Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
नेपाली साहित्यमा आत्मप्रशंसा (खेमराज थापा) - [2008-07-27]

केही समय यता राजधानीका केही ठुला छापाहरुमा 'उत्तरआधुनिकता' सम्वन्धी बाक्लै चर्चा छापिन थालेका छन् । निकै बुद्धीजिबीहरु यस चर्चामा भाग लिइरहेका देखिन्छन् । विश्वोविध्यालयका प्राध्यापकहरुले यस बिषयलाई छलफलमा ल्याइरहनुले हामी पाठकहरुलाई निकै उपलब्धीमुलक भएको छ । यसै बिषयमा बिशेष अध्ययन गर्नेहरुका लागि यी छलफलहरु बेकार लागे पनि, अपुग र कमजोर लागे पनि हामी सामान्य पाठकहरुलाई भने ठुलै कुरा बुझ्न पाए झै भएको छ । डा.सन्जीव उप्रेतीले केही हप्ता यता कान्तिपुरमा लेखिरहनु भएको धारावहिक लेखनले आधुनिकता र उत्तरआधुनिकतालाई बुझ्न र तिनिहरुको भेद थाह पाउन ठुलो मद्दत मिलेको छ । समयसमयमा कान्तिपुरमा प्रकाशित भइरहने डा. गोविन्दराज भट्टराईका र गोर्खापत्रतिर प्रकाशित हुने गरेका कृष्ण गौतमका लेखहरुबाट भन्दा डा. सन्जीव उप्रेतीका लेखहरुबाट उत्तरआधुनिकताबारे बढी जानकारी पाउन सजिलो भएको छ । डा. उप्रेतीले उत्तरआधुनिकतालाई नेपाली सन्दर्भबाट हेर्न खोजेकाले हाम्रो पाटोपट्टी दृष्‍टि फर्काउन सजिलो भएको छ ।



उत्तरआधुनिकताका बिषयमा केही बर्ष यता विभिन्न प्रकारका कृतिहरु बजारमा आइसकेका पाइन्छन् । पक्ष र बिपक्ष दुबैतिर दरै तर्कपूर्ण सामाग्री छन् पाठकलाई हुने । डा.ऋषीराज बराल, निनु चापागाइं, रमेश भट्टराईहरुले उत्तरआधुनिकतालाई आलोचनात्मक पाटोबाट हेर्नुभएको छ भने डा.गोविन्दराज भट्टराई, कृष्ण गौतम, अभी सुबेदी, डा.सन्जीव उप्रेती आदिहरुले साकारात्मक पक्षबाट हेरेको देखिन्छ । यी बिषयमा बजारमा पाइने पुस्तकहरु मध्ये पक्षमा लेखिएका केही पुस्तकहरुमा केही बर्ष यता प्रकाशित डा.गोविन्दराज भट्टराईको 'उत्तरआधुनिक एना'(२०६२)र 'उत्तरआधुनिक बिमर्श' (२०६४) तथा कृष्ण गौतमको 'उत्तरआधुनिक जिज्ञासा' (२०६४) मुख्य मनिएका छन् । यी तिनै कृतिले विभिन्न पाटोबाट उत्तरआधुनिकताको चर्चा गर्न खोजेका छन्, तैपनी चित्त बुझ्दो र प्रष्ट कुरा भने थाह पाउन गाह्रो जस्तो लाग्छ ।



कृतिका आफ्ना कमजोरी त आफ्नै ठाउँमा छन् भनीसाध्य नै छैन । तर कृतिकारको आत्मप्रशंसा नै मरेतुल्य भेटिन्छ पानैपिच्छे । नेपाली साहित्यमा यती धेरै आत्मप्रशंसक लेखक शायदै बिगतमा थिए होलान् । डा. भट्टराई र गौतम दुबै जनामा आत्मप्रशंसाको भोक असहय छ । शायद यो उत्तरआधुनिक चरित्र पो हो कि !



यो लेख उत्तरआधुनिकता बिषयमा होइन, उत्तरआधुनिक सन्दर्भमा कृति लेख्ने लेखकको 'आत्मप्रशंसा बिषयमा केन्द्रित छ ।



समालोचक कृष्ण गौतमको २०६४ सालमा प्रकाशित ४०० पेजको उत्तरआधुनिक जिज्ञासा कृतिको लेखकीयमा 'समावेशी समालोचनको सेमियोस्फियर' शीर्षक अन्तर्गत लेखकले आत्मप्रशंसामा शब्दहरुको प्रयोग यसरी गरेको भेटिन्छ:



- कृति समावेशीकरणको अपुर्व उपहारको रुपमा पाठकको हात पर्दैछ । यहाँ कैयौ लेखक, कैयौ रचना, कैयौ द्रिष्टान्तहरुको तरेली दर्शनीय लाग्नेछ । कतिपय द्रिष्टान्त द्रिष्टान्तका लागि, कतिपय सोच्नका लागि, कतिपय छलफलका लागि पनि आएका छन् । आफ्नै चिह्नभुगोल (सेमियोस्फिर) तथा चिह्नकालमा समावेशीकृत समालोचनको यो नौलो प्रयोग हो । {(पृष्‍ठ- १०) पेज नलेखिए पनि}



लेखकले आँफै आफ्नो कृतिको यती उच्च मुल्याङ्कन गरेको देख्दा मनमा कताकता दिगमिग लाग्दोरहेछ । तर यो भन्दा पनि आश्चर्यजनक आत्मप्रशंसा त डा. गोविन्दराज भट्टराईमा भेटिन्छ ।



उहाँको केही बर्ष अघी प्रकाशित 'उत्तरआधुनिक एना' नामक कृतिको लेखकीयको प्रथम पृष्‍ठमै लेखिएको छ:





'यो कृति लेख्न २५ मन किताब पढें, पचिसै डोका खेस्रा कोरें ।'



वाफ् रे, केजीको हिसाबले कसरी पढ्न सकेको होला किताबहरु ! मलाई त विश्वोविध्यालयको पुस्तकालय देख्दै डर लाग्छ । त्यस्तै हालसालै प्रकाशित उहाँकै उत्तरआधुनिक विमर्स त एकप्रकारले भन्ने हो भने आत्मप्रशंसाकै थुप्रो हो । ती प्रत्येक पृष्‍ठमा आफ्नै कृति उदाहरणीय भेटिनेछन् । भित्रको बिषय यो लेखको उद्देश्य होइन । यस नयाँ कृतिको लेखकीयमा पनि डा. भट्टराईका केही उदाहरणीय अभिव्क्त्ती यसरी पढ्न सकिन्छ:



- उत्तरआधुनीक एनामा भनेको थिएँ म फेरी आउने छु । दुई बर्षपछिको उही चैत महिना पारेर आज म फेरी आइरहेको छु, नयाँ कोसेली उत्तरआधुनिक विमर्स लिएर म आइरहेको छु । यसमा संलग्न अधिकांश रचनामा यस अघी नउठाइएका परिभाषा छ, व्याख्या छ, बिस्तार छ । नेपाली साहित्यमा कहिलै नउठेका कुरा पहिलोपल्ट म प्रस्तुत गर्दैछु । (पृष्‍ठ- ३)

- म विश्वस्त छु नेपाली साहित्यको खास गरी सिर्जना र समालोचनको परिबेश आगामी दुई तीन दशक यिनै बिचारको परीधीमा घुमिरहने छ । (पृष्‍ठ- ४)

- अघिल्लो पाली जस्तै कती मन किताबभित्र पस्दै निस्कदै गरें, लोडसेडिङले आधा जीवन डम्पाटे पारेको काठमाडौंमा कती डोका कागजहरु प्रिन्टरको मसिले नुहाउदै निस्कदै गरें । (पृष्‍ठ- ५)

- यो कर्म आफ्नो सोख र रहरले मात्र गरेको हुइँन, आफ्नो शक्ती र क्षमताले भ्याएर गरेको पनि हुइँन, तर यो राष्ट्र सम्झेर, यो राष्ट्रका आउने दिनहरु सम्झेर, मेरो काँधमा आइपरेको एउटा गम्भिर जिम्मेवारी सम्झेर घिस्रदै आत्तिदै पुरा गरेको हुँ । (पृष्‍ठ- ५)

- मैले आफ्नो अन्तर्वातामा भनेकै छु- म तीनचार जना अलगअलग क्षमता र इच्छाका व्यत्तित्वहरु यो शरीरले बोकेर हिंडेको छु । (पृष्‍ठ- ११)



उत्तरआधुनिक विमर्समा उल्लेखित माथिका आभिव्यक्त्ती पढिसकेपछी भित्रका पानामा खासै दु:ख नगरे हुन्छ किनभने कुनै लेखको पुच्छरमा सन्दर्भ सामाग्रीको प्रयोग छैन र प्रत्येक पल्टको उदाहरण उहाँकै अघिल्ला कृतिहरु छन् ।



अझ रमाइलो त त्यस बेला लाग्छ जब भर्खरै बजारमा आएका मिर्मिरे समालोचना अंक र मधुपर्कको कथा अंकमा उहाँका लेख पढ्न पाईन्छ । मिर्मिरे समालोच अंकमा प्रकाशित लेखको अन्त्यमा यस्तो पढ्न पाईन्छ:



- अहिले छापिदै गरेको गोविन्दराज भट्टराईको उत्तरआधुनिक विमर्स नेपाली वाङ्मयमा उत्तरआधुनिकता बिषयक, यसको सिद्धान्त र समालोचना बोकेर आएको एउटा महत्वपूर्ण कृति हो । यसभित्र सातवटा खण्ड छन्- साइबर जगत र नेपाली साहित्य, डायास्पोरा र नेपाली साहित्य, इकोक्रीटिसिजन र नेपाली साहित्य, विश्वोआख्यान दिशा, अनुवाद र बिबिधता र बहुलताका समकालिन मार्गहरु ।

प्रत्येक शीर्षक अन्तर्गत तत्सम्वन्धी सिद्धान्त र प्रयोग देखाउने रचना छन । ती नेपाली साहित्यको सन्दर्भमा जोडीएका रचनाको संख्या ५३६ । ६५० पृष्‍ठको यो कृति नेपाली समालोचनामा सबैभन्दा ठुलो आकारको र सर्वाधिक महत्वको छ । यो अर्को मास्टरपीस हो । यो पूर्णरुपको उत्तरआधिनिक यात्रा हो । (मिर्मिरे समालोचना अंक- २७०, पृष्‍ठ- ४७)



मधुपर्क कथा बिशेषांक- ४६८ मा डा. भट्टराई लेख्नु हुन्छ:

- उत्तरआधुनिक दृष्‍टिकोणले नेपाली कथाको अध्ययन र विश्लेषण हुन थालेको धेरै भएको छैन । सर्बप्रथम कविता पूर्णाङ्क ४३, २०४९ मा प्रकाशित गोविन्दराज भट्टराईको बिनिर्माणबादी समालोचना र नेपाली साहित्यको प्रसङ्ग शीर्षक रचनाले अलिकती सिद्धान्त पनि प्रस्तुत गर्छ ।

- निकै बर्षपछी भट्टराईकै नेपाली कथामा नवप्रयोग: द्रिष्टी र घनघोर जंगल शीर्षक रचना गरिमा पूर्णाङ्क २४९, २०६० मा प्रकाशित भयो ।

-तेस्रो र महत्वपूर्ण रचना छ- उत्तरआधुनिकतवादको सन्दर्भमा नेपाली आख्यान । 'आख्यान' भनिए पनि गोविन्दराज भट्टराईको प्रस्तुत रचनामा नेपाली कथाकै व्याख्या र बिश्लेषण छ । ______यो लामो रचनामा सर्बप्रथम आधुनिकतावाद र उत्तरआधुनिकतावाद बिचको अन्तर छुट्याउने सुत्रहरु प्रस्तुत थिए ।



यस्ता अनेकौ सुन्दर उदाहरणहरु दिन सकिन्छ डा.गोविन्दराज भट्टराईका सुनौला आत्मप्रशंसक वाक्यहरुको । नेपाली साहित्यमा आत्मप्रशंसा शीर्षकको एउटा सोधकार्य नै गरे पनि फरक नपर्ला ।



म एउटा साधारण पाठक हुँ । उत्तरआधुनिकता सम्वन्धी जिज्ञासा छ, जान्ने इच्छा छ, गत २०६५ असार १ गतेको कान्तिपुर अच्युत वाग्लेको लेखले केही चित्त बुझायो पनि तर यो आत्मप्रशंसालाई मात्र एक हजार रुपैयाँ दाम चाँही हामीले किन हाल्नु होला ?



किर्तिपुरको डाँडामा एक्लै घुमिरहँदा मेरो दिमागमा यी प्रशंसाहरु बेलुन जस्तो फुल्दै सुक्दै गरिरहन्छन् । आत्मप्रशंसाका यस्ता भोका प्राध्यापकको कक्षा शिक्षण कस्तो होला आँफै अनुमान गर्न सबै विद्यार्थी तथा पाठकहरुलाई पनि अनुरोध छ ।





तपाईंको प्रतिकृया

ekdam ramro lekh cha. keep it up.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम