Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
आँगनको एक्लो तुलसी (बुद्धिसागर) - [2008-07-08]

त्यस दिन आकाश धुम्म थियो । सायद उनको मन पनि । पहिलो प्रश्न थियो- दिनहरू कसरी बिताउनुहुन्छ ? उनी अगाडि मूल गेटनेर आकाश थामिरहेका अग्ला सल्लाका रुखतिर हेर्दै टोलाए र सुस्क आवाजमा भने, 'अहिले त दिनहरूले आफूलाई बिताएको ठानिरहेको छु ।'



उनी अचेल धेरै मौन भेटिन्छन् । एकान्त र पीडाका चिलले आँखाका सपनालाई ठुँगिरहेका छन् । 'जीवन सोचेजस्तो र देखेजस्तो हुँदो रहेनछ,' उनी शनिबारको मध्यदिन आकाश धुम्म भए पनि आफू उर्घिन चाहन्छन् र सुनाउँछन्, 'भोगेको भन्दा नभोगेको ज्यादा, सुनेको भन्दा नसुनेको ज्यादा र सोचेको भन्दा नसोचेको ज्यादा हुँदोरै'छ, जीवन ।'

जब उनी मनबाट बोल्छन्, लाग्छ, कविता नै बोल्छन् । जमानामा सबै भन्थे, 'उसले गोरखापत्र पढे पनि कविताझैं लाग्छ ।'



तिमी आँसु लेऊ मलाई, म हाँसो लिएर के गरूँ ?

जब धर्ती छैन मेरो म आकाश लिएर के गरूँ ?

भन्छन् सागरमा पानी सिवाय जमिन छैन

आफ्नो त आँखामा त्यही पनि कैले छ कैले छैन ।



लाग्छ, उनका आँखा पनि रित्तिसके । सुस्त-सुस्त बालुवा उड्ने सुकेका खोलाछेउका बगर उनकै आँखा त होइनन् ?

पाटन । चाकुपाट-१० को भित्रपट्ट शान्त ध्यानस्त सेतो घरबाहिर एउटा चञ्चल कुकुर आफ्नो पुच्छर बंग्याउँदै उफ्रिरहेको छ । कयौं फक्रिरहेका फूल र हरिया पातका उही पुरानै 'हेयर-स्टाइल' भएका रुख र बुटाहरू 'एक मिनेट'को मौनधारणमा छन् ।

घरभित्रबाट उनी बाहिर हामीलाई हेरेर मुस्कुराए । मैले औपचारिकताका लागि भने- पूरै हरियाली रहेछ नि ।

उनी मनभित्र झाँगिएका पीडाका मुलायम र मसिना 'माकुरा-जाल'लाई सुम्सुम्याउँदै बर्बराए, 'केको हरियाली ? हरियाली हेर्नलाई कोही रहेनन् ।'

जीवनमा दुर्घटनाहरू नसोधी आइदिन्छन् । सोध्दैनन्- आऊ कि त हजुर ? जीवनमा कहिलेकाहीँ यस्ता हुरी पनि आइदिन्छन्, जसले पढेका सिद्धान्त र वैचारिक अहंका किताब च्यातेर गइदिन्छन् । पछि केवल बाँकी रहन्छन्, अनुभूति र भावका पन्नाहरू । उनलाई पनि त यस्तै लाग्छ, 'अहिले जीवनको अनुभूति वैचारिकभन्दा भावजन्य रूपमा अनुभूत गरिरहेको छु ।'



उमेर अहिले ६७ अंकमा पुगेर 'पज' भएको छ । उमेरका अंकहरूले कहिले धेरै दिन्छन् त कहिले त्योभन्दा बढी लिन्छन् । यस्तै भएको छ उनलाई, जीवनले अहिले धेरै चिज लगेको छ ।

१० महिनाअघि । उनका भाइ थिए, जीवन जोशी । जीवनसँग लामो 'जीवन' रै'नछ । उनका एकजना भानिज थिए, जो कानुनी रूपमा पनि जापान निवासी भइसकेका थिए । उनको जापानी केटीसँग बिहे र डिभोर्स पनि भइसकेको थियो । भाइलाई उनी यसरी चिन्छन्, 'ऊ आफ्नोभन्दा बढी अरूको चिन्ता लिन्थ्यो ।' जीवनको आँखाको पोखरीमा फेरि चिन्ताको भ्यागुतो बुथ्रुक-बुथ्रुक उफिन थालिसकेको थियो, 'भानिजको फेरि बिहे गरिदिन पाए ।'

भानिजका लागि धनकुटामा एउटी युवती भेट्टिइन् । बिहे पनि छिनियो । तर, उनलाई त्यतातिर कुन्नि किन त्यति रुचि लागेन । सायद, दुर्घटनाले भनिरहेको थियो- 'म आउँदैछु ।' आखिर समय उनको पक्षमा रहेन । उनले केवल यत्ति भने, 'बिहे गर्ने परे पनि यतै गर । उता नजाऊ ।' तर, सबै उतै जाने भए ।

भदौको झरी उत्सर्गमा थियो । उनका सबै आफन्त माइक्रो बसमा दुलही लिन हिँडे, भोजपुर । बसमा सबै थिए, तीन दिदी-बहिनी, भाइ र ज्वाइँ । उनीहरू हतारमा गए, फर्किनका लागि । तर, फर्किनका लागि गएका धेरै फर्किएनन् । धेरै नफर्किएको त्यो रात उनी 'प्रशान्त तामाङ' फाइनल दुईमा पुगेको हेरेर चञ्चल थिए । त्यसैबेला जीवनको फोन आयो, 'हामी भोलि ६ बजे घर आइपुग्छाँ ।'

६ बजे उनी त आइपुगेनन्, फोनका घन्टी भने धमाधम आउन थाले । कोही फोन गर्थे तर केही नभनी फोन राखिदिन्थे । उनको मनमा विस्तारै त्रासको चराले गुँड लगाउन थाल्यो । पछि, गुँड झागिँदै गयो र थाहा भयो, उनका आफ्ना भन्ने, जसलाई हेरे उनी एक्लो जीवनमा खुसी थिए, ती कोही पनि रहेनन् । पुरानो घाउमा नीलकाँडा रोपियो, पीडा अनुहारभरि भदौरे भेलझैं फेरि उर्लियो । उनले यत्ति भने, 'हाम्रो त सबै सक्किए ।'

उनले सुनेको घटना यही थियो- तराई बन्द थियो । एम्बुलेन्स पनि सडकमा कुद्न डराइरहेका थिए । राति पुलिसको 'इस्कटिङ' मा नयाँ दुलही बोकेको बस गुर्कियो । रौतहट र बाराको सीमा धनसार खोलामा पुगेपछि, भत्किएको पुल नबनिसकेकाले डाइर्भसिटीको बाटो भएर हिँड्नुपर्ने भयो ।

रोमान्स र उल्लासले भरिएको विवाह-बसलाई अग्नि यातायातले ओभरटेक गर्‍यो र धर्मरिँदै विवाह-बस हिलोमा फस्यो र घ्यार्रघ्यार्र गर्दै फस्यो । घनाजंगल पनि निदाइसकेको छ । राति आकाशमा तारा पनि टल्किएका छैनन् । कालो बादलले आफ्ना जटा पि“mजाएको छ । के गर्नु ?

धेरैबेरपछि गोलीगाँठालाई भिजाइरहेको पानीमा सबैले एक-अर्काको हात समाएर हिँड्न थाले । अचानक माथिबाट आएको पहिरो र बाढीले ती पंक्तिबद्ध मान्छेको समूहमा हमला गर्‍यो ।



केहीबेर अघिसम्म पहिरोमा छिन्नभिन्न अरूलाई इमर्जेन्सी लाइट देखाइरहेका जीवनको आवाज आयो, 'ए राजु ! म यहाँ छु ।' आवाज पछिसम्म रहेन । त्यसपछि उनका आफ्ना भन्ने ठूली बहिनीबाहेक कोही रहेनन् । 'उनीहरूले जुन पुल भत्किएको भनेर बाटो बदले, लास भने एकाबिहानै त्यही पुलबाट ल्याइयो,' उनी थर्थराउँदै अहिले भन्छन्, 'राजनीतिक भष्ट्राचारको सिकार निर्दोषहरू भए ।' त्यसपछि उनकै कविता 'दसैंमा एक्लो म' मा झैं उनका सबै दसैं एक्लिएर बिते ।

अहिले पनि उनलाई लाग्छ, कसैले पनि छोडेर गएको छैन । ती यतै छन्, बगैंचामा हाँसिरहेका, रमाइरहेका । उनले भावुक हुँदै पूर्वतिरको हरियो लिचीको बोट देखाउँदै भावुक हुँदै भने, 'त्यो उसैले रोपेको हो । त्यसमा फूल लाग्दा म उसलाई सम्झिन्छु ।'

'त्यो हरियो चौर होइन,' उनले चस्माभित्रमा दुब्ला आँखा त्यतातिर इसारा गर्दै सुनाए, 'हरियो साडी र ब्लाउज लगाएर पलेँटी मारेकी मेरी आमा हुन् ।'

यसरी भावुक बनाउने सम्झनाका कमिलाले उनलाई चिलिरहन्छन् । 'हिजो राति सपनामा दस महिनापछि भाइलाई देखँ,' फेरि अनुहारभरि उदासी कुहिरो फैलियो । भाइ जीवन सपनामा निन्याउरो अनुहार लिएर आए र सोधे, 'दाइ ! आरामै हुनुहुन्छ ?' उनी बोल्नै सकेनन् ।

'जाँदा दाइलाई जान्छु पनि भन्न सकिनँ,' भाइले कुनै अँध्यारो ठाउँमा र्फकंदै भने, 'योपल्ट बिदा माग्न आएको !'

सबै पि्रय आफन्तको सम्झना छातीमा घाउ बनेर पाकिरहेको छ, निको कहिल्यै हुँदैन । उनी त यत्ति भन्छन्, 'यसमा त खाटा पनि बस्दैन ।' उनलाई अहिले लाग्छ- मसँग सबै छन् तर कोही पनि छैनन् ।

घरको बरन्डाको कुर्सीमा केही खुम्चिएर बस्दै उनले सुनाए, 'म नितान्त एक्लो छु र घरै शून्य छ । जीवन पनि खालि छ ।' खालि यसरी छ, अन्तिम बस पनि हिँडेपछिको जीर्ण बसपार्कजस्तो- शून्य, चिसो र गाढा अँध्यारो ।



'एक्लो हुनुभनेको एक्लो हुनु होइन । एक्लो अनुभव गर्नु हो,' घुँडामाथि दुवै हत्केला राखेर हातका बुढीऔंलाहरू जुधाउँदै उनले भने, 'एकान्त जीवनको सत्य रहेछ ।'

एकान्त उनीसँगै हुँकिँदै आयो र अहिले त एकान्तको डालीमा फूल पनि फर्किएको छ । चौधवर्षे किशोर उनी भोजपुर, सिरान बजारमा छेउको सल्लाघारीमा सुतेर पढ्थे, वाल्ट ह्वाइटम्यानको 'लिभ्स् अफ ग्रास' र अज्ञेयको 'हरी घाँस पर क्षण भर'

लोकगीत गाउने, नाटक गर्ने र सांस्कृतिक कार्यक्रम गर्न उनी एकान्तमा भने चित्र बनाएर एक्लिन्थे । सानै छँदा पनि सेता दाह्रीवाल बूढाहरूको संगतले उनले धेरै सिके । सात सालमा मामाघर चैनपुर-संखुवासभामा बसेर पढ्दा भने उनलाई लाग्यो- म एक्लो छु ।

'त्यहाँ सबैले माया त गर्थे तर आफू आउटसाइडर भएको फिल गर्थे,' धेरै वर्षअघिको कुराले उनलाई अहिले पनि रन्थनाइदिन्छ, 'मलाई लाग्थ्यो यो घर मेरो होइन र यी आफ्ना पनि हुन् तर होइनन् ।'

लप्टन बुबाको पछि लागेर बाल्यकालमै 'बलाङ्चुंगोला' तिब्बत पुगेका उनी, धेरै वर्षपछि एक्काईस वर्षको उमेरमा फेरि मामाघर पुगे, आमालाई लिन । उनी भन्छन्, 'त्यसबेला म पपुलर कवि भइसकेको थिएँ ।'

उनको प्रसिद्धि उनले पढेको स्कुलसम्म पनि धङ्धङ्गिँदै पुगेछ । सरहरूले बोलाए, 'यहाँ आऊ, र कविता सुनाऊ ।'



धेरै वर्षपछि, आफूले धेरै वर्षअगाडि छोडेर आएका कुराहरू सबै उस्तै थिएनन् । नीलकाँडाको बोट, ठूलो चिप्लेढुँगा, कल्कीको बोट र जस्ताले छाएको स्कुल भने उस्तै थिए, हेर, हामी उस्तै छौँ ।

स्कुलको बाटामा सानी बहिनीले जिस्किँदै भनिन्, 'दाइ ! पुतली नखेल्ने ?' यो उनको बाल्यकालको मसिनो आवाज पनि थियो । मान्छे हुर्केपछि कहाँ थिगि्रन्छ, बाल्यकाल ?

उनलाई फेरि पुतलीले बोलायो । उनी जान चाहन्थे तर उमेरले छेक्यो । 'त्यसले मलाई उद्वेलित बनायो । म मुक्तिको बाटो देख्दिनथेँ,' उनले गहिरिएर हेर्दै भने, 'मसँग बाँकी थियो केवल स्मृतिमात्रै ।'

'सबै अजर र अमरत्वको कुरा गर्छन् । कसैले नसम्झिए केको अमरत्व ?' उनले त्यसबेला पाएको ज्ञान यही रहेछ, 'काम त अरूको सम्झना रहिरहने गुर्नपर्छ ।'

रातभरि यसरी बिचल्लित भइसकेपछि उनले लेखे कविता- सम्झना



मेरैजस्तो तिम्रो हृदयको गमलामा पनि

सम्झनाको फूल हाँसेकै होला,

तर, सम्झनामा सधैं हाँसिरहन्छ

कविता बनी त्यो बाँचिरहन्छ ।



एउटी केटी साथी जो किशोरी भइसकेकी थिइन् । यो कविता सुनेर उनको गालामा रातो गुलाब फक्रियो । उनले यो सम्बोधन आफ्नै लागि सोचिछन्, यो उनको अड्कल हो । यता उनलाई पनि कस्तो-कस्तो शरम लागेछ ।

त्यसबेला कविताको खुबै प्रशंसा भयो र त अहिले उनी दुवै हात हावामा झट्कार्दै भनिदिन्छन्, 'मान्छेभित्रको मान्छेको परिचायक हो, कविता ।' भन्नलाई अरू पनि छ, 'कविता रहेसम्म मान्छे मान्छे रहन्छ । कविता नरहे मान्छे रोबट हुन्छ ।'

बुबा मूलघरबाट छुट्टिए । भाडामा जीवन चल्ने भयो । एक दिन घरबेटीको बारीमा फलेको काँक्रो खाइदिँदा उनलाई झिरझैं तीखा गाली प्रहार गरियो । झिर उनको मुटु छेडेर रक्ताम्य भयो । त्यसपछि पो उनले बालकमै सोचेछन्, 'म यो घरलाई आफ्नो ठान्थेँ । यो पनि मेरो होइन रहेछ ।'

अहिले उनी आफ्नै घरमा छन् । तर, एक्लिएका छन् । घर त घरै रह्यो तर घरजस्तो रहेन । यसमा त सम्हाल्नै नसकिने सम्झनाका ऐंठन पर्छन् ।



यसरी ऐंठन पर्नुअघि उनी हरेक बाजि जित्न राज्य जित्न हिँडेको अलेक्जेन्डरजस्तो सुरवीर थिए । तर, सुरवीरले पनि त मृत्युलाई जित्न सक्दैनन् ।

चित्र बनाउन पाइन्छ भनेर उनी कलेजमा साइन्स र बायोग्राफीतिर लोभिए । साइन्स पढ्ने तर कविता गर्ने, विज्ञान र साहित्य दुईतिर फर्किए । एक वर्ष उनले साइन्स पढे तर परीक्षा भने आइएको दिए । किनभने उनलाई अचानकै लागेछ- यो मेरो कपको चिया होइन ।

विस्तारै कवि गोष्ठीमा उनको चर्को र मोटो आवाजले स्पेस लिँदै गयो । बिएको जाँच दिन उनी काठमान्डू आए, जाँच दिए । र, फुर्सदमा नितान्त एक्लो भएर रामशाह पथको यौटा घर, जहाँ अहिले कुमारी बैंक छ, को सिलिङ गनेर उतान्नो परिरहेका थिए ।

एक्कासि घरको ढोकै फुट्ने गरी कसैले ढोका धकेल्यो । के लाम्पुच्छे्र तारा खस्यो ? साथी हतारिँदै आएको रहेछ, उसको छाती खलातीझैं तलमाथि भइरहेको थियो । उसले भन्यो, 'टुकुचाको किनारमा बच्चा फालेको छ ।'

दुवै हतारिँदै गए तर बच्चाको सव कतै देखिएन । जाडोको दिन त्यो बच्चा चिसोमा कति नीलो भयो होला । कति बेरसम्म जाडोमा कक्रियो होला ?

यस्तो अनुभूतिले उनको मुटुलाई 'काठेचरा'झैं ठुँग्न थाल्यो । त्यसबेला उनलाई लागेछ, 'बच्चाहरूमा त सबैभन्दा असहाय मान्छेकै बच्चा हुँदा रहेछन् ।'

बगरको ढुंगाझैं



चिसो भुइँमा नांगै

आफूलाई लडाएको पाएर एक्लै

उसको हात-खुट्टा-अनुहार

अंग-प्रत्यंग बोल्छ-

म चिसो हिऊँ भैसके

म नीलो यू भइसकेँ

मलाई मुटुको मकलमा सेकाएको हातले

मायाको चिल्लो लाइदेऊ



त्यसैबेला लेखेका हुन् उनले यो कविता- हृदयको बालक । यही कविताले नेपाल एकेडेमीबाट गोल्ड मेडल पनि पायो । 'यो कविता सुनाउँदा नेपालमा कैयांै भावविह्ल भएका थिए,' उनले सन्सार घुमेर पाएको अर्को सत्य हो, 'यै कविता अंग्रेजीमा अमेरिकामा सुनाउँदा कसैलाई छोएन ।' यत्ति भनिसकेपछि उनले ओठ लेप्य्र्राए ।

यही कविताको दोस्रो हरफ 'रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ' लाई सुनाउँदै उनले व्यंग्य गरे, 'पवकर्न भएको ठाउँमा हाँडीको कुरा भुत्रो बुझ्नु ?'

हाँडीको कुरा त तिनैले बुझ्छन्, जसको भाग्य हाँडीझैं फुट्छ, जसको अनुहारमा हाँडीले कालो पोत्छ र जसका दिन हाँडीझैं अँध्यारा हुन्छन् ।



अहिले उनको यो एकान्तमा ऐंठनबाट ब्युँझाइदिने कोही छैनन् । के जीवनसंगिनी भएको भए, यसरी उदास हुनुपथ्र्यो ? विवाह नगरेकोमा केही ग्लानी छ कि ? उनलाई सोध्ने कयौं प्रश्न मार्केटमा चाइनिज लुगाझैं उपलब्ध छन् । 'मेरो जीवन योजनाबद्ध थिएन,' उनले प्रश्नलाई त्यति महत्त्व दिएनन् या नदिएजस्तो गरे र यत्ति भने, 'मलाई विवाह नगरेकोमा पश्चाताप छैन ।'

प्रेमको कुराका फाइल खुल्नेबित्तिकै उनी रसिलो भएर आए । उनी भन्छन्, 'ती त कत्ति छन् कत्ति ।' हुन पनि उनका प्रेमका कथा सुन्न सानोतिनो धैर्यले पुग्दैन ।

धेरै करबलपछि उनले आफ्नो जीवनका दुइटा महत्त्वपूर्ण प्रेमकथाको फाइल खोले-

जब उनी बिएका विद्यार्थी थिए, त्यसैबेला काठमान्डूमा हुने 'अधिराज्यव्यापी सांस्कृतिक कार्यक्रम'को पूर्वाञ्चलको नेतृत्व गरेर काठमान्डू आए । साथमा 'ग्राम विकास'मा काम गर्ने दुईटी युवती पनि आएका थिए । तिनको बिदा स्वीकृतिका लागि हेड अफिसमा पुगे । त्यहाँ एउटी युवती थिइन्, जसले उनको कविता पढेकी रै'छिन् । अनि त सम्बन्धको तितेपाती फैलिँदै गयो । युवतीले हरेक दिन एउटा रातो गुलाफ पठाइदिन थालिन् । 'मैले यसरी कसैलाई फूल दिएकी छैन । तपाइर्ंलाई दिएँ,' केही दिनपछि उनले सोधिन्, 'यो विषयमा कविता लेख्नुहुन्न ?'

उनी कार्यक्रममा व्यस्त थिए । त्यता सोच्नै पाएनन् । त्यसैले भने, 'म फिल नभई कविता लेख्दिनँ ।' पछि विस्तारै भेट पातलियो । र, उनले ६ महिना खबर पाए- रातो गुलाबवाली सिकिस्त बिरामी छिन् । फेरि खबर आयो उनी यो ब्रह्माण्डबाट टाढा गइन् ।

कतै यसको कारण त म होइन ? अब उनलाई ग्लानीको मैन बत्तीले पोल्न थाल्यो, सुस्तसुस्त । उनी हत्याबोधले प्रताडित हुन थाले । उनलाई आफैंदेखि रिस उठेछ, त्यति यौटा कविता लेखेर दिएको भइहाल्थ्यो नि ।

पछि त रातो फूल, रातो कार्पेट, रातो भित्ता, रातो गाडी जे देखे पनि पीडा हुन थाल्यो । प्रेमको घरमा कैयांै तला थपिएछन्, माथिबाट हेर्दा चक्कर आउने । उनले सुनाए, 'आई वाज म्याड' । र, उनले लेखे कविता- रातो गुलाब ।

सरस्वती-सदनको कवि गोष्ठीमा उनले बडो भावुक भएर यो कविता सुनाए । भन्छन्, 'कविता सुनाएपछि, मन केही हलुङ्गो भयो ।'



गोष्ठीबाट फर्किँदा रानीपोखरीमा अघि-अघि हिँडिरेकी युवतीको चालढालले उनलाई नजिक बोलायो । नजिक गएर हेरे । हत्तेरीका । ती त तिनै रहिछिन्- उही रातो गुलाबवाली ।

त्यसबेलाको त्यो क्षण सुनाएपछि उनले भने, 'उनलाई त्यसरी देख्दा उनीप्रतिको प्रेमको सद्भाव र सहानुभूति सबै चकनाचुर भयो । उनीसँग त अहिले पनि भेट हुन्छ । उनी हजुरआमा बनिसकेकी होलिन् । तर, उनलाई थाहै छैन । उनले खोजेको कविता त लेखिनै सकेको छ ।

'विवाह गर्छु भनेर मरिहत्ते पनि गरिनँ । गर्दिन भनेर पनि तर्किनँ,' उनी अविवाहित हुनुको यौटा रहस्य यस्तो छ, 'सम्बन्ध त संसारभरिका आइमाईसँग भयो ।'

उनको जीवनको 'डेस्कटप'मा यौटा यस्तो फाइल पनि छ । जसलाई उनी डिलेट गर्न सक्दैनन् । उनले भने, 'तिमी सुन म कथा भन्छु ।'

उनी जापान फाउन्डेसनमा फेलोसिफ पाएर जापन जाने तयारीमा थिए । हिँड्ने बेलामा सानीआमाले भनिन्, 'जापानमा मेरी यौटी साथी छ, उसलाई भेट्नू ।' उनी ठेगाना लिएर गए । तीन महिनासम्म 'इन्टरनेसनल-हाउस' मा युवतीलाई खोजे तर युवती भेट्टिइनन् । जापानी पत्रिकामा उनका केही अन्तर्वार्ता पनि छापिए । उनी हुन् नेपालका कवि । अनि, लामो समयपछि नेपाल फर्किए ।

उनी एकेडेमीमा सदस्य थिए । एक दिन एकेडेमीमा उनलाई भेट्न एउटी जापनिज युवती आएको हल्ला फैलियो । तिनी उनले जापानमा नभेट्टाएकी युवती थिइन् । उनी जासुसी उपन्यास अन्तिमबाट पढेझैं मूल कुरामा आइन्, 'म नेपाली केटासँग बिहे गर्न आएकी हुँ ।'

'कोसँग ?'

उनले भनिन्, 'तपाईंसँग ।'

'यो आवेगको कुरा होइन,' उनले सम्झाउँदै भने, 'सोच्नुपर्छ ।' अनि, त कुनै रेस्टुराँ बाँकी रहेनन्, जहाँ उनीहरू पुगेनन् । युवती फर्किने बेला उनले भने, 'म तीन महिनापछि 'होलोलुलु' जाँदैछु । फर्किंदा तिमीलाई भेटूँला । अहिले म विवाहको विषयमा सोच्छु ।'

युवतीले मलिन स्वरमा भनिन्, 'म चेन्ज भएँ भने ?'

'जे होला, त्यै स्वीकाराँला ।'

तीन महिनापछि उनी हवाई होलोलुलु पुगे र फर्किंदा जापानमा आफ्ना यौटा साथीलाई लिएर युवतीको घर खोज्न थाले । युवतीको घर त उनी अघिल्लोपल्ट बसेको इन्टरनेसनल हाउसको छेउमै रहेछ । युवती घरमा भेट्टिइनन् ।

उनी होटलमा फर्किए । होटलमा उनका नाममा धेरै उपहार आए र पछि आइन्, युवती । यत्ति धेरै उपहार आउँदा सोचे, उसले विवाह गर्ने निर्णय गरिछ ।

उनले जिस्काउँदै सोधे, 'के छ विचार ?'

युवतीले भनिदिई, 'म चेन्ज भइसकँ ।'

झस्कँदै उनले सोधे, 'त्यसो भए, यी उपहार किन त ?'

उसले झर्किंदै भनी, 'मलाई काठमान्डूमा त्यत्रो सहयोग गर्नुभयो । त्यसको कृतज्ञताका लागि हो ।'

केटी अब बिदा हुने भई । उनले केही भन्न सकेनन्, न त केटीले नै भन्न सकी । केटी गई । पचास मिटर परको मूलगेटमा पुगेपछि उसले पछाडि फर्केर हेरी । यताबाट भने उनले युवतीका आँसु भरिएका आँखामा लेखे- डुब्न लागेको रातो घाम । अहिले उछ्बास भरिएको आवाजमा उनी भन्छन्, 'त्यसपछि अहिलेसम्म भेट भएको छैन ।'

केटी बिहे गर्न चाहन्थी तर भन्न सकिनँ । उनको भने कुरा यस्तो रै'छ, 'म त्यसबेला बि्रटिस केटीसँग बिजी थिएँ र उसैसँग बिहे गर्ने वाचा गरेको थिएँ ।'

साँझ पर्न थालिसकेको थियो । कुरा कहिल्यै सकिँदैनन् । झन् उनका कुरा । उनको पूर्वाद्धमा जीवन जति रोमाञ्चक भए पनि अहिले उदासीले भरिएको छ । उनले लामो जीवनको सार सुनाए, 'जीवनमा कयौं पश्चातापहरू बाँकी रहन्छन् ।'

गेटका अग्लाअग्ला दुईटा सल्लाका रुखले धुम्म आकाश अड्याइनै रहेका थिए । आज आकाश उघ्रिँदैन । मैले हिँड्नेबेला गेटबाट फर्किएर हेर्दा देखँ- आँगनको एक्लो तुलसी अर्थात् तुलसी दिवस ।







बुद्धिसागर

buddhisagar@gmail.com





From: nayapatrika website






तपाईंको प्रतिकृया

Dai tapaiko aatma katha padhera malai jyadai maan bhari bhayara aayo malai tyo katha padhera malai katai ma aafai ta hoina jasto lagyo. Huna ta malai testo naramro durghatana kunai ghateko chhaina tara ma lai ek dum maan bhari bhayara runa pani sakina ra hasna pani sakina j hos ma tapailai aba kahile pani birsanai sakdina hola jasto lagchha.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम