Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
उसको मृत्यु (सङ्गीत आयाम) - [2008-07-19]

कुनै कारणबिना नै उसको मृत्यु भयो। मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु। खुट्टाहरू फतक्क गलेका छन्। हातहरू मानौं अपाङ्ग भएका छन्। संवाद हराएर ओठहरूमा मात्र मौनता फैलिएको छ। मनहरू लाग्छं आहत् भएका छन् कुनै ठूलो पहाडले किचिएर।



साँझ ढल्दैछ। म झ्याल खोल्छु, हावाको एक चिसो झोका कोठाभित्र पस्छ। लाग्छ हावाको झोंकासँगै उसको सम्झना पनि कोठाभित्र प्रवेश गरेको छ। स्मृतिहरूको भेलले मलाई बगाएर पर कतै एकान्तमा पुर्‍याउँछ। म उसको ओठ सम्झन्छु।



उसका कलिला ओठहरूमा अद्भुत प्रकारको जादु थियो। त्यो जादुले ओतप्रोत भएका ती ओठहरू मैले सहस्र पटक चुमेका ओठहरू थिए। अहा! कति राम्रा थिए ती ओठहरू। उसका स्वप्निल तरङ्ग व्यूँझाउने ओठहरू यति सुन्दर थिए कि मानौं ती ओठहरू मैले कोर्समा पढ्ने गरेका शेलीका कविताहरू हुन्। मानौं मैले एकान्तमा भिजेर समयलाई मनोरम बनाउने गरेका डी. एच. लरेन्सका उपन्यासहरू हुन्।



फेरि अर्को चिसो झोंकाले म स्मृतिबाट खस्छु। आर्कल्याम्पको प्रकाशले छोएको सेतो फूललाई झ्यालबाट टाउको निकालेर म बाहिर हेर्छु। बाहिर अलि चिसो नै रहेछ, शायद रात पनि धेरै ढलिसक्यो होला। साँझ डुबेको पनि धेरै समय भैसक्यो, खोइ! निद्रा नै आउँदैन। संझनाहरू चाहिं यसरी आएका छन् कि के भन्ने? म उसको आँखा सम्झन्छु।



उसका ठूला ठूला आँखाले मलाई मानौं मोहनी नै लगाएका थिए। म उसको आँखा हेरिरहन्थें एकनाशले टोल्हाएर। मैले सयौं पटक चुमेका ती आँखाहरू कुनै सुल्झनै नसक्ने रहस्यहरू थिए। कति आत्मीय थिए ती आँखाहरू! कति रोमाञ्चक थिए ती आँखाहरू! ती आँखाहरूको गहिराइमा एउटा पृथक संसार थियो। ती आँखाहरूले बोक्ने गरेका एउटा क्यानभासमा समय लत्पतिन्थ्यो अमूर्त भएर। म कसरी ती आँखाहरूलाई बिर्सन सक्छु र जसले मभित्र सहस्र स्पर्शहरू खोपेर गए। यो पीडाको मौसममा स्मृतिले दिएको थप पीडा पिएर म ऊबाट भाग्नै नसक्ने भएको छु यतिखेर।



रात ढल्दैछ। समय बहकिदैछ। मात्र एकान्तमा रातलाई लिएर बस्नु शायद पागलपन नै हो क्यार! शायद अरु नै केही हुनसक्छ रातभरि भरि आफूलाई टाँगेर बाँच्नु। अनायास यो के? पानी परेजस्तो छ बाहिर। अघिसम्म त पानी पर्ने जस्तो मौसम नै थिएन, मात्र चिसो हावा बगिरहेको थियो। होइन पानीको छिटा त भित्रै पस्नै लाग्यो, झ्याल लगाउनु पर्‍यो। म उठ्छु। झ्याल तिर बढ्छु तर हातहरू भने सर्न नै मानिरहेका थिएनन्। स्मृतिको कुन सम्मोहनले तानेर मलाई फेरि पनि उसको नजिकै पुर्‍याइदिन्छ।



केही दिन पहिलाको त घटना हो। यस्तै झमझम पानी परेको समय थियो। हामी ओत लागेर बसेका थियौं सडकको छेउमैं। बर्सिरहेको पानी देख्दा यस्तो लाग्थ्यो नजिक आउँदै गरेको रातलाई समेत पिइदिनेछ यसले आफ्ना ओठहरू फैलाएर। पानीको भेलमा सडक पनि बगेझैं लाग्थ्यो सँगसँगै। ठीक यसैबेला उसका हातहरू पानीमा सर्वाङ्ग रुझरहेको गुलाफको फूलतिर सोझन्छन्। मैले त्यस फूलमाथि आफ्नो ध्यान केन्द्रित गर्छुं। वास्तवमैं पानीमा भिजेको त्यो फूल यति सुन्दर देखिन्थ्यो कि मन बहकिहाल्दथ्यो। उसका ओठहरूले मसँग त्यो फूल टिप्ने अनुरोध गर्न थाल्छन्।



'पापा, त्यो फूल मलाई चाहियो, टिपेर ल्याउनोस् न।'



मैले उसलाई भन्छु, 'पानी परिरहेको छ अहिले हुँदैन।'



ऊ एकदमै जिद्दी थियो, मेरो केही लाग्दैन। म फूलतिर बढ्छु र त्यसलाई टिपेर फर्किदा निथु्रक्क रुझसकेको हुन्छु। मेरा कपडाहरू पानीले लफ्रक्क भिजेको देखेर होला उसको हाँसोले रोकिने नाम नै लिएन। 'थ्याक्यूं पापा!' ऊ भन्दै थियो। उसको चञ्चल र कोमल हाँसोले त्यत्रो पानीले भिजाउन नसकेको मेरो मन चुर्लुम्म डुब्ने गरी भिजाएको थियो। मात्र संझना छ, पत्र–पत्र हुँदै उप्किरहेका।



ओहो! पानीले सिरानी पनि भिजाएछ। पानी त क्रमशः बग्दै गएर तन्नाभरि फैलिंदै गएछ। म फेरि उठ्छु। अब त झ्याल लगाउनै पर्छ नत्र पानी कोठाभरि फैलिनेछ। कत्रो पानी परेको? म बाहिर हेर्छु। बाढी नै आएजस्तो छ सडकमा। अनायास आर्कल्याम्पको प्रकाशमा नुहाइरहेको त्यो सेतो फूलमा मेरो आँखा पुग्छ। ठ्याम्मै उस्तै फूल! कत्ति फरक छैन, मानौं त्यो फूल यस फूलमा रूपान्तरण भएको छ अहिले। तर ..... खोइ, उसको हात सोझएको त्यो फूलतिर? खोइ, उसका ओठहरूले त्यो फूल टिप्ने अनुरोध गरेका? पीडाको अदृश्य उदासी कोठाभरि पोखिन्छ र सुस्त सुस्त बढ्नथाल्छ त्यसको गाढा रङ्ग। म चुपचाप अघिको फूललाई नियाल्छु र देख्छु उसको स्मृतिले व्यूँझाएको प्रतिबिम्बित रूपलाई।



ओहो! पानीले तन्ना पुरै भिजाएर कोठाभरि फैलिएछ। अघि नै झ्याल लगाउनु पर्ने! म झ्याल तिर बढ्छु र त्यसलाई बन्द गर्छु।



मध्यरातको शून्यतामा एउटा अनौठो लाग्ने आवाजले मलाई झस्काउँछ, म त्यस आवाज आएकोतिर हेर्नुपुग्छु। ए! आमा पो हुनुहुँदो रहेछ ढोका खोलेर आउनु भएको। आमा पनि उसको मृत्युले आहत् हुनुभएको कुरा म उहाँको भिजेका आँखा हेरेर नै थाहा पाउँछु। आमातिर म सम्पूर्ण रूपमा केन्द्रित हुँदानहँुदै उहाँको वाक्य खसिसकेको हुन्छ।



'बाबु, तँ अहिलेसम्म सुतेको छैनस्? के गरिरहेको यतिबेलासम्म?'



मैले भन्न खोज्छु 'आमा, तँपाई पनि त सुत्नुभएको छैन नि!' तर भन्दिन।



आमाको ओठ फर्फराइरहेको थियो, शायद उहाँ अरु पनि केही कुराहरू भन्न खोज्दै हुनुहुन्थ्यो। आँखामा रसाएको आँसुलाई बलजफ्ती रोक्दै आमाले शब्दहरूलाई बडो कठीन ढङ्गले निकाल्नुहुन्छ।



'बाबु, गएको मान्छे अब फर्केर आउने होइन। नआउने कुरामा मन लगाएर मात्र के हुन्छ?' मलाई थाहा थियो, यो कुरा आमाले आफैंलाई सान्तोना दिन भनिरहनु भएको थियो।



'कसरी भुल्ने आमा उसलाई?' मैले मनमनै आफूलाई दोहोर्‍याउँदै थिएँ।



आमा कतिखेर त्यहाँबाट बाहिर जानुहुन्छ, मलाई थाहा नै हुँदैन। म त आफैंमा हराएको थिएँ, पीडा र उदासीको बोझले थिचिएर।



मैले झ्याल खोल्छु। ए! पानी त थामिएछ। त्यत्रो झमझम परेको पानी थामिएला जस्तै थिएन। आर्कल्याम्पको प्रकाशले त्यो परको सेतो फूलमा उज्यालो छरिरहेको थियो। तर उसको सामीप्यले दिएका सहस्र उत्साहहरू र खुशीका गीतहरू भने हराएका थिए कुनै अज्ञात गन्तब्यतिर यात्रारत रहेर।



मैले अन्तिमपल्ट झ्याल बाहिर हेर्दा बिहान भैसकेको थियो। टेबुलमा चिसो भएको कप थियो चियाको शायद आमाले ल्याएर छोड्नुभएको थियो। बाहिर उज्यालो परसम्म पोखिसकेको हुन्छ, म कोठाबाट बाहिरिन्छु र केही टाढा पुग्छु।



झलमल्ल घाम लागेकोले मौसम सफा थियो। राती परेको पानीले गर्दा प्रकृति मुलायम देखिन्थ्यो। मलाई आफ्नो उदासी केही कम भएको जस्तो महसुस हुँदै जान्छ। सँधै उदास रहेर पनि त बाँच्न सकिदैन, मैले सोच्दै हुन्छु। सँधै पीडा लिएर कसरी यात्रा तय गर्न सकिन्छ र? मलाई समयले सिकाउँदै थियो।



त्यो सेतो फूल त्यहाँ थिएन, मलाई फेरि समयले उपहास गरेझैं लाग्छ। कसले टिपेछ त्यो फूल? कति निष्ठुर हात होला त्यो फूल टिप्ने? उसलाई पनि त मृत्युले यसरी नै टिपेर लग्यो, मैले केही पनि गर्न सकिन। जे कुरा भुल्न खोजिन्छ, त्यही कुराले किन यसरी सताउँछ? प्रश्न जीवन्त हुँदै थियो।



घरी–घरी आइरहने उदासीबाट बच्न म डी. एच. लरेन्सको कथासङ्ग्रह पढ्न थाल्छु। 'दि रकिङ हर्स विनर' भन्ने कथा त्यस सङ्ग्रहको शुरुमैं थियो। यस कथामा सानो केटो 'पौल'को मनोविज्ञान बिगारेर उसकी असन्तोषी आमाले अन्त्यमा आफ्नै छोराको मृत्यु गराएकी कुरा थियो। यो कथाले झन् उसको मृत्युलाई ताजा गराउँछ, म पुस्तकलाई फ्यात्त मेचमा फाल्छु। किन हरेक कुरा उसको मृत्युसँग जोडिएर आउँछन्? के यसबाट बच्ने उपाय छैन? म साँच्चै नै यस्तो कुराको प्रतीक्षामा थिएँ कि कमसेकम उसको मृत्युले दिएको यातनालाई भुल्न सकुँ।



मध्यान्नतिर एकहूल केटाकेटीहरू आउँछन्, म उनीहरूलाई हेर्नथाल्छु। शायद उसका साथीहरू होलान्। अँ, उसका साथीहरू नै रहेछन्। उनीहरूको अनुहारमा अनन्त खुशी छचल्किरहेको थियो। उनीहरूका आँखा यसरी चम्किरहेका थिए कि मानौं जसरी अन्धकारमा हठात् प्रकाश चम्कन्छ। आफ्ना साना हातहरूमा फूलका गुच्छाहरू लिएर उभिएका ती केटाकेटीहरूमाझ मैले उसलाई खोज्छु। अँह, ऊ त्यहाँ थिएन। सँधै साथीहरूमाझ रहने उसको उपस्थिति आज साथीहरूका माझ नै हराएको थियो। मेरो आँखामा हेर्दै एउटा सानो केटाले मसँग केही सोधिरहेको मलाई आभाष हुन्छ।



ऊ भन्दै थियो, 'अङ्कल, आकाश आज किन स्कूल नआएको? आज हाम्रो रिजल्ट पनि भयो। अङ्कल सुन्नुहुन्छ? आकाश त स्कूलभरिमा सबैलाई टपेर बोर्ड फस्ट भयो नि!



म मौन थिएँ। आफ्ना आँखामा रसाएको आँसुलाई लुकाउन म उनीहरूदेखि उता फर्किन्छु।



एउटी सानी केटी मेरो सामुन्यमा आउँछे र जिद्दी गर्न थाल्छे। 'भन्नुहोस् न अङ्कल, आकाश खोइ भन्या?'



सार्‍है जिद्दीवाल हुन्छन् केटाकेटीहरू। आफूले खोजेको कुरा पाउने त यिनीहरूको स्वभाव नै हुन्छ। मेरो आकाश पनि सार्‍है जिद्दी गर्थ्यो र पनि अत्यन्त प्यारो थियो। उसले जिद्दी गर्दा उमेर अनुसार कति सुहाउँथ्यो पनि। मैले परतिर हेरें, एकहूल चराहरू स्वतन्त्रताको उपभोग गरेर उडिरहेका थिए।



केटाकेटीहरूको स्वर बढ्दै थियो। 'अङ्कल, आकाश खोइ भन्या? हामीसँग किन नबोल्नुभएको अङ्कल?



'बाबुनानी हो, आकाश छैन।'



मेरो कुरा खस्न नपाउँदै एकस्वरमा उनीहरूले सोध्छन्। 'आकाश कहाँ गयो अङ्कल?'



'बाबुनानी हो, आकाश त हामीलाई छोडेर टाढा गयो।' मैले भन्न नचाहँदा नचाहँदै भन्छु।



'अङ्कल, हामीले आकाशलाई बधाई दिन यी फूलहरू ल्याएका।' ठूला ठूला आँखा भएकी केटीले फूलहरू मलाई दिदै भन्छे।



केटाकेटीहरू जान्छन्। खोइ, कति बुझे यी अबोध केटाकेटीले मृत्युको भाषा? फूलहरूलाई मायाले सुम्सुम्याउँदै म सोच्न थाल्छु।



केटाकेटीहरू पर पुगिसकेका हुन्छन्। खोइ, कुन सम्मोहनबाट प्रेरित भएर हो म उनीहरूलाई हेर्नथाल्छु। यो के? मेरा आँखा अनायास पछिपछि हिंडिरहेको एउटा केटोमाथि पर्छ। मैले हरेक कोणबाट उसलाई नियाल्छु। आकाशको उचाइको र शरीर पनि आकाशको जस्तै। आकाशकै रङ्गको र हिंडाइ पनि आकाशको जस्तै। मेरा पाइलाहरूमा शक्ति भरिन्छ र त्यो केटोप्रतिको आकर्षणले म उतिर जोडसँग भाग्न थाल्छु। एकछिन पछि म त्यो केटोको नजिकै हुन्छु। हातहरू उसलाई उचाल्न खोज्दै हुन्छन्। ओठहरू उसलाई चुम्न उद्दत देखिन्छन्। काख आफ्नो शून्यपन पर फाल्न सायद रिक्तताको ठाउँमा उत्सर्ग भर्दै हुन्छ। छाती मौनतालाई पृथक गरेर सायद संवाद स्थापित गर्दै हुन्छ।



मेरो आभाष पाएर होला ऊ मतिर फर्किन्छ। मैले उसलाई पैतालादेखि शीरसम्म हेर्छु। ए! आकाश त होइन रहेछ। अँह, आकाश जस्तो लागेको त आकाशको साथी पो रहेछ।



म घरतिर फर्किदै गर्दा परैबाट आमालाई देख्छु। आमाले अघिदेखि नै मलाई हेरिरहनु भएको रहेछ। मलाई कस्तो कस्तो लागेर आउँछ। मलाई साँच्चै नै आफ्नो स्थितिको कारण अप्ठ्यारो महसुस हुन्छ। आमा घरभित्र जानुहुन्छ। म घरसम्म पुगेर टक्क अडिन्छु। वास्तवमा म यस्तो कुराको प्रतीक्षामा हुन्छु जसले उसको मृत्युलाई उसका संझनाहरूदेखि पृथक गरोस्, जसले उसको मृत्युलाई उसका स्मृतिहरूबाट अलग गरोस्।







-सङ्गीत आयाम





तपाईंको प्रतिकृया

Good, Keep it up. i need to save this paragraph but i can't due to protected. would you please told me why you did this?



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम