रुपमा आफ्नै दाजुभाइले घर रित्याएर िहंडेको सम्झदै उनीहरु बोलिरहेका हुन्छन् । स्वदैशमै सीप विकासको आधार तयार गर्ने खालको शिक्षा प्रणाली नहुँदा डिग्री पढ्नेहरु अति वाक्क भएको सुनाउँछन् । न त सीप नै छ न त अवसर नै पढ्नेहरु कहिलेकाही खिन्नता व्यक्त गर्छन्-नपढ्नु जस्तो । उनीहरु बेला बेला बैदेशिक रोजगारी नै पो आफ्नो जागिर हो कि सम्झिरहेको बताउँछन् ।

आज दैनिक तीसों हजार नेपIली युवा अन्तर्राष्ट्रिय श्रम बजारमा पुगिरहेका छन् । जोखिम होस् या कठिनाइ उनीहरु तयार छन् आफ्नो ज्यानलाई बालुवामा जोत्न । त्यै पनि कति नेपाली स्वदेशमा नै ठगिएका हुन्छन् । कोठामा निदाउने र गफ गर्ने साथी पनि पहिलो चोटि दलालको पासोमा सत्तरी हजार चौपट भएको सुनाउँछन् । ब्याज सहित सत्तरी हजार कमाउन कति छाला तन्काउनुपर्छ उनलाई मन दुखेर आउने गरेको छ । मेरै नातेदारका पढालेखा एक भाइ पनि दुबइका लगि भनेर उडेका थिए तर उनी मलेसिया झारिएका थिए । नेपालीहरु यस्तो दुर्नियति ब्यहोर्दै पनि विदेशी भूमिमा छरिएका छन् ।

म सुतेरै केही सोच्दछु र अखबार इन्टरनेटका समाचार आँखामा तान्छु । धेरैमा विदेशी भूमिमा काम गर्दा नेपालीले पाएको सास्ती खपिनसक्नुको पीडामयी छ । विभिन्न कम्पनीमा तल्लो तहको कर्मचारीको रुपमा नेपाली काम गरिरहेका हुन्छन् । नेपाली युवतीको ब्यथा त सुनिनसक्नुको मार्मिक छ । बेचिएका सबैजसो र बैदेशिक रोजगारीमा गएका अधिकांश मालिकको यौनशोषणमा पारिएका हुन्छन् । बधुवा मजदुर भएर त्यहाँ रोइरहेका नेपालीले आफ्नो अवस्था कसैलाई भन्ने न माध्यम छ न त सहायता नै नेपाली हुनुको पीडा र श्रमिकहरुको कहावत उतैबाट नेपालीले निकाल्ने पत्रपत्रिका र विद्युतीय अखबारपत्रहरुले बताइरहेका हुन्छन् ।

कुनै सीपमा दक्षता हासिल नगरी विदेश काम गर्न पुग्नेहरुको लाइनमा मसँग गफ गर्ने साथीहरु पनि उभिएका छन् । त्यहाँ पुगेर के काम गर्नु पर्ने हो त्यो राम्ररी उनीहरुलाई थाहा छैन । तर नगइ पनि त सुख भएन । मलाई विदेशबाट उपहार पठाउने एकादुइ साथीको सन्देशले पनि मलाई निकै पीडा दिने गरेको छ । साले राष्ट्रभक्तिको कुरा गर्नेहरु । देशलाई यही बसेर विकास गरौं भन्नेहरु सबै चुत्थोहरु हुन् । जो देशकै रुपियाँ सित्तैमा खाएर त्यति सम्म भाषण गर्न सकिरहेका छन् । भाषणमा सीमित चुतितियाहरुको चुत्थो राष्ट्रभक्ति । यहाँ बस्ने आधार खै निर्माण भएको त्यो भाषण त सबै नेपाली रहरले विदेश गएको जसरी बोलिएको भयो । सबै नेपालीमा राष्ट्रभक्ति छ । राष्ट्रप्रतिको माया त झन् त्यहाँ दिनरात काम गर्दा खेरी द्रवीभूत भएर हृदयमा नै पोखिन्छ । विदेशमा झरेको पीडाको आँशु त त्यहाँ भोग्ने नेपालीलाई मात्र थाहा छ । यस्तै कुरामा केहीबेर साथीहरु पनि रन्किए तर उनीहरु जाँदैछन् इराक । जहाँ ज्यान गए कसैले उद्धार गर्ने वाला छैन । किनकि उनीहरु धेरै पैसा कमाउने सपना सहित अवैधानिक रुपमा त्यहाँ जाँदैछन् । उनीहरुको सपना इराक भएको छ ।

विदेशमा पलायन श्रम देशको लागि खर्च भए त्यो हितै हुन्थ्यो तर देशमा अहिले पनि लडाईं छ । देशलाई शान्ति र सुब्यावस्थातिर लानुपर्ने बेला पनि नेता भाले जुधाइमा कुहिना ठोकाइरहेका छन् । देश विकास भए बाँकी युवा जनले आँगन बन्धकी राखेर त्यसरी जानुपर्ने त थिएन । त्यतिबेला राष्ट्रभक्तिको कुरा अर्कै हुन्थ्यो । ती दुइ साथी सुतिरहेका छन् उनीहरु कति ढुक्क र कति ढुक् ढुक् छन् त्यो थाहा हुन्न तर उनीहरुको मजबुत शरीरमा मेरो आँखा गडिरहेकै छ ।





-निराजन बतास







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम