Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
कवि ‘सङ्केत’का ४३ कविताहरु (इश्वर चाम्लिङ) - [2008-07-15]

आफूलाई कवि सङ्केत सर्वनामले चिनाउनु हुने कवि केदार सुनुवारले आफ्ना छरपस्टिएका कविताहरुलाई केलाएर आफै जलिरहेको देशमाथि थुपारी दिएका छन् । प्रचलित साइजमा उपस्थित यो कृतिको आवरण कला र कृतिको नाम आफै जलिरहेको देशले नै लेखक वर्ग, लेखनलाई माया गर्ने सरवसाधारणलाई लोभ्याउँदछ । कविले यो कृति केही महिनाअगाडि मात्र सार्वजनिक गरेका हुन् । प्रवासका कविताहरु, प्रवासी कवि, संयोग प्रवासकै, प्रवासी नेपाली साहित्य समाज (प्रभात)को वार्षिक सम्मान कार्यक्रम जहाँ आदरणीय साहित्यकार दाजु रक्ष राईलाई सम्मान गरिँदै थियो, त्यही कार्यक्रममा जलिरहेको देशको लोकार्पण भयो । लाहुरघरमा पलायनवादले सखाप पार्दछ, धेरै कुशल प्रतिभाहरुलाई, लाग्दथ्यो त्यही मारमा परे कवि पनि । तर त्यसो भएन छ, कविज्यु कवि भएर नै बाँचिरहनु भएको रहेछ । कार्यक्रमको प्रमुख अतिथि महामहिम मुरारीराज शर्मा तथा विशेष अतिथि भी. सी. तुलबहादुर पुन द्वयले पुस्तक सार्वजनिक गरिसक्ने साथ कविले वाचन गरेका थिए, ४३ कविताहरु मध्येका शीर्षक कविता जलिरहेको देश….



……..बल्लतल्ल एकथरि सिकारीले

बन्दुक बिसाएको बेला

मधेश र पहाड छुट्याउने रे

आ-आफ्नै छुट्टै राज्य संरचना गर्ने रे

ए अविनीत पथभ्रष्टहरु हो ।

तिमीहरु त यो देशको कलङ्कहरु हौ ।



आफ्नो देशलाई कतिसम्म माया गर्न सकिन्छ ? परदेशिएका मनहरुलाई सोधे हुन्छ, माया देखाउनेहरुले स्वार्थ बिसाएर त्याग के गर्लान् र ? तथापि कविज्युको समय सान्दर्भिक झटारो बेलाको मेला भएर हाजिर भएको छ आफै जलिरहेको देशमा । अब त कवि केदार पलायन होलान् भन्ने के को डर र मलाई, उनी त झन् सकृय एवं समय सान्दर्भिक भएर पो उदाएका छन् । साँच्चो राष्ट्रको माया त बिदेशमा पो जुरमुराउँछ त । कविज्यु सुन्ने जति सबैलाई सुनाउनुस् है यो कविता - कतै साँझमा पनि घाम झुल्किन्छ कि ? र अन्धकारमय समय खेप्न पर्दैन यता हामीले ।



यो कविता कृति त्यो कार्यक्रमको दिन सीमितप्रति भएकोले मैले पाउन सकिनँ, कस्तो-कस्तो लागिरहेको थियो तर सम्झेर पोष्ट गरी पठाउनु भएछ । ज्यादै आभारी छु, यद्यपि मैले आभारको दुई शब्द लेख्न खोजेको भने हुँदै हैन । न यो कुनै समालोचना या समीक्षा नै हो । बरु यो त केवल एक जानकारी हो, विचार र चिन्तनसँगै भावनात्मक उपस्थितिको र हो कदर, आदर र सम्मान, एक कृतिको लागि अर्को शिकारु कृतिकारको । हरेक कुराको केन्द्र हाम्रो मस्तिष्क मात्र होइन हृदय पनि हो । आवश्यकता भावनाको पनि हुन्छ, यस अर्थमा भावनालाई पनि कदर गरिनु पर्दछ । मनमा लागेका कुराहरु लेख्न कुनै समालोचक नै हुनु पर्छ भन्ने मेरो मान्यता छैन । किनकि सम्झनु या सम्झँदै लेख्नु कुनै पनि दृष्टिकोणबाट नराम्रो हैन जस्तो लाग्छ मलाई । लेखन अर्थात लेख्नु चिन्तन र विचारको भावनात्मक सम्प्रेसन त हो, हैन र ? चिन्तन गर्नु मनमा लागेका कुरा अरुले पढोस् भन्ने हेतुले लेख्नु पनि किन नानाभाँतीले वर्गिकृत भइराख्नु पर्‍यो र ? म त भन्दछु, मनमा जे लाग्छ सबैले लेखेर राखे राम्रो ।



पुस्तक पाएपछि पुस्तक पछाडि छापिएको छोटो व्यक्ति वृत्त पढे । लामो समयसम्म सँगै काम गरियो हरियो पर्खालभित्र तर मैले ख्यालै नगरेको रहेछु, दाजु रामेछापमा जन्मनु भएका कवि हुनु हुँदोरहेछ र जीवन यात्रामा १५ विभिन्न मुलुकहरु पनि घुमिसक्नु भएको रहेछ । तर खैः दाजु, म त हजुरको त्यही रामेछाप पनि घुम्न पाएको छैन । सायद तपाईँ पनि खोटाङ्ग पुग्नुभएको छैन होला, हैन - कस्तो छ हजुरको रामेछाप - अर्को कृति चाँडै निकाल्नुस् है - जँहा म रामेछाप घुम्न सकूँ । गाँउघर कति रमाइलो हुन्छ हैन - अलि पर केही जङ्गल, जङ्गलको फेदीमा सानो खोला । जङ्गलैभरि गोठालेहरु । बाँसुरी र ठाडो भाकाका पारिडाँडाबाट आउने तीखो झन्कारहरु । खोलामा दुवाली छेक्न व्यस्त माछा मार्ने गाउँलेहरु । खेतका घुमाउरा गह्राहरुको मास्तिर स-साना गोठहरु, अलि टाढा र निकैमाथितिर कमेरो र रातो माटोले रङ्गीन सुन्दर झुरुप्प घरहरु । सायद रामेछाप पनि त्यस्तै होला । यो कृतिमा हजुर जँहा-जँहा पुग्नु भयो, प्रायः ती सबै ठाँउहरुलाई सम्झनु भएछ । यसै सन्दर्भमा मैले पनि एक सर्को रामेछाप पनि चिहृयाउने मन गरेको हुँ ।



मलाई अझसम्म याद छ, हजुरको एकजना हितैषी साथी हुनुहुन्थ्यो । एकदमै मिल्ने, एकैछिन नछुट्टनिे र कहिले तँ-तँ र म-म नगरी बस्न नसक्ने, यानि कि सर्बधन राई जसलाई हजुर “सर्बे” भनेर बोलाउनु हुन्यो । मान्छेको परिभाषा सुनाउनु भएको रहेछ हितैषी साथिलाई । मैले पनि गजबले बुझें त्यो सरल परिभाषा, साह्रै घत लाग्यो ।



……….नयाँ हुँदा भकुण्डो

सबैलाई खेलौं-खेलौं लाग्ने

जब पुरानो हुन्छ भकुण्डो

फालौं-फालौं लाग्ने

फेरौं-फेरौं लाग्ने

भकुण्डो मान्छे

मान्छे भकुण्डो

उस्तै-उस्तै हो सर्बे ।



कविज्यु, यो भकुण्डोजस्तो जिन्दगी कतिन्जेल गुड्ने हो कुन्नि - कहिलेसम्म खेलौं-खेलौं लाग्ने हो कुन्नि - फालौं-फालौं, फेरौं-फेरौं पो लाग्ने हो कि ? जे-जे लागे पनि, जस्तो लागे पनि जीवन, एक पटकलाई हुन्छ । भकुण्डोझै फेरौं-फेरौं त लाग्नसक्छ कहिलेकाहिँ तर कहाँ फेर्न पाइँनु नि । बरु पुराना भकुण्डोहरुलाई सजाएर राखेझै त्यही आफ्नो पुरानो जिन्दगीलाई, अतीतलाई सजाइराख्न सकौं, लेखिराख्न सकौं, भावनामा । मैले यसबेला, यतिरातिसम्म बसेर, घोत्लिँदै यही त गर्ने प्रयत्न गरेको हुँ । त्योबेलादेखि यो क्षणसम्म जोड्न खोजेँ । केही गल्ति त भएन होला ! भए पनि क्षमा पाउँ है ? कति अमूल्य छ नि यो जीवन, कति महत्वपूर्ण छ ! जुटाउन सकिने कुनै किमत नै छैन यो जीवनको । यस्तो अमूल्य जीवनको ४३ वटा क्षणहरुलाई, विचार, चिन्तन, भनौँ न, मनका कुराहरुलाई भावनात्मक लहरहरुमा लहराइदिनु भयो, सारवजनिक गरिदिनु भयो । तपाईंको भावनात्मक पोको “आफै जलिरहेको देश” भित्रका हरेक पानाहरुलाई मेरो सलाम छ । हरेक शव्द-शव्दलाई मेरो सलाम छ । सिर्जनाको मूल कहिले नटुटोस् । उत्साहको सागर कहिले नसुकोस् । हार्दिक वधाइ छ हजुरलाई, शुभकामना एवं फेरि सु-स्वागतम् प्रवासी साहित्यिक आकाशमा ।





-खोटाङ, हालः बेलायत








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम