Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
डा. कवितारामको वैयक्तिक विशेषता वा निजीपन - [2008-07-12]

डा. कविताराम श्रेष्ठको व्यक्तित्व

(त्रि. बी. एम ए नेपाली विषयको शोधपत्र ०५८ मा सामान्य आवधिकरण समेत प्रस्तुति)

शोधकर्ता - गोपालप्रसाद खतिवडा



पृष्ठभूमि

कुनै पनि व्यक्तिको वैयक्तिक विशेषता वा निजीपन नै व्यक्तित्व हो । प्रत्येक व्यक्तिको वैशिष्टयले तदनुरुप अरुलाई प्रभाव पार्ने गर्दछ । व्यक्तित्वले निजको क्षमताको समेत वर्णन गर्दछ । (बालकृष्ण पोखरेल र अन्य बृहत नेपाली शब्दकोष ने.प्र.प्र. काठमाडौँ तृ.सं. पृष्ठ १२४५।) कवितारामको समग्र जीवनको अध्ययनबाट उनको व्यक्तित्वलाई मूल रुपमा दुई भागमा राखेर हेर्न सकिन्छ । पहिलो हो साहित्यिक व्यक्तित्व जसमा उनी बालसाहित्यकार, निबन्धकार, नाटककार, उपन्यासकार, कथाकार, कवि, गीतकार, आन्दोलक, पुरस्कार संस्थपाकको रुपमा देखिन्छन् । दोस्रो व्यक्तित्व भनेको साहित्येतर छ र जसमा गायन, अभिनय, सङ्गीत, शिक्षण, परामर्शदातृ तालिम विशेषज्ञ, अनुसन्धानकर्ता, समाजशास्त्री, संस्कृति विशेषज्ञ, राजनीतिक कार्यकर्ता, समाजसेवी आदि समेटिएको बहुआयामिक व्यक्तित्वका धनी देखिन्छन् ।



बालसाहित्यकार कविताराम

बालकहरु भनेका राष्ट्रका भोलिका भविष्यबाहक हुन् । उनीहरु स्वोयमको भविष्य निर्माणमा पूर्व पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । यही भूमिका अन्तर्गत साहित्य पनि पर्दछ । स्वच्छ बालसाहित्यले बालकहरुमा उन्नत विचारको श्रृजना गर्दछ र यही उन्नत विचार राष्ट्र र समाजको लागि उपयोगी हुन पुग्छ ।



कवितारामले आफ्नो बाल्यकालमा बालोपयोगी साहित्यिक कृतिहरुको पाठ्यपुस्तकबाहेक पर्याप्तता देखेनन् । कक्षागत पाठ्यपुस्तक र दन्त्यकथा बाहेक उनका समयमा अन्य बालसाहित्यका कृति त्यति नभएको दुखेसो उनले 'मेरा अस्वीकृत मान्यताहरु' भन्ने पुस्तकमा पोखेका छन् । भारतबाट आउने हिन्दी भाषाका कमिक्सहरुले बालबालिकाको मानसिकता ओगटेका थिए । बालकहरुलाई आजका आवश्यकता अनुरुप सामाजिकीकरण गर्ने वा आउँदा सांसारिक हाँक विरुद्ध उठ्न सक्षम बनाउने खालका पुस्तकहरुको अभाव थियो । (कविताराम मेरा अस्वीकृत मान्यताहरु काठमाडौँ अभिव्यक्ति प्रकाशन २०४६ पृष्ठ ७० ।) यो जटिल परिस्थितिमा कही देन दिनका लागि उनले बालसाहित्यको क्षेत्रमा प्रशस्तै कलम चलाए । बालसाहित्यमा उनले आफ्नो प्रौढ साहित्यिक स्वभावको विद्रोही छाप पटक्कै पारेका छैनन् बरु विविध दृष्टिले अत्यन्त बालोपयोगी कृतिहरु सिर्जना गरेका छन् ।



कवितारामले बालसाहित्यमा विशेष गरी उपन्यासको क्षेत्रमा योगदान दिएको कुरा प्रमोद प्रधानले यसरी व्यक्त गरेका छन् - 'बालउपन्यासको क्षेत्रमा कवितारामले वैज्ञानिक चेतनालाई प्रवेश गराएर समायानुकूल बालसाहित्यको आवश्यकताको महत्व बोध गराए ........ ।' (प्रमोद प्रधान नेपाली बालसाहित्यको सङ्क्षिप्त विश्लेषणात्मक अध्ययन गरिमा वर्ष १२ अङ्क ५ २०५१ वैशाख पृष्ठ ३८० ।) बाल उपन्यासको क्षेत्रमा उनले दिएका कृतिहरु- 'वनदेवी', 'पानीको थोपा', 'कमिलाको कथा', 'बुद्धिबङ्गाराको फोन', 'अनौठो यात्रा', 'मावलीको यात्रा', 'कुकुरको कथा', 'सृस्ठी पुराण', हुन् । 'कमिलाको कथा'मा जसरी कमिला आफ्नो कार्यक्षेत्रमा इमान्दारीपूर्वक लागेका हुन्छन् त्यसरी नै बालबालिकाले पनि आफ्नो कार्य गर्नुपर्छ ठूलोसानोको भावना लिनुहुँदैन आदि जस्ता धारणाहरुलाई बालमस्तिष्कमा भित्राउने उद्देश्य राखिएको छ । 'अनौठो यात्रा' बालउपन्यास शरीर विज्ञान र औषधि विज्ञानका सम्बन्धमा लेखिएको छ । यसमा औषधिले हाम्रो शरीरको रक्तनलीमा प्रवेश गरेर के कस्तो र कसरी असर गर्छ र शरीरमा कस्तो प्रभाव पार्छ भन्ने ज्ञान बालकहरुलाई दिने उद्देश्य राखिएको छ । त्यसैगरी 'पानीको थोपा' बालउपन्यासमा पानीको जीवनचक्र र यसको मानव जीवनमा उपयोगिता अत्यन्त रोचक ढङ्गले बालमस्तिष्कमा रम्ने शैलीमा वर्णन गरिएको छ । 'वनदेवी' बालउपन्यासमा वनको उपयोगिताको विषयवस्तु सम्प्रेषण गरिएको छ भने 'बुद्धिबङ्गाराको फोन' विविध सामान्य स्वास्थ्य समस्या र तिनको प्राथमिक उपचार पक्ष उद्घाटित छ । त्यस्तै 'मावलीको यात्रा' मा आपदविपदमा पनि बालबालिकालाई मनोवैज्ञानिक रुपले पराम्परागत अन्धविश्वासहरु तोडदै साहसी तथा निडर बनाउने उद्देश्य राखिएको छ । कुकुरको कथामा एक बालिका र कुकुर बिचको सम्बेदंशील आसक्ति समेटिएको छ भने सृस्ठी पुराणमा बालबालिकालाई संपूर्ण ब्रम्हांडको भौतिक बिकासको कथा समेटिएको छ । उनका बालसाहित्यिक कृतिहरु भाषा शैली विषयवस्तु उद्देश्य आदि दृष्टिले अत्यन्त बालोपयोगी देखिन्छन् ।



निबन्धकार कविताराम

कवितारामको साहित्यिक व्यक्तित्वलाई केलाउँदा निबन्धकार व्यक्तित्व पनि देखा पर्छ । उनले ुमेरा अस्वीकृत मान्यताहरु भन्ने पुस्तक निबन्धका रुपमा प्रकाशित गरेका छन् । यिनले सयौँ साँस्कृतिक निबन्धहरु अधिराज्यका धेरै मासिक साप्ताहिक र दैनिक पत्रपत्रिकाहरुमा प्रकाशित गरेका छन् । उनै रचनाहरुको सँगालोलाई के किन भनियो ? भन्ने नाम दिई प्रकाशित गरेका छन् । उनको 'स्वीकृत यात्राका अस्वीकृत मान्यताहरु' नामक निबन्धसङ्ग्रह प्रकाशोन्मुख छ । 'मेरा अस्वीकृत मान्यताहरु' समालोचकीय पुस्तक हो तथापि लेखकले यसलाई निबन्धको सँगालो भनेका छन् । यस कृतिमा उनले आफ्नो साहित्यिक यात्रा साहित्यिक धारणा मान्यता साहित्यमा प्रवेश र प्रेरणा स्वअभीष्ट बालसाहित्य आदि विविध पक्षमा उपशीर्षकहरु दिँदै आद्योपान्त श्रृखलतात्मक रुपमा वर्णन गरेका छन् । विधागत विश्रृखलताको लेखन नै आफ्नो वैशिष्ट्य भएको धारणा लेखक व्यक्त गर्दछन् ।



नाटककार कविताराम

विधागत विश्रींखलतालाई अँगाल्दै साहित्य रचना गर्ने कवितारामले नेपाली नाट्य जगत्लाई दिएको अमूल्य कृति हो 'स्वभावगीता' विज्ञाननाटक । यो नाटक पनि उनको आफ्नै पाराको छ । उनले यस परम्परागत नाट्यशास्त्रीय मर्यादा अनुरुप दृश्य अङ्क आदिमा विभाजन गरेका छैनन् । केवल परिच्छेद र शीर्षक दिएका छन् । तर प्रस्तुत नाटकको विषयवस्तु सर्वथा नवीन नौलो र वैज्ञानिक छ । प्रस्तुत नाटकमा लेखकले एक दिन मानिसका वैज्ञानिक आविष्कारले मानिसलाई अयोग्य निस्क्रिय र निरीह बनाउन सक्ने दूरगामी सम्भावना व्यक्त गरेका छन् । विज्ञानको पराकाष्ठा कहाँसम्म भने सन्तानोत्पादन समेत वैज्ञानिक प्रकि्रयाबाट हुनसक्ने भविष्यत्कालीन खतराको सङ्केत नाटककारले गरेका छन् । समग्रमा यो रचना कवितारामको दर्शनलाई बोक्नसक्ने स्वभाववादलाई व्यक्त गर्नसक्ने गहकिलो र खँदिलो कृतिको रुपमा देखा परेको छ ।



अर्को उनको नाटक छ 'माटोको व्यथा र विदेशको सपना ।' यसमा उनले स्वदेशमा भएको द्वंद्वको स्थितिको कारण युवाहरु विस्थापित भएर विदेश जान परेको र विदेशमा पनि उनीहरुले खप्न पर्ने हण्डरहरुको चित्रण गरेका छन् । समष्ठीमा यस कृतिले युवाहरुलाई अन्ततः आफ्नै देश फर्केर विसंगतिहरु विरुद्ध लडी देश तथा समाजमा निर्माण गर्ने प्रेरणा दिएको छ । विधाको हिसाबमा पानी कवितारामले यसलाई नितान्त नौलो विधा हो र यो प्रथम प्रयोग हो भनी घोषणा गरेकाछन् ('माटोको व्यथा र विदेशको सपना' भूमिका ।) र यसलाई उनले चलचीत्र पटकथा भनी नाम दिएका छन् । संपूर्ण नाटक चलचित्रको पटकथाको रुपमा विकसित छ । पाठकलाई पनि लेखकले चलचित्रकै परिदृश्यमा तानिरहेको बहन हुन्छ । यसरी विधागत हिसावमा पनि कवितारामले यहाँ नयाँ प्रयोग गरेका छन् ।



उपन्यासकार कविताराम

नेपाली उपन्यास साहित्य अन्तर्गत आधुनिककालको दोस्रो चरणका प्रवृत्तिलाई आत्मसात् गर्दै कवितारामले 'वकपत्र' उपन्यास लेखी आफ्नो औपन्यासिक व्यक्तित्वलाई छर्लङ्ग्याएका छन् । परम्परागत लेखनको समाप्तिलाई इङ्गित गर्ने साहित्यिक आन्दोलनहरु पनि लगभग यसै समयमा भएका थिए । यस युगमा नवीन मूल्य र परम्परा लिएर उपन्यास लेखिएको पाइन्छ । (दयाराम श्रेष्ठ मोहनराज शर्मा नेपाली साहित्यको सङ्क्षिप्त इतिहास काठमाडौँ साझा प्रकाशन चौ.सं. २०४९ पृष्ठ ११७ ।) कवितारामले 'वकपत्र' उपन्यासमा तल्लो वर्गका विपन्न पात्रहरुको प्रतिनिधित्व गराएर उनीहरुको कारुणिक चित्कार सामाजिक विकृति क’रीति र आडम्बरप्रति व्यङ्ग्यात्मक प्रहार गरेका छन् । यस उपन्यासमा पनि उनी आफ्नो अस्वीकृत विद्रोह पोख्न चुकेका छैनन् परम्परागत मूल्यप्रति आक्रोश व्यक्त गर्न हिच्किचाएका छैनन् यौन विकृति र क’ण्ठाहरुप्रति छताछुल्ल व्यङ्ग्य गर्न अल्मलिएका छैनन् । शाब्दिक चयनमा पनि उनको आफ्नै विद्रोह छ र विद्रोहवश ग्राम्यदोष कवितारामले यसलाई ग्राम्यदोषको रुपमा नलिएर स्वभाविक ढङ्गमा आएको लोकभाषाको रुपमा लिएका छन् पनि झल्कन्छ । समग्रमा उपन्यास सामाजिक विकृतिमा व्यङ्ग्य गर्न सक्षम हुनाले उनको औपन्यासिक व्यक्तित्व सबल रुपमा स्पष्टिन्छ ।



कथाकार कविताराम

आधुनिक नेपाली कथाको दोस्रो चरण अन्तर्गत नवयुगमा कविताराम कथाकृति लिएर देखा परेका हुन् । (दयाराम श्रेष्ठ मोहनराज शर्मा नेपाली साहित्यको सङ्क्षिप्त इतिहास काठमाडौँ साझा प्रकाशन चौ.सं. २०४९ पृष्ठ ९३ ।) प्रकाशित रुपमा यिनका कथाकृतिहरु तीनवटा देखा परेका छन् - १ 'प्रलाप' कथासङ्ग्रह २ 'कालो कथा' कथासङ्ग्रह सारसङ्ग्रह प्रकाशन काठमाडौँबाट २०४६ सालमा प्रकाशित छ । त्यसैगरी 'मुक्तिप्रसङ्गका अस्वीकृत कथाहरु' पनि सारसङ्ग्रह प्रकाशनबाट २०४७ मा प्रकाशित छ । यी तीनै कृतिहरुमा जम्मा ६२ वटा कथाहरु छापिएका छन् ।



कवितारामले २०१६ सालदेखि कथा लेख्न प्रारम्भ गरेका हुन् । यिनका कथाहरुमा मानवजीवनका बाँच्नुका स्थितिहरुलाई बुझाउने प्रयास गरिएको छ । नवीन विषयवस्तु र शिल्पविधानको प्रयोग देखिन्छ । शब्द वाक्यगठन अनुच्छेद योजना र शीर्षक चयनमा समेत नवीन प्रयोग छ । सशक्त बौद्धिक सचेतता पाइन्छ । परम्परागत मूल्य र मान्यतालाई अतिक्रमण गर्ने ध्येय छ । सामाजिक मान्यताबाट अस्वीकृत पात्रका छटपटी असन्तुष्टि आदिलाई प्रष्ट पारिएका छन् । यसरी सङ्ख्यात्मक र गुणात्मक दृष्टिले समेत अन्य विधामा भन्दा बढी कथाविधामा लेखन गर्नुले कथा विधामा यिनको बढी नै रुचि प्रष्ट हुन्छ ।



साहित्यिक आन्दोलनकार कविताराम

कवितारामको व्यक्तित्व सर्जकमात्र नभएर आन्दोलक पनि छ । नेपाली साहित्यमा समयसमयमा आन्दोलनहरु हुने गरेका छन् । तीमध्ये तत्कालीन आन्दोलनहरु हलन्त बहिष्कार झर्रोवाद तेस्रो आयाम अमलेख राल्फा अस्वीकृत जमात बुटपालिस अभियान सडक कविता क्रान्ति सडकनाटक अभियान आदि हुन् । (दयाराम श्रेष्ठ 'सम्भव' नेपाली साहित्यका केही पृष्ठ काठमाडौँ साझा प्रकाशन चतुर्थ संस्करण २०४८ पृष्ठ ३३४ ।) कवितारामले नेतृत्व गरेका साहित्यिक आन्दोलनहरुको नाम हुन्- 'अस्वीकृत जमात' र 'बुटपालिस अभियान' । अस्वीकृत विषयमा बसेर अगाडिदेखि नै साहित्यकारहरुले लेख्ने गरेका थिए तापनि घोषित रुपमा आन्दोलित रुपमा देखा परेका थिएनन् । कवितारामले यस आन्दोलनको प्रथम घोषणा 'साजीवनी' ०२६ बाट गरे । 'साजीवनी' का तत्कालीन सम्पादक नेपाल भूषण न्यौपाने र कविताराम श्रेष्ठ थिए । (गोविन्दराज भट्टराई काव्यिक आन्दोलनको परिचय काठमाडौँ ने.प्र.प्र. २०४९ पृष्ठ १५८ पृष्ठ ३३४ ।) आन्दोलनको सुरुवातमा निकै लेखकहरु संलग्न थिए । कालक्रम बित्दै जाँदा विविध परिस्थितिवश उनीहरु क्रमशः आन्दोलनको शाखाबाट चुँडिदै गए । वर्तमान समयमा सम्भवतः कविताराम एक्लैले यसको नेतृत्व गर्दै आएका छन् र यस आन्दोलनका बारेमा नेपाली साहित्य समालोचनाका पुस्तकहरुमा प्रतिष्ठित लेखकहरुले प्रशस्त टीकाटिप्पणी समेत गरेका छन् । वर्तमान समयमा पनि यस आन्दोलनका बारेमा अध्ययन अनुसन्धान भइ नै रहेको भेटिन्छ । कवितारामकै धारणामा यसलाई हेर्दा बुटपालिस अभियान पनि एउटा विद्रोहको अभिव्यक्ति थियो । यो अस्वीकृत आन्दोलनकै एक हिस्सा वा स्वरुप थियो । उनको यसमा संलग्नता वा सहभागिता अस्वीकृत मान्यतामै आधारित थियो ।



कवि कविताराम

कविताराम साहित्यिक जीवनको प्रारम्भिक चरणमा कविता नै लेख्ने गर्थे त्यसैकारण उनी रामबहादुरबाट कविताराम भए । उनको प्रथम प्रकाशित र संरक्षित कविता 'काल' हो जसलाई 'प्रेरणा र प्रभाव्' उपशीर्षकमा उद्धृत गरिसकिएको छ । उनको प्रथम कविता 'काल' ओखलढुङ्गाको हस्तलिखित पत्रिका 'जुनकीरी' मा प्रकाशित भयो भने प्रथम मुदि्रत कविता 'सिंदूर' धरानबाट प्रकाशित 'प्रेरणा' सामयिक सङ्कलनमा २०२१ तिर छापियो । त्यसपछि उनले २०२२ सालको 'भानु' पत्रिकामा 'कवि चक्का क’म्हालेको' ग्राफिक कविता प्रकाशित गराए । संरचनात्मक दृष्टिले यो कविता सर्वथा नौलो प्रयोग हो । त्यसपछि 'जमात' जमातु को 'घोषणापत्र' कविताको रुपमा रहेको ॥ मन्त्र ॥ को छैठौँ अङ्कमा 'कविताराम सडकमा' छापियो (॥मन्त्र॥ अङ्क ६ २०२६), जसको केही अंश यस्तो छ -



' ...... एउटा कविताराम सोचाइमा बाँच्छ ।

अर्को कविताराम सडकमा बाँच्न विवश छ ।

सोचाइमा बाँच्ने कवितारामलाई

१५० पाउण्ड हाडमासु लिएर सडकमा हिँड्ने

भुसतिघ्रे कवितारामको पसिनाले पाल्छ ...... '

यसरी कविता लेख्ने क्रममा उनले सैकडौँ कविता फुटकर रुपमा प्रकाशित गराएका छन् । पुस्तकाकार रुपमा भने यिनका कविताहरु आइसकेका छैनन् । प्रकाशोन्मूख छन् ।



गीतकार कविताराम

कवितारामले आफ्नो जीवनको प्रारम्भिक वयमा नै गीत लेख्न थालेका हुन् । २०१३ सालमा श्री ५ महेन्द्र ओखलढुङ्गा सवारी हुँदा आफ्नो विद्यालयलाई महाविद्यालय बनाइदिने अनुरोध गीत लेखेर सुनाएका थिए । २०१५ सालको आमनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवारका निम्ति भोट माग्न गीत लेखे । (कविताराम मेरा अस्वीकृत मान्यताहरु काठमाडौँ अभिव्यक्ति प्रकाशन २०४६ पृष्ठ ५८ ५९ ।) सानैदेखि गीतिलयमा उनलाई बढी नै रुचि थियो । शिक्षणको क्रममा कविताराम दोलखामा आफ्ना छात्रछात्राहरुलाई सङ्गीत समेत सिकाउने गर्दथे । तत्कालीन अवस्थामा हिन्दी गीतहरु प्रचलनमा बढी हुन्थे र नेपाली गीतहरु पनि हिन्दीकै लय र भाकामा ढालेर रचिएका हुन्थे । (कविताराम मेरा अस्वीकृत मान्यताहरु काठमाडौँ अभिव्यक्ति प्रकाशन २०४६ पृष्ठ ५८/५९ ।) यो देखेर उनले नेपाली पाराका ७/८ वटा गीत लेखे ।

उनले नेपाल टेलिभिजनका लागि निर्मित 'माटो बोल्छ' धाराबाहिक टेलिचित्रका लागि समेत गीत लेखन गरेका छन् । हिमालय हेलिभिजन कोलोराडोबाट उनका 'माटो बोल्छ' एलबमको सिडि र क्यासेट विमोचित भएको छ । भक्तराज आचार्य, उषाकिरण अधिकारी, रामकृष्ण ढकाल, लोचन भट्टराई, सपनाश्री, डम्बर ढकाल र स्वयं उनैको स्वरमा उनका गीतहरु रेडियो नेपालका साथै विभिन्न एफ.एम. रेडियोबाट पनि बजेको सुन्न पाइन्छ । कवितारामले भिडियो चलचित्र 'रहस्यमय गुफा' को लागि पाँचवटा गीत लेखन गरेका छन् । एड्सको बारेमा गीत लेखेका छन् । कवितारामको कलमबाट तयार भएको बालगीतको क्यासेट स्वर्ण शिक्षा इङ्लिस् बोर्डिङ्ग स्कूल गोकर्णले प्रकाशित समेत गरेको छ । कवितारामद्वारा रचित गीतहरु पुस्तकाकार रुपमा नदेखिए पनि गीति क्षेत्रमा उनको हस्ताक्षर गणनीय छ ।



अनुवादक कविताराम

कवितारामले अनुवाद साहित्यमा समेत कलम चलाएका छन् । जसमा उनले नेपाली लोककथाहरुलाई अङ्ग्रेजीमा 'फ्रम द म्यांगो ट्री एंड अदर फोकटेल्स फ्रम नेपाल' को शीर्षक दिएर अमेरिकाबाट प्रकाशित गराएका छन् भने चिनिया लेखक क्वान हुवाको 'गोइंग टू स्कूल' भन्ने बालउपन्यासलाई 'स्कुल जाने रहर' नामक शीर्षक दिई प्रकाशित गराएका छन् ।



सङ्गीतकार कविताराम

नेवारी समाजको प्रखर साँस्कृतिक वातावरणमा हुर्केका कविताराम आफ्नो गाउँघर वा विद्यालयमा केटी भएर नाच्ने गर्दथे । (कविताराम मेरा अस्वीकृत मान्यताहरु काठमाडौँ अभिव्यक्ति प्रकाशन २०४६ पृष्ठ ५८ ।) यही नाचगानको क्रममा उनी स्वभावतः बाजापट्टि आकर्षित हुन पुगे । उनलाई त्यसै समयदेखि ती बाजाबाट धुनहरु कसरी निस्कन्छन् भन्ने जिज्ञासाले क’त्क’ताउँथ्यो । धरानमा बसाइँ सरेपछि उनले सङ्गीत निर्माण कम्पोज को ज्ञान हासिल गर्ने मौका पाए । दोलखामा शिक्षक भएर गएपछि भीम हाइस्क”लमा गाइने सरस्वती बन्दना -

'मेला छ यहाँ शिक्षाको माता आइदेऊ शारदा ......' मा प्रथम पटक आफ्नो सङ्गीत दिए । (अमरक’मार प्रधान दोलखामा रामबहादुरदेखि कवितारामसम्म बहुमूखी प्रतिभा डा. कविताराम पृष्ठ १२३ ।) दोलखाको शिक्षणकै क्रममा कवितारामले दशवटा जति गीतहरुमा सङ्गीत दिए । उनीद्वारा निर्मित चलचित्र 'मुक्तिसङ्घर्ष' मा समेत आफैले सङ्गीत दिएका छन् । स्वर्णशिक्षा स्कूलबाट प्रकाशित बालगीतको क्यासेटमा पनि उनकै सङ्गीत रहेको छ । आफूलाई गीत र कविताले भन्दा पनि बढी सङ्गीतले छुने कुरा उनी व्यक्त गर्दछन् ।



हिमालय टेलिभिजन कोलोराडोबाट उनीद्वारा नै पूर्णतया सङ्गीत दिइएको 'माटो बोल्छ' एलबमको सिडि र क्यासेट विमोचित भएको छ । उनको संगीतमा हालसम्म ख्यातिप्राप्त गायक गायिकाहरु रामकृष्ण ढकाल, लोचन भट्टराई, सपनाश्री, डम्बर ढकाल र स्वयं आफैँले पनि स्वर दिएका छन् । उनीद्वारा सङ्गीतबद्ध गीतहरु रेडियो नेपालका साथै विभिन्न एफ.एम. रेडियोबाट पनि बजेको सुन्न पाइन्छ ।



चलचित्रकर्मी कविताराम

कवितारामले विभिन्न चलचित्रको कथालेखन निर्माण अभिनय आदि गरिसकेका छन् । उनले 'रहस्यमय गुफा' र 'मुक्ति सङ्घर्ष' चलचित्रमा निर्देशन निर्माण तथा अभिनय गरेका छन् भने सङ्गीत समेत दिएका छन् । यसका अतिरिक्त अन्तर्राष्ट्रिय समूहद्वारा आयोजित 'अन्तर्राष्ट्रिय फिल्म शतवार्षिकी महोत्सव' काठमाडौँ १९९५ मा 'ज्युरि' समेत भएका छन् । 'मुक्तिसङ्घर्ष' ले ६ वटा पुरस्कार प्राप्त गरेको छ भने उत्तर कोरियामा भएको असंलग्न राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा 'एसिया अफ्रीका सोलिडारिटी अवार्ड' समेत जित्न सफल भएको छ । यसै उपलव्धिका कारण उनलाई रंगमंचले १९९४ मा वर्षको 'सर्वश्रेष्ठ युवा' को उपाधिसाथ सम्मान दिएको थियो . (कवितारामको व्यक्तिगत विवरणबाट प्राप्त जानकारी।)



शिक्षक कविताराम

कवितारामले अध्यापन क्षेत्रमा समेत आफ्नो योगदान दिएका छन् । धरानमा सन् १९६४ मा एस।एल।सी। उत्तीर्ण गरेपछि धरान नगरपाचायतको ११ न. विद्यालयमा २ वर्षसम्म अध्यापन गरे । वि.सं. २०२४ सालमा उच्च शिक्षा अध्ययनार्थ काठमाडौँ आएका कवितारामलाई आर्थिक जोहोका आवश्यकताले दोलखातिर डोर् यायो । दोलखामा भीम पब्लिक हाइस्क”लमा प्रधानाध्यापक र सहप्रधानाध्यापकका रुपमा दुई वर्षजति सेवा गरे । पछि ०३१ सालमा महेन्द्रनगर चकरघट्टीको हाइस्कूलमा झण्डै एक वर्ष अङ्ग्रेजी शिक्षक भएर काम गरे । कवितारामको शिक्षण अवधि अत्यन्त मूल्याङ्कनयोग्य रहेको छ । विषयवस्तुभन्दा बाह्य अतिरिक्त कि्रयाकलापहरु गायन, वादन, नर्तन, आदिमा पनि उनी पोख्त थिए । शिक्षण अवधि छोटै भए पनि उनी आफ्ना विद्यार्थीका बीच अत्यन्त पि्रय थिए । (अमरकुमार प्रधान दोलखामा रामबहादुरदेखि कवितारामसम्म बहुमूखी प्रतिभा डा. कविताराम पृष्ठ १२३ ।)



राजकीय पथप्रदर्शक रोयल टुर गाइड कविताराम

दोलखा छोडेर काठमाडौँ आएपछि कवितारामको व्यक्तित्वले नयाँ फाँट पायो । संस्कृति विषयका विद्यार्थी भएका हुनाले पर्यटन मन्त्रालयले छनौट गरी तालिम प्राप्त गरेपछि उनी 'टुर गाइड' का रुपमा कार्य गर्न थाले । इ.सं. १९७४ मा श्री ५ महाराजधिराज वीरेन्द्र वीरको राज्यारोहणको अवसरमा नेपाल सवारी भएका राजकीय पाहुनाहरुलाई भ्रमण गराउने क्रममा उनले वेलायतका युवराज चार्ल्स, भारतका अन्तिम भायसराय लर्ड माउन्ट वेटन, ड्युक अफ ग्लस्टर, आदि जस्ता अत्यन्त सम्मानित अन्तर्राष्ट्रिय व्यक्तित्वलाई भ्रमण गराए । इ.सं. १९८१ मा काठमाडौँमा भएको सार्क मुलुकका विदेशमन्त्रीहरुको 'कोलम्बो मीटिंग' का सहभागी विदेशमन्त्रीहरुलाई पनि भ्रमण गराए । विभिन्न देशका राजदूतलाई भ्रमण गराउनुका साथै स्वतन्त्र पथप्रदर्शकका रुपमा काठमाडौँ ट्राभल्स, यति ट्राभल्स, नटराज ट्राभल्स, अन्नपूर्ण ट्राभल्स, आदिमा पनि कार्य गरेका कवितारामको जीवनको एउटा सानो पाटोका रुपमा 'गाइड' व्यक्तित्व पनि झल्कन्छ । (बहुमूखी प्रतिभा डा. कविताराम पृष्ठ २२४ ।)



तालिम विशेषज्ञ कविताराम

पथप्रदर्शन व्यवसायले कवितारामलाई विभिन्न विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका तालिमहरु लिनुपर्दा उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी तहका पेशेवर तालिम विशेषज्ञ हुनपुगे । आज उनी त्यही पेशामा कार्यरत छन् । तालिम विशेषज्ञको रुपमा उनले तालिमको डिजाइन तालिम कार्यान्वयन तालिम मूल्याङ्कन प्रशिक्षकलाई तालिम तालिम सामग्रीको निर्माण तालिम पाठ्यक्रमको निर्माण, तालिम साचालन पुस्तिका निर्माण, आदि कार्यक्रमहरु आफ्नो निर्देशन र निरीक्षणमा गरेका छन् । हाल उनी समयसमयमा तालिम विशेषज्ञको रुपमा अन्तरराष्ट्रिय स्तरमा देशविदेशमा समेत अनुवन्धित हुने गरेका क’रा उनको व्यक्तिगत विवरणमा उल्लेख छ । (सोधनायक कवितारामको व्यक्तिगत विवरणबाट प्राप्त जानकारी ।)



अनुसन्धान विशेषज्ञ कविताराम

कविताराम श्रेष्ठले सन् १९७९ देखि १९८५ सम्म 'न्यू एरा' अन्तर्गत रही नेपालमा स्थित सरकारी गैरसरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय सङ्घसंस्थाको लागि परियोजना निर्देशकको तहमा रही अनुसन्धनात्मक कार्यहरु गरेका छन् । उनले जर्मन भोलिन्टियस्र सर्भिस, पिस्कोर नेपाल, अमेरिकन उमन इन नेपाल, केयर नेपाल, अष्ट्रेलिया फरेष्ट्री प्रोजेक्ट, रिसोस्र कन्जर्भेसन एण्ड युटिलाइजेसन प्रोजेक्ट, युएनस्क्याप, युनिसेफ, रेडक्रस सोसायटी, नेपाल नेशनल कमिशन अफ पपुलेशन, अर्थवाच, युएसए, पाथ युएसए अमेरिका, सेभ द चिल्ड्रेन युएसए, सेभ द चिल्ड्रेन बि्रटेन, सेभ द चिल्ड्रेन जापान, आदि जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत - गुणात्मक तथा परिमाणात्मक अनुसन्धानका रुपरेखाको निर्माण, फिल्डमा, अनुसन्धानकर्तालाई तालिम, अनुसन्धान सामग्रीको निर्माण, अनुसन्धान तथ्याङ्क, अनुसन्धान, तथ्याङ्कको प्रशोधन, तथ्याङ्कको विश्लेषण, तथा अनुसन्धान प्रतिवेदन लेखन, आदि, जस्ता कार्य लगायत तीन दर्जनभन्दा बढी अनुसन्धान कार्य गरेका हुनाले सक्षम अनुसन्धनात्मक व्यक्तित्वको रुपमा पनि उनी परिचित छन् । हाल उनी समयसमयमा अनुसन्धान विशेषज्ञको रुपमा अन्तरराष्ट्रिय स्तरमा देशविदेशमा समेत अनुवन्धित हुने गरेका छन् ।



समाजशास्त्री कविताराम

कविताराम श्रेष्ठ विकास निर्माणका कार्यमा पनि सशक्त रुपमा रहेका छन् । 'न्यू एरा' रहँदादेखि नै आरसियुपि प्रोजेक्टमा संलग्न थिए भने सन् १९८३/८४ मा गोर्खा म्याग्दी मुस्ताङ जिल्लामा सम्पन्न पाइलट प्रोजेक्ट साचालन रुपरेखा निर्माणदेखि मूल्याङ्कनसम्मका सम्पूर्ण कार्य उनकै नेतृत्वमा सम्पन्न भयो । उनले परियोजना अन्तर्गत ग्रामीण समुदायमा आवश्यकताको पहिचान तथा निक्र्यौल सम्भाव्यताको अध्ययन परियोजनाको रुपरेखा निर्माण ग्रामीण विकासको लागि जनसहभागिताको परिचालन, सुपरिवेक्षण, मूल्याङ्कन, आदि जस्ता विकासका कार्यहरु परियोजना अन्तर्गत गरेका छन् ।



विकास निर्माण अन्तर्गत नै भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा गठित राष्ट्रिय विकास परिषद्को सदस्य, भूतपूर्व उप-प्रधानमन्त्री वामदेव गौतमको कार्यकालमा गठित विकास निर्माण कार्यका अनुगमन सल्लाहकार, भूतपूर्व स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठको अध्यक्षतामा गठित जनजाति विकास समितिका उपाध्यक्षमा रही निति निर्माताका रुपमा कार्य गरेको कुरा उनको व्यक्तिगत विवरणमा उल्लेख छ ।



पुरस्कार संस्थापक कविताराम

अस्वीकृत विचार साहित्य पुरस्कार ः अस्वीकृत मान्यताको धारणा अझ सशक्तरुपले जनमानसमा पुर् याउने उद्देश्यले कवितारामले २०५४ सालमा 'अस्वीकृत विचार साहित्य पुरस्कार' को स्थापना गरे । आफ्नो साहित्यिक कृति प्रकाशित भए वापत प्राप्त लेखकस्व र पुरस्कारका रकमले यस पुरस्कारको स्थापना गरेका हुन् । पुरस्कारको साचालनमा संस्थापक आफै संलग्न छैनन् । पुरस्कृत गरिने व्यक्ति छनौट समितिमा अध्यक्ष कृष्णचन्द्रिसंह प्रधान महासचिव नगेन्द्रराज शर्मा र सदस्यहरुमा गोविन्द भट्ट अभि सुवेदी सोमनाथ घिमिरे युवराज श्रेष्ठ अनि नारायण ढकाल रहेका छन् । २०५४ सालमा यो पुरस्कार पूर्णविरामलाई प्रदान गरियो भने २०५५ सालमा यो पुरस्कार नन्दराम लम्साललाई र ०५६ सालमा शारीरिक रुपले अपाङ्ग खुट्टाद्वारा साहित्य रचना गर्ने कवयित्री झमककुमारी घिमिरेलाई प्रदान गरिएको थियो । ०५७ सालमा देवीप्रसाद सुवेदीले यो पुरस्कार प्राप्त गरे भने ०५८ मा नेपाल भाषा साहित्यका कवि पूर्ण बहादुर वैद्यलाई यो पुरस्कार प्रदान गरिसकिएको छ । त्यसपछि ०५९ मा मैथिली लेखक लाहानका चन्द्रशेखरलाल शेखर ०६० मा धरानका कृष्णप्रसाद श्रेष्ठ ०६१ मा चिवनतका रविकिरण निर्जिव, ०६२ मा साहित्यिक पत्रकार शिव रेग्मी, ०६३ मा धरानका कवि नरेश शाक्य, र ०६४ मा अमेरिकका कवि वसन्त श्रेष्ठलाइ पुरस्कृत गरिसकेकेा छ । यस पुरस्कारको अक्षयकोषमा रु. ११११११/- बाट सुरु गरिएकोमा हाल थप रकमहरुबाट २०००००/- सुरक्षित छ । कवितारामले आफ्नो जीवनभरि लेखनबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व र पुरस्कारका रकमहरु यसै गुठीलाई प्रदान गरी पुरस्कारको राशि बढाउने लक्ष राखेका छन् । हाल भने पुरस्कारको राशि १२०००/- रहेको छ ।

(http://www.geocities.com/a472637/reci.htm)



बालसाहित्य प्रवदर्धन पुरस्कार ः बालसाहित्यको क्षेत्रमा समेत सशक्त कलम चलाउने कवितारामले बालसाहित्य प्रवद्र्धनार्थ पनि पुरस्कारको स्थापना गरेका छन् । अमेरिकामा प्रकाशित 'फ्रम द म्याङ्गो ट्री एण्ड अदर फोक टेल्स फ्रम नेपाल' र नेपालबाट प्रकाशित बालसाहित्यिक कृतिहरुको लेखकस्वको रकम जुटाई रु। ३०००००/- को अक्षयकोष स्थापना गरेका छन् । कवितारामद्वारा स्थापित बालसाहित्य पुरस्कार क. 'कविताराम बालसाहित्य प्रवर्धन सम्मान' , ख. कविताराम बालसाहित्य प्रतिभा पुरस्कार' र ग. 'कविताराम बालसाहित्य कदरपत्र' गरी तीन विधामा प्रदान गरिन्छ ।

२०५४ सालदेखि ०६३ सालसम्म 'कविताराम बालसाहित्य प्रवर्धन सम्मान' पाउने बालसाहित्यकारहरुमा शान्तादास मानन्धर, डा. चुडामणी बन्धु, रमेश विकल, स्यामप्रसाद शर्मा, जनकप्रसाद हुँमागाईँ, कृष्णप्रसाद पराजुली, देवकुमारी थापा, दुर्गालाल श्रेष्ठ, भिक्टर प्रधान, विश्वम्भर चंचल, हुनुहुन्छ । त्यस्तै २०५४ सालदेखि ०६३ सालसम्म 'कविताराम बालसाहित्य कदरपत्र' पाउने सँस्थाहरुमा क्रमश बासु मा.वि. भक्तपुर, बुधानिलकंठ मा बी काठमाडौँ, हिन्दु विद्यापीठ काठमाडौँ, शुभतारा मा वि ललितपुर, नोवेल एकेडेमी काठमाडोँ चितवन, इ मा वि भरतपुर, अन्तर्राष्ट्रिय सँस्था रुम टु रिड, अन्तर्राष्ट्रिय सँस्था रिड, सीवीन, रत्नपुस्तक भण्डार र भोलीको नेपाल टिभि कार्यक्रम छन् । त्यस्तै २०५४ सालदेखि ०६३ सालसम्म 'कविताराम बालसाहित्य प्रतिभा पुरस्कार' पाउने बालप्रतिभाहरुमा क्रमशः झमकक’मारी घिमिरे (कविता), विभुति सिँह (निवन्ध) तथा (कविता) नीरज बलामी (सम्पादन) रश्मी आमात्य (चित्र) श्लेष्मा क्षत्री (कविता) अस्मिता पन्थी (कविता), उदेश पाण्डे (कविता), अंजना राजवंशी (निवन्ध) छन् । (http://www.geocities.com/a472637/balak.htm)



नन्दराम श्रेष्ठ जनजाति छात्रछात्रा उत्थान पुरस्कार ः आफ्नो जन्मथलो सम्झौँ २०५५ कार्यक्रमको साइत पारी ओखलढुङ्गा गएका अवसरमा कवितारामले श्री लालीगुराँस इङ्गलिस स्क”ल ओखलढुङ्गामा नन्दराम श्रेष्ठ जनजाति छात्रछात्रा उत्थान पुरस्कारको स्थापना गरे । जनजातिमूलका असहाय छात्रछात्रालाई सहयोग पुर् याउने उद्देश्यले स्थापित उपयुक्त पुरस्कारको अक्षयकोष २००००/- बीस हजार रहेको छ ।

आर्थिक दृष्टिले उनी मध्यमवर्गीय देखिए तापनि नेपाली साहित्यको उन्नतिको लागि पुरस्कार स्थापना गरी प्रतिभाहरुलाई प्रोत्साहित गर्नु अत्यन्त सान्दर्भिक र प्रशंसनीय ठहर्छ । (कविताराम अनौठा अभियानका अनौठा अनुभूतिहरु लेख पृष्ठ ५ ।)



सुनौला स्मृति अक्षयकोष पुरस्कार ः कवितारामले आमाको श्राद्धस्वरुप आफ्नो अंशको १३२००० वरावरको जग्गा हरेक वर्ष वरिष्ठ गीतकार संगीतकार एवम गायकहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले सुनौलो पुस्तकालयलाई अक्षयकोषमा रहने गरी दान दिएका छन् । यस अक्षयकोषको स्थापना २०५९ मा भएको हो ।



स्वर्ण शिक्षा कविताराम शिशुस्याहार केन्द्रको स्थापना ः कवितारामले शिशुस्याहार केन्द्रको स्थापानाको लागि स्वर्ण शिक्षा इंगलिश स्कुल गोकर्णको नाममा रहेको आफ्नो नामको सेयर मध्येबाट रु ७००००० बराबरको सेयर अंश स्वर्ण शिक्षा कविताराम शिशुस्याहार केन्द्रलाई हस्तान्तर गरेका छन् ।



कवितारामका कार्यक्षेत्र

कवितारामका कार्यक्षेत्र विविध छन् र एकअर्काका परिपूरक भएर रहेका छन् । मोटामोटी रुपमा उनको कार्यक्षेत्रलाई 'साहित्यिक' 'राजनीतिक' र 'कन्सल्ट्यान्सी' गरी हेर्न सकिन्छ ।

साहित्य ः २०२६ सालदेखि सशक्त रुपमा उदाएर कविताराम आजसम्म साहित्यका विविध विधामा र बालसाहित्यमा समेत उत्तिकै योगदान दिँदै आइरहेका छन् ।



राजनीति ः क्याम्पस प्रवेशसँगै प्रगतिशील विद्यार्थी खेमामा समाहित भई ने।s।पा। एमालेमा रहेर महत्वपूर्ण राजनीतिक नियुक्तिहरु समेत पाइसकेका कविताराम पछि 'ने.क.पा. माले' मा राष्ट्रिय पार्षद, केन्द्रिय प्रशिक्षक एवं साहित्य तथा संस्कृति केन्द्रिय विभागका सदस्य भई काम गरिसकेका छन् । आफ्नो जीवनको उत्तरार्धमा भने कार्य क्षेत्रमा भन्दा साहित्य र संस्कृतिमा नै लागेर समाजसेवा गर्ने उनको इच्छा रहेको पाइन्छ । (गौतम दाहाल 'राजनीतिक सन्यासको अन्तिम तयारीमा' सत्मार्ग - मासिक वर्ष १ अङ्क ११ २०५९ बैसाख पृष्ठ २३)



परामर्शसेवा कन्सल्ट्यान्सी ः कवितारामको जीवनको सबैभन्दा व्यस्त कार्यक्षेत्र कन्सल्ट्यान्सी हो र यसैले उनलाई आफ्नो जीवन चलाउन समेत मद्दत गरेको छ । हाल उनी राष्ट्रिय-अन्तर्राष्ट्रिय सरकारी-गैरसरकारी गरी दर्जनौँ संस्थाहरुमा तालिम तथा अनुसन्धान विशेषज्ञको कन्सल्ट्यान्टका रुपमा कार्यरत छन् । उनको आफ्नै कन्सल्टिङ्ग एशोशियट्स फर रिसर्च एन्ड ट्रेनिङ्ग सर्भिसेज भन्ने कन्सल्ट्यान्सी फर्म पनि छ ।



संस्कृतिकर्मी ः कविताराम नाटक तथा चलचित्रमा गीत संगीत गायन अभिनय निर्देशनमा सलग्न हुनुका साथै विभिन्न साँस्कृतिक समूहको सल्लाहकार एवम संरक्षक समेत रहेका छन् । उनी नेकपा मालेका साहित्य एव संस्कृति केन्द्रीय विभागको सदस्य पनि रहेको कुरा उनको जीवनवृत्तमा भेटिन्छ ।



विदेश भ्रमण

कविताराम भ्रमणप्रेमी व्यक्ति हुन् र स्वभाववश आफूले श्रीमती चन्द्रा श्रेष्ठ कान्छी छोरी रजनी श्रेष्ठ र जुवाई सूर्य ताम्राकार समेतलाई लिएर एकै भ्रमणमा विश्वको फन्को मारेको र ती क्षण आफूलाई अविस्मरणीय रहेको कुरा उनी व्यक्त गर्दछन् । विश्वफन्को लगाउने क्रममा उनले पृथ्वीलाई पूर्वतिरबाट परिक्रमा गरे । उनी सिङ्गापुरबाट टोक्यो अमेरिका क्यानाडा प्रुान्स जर्मनी हुँदै पुनः सिङ्गापुर आएर तीन महीनामा पृथ्वी परिक्रमाको यात्रा पूरा गरेका थिए । शोधनायकबाट प्राप्त जानकारी । यसका अतिरिक्त अन्य समयहरुमा उनले मेिक्सको वेलायत नर्वे रुस जापान दक्षिण कोरिया उत्तर कोरिया चीन मकाउ हङ्गकङ्ग थाइल्याण्ड मलेसिया बङ्गलादेश र भारतको भ्रमण गरेका छन् ।





तपाईंको प्रतिकृया

yeh ! indeed its tuoching theme to get the short biography in this site- online nepali literature forum ,actually thats not enough about Dr.kavitaram shrestha.He is the man,who has outstanding ability of holding the world through his deeds and practicle aspect of life according to the demand of time.so we are ofcourse glad to get his accounts of credits for the welwishers and the literary figures through this site.Thank you for the smooth operation towards intellectuality. we hope more about him will get in the days to come.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम