Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
लिम्वुवान राज्य सम्वन्धी दस्तावेज - [2008-07-03]

लिम्वुवानको ऐतिहासिक पृष्ठभूमि

लिम्वुवानको इतिहास पुरानो छ । विभिन्न इतिहासकारहरुको अनुसार यो लिम्वुवान क्षेत्रको वर्णन विभिन्न प्राचिन पुस्तकहरुमा पनि पाईन्छ । तत्कालिन अवस्थामा यो क्षेत्रको प्रमुख राजाहरुमा पर्वते, मयलकेतु, हर्वाहाङ, साम्योकहाङ, कुदुङजापा आदि थिए । पर्वते र मयलकेतुहरुको सम्वन्ध तत्कालिन भारतको सन ३१७ तिरका चन्द्र गुप्त तथा चाणक्यहरुसंग आउछ ।

इतिहासकार इमानसिंह चेम्जोङ्गको अनुसार लिम्वुवान छैटौ शताव्दीमा तत्कालिन आठ राजाहरुसंग विशाल आन्दोलन अर्थात युद्ध पश्चात स्थापना भएको हो । यसको स्थापना भए पछि दश सरदारहरुको नेतृत्वमा उनीहरुले ओगेटेको भूमिलाई १० भागमा विभाजन गरी संघीय गणतान्त्रिक पद्धती अनुरुप राज्य गरेका थिए ।

ती दश थुम तथा राजाहरु निम्न रहेका थिए ।



थुम राजा

(१) तम्वर साम्लुप्ली साम्वाहाङ

(२) मेवा सिसिङेगन सेरिङहाङ

(३) याङवरक थिन्दोलुङ खोक्याहाङ

(४) आठर्राई थक्थक्सो आङ्वोहाङ

(५) फेदेन(पान्थर) येङासो पापोहाङ

(६) इलाम (फाक्फोक) मुङताई ची इमेहाङ

(७) फेदाप सेङसेङगुम फेदापहाङ

(८) ताक्लुङयक (छथर) ताक्लुङ खेवाहाङ

(९) चौविस सोईयाक लादोहाङ

(१०) थलायक (तेह्रथुम) ताप्पेसु पेरुहाङ



इतिहाकार प्रेम वहादुर मावोहाङको अनुसार वि.सं. ५५ सालमा जनताहरुद्वारा लिम्वुवान स्थापना भयो । लिम्वुवान स्थापना हुंदा लिम्वुवानलाई १० थुम (भाग) हरुमा विभाजन गरियो । यो १० थुम तथा राजाहरु निम्न रहेका थिएः



थुम राजा



(१) तम्वर साम्वा स्रेङहाङ

(२) मेवा सिसिङ्गेन

(३) याङरुप लिन्सेहाङ

(४) पोमाजुङ(आठर्राई) आक्लुफ

(५) फेदेन पापोहाङ

(६) र्इलाम लोलिमहाङ

(७) फेदाप फेयोहाङ

(८) ताक्लुनदेन(छथर) खेवोहाङ

(९) मिकलुक (चौविस) वोहाङ

(१०) चेनलुङ यक(संखुवासभा) माई इङहाङ



यो दश लिम्वुवानमा शासन व्यवस्था सुव्यस्थित र लोकतान्त्रिक होस भनेर सयमक्रममा निम्न सात थुमहरु पून छुट्टाइएको देखिन्छ ।

(१) यासोक (२) संखुवा (३) सभाया (४) जल्लारा (५) मझिया (६) खपन (७) माईवा

यो दश राजाहरुले लिम्वुवान भित्र राज्य गर्न एक नियम वनाएका थिए । यसलाई "दश लिम्वुवान" अर्थात "सत्र थुम दश लिम्वुवानको निती" भनिथ्यो । यद्दपी यो शव्द तथा नियम लिम्वुवानमा प्रचलित छ । यो भनेको हाल "नेपालको प्रचलित कानुन वमोजिम" भनेझैं हो ।

यसरी लिम्वुवान स्थापना हुदा त्यो भूमिको आफ्नै सिमाक्षेत्र थियो । तत्कालिन सिमा अनुसार पूर्वमा टिष्टा नदी र (हाल सिक्किम) पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिब्वत र दक्षिण जलालगढ पर्दथ्यो ।



क) नेपालको मानचित्रमा वर्तमान लिम्वुवानको नक्शा(रेखा अंकित भाग)













ख) प्राचिन लिम्वुवानको नक्शा







यो भूमि मध्ये सन् १८१५ मा भएको सुगौली सन्धीले दक्षिणको जोगवनी देखि जलालगढसम्मको ६२ कि.मि. र दार्जिलिङ कालिङपोङ क्षेत्र भारतमा पर्न गयो भने सिङलीला पहाड पूर्व टिष्टा सम्मको भूभाग व्रिटिश इण्डियाले सिक्किमलाई दिएकोले उक्त भूमि सिक्किममा पर्न गयो । तत् पश्चात लिम्वुवानको सिमा पूर्वमा मेची पश्चिममा ऐजन, उत्तर ऐजन दक्षिण हाल भारतसम्म रहन पुग्यो । यो सुगौली सन्धी लिम्वुवान स्वतन्त्र राज्यसंग नभै वि.सं. १८३१ को लालमोहर सन्धी पश्चातको नेपालसंग भएको थियो ।

लिम्वुवान भुमि संघीय लोकतान्त्रिक पद्धती अनुरुप सञ्चालन हुने क्रममा सोह्रौं शताव्दीतिर मोरङ राज्यमा लिम्वु साक्वादेन (सावदेन) वंशीय साङलाईङ भन्ने राजा थिए । उनी इतिहास अनुसार कुदुङजापाको दरसन्तान थिए । उनले मोरङ राज्यलाई सुदृढ गरे । उनको सन्तती विजयनारायणले मोरङको उत्तरी क्षेत्रको पहाडको समथल डांडामा दरवार वनाएर राज्य गरे । त्यो दरवार क्षेत्रलाई पछाडि उनकै नामवाट विजयपुर भनियो । जुन अहिले सुनसरी जिल्लाको धरान नगरपालिकामा पर्दछ ।

सन् १६०९ तिर विजयपुरमा लोहाङसेन भन्ने राजा भए । त्यस्तै वाजाहाङ, विद्याचन्द्र लिम्वुहरु पनि राजा भए । वि.सं. १८२५ तिर वुद्धिकर्ण राय लिम्वु राजा भए । उक्त समयान्तरमा अथिङहाङ लिम्वु पनि राजा भए । विजयपुर दरवारलाई भताभुङगे राजाको लथालिङगे दरवार भनेर पनि नेपालको इतिहासमा भनिएको पाईन्छ ।



तत्कालिन दलाई लामाले विद्याचन्द्र लिम्वु राजालाई दिएको लालमोहरः



राङ शाप शु ख्येयेइ शेरक्या छिरक्या छियदाङ लयेहाङका लेनजोङ पेन माकपेन कुच्छाप डिम्डुल हाकवर चोङरिक त्येमे गोपुनेङे गो ग्युर । फेदा पसा बाजा हाङ दिपा फास्युल फुज्याक कोज्याक छयेसी ।। थेना खोराङगी फाज्यो द्वि कि थोप खुङ ।। नुहाङमा भागा सुम लाङ फेल दुन च्यै झयाक्ने फेन्डा छेचना मिथु थाक छयोला छेलु सो सोने ङे पागी ।

मेदुक दावा १० छे १३ लाठी ।

-स्रोतःसंक्षिप्त नेपाल इतिहास-प्रेम वहादुर मावोहाङ लिम्वु र भुपेन्द्रनाथ शर्मा ढुंगेल)



अनुवाद

मेरा राज्यभरका लामा रैती म्याजिस्ट्रेट गभर्नर क्याप्टन पोलिटिकल एजेण्ड जजर यीनीहरु वाहेक उत्तर दक्षिणका लिम्वु वंशका हाकिम रैती धनी गरिव ग्रह्रके मालुम

उप्रान्त फेदाप देशका राजा बाजाहाङ आफ्नो राज्यभार सव उनका पुत्रलाई जिम्मा लाइकन स्वर्ग भएको छ । यो फेदाप देश वाहेक नुहाङमा भागा सुभ अरु सात तर्राई फैलिएको देशहरु अगि उनीहरुका पिता पूर्खादेखि खाई चर्ची ल्याएको हो ।

तसर्थ उपरोक्त जागिरे ढाक्रे लामा गैह्रले आफ्नो आफ्नो मनमा यो मित्र राज्य सम्झी व्यवहार गर्नु । यदि तिमीहरुले यस कुरालाई उल्लंघन गरे छौ भने यो मनमा सम्झी राख्नु कि म कुनै प्रकारले औ कहिल्यै पनि तिमीहरुपट्टी लाग्ने छैन । आगो वज्रको साल १० महिना १३ तारिख ।



एक समयमा लिम्वुवानलाई फेदाप पनि भनिन्थ्यो र यो सात तर्राई या तराइको ठूलो भाग पर्दथ्यो । अर्थात हालको झापा, मोरङ, सुनसरी तथा सप्तरी, सिराह, धनुषा पर्दथ्यो । त्यस्तै तिव्वतीहरुले लिम्वुहरुलाई चोङ भनेर सम्वोधन गर्ने चलन छ । वि.सं. १८३१ तिर लिम्वुवानको पश्चिमी क्षेत्रवाट गोर्खा राज्य शक्तिमा उदाई राज्य विस्तार गर्दै पूर्व लिम्वुवानसम्म आईपुग्यो । यसरी लिम्वुवानमा आईपुग्दा गोर्खा लिम्वुवान विच घमासान युद्ध भयो । युद्ध लिम्वुवानको पश्चिम सिमाना चतरा, अरुण सभाया दोभानमा भयो । गोर्खा लिम्वुवान युद्ध १७ पटकसम्म भयो । यसरी १७ पटकको युद्धमा पटकै पिच्छे गोर्खा लिम्वुवानसंग पराजित भयो । तर्सथ गोर्खाले मगर सैनिक कमाण्डरहरुलाई अगाडि वढाउदै लैजादा वैशावली अनुसार मगर र लिम्वुहरु इतिहासमा दाजुभाई भएको पाईयो । यसरी दाजुभाई भएको पाउदा यही जाल फालेर गोर्खाले लिम्वूवानका शासक लिम्वुहरुलाई दाजुभाईको सम्वन्ध गांसी गोर्खाको सहराज्यमा रहन सहमती गराइ वि.सं. १८३१ श्रावण २२ मा लालमोहर सम्भौता गरियो । त्यहादेखि लिम्वुवान गोर्खा - नेपालको सह-राज्य भयो ।



लालमोहरमा यस्तो लेखिएको छः

स्वस्ति श्री गिरीराज चंक्रचुडामुनि नर नरयेनी त्यादि विविध विरुदावली विराजमान मंमत्त श्री मंमाहाराजधिराज श्री श्री श्री माहाराज्ये पृथ्वीणारायेनी साहा बाहादुर श्यामसेरजंङ्ग देवानाम समर विजयेनाम । स्वास्ति श्री आगे राजभोरको सामर्थ श्री श्री सुंन राई, श्री कुंम राई, श्री जंङ राई अरु सबै गैह्रा लिम्वु राईके पूर्ण मोहरका पत्रम येथोचित उप्रान्त मिल मिलंमतंम ञाहाको लागि ताहालाई कुल चाहियो मेरो धर्म मंन भलो छ तिमीहरु हिजु पनि पिछा बक्स्येका हौं । तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुंतु तुंम्याहां यांहां संन्तान हयौ । त्यो मुलुक हाम्रो भया तापनि तिमीहरु हाम्रै छौ । तिंम्रा जहाणको पिछा हामीले लिञ्यूं जजस्को ज्येज्ये तंम्रा खैन पैन र लुंबांगढ सिंबांगढ असुधलाई सब खतवात सभासुध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामी बक्सौ । तिमीहरु हांम्रा भारदारसंग सामेल रहौ र मद्दत सघाइ हिजु आपै आप आपुंगी बसी आये बमोजिम त्यो मुलुक संभार गरी जिमी भूमि रहंज्याल तिंम्रा शाखा संन्तांनतंक्क भोग गर अरु नौलाख र येकपटि हौना क्ये अर्थले भने अरु राजा मासिने हुदा तिमीहरु राजा नै भन्ये नमासिने हौ यो तिमीहरुको नीति हामीले जानेको छ तर कुराको विस्तार तिंम्रा नाभीमा बसेकोले तिंनले गर्यो सुख्मिंको र हाम्रो घर नभयाको हो हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयेको छ । उनैबाट कुराको विस्तार बुझाउला मिली तिमीहरुको आपै आप आपुंगी खैन पैन माथि लेखेबमोजिम जिमीं भूमि जानी चलंन गरी खानु हामीले खोसी मांस्ये मानी पूजी ल्यायेको देवताले हाम्रो राजकाज भंङ नासोस् भन्या ताम्व्रा पत्र वाचाको तसलि मुलुकि लालमोहर वाधी माथि लेखिन्ये लिम्वु कुल भाइलाई दिञ्यूं इति सम्वत १८३१ साल मिति श्रावण सुदि २२ रोज २ वार मुकांम कान्तिपुर राजधनी सुभये स्वम ..........।



यो लालमोहरमा सम्झौता गर्ने प्रतिनिधिहरु गोर्खाको तर्फवाट अभिमानसिंह वस्नेत, पारथ भण्डारी, किर्तीसिं खवास र वली वानीया थिए र लिम्वुवानको तर्फवाट श्री श्री सुन राई, कुम राई र श्रीजंग राई थिए । यी राई लेखिनेहरु सवै लिम्वु थिए । राजाको समानार्थी राई भन्ने प्रचलन भएकोले र्राई उल्लेख गरिएको थियो । सोही लालमोहर मुताविक लिम्वुवानले गोर्खाको सहराज्यको रुपमा रहन गएको हो । यो क्रम केही समय रहदै विषेश गरेर राणाकाल वि.सं. १९०३ देखि लिम्वुवानको अधिकार पनि निरंकुशतासंगै तोड्न शुरु गरियो । क्रमश वि.सं.२०१७ मा निरंकुश पञ्चायती व्यवस्थाको प्रादूर्भाव गर्ने राजा महेन्द्रले वि.सं.२०२१ सालमा भूमिसुधार लागु गरी लिम्वुवानको भूमिमाथिको अधिकार पनि एकतर्फी ढंगले तोडे । महेन्द्र अर्थात पञ्चायत सरकारको उक्त कार्यको घोर विरोध र आन्दोलन लिम्वुवानमा भयो । तर सैनिकको आडमा धेरै लिम्वुवानवादीहरु कतिलाई मारियो । कतिलाई पलायन पारियो । यद्दपी लिम्वुवानले आफनो आन्दोलन जारीनै राख्यो । उसले वि.सं.२००७ मा कांग्रेससंग मिलेर आन्दोलन गरयो । वि.सं.२०४६ विभिन्न पार्टीको तर्फवाट सहयोग गर्दै केन्द्रीय राज्य सक्ता विरुद्धमा आन्दोलनमा होमियो । वि.सं. २०६३ सालमा आफ्नै छुट्टै संगठन स्थापित गराएर आन्दोलनमा सरिक भएको यथार्थ रहेको छ ।

यसर्थ लिम्वुवान र गोर्खाको दुइ पक्ष विच भएको वि.सं. १८३१ मा भएको लालमोहर सन्धी वि.सं. २०२१ मा एकतर्फी टुटेकोमा उक्त लिम्वुवान भूमि स्वतन्त्र राष्ट्र वन्न सक्ने आधार रहेको छ । यद्दपी लिम्वुवानले आफुलाई नेपालभित्रको स्वायत्त राज्यमा रहन चाहन्छ ।

माथि उल्लेखित पृष्ठभूमि यीनै हुन् । यसको आधारमा लिम्वुवान राज्य स्थापना हुनुपर्दछ ।



लिम्वुवानको आदिवासी भूमिपुत्र "लिम्वु"

लिम्वुवानको आदिवासी भूमिपुत्र या आदिवासी मूलवासीहरु भनेको लिम्वुहरु हुन् । यो कुरा इतिहास तथा मुन्धुमलाई वुझ्दा हुन्छ । यीनीहरु अन्यत्रवाट आगमन भएको पाईदैन । टिकाम्धोज ताप्मादेन र भूवनचन्द्र पताङवाको "किरात इतिहास र लिम्वु वंशावली संग्रह" अनुसार यो जाति फक्ताङलुङ आसपासमा सृष्टि भएका हुन् र यही क्षेत्रवाट फैलिएका हुन् । याख्खा, आठपहरेहरु र लिम्वुहरु सगोत्री मानिन्छन् । तर समय क्रममा यी दुवै याख्खा, आठपहरेहरुले आफुलाई अलग जाति हौं भन्ने गर्दछन् । तर लिम्वुहरुको मुन्धुम तथा वंशावलीले यीनीहरुलाई सगोत्रीनै जनाउछ । अर्थात लिम्वु पूर्खा हाङसेम्वाको सन्तान याख्खाहरु मानिन्छ । हाङसेम्वा र हाङयुङवा दाजुभाई मानिन्छन् । हाङयुङवाको सन्तानहरु फागो लिम्वुहरु हुन् । उनीहरु माईवा थुम अन्तर्गत वसोवास गर्दछन् । अर्थात हाल उनीहरु ताप्लेजुङ र संखुवासभामा वसोवास गर्दछन् ।



गैह्र लिम्वुवानवासी

लिम्वुवान विषेश गरेर लिम्वु जातिको आदिभूमि हो र यो भूमिमा यीनीहरुले राज्य कायम गरी शासन गरेतापनि वि.सं १८३१ को गोर्खा र लिम्वुवानविचको लालमोहर सन्धी पछि लिम्वुवानमा गोर्खाको तर्फवाट धेरै संख्यामा वसाई गराउने कार्य भयो । त्यसकारण लिम्वुवानमा लिम्वुजातिको जनसंख्या भन्दा गैह्र लिम्वुहरुको वसोवास वढेर गयो । लिम्वुजातिको जनसंख्या कम भए पनि त्यो सम्पूर्ण लिम्वुवान हो ।

यस्तै अन्य उदाहरण दिनुपर्दा अमेरिकी महादेश रेड इण्डियनहरुको हो । अर्थात उत्तर अमेरिकाको कुरा गरौं त्यो भूमि रेड इण्डियनहरुको हो । तर त्यहा रेड इण्डियनको संख्या अति नगन्य छ आप्रवासीहरुको अगाडि । लिम्वुवानमा लिम्वुहरुको स्थिती त्यस्तो नभएतापनि लिम्वु जाति भन्दा गैह्र जातिहरुको संख्या वढी छ । इतिहास अनुसार लिम्वुवानमा वसोवास गर्ने जातिहरुमा पहाडमा वसोवास गर्नेहरुमा वाहनु क्षेत्री तथा दलित (खसान क्षेत्र तथा भारतको कुमाउ र गढवाल क्षेत्र), गुरुङ (तमुवान), मगर (मगरात), राई (खम्वुवान), नेवार (नेवाल्याण्ड), तामाङ (ताम्वासालिङ), लेप्चा (सिक्किम), शेर्पा,भोटे, भुटिया(तिव्वत) वाट लिम्वुवानमा प्रवेश भएका हुन् । त्यस्तै तराईमा वसोवास गर्नेहरु राजवंशी, मेचे, कोचे, धिमाल (आसाम), ताजपुरीया (तेजपुर), थारु (थारुवान) भोजपुरी, अवधी, मुसलमान (विहार तथा उत्तर प्रदेश) वाट प्रवेश भएका हुन् । यी जाति वाहेक अन्य जाति जो गैह्र लिम्वुहरु छन् उनीहरु सवै दा“यावा“यावाट प्रवेश भएका हुन् । यद्दपी लिम्वुवानमा वसोवास गर्नेहरु सवै लिम्वुवानवासी हुन् । उनीहरु सवै भएर लिम्वुवानको स्थापना गरिनुपर्छ भने तत्पश्चात लिम्वुवानको माटोलाई आफ्नै भूमिको रुपमा माया गरेर कार्य गर्नुपर्दछ ।



वि.सं. १८३१ को समयमा लिम्वुवान तराई प्रदेशको स्थिती

लिम्वुवानको तराई प्रदेश भन्नाले हालको झापा, मोरङ र सुनसरी नेपालको जिल्लाहरु पर्दछन् । वि.सं. १८३१ को समयमा लिम्वुवानको यो तराई प्रदेशमा घना जंगल भएको देखिन्छ । इतिहास अनुसार उत्त क्षेत्रको विजयपुर, इनरुवा, मोरङ, रंगेली क्षेत्रमा मात्र सामान्य वसोवास थियो । विजयपुर लिम्वु राजा विजयनारायणको नामवाट राखिएको कुरा इतिहासले दर्शाई रहेको छ । धरानको निर्माण साठी सत्तरी वर्षअघिवाट भएतापनि आधुनिक धरानको इतिहास विस वर्षलामो छैन । त्यस्तै तर्राईमा वसोवासको क्रम भनेको वि.सं.२०२० तथा वि.सं. २०३० देखि मात्र झोडा फडानी गरेर भएको हो । इतिहासदेखि वि.सं १८३१ सम्मको इतिहासलाई हेर्दा त्यहा कुनै लिम्वुवान अर्थात विजयपुर, मोरङ वाहेकको अन्य राज्यको अस्तित्व देखिदैन । वि.सं १८३० र ३१ तिरको लिम्वुवानको उक्त क्षेत्रको युद्धमा गोर्खाको लिम्वुवान वाहेकसंगको युद्धको इतिहास पाईदैन । त्यस्तै पृथ्वीनारायणसंग सम्झौता गरिदा लिम्वु वाहेककासंग सम्झौता गरेको पाईदैन । विभिन्न लालमोहर अनुसार लिम्वुवानको सुभा वुद्धिकर्ण शक्तिशाली छ रे उसलाई पराजित गरे उक्त क्षेत्र सजिलै हात पार्न सकिन्छ रे भन्ने उक्ति गोर्खामा पुगेको उल्लेख छ । जुन सुभा वुद्धिकर्णको मातहतमा झापा, मोरङ र सुनसरी हुदै दक्षिण जलालगढसममको भूमि रहेको थियो । मुन्धुमलाई अध्ययन गर्दा के पाईन्छ भने मुन्धुम लिम्वुवान भित्रवाट उठी दिगर्चा हुदै हाल भारतको गंगा नदी सम्म पनि पुग्दछ । यसवाट के वुझिन्छ भने उत्तर हिमालय देखि दक्षिणमा गंगा नदिसम्म र पूर्वमा टिस्टा र पश्चिममा अरुण नदी प्रभावित क्षेत्रभित्रको भूभाग लिम्वुवान थियो । सन् १८१५ को सुगौली सन्धी पश्चात मेची पूर्व टिस्टासम्मको भूभाग सिक्किममा र दक्षिणको जोगवनी देखि जलालगढ विचको भूभाग भारतमा गाभिएको थियो । जलालगढदेखि गंगासम्मको भूभाग इतिहासमानै लिम्वुवान वाहेक भएको देखिन्छ ।



मुन्धुम तथा इतिहासमा वणिर्त स्थानहरु



येच्चिरी येत्वादो (कोशी) - यसलाई मूख्य गरेर येच्चिरी येत्वादो भनिन्छ । अर्थात आठ नदीहरुको संगम स्थल । यहा आठ नदीहरु रहेका छन् । नेपालीमा सप्तकोशी भन्ने गरिन्छ ।

कोशी - कोआसिरे कोशी भएको हो । यसको अर्थ मरिन्छ है भन्ने हुन्छ ।

वराहक्षेत्र - मुन्धुममा पाराकोकामाङ भनिन्छ । जहा छथरमा प्रकट भएको सुगुर वराहक्षेत्रमा पुगेर अवतरित भएको मानिन्छ । वराह क्षेत्रलाई सोमाङ गढ पनि भन्ने गरिन्छ । अर्थात लिम्वुहरुको एक ऐतिहासिक राज्य क्षेत्र ।

इनरुवा - इनारुवा अर्थात घुम्दाघुम्दा मन नपरेर छोडिएको ठाउ ।

मोरङ - मुरेहाङ राजाको राज्य क्षेत्र वा राजधानी मुरेहाङ हुंदै मोरङ भएको हो ।

जापा(झापा)- कुदुङजापा राजाको राज्य क्षेत्र जापा हुदै अपभ्रंश हुदै झापा भएको हो । इतिहासमा कुदुङजापा झापा क्षेत्रको प्रख्यात राजा थिए ।

विजयपुर - लिम्वुराजा विजयनारायणको नामवाट विजयपुर भएको हो । विजयपुरको अर्को नाम हाङफुक्ला हो ।

तेनुवा - तेनुवा अर्थात राम्रो मैदानी स्थान । यो सप्तरी जिल्लामा पर्दछ ।

नालान्दा - यो विहारको दक्षिणी भागमा पर्दछ । यसको लिम्वु भाषामा अर्थ पर निस्कने ठाउ हो ।

यी क्षेत्रहरुलाई प्राचिन कालमा सात तराई भनिन्थ्यो । यी ऐतिहासिक तथ्यहरुले पनि लिम्वुवानको अस्तित्व भएको देखिन्छ ।



लिम्वुवानले सैनिकको रुपमा केन्द्रीय सरकारलाई गरेको सहयोग

लिम्वुवानले केन्द्रीय सरकारलाई सैनिकको रुपमा आफ्नै राशन खाएर सिरीजंग पल्टनमा रहेर सहयोग गरेका थिए । उनीहरुले अंग्रेज र तिव्वतसंगको युद्धमा विरतापूर्वक लडेर नेपालको अस्तित्व वचाएका थिए । यसरी राशनको लागि दश थुमले आआफ्नो तर्फवाट निम्न खेतहरु चढाएका थिए

(१) तम्वर थुमले सिङजङ लुङजङ खेत (२) याङरुपले श्री नागी खेत (३) आठर्राईले प्यांगे हिङदेवा खेत (४) पाचथरले डिहीटार खेत (५) फेदापले ढोरे विमिरे तिलिङटार खेत (६) छथरले फकुवा थपुवा लुभु दोभान खेत (७) चौविसले छरुवा घुमाउने खेत (८) संखुवासभाले लामी वगर खेत (९) मेवा (१०) इलाम......

त्यस्तै थुम अन्तर्गतका अन्य सुव्वाहरुले पनि खेतहरु चढाएको पाईन्छ भने कतिपयले रकम वुझाएको पाईन्छ ।



सुव्वाङ्गी अधिकार

वि.सं. १८४१ देखि सुव्वाको प्रसंगहरु व्यापक चलेको थियो । हुनत सुभा भनेर लिम्वुवानको प्रमुखहरुलाई वि.सं.१८३१ अगाडि अर्थात पृथ्वीनारायण शाहको पाला अगाडि देखिनै भनिन्थ्यो । यद्दपी वि.सं १८४१ देखि सुव्वाहरुले आफ्नो मुलुकको शासन सञ्चालनको लागि अधिकार प्रदान गर्ने कार्य भएको देखिन्छ । वि.सं. १८८४ सालको रुक्का अनुसार वि.सं.१८९१ मा "राई गीरी" सुव्वाङ्गी अधिकार लिम्वुवानमा प्रत्याभूत गरिएको थियो । त्यस्तै वि.सं १९२५ देखि सुव्वा हुने अधिकार केन्द्रीय सरकारले प्रत्याभूत गरिएको थियो । वि.सं. १९३७ मा राई गिरी सुव्वा हुने अधिकार लागु गरियो ।

लालमोहर नविकरण नेपाल केन्द्रीय सरकारमा राजा तथा शासनसत्ता जसको हातमा भएतापनि नविकरण गर्ने कार्य निरंकुश राणा शासक जंगवहादुरको तर्फवाट हुदै वि.सं.२०१७ साल महेन्द्र राजाको समयसम्म भएको थियो । महेन्द्र राजाले वि.सं.२०२१ मा भूमिसुधार लागु गरि लिम्वुवानको किपट अधिकार एकतर्फी ढंगले उन्मूलन गर्ने कार्य गरेका हुन् । यही समयदेखि लिम्वुवानको स्वायत्त अधिकार समाप्त गरिएकोले लिम्वुवानले स्वायत्त अधिकार पून प्राप्तीमा आन्दोलन गरिरहेको हो । यद्दपी समान्य स्वायत्तको अधिकार वि.सं.२०४६ वहुदलको आगमन सम्म कायम रहेको थियो ।



केही लालमोहरहरुः



१) सुव्वाङ्गी सम्वन्धी लालमोहरहरु



क) स्वस्ती श्री मन महाराजधिराज कस्य रुक्का........

आगे जसपाल के ८४ साल छाउनी जांचमा मेरा नाउ राई भनी लेखियेको छ । आज्ञा वमोजिम तपसिलको खेत चर्ढाई मैले पनि सुव्वाङ्गी पाउने हुं भनी काजी नरसिङ मार्फत हाम्रा हजुरमा विन्ती गरी पठाउदा जाहेर भयो ९१ सालदेखि सुव्वाङ्गी गरिवक्स्यौ ८४ साल छाउनी जांजका थिती ठेगको लालमोहरमा दामकाम गर्नु तपसिल वमोजिमको खेतको ठेग मोहर रुपैया ३० सालवसाल कम्पुमा वुझाउनु तेरा पिता पूर्खादेखि खाई चर्ची आयेको घर घडेरी वारी स्वांरा तित्या महभिर खर्क समेत खानु १० लिम्वुले तिरेको रीत गरी आफ्ना खातिरजामासंग रस्ती चलाई वस्ती वर्साई हाम्रो निमकको सोझो चिताई जिमी जग्गा सुव्वाङ्गी भोग्य गर................।



तपसिल

आसामी खेत ठेग रुपैया

आरुवाच्या- ३० के १५-

तिनावुङ- २० के १०

सोल्मा दोभान- १० के ५

इति सम्वत १८९१ साल मिती भाद्र सुदी ६ रोज ३ शुभम......।

मार्फत रनजोर थापा

मार्फत भीमसेन थापा

मार्फत रनध्वज शाह

मार्फत कुलमानसिंह वस्नेत

-स्रोतः-सिरीजंगा विविध सांस्कृतिक साहित्यिक पाचौं विषेशांकवाट साभार)



ख) स्वस्ती श्री मन महाराजधिराज कस्य रुक्का........

आगे तमरखोला भर्तमान के ८४ साल छाउनी जांचमा मेरा नाउ राई भनी लेखियेको छ । आज्ञावमोजिम तपसिलको खेत चढाई मैले पनि राइगीरी पाउन्या हुं भनी काजी नरसिं थापा मार्फत हाम्रा हजुरमा विन्ती गरी पठाउदा जाहेर भयो ९१ सालदेखि राई गीरी गरिवक्स्यौ ८४ साल छाउनी जांजका थिती ठेगको लालमोहरमा दामकाम गर्नु तपसिल वमोजिमको खेतको ठेग मोहर रुपैया १५ सालवसाल कम्पुमा वुझाउनु तेरा पिता पूर्खादेखि खाई चर्ची आयेको घर घडेरी वारी स्वांरा तित्या महभिर खर्क समेत खानु १० लिम्वुले तिरेको रीत गरी आफ्ना खातिरजामासंग रस्ती चलाई वस्ती वसाई हाम्रो निमकको सोझो चिताई जिमी जग्गा राइगीरी जानी भोग्य गर................।



तपसिल

आसामी खेत ठेग रुपैया

सालवोट्या मुरी - १५ के ७।।

एै. जामुन्या मुरी - १५ ७ ।।

इति सम्वत १८९१ साल मिती कार्तिक वदी ३ रोज २ शुभम......



मार्फत दलवन्जन पाण्डे

मार्फत फत्यजंग शाह

मार्फत भीमसेन थापा

मार्फत उमाकान्त पाध्या

माफत रणध्वोज थापा

-स्रोतः- (फुरुम्वो, पालुङवाहरुको पहिचान र वंशावली)



माथि उल्लेखित दुवै लालमोहरमा रस्ती चलाई वस्ती वसाइ....भनिएको छ । यसवाट गैह्र लिम्वुहरुको लिम्वुवानमा जति सुव्वा भए उती धेरै रैतिहरु राख्नु पर्ने भएकोले अन्य जातिहरुको वसोवास वृहत्तर भएको देखिन्छ ।



२) स्वस्ती श्री गिरीरा जचक्र चुडामणी नरनारायणेत्यादी विविध विरुदावली विराजमान मानौन्नत श्रीमन महाराजधिराज श्री महाराजधिराज पृथ्वीनारायण शाह वहादुर शमशेर जङ देवानाम सदा समर विजयीनाम.......................।



लिम्वुवान उललेख भएको लालमोहरः



स्वस्ती श्री सर्वोपमायोग्येत्यादि राजभार सामर्थ श्री नन्द राय, श्री जमुना राय, गैह्र लिम्वु रायके आशिष यहा कुशल तहा कुशल चाहिये । आगे यहाको समाचार भलो छ । उप्रान्त तिमीहरु त्यस देशका भलो मानिस हौ । तिमीहरुले हिजो पनि पसेन थियौ । आज पनि नासमा पसेनौ भनी हामीले सोही वुझिकन तिमीहरुलाई पिछाको गोहर पनि वक्सिपठायौ । वत लिम्वुवान छ लिम्वुवानलाई पिछा लेउ भनी भारदारहरुलाई अह्राइ पठायौं । आज तिमीहरुलाई पिछा लियाको छ । अर्को तरह नमान । तिमीहरुलाई सुन चुरा सिर पाउ पनि वकस्यौला । ताहा हाम्रा भारदारहरका संमेतले मुलुकको सर सम्भार पनि गर । तमरमा सांघु पनि हाल ति म्रा खाइन पाईन मर मरोत परया सवै थामीवक्स्याको छ । अनफ्नो खातिरजामासित जगा समर गर । इति सम्वत १८३१ साल तिमी भाद्र वदी ५ रोज ५ मोकाम कान्तिपुर राजधानी शुभम्................।



३) स्वस्ती श्री मन महाराजधिराज कस्य रुक्का.....

आगे अरुणपूर्व मेची पश्चिम भर लिम्वुवानका सुव्वा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्मद शैंमा सुव्वाहरुलाई रांगा काट्नमा टंटा लागेको थिएन ६२ सालम हेमकर्ण थापा सुव्वा भै आउदा तिमीहरुले रांगा काट्न पर्छ भनी लाउदा ६२ सालदेखि टंटा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले रांगा काट्न सक्दैनौ अघिदेखि चलिआएको हाम्रो थिती चलाईबक्स्या हामीहरु खुसी छौं भनी काजी नरसिंह थापामार्फत हाम्रा हजुरमा जाहेर भयो तर्सथ अव उप्रान्त् अघिदेखि थुम थुम थिती मोहर वमोजिम लिई दशैं गरी रांगा काट्नु सुव्वाको घरमा सक हुनेले रांगा वोका काट्नु सक नहुनुले

नकाट्नु भनी थिती वांधीबक्स्यौं इति सम्वत १८९१ साल मिती वैशाख वदी १४ रोज ४ शुभम् - ............।

माथि उल्लेखित २ र ३ को लालमोहर वमोजिम के स्पस्ट हुन्छ भने पृथ्वीनारायण शाहको समय वि.सं १८३१ मा पनि लिम्वुवान राज्य अस्तित्वमा रहेको थियो । अर्थात लालमोहर २ अनुसार "लिम्वुवान छ लिम्वुवानलाई पिछा लेउ"... वाक्य र लालमोहर ३ मा "आगे अरुणपूर्व मेची पश्चिम भर लिम्वुवानका सुव्वा"... भन्ने वाक्य उल्लेख भएको छ । यसमा यो पनि स्पस्ट रहेको छ कि लिम्वुवान भनेको अरुण पूर्व र मेची नदी पश्चिमको भूभाग हो ।



निस्कर्ष

माथि उल्लेखित विषयहरुले लिम्वुवानको ऐतिहासिक अवस्थाको वारेमा जानकारी गराउदछ । यसरी लिम्वुवानको स्वतन्त्र राज्यवाट गोर्खासंग सह-राज्य हुदै सह-राज्यवाट प्रशासनिक अधिकार सुवाङ्गी कायम हुदै लिम्वुवानको अधिकार समाप्त पारियो । यो इतिहासको कालखण्डमा लिम्वुवानमा गैह्र लिम्वुहरुको वसोवास वृहत्तर रुपमा भयो अर्थात लगभग ८५ प्रतिशत ग्रैह्र लिम्वुहरुको वसोवास हुन पुग्यो । यो दर्दनाक स्थिती नेपाल सरकारले गर्यो । यो लिम्वुवानको लिम्वुहरुको लागि ठूलो अन्याय हो । यर्सथ यो खाम्वोङवा लुङवोङवा अर्थात आदिवासी भूमिपुत्र लिम्वुहरुको भूमि-क्षेत्र लिम्वुवान स्वायत्तको रुपमा हुनुपर्दछ । उनीहरुको भूमिको शासन उनीहरुलाई गर्न दिनुपर्दछ । यो आदिवासी भूमिपुत्रहरुको नैर्सर्गिक अधिकार हो । यो कुनै जातिय जनसंख्याको आधारमा होईन । लिम्वु आदिवासी भूमिपुत्रहरुको सम्मान गर्नको साथै एउटा राज्य हुनमा आवश्यक आधारभूत तत्वहरु जनसंख्या, साझा भाषा, लिपी, संस्कार संस्कृति तथा भूगोल लिम्वुवानमा भएकोले उक्त क्षेत्र लिम्वुवानको अधिकार कटौती भएको क्षेत्र, किपट क्षेत्रको आधारमा नभई पृथ्वीनारायण शाहले लिम्वुवान सहराज्य वनाउदाको समय वि.सं. १८३१ को समयलाई आधार मानिनुपर्दछ । उक्त वमोजिम हाल नेपालमा रहेको लिम्वुवान भूमि पूर्वमा मेची नदी, पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारतसम्मको हाल नेपालको (१) ताप्लेजुङ (२) पाचथर (३) इलाम (४) झापा (५) संखुवासभा (६) तेरथुम (७) धनकुटा (८) सुनसरी र (९) मोरङ लिम्वुवान स्वायत्त राज्य भित्र हुनुपर्दछ । अन्त्यमा लिम्वुवान राष्ट्रिय मोर्चाले राखेको यस मागलाई नेपाल सरकारले विना शर्त पुरा गर्नु अनुरोध गर्दछौं । यदी सरकारको तर्फबाट वेवास्ता गर्ने कार्य भएमा लिम्वुवान राष्ट्रिय मोर्चा लिम्वुवान स्वायत्त राज्यको साथै स्वतन्त्र लिम्वुवान स्थापनाको लागि अगाडि वढ्ने कुराको अग्रीम जानकारी गराउदछौं ।



जय लिम्वुवान ।







प्रस्तोताः- लिम्वुवान राष्ट्रिय मोर्चा








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम