Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
साहित्यमा नायक (कृष्ण धरावासी) - [2008-07-28]
 AuthorKrishna Dharabasi

प्रत्येक व्यक्ति आफ्नो जीवनमा नायक छ। घट्नै घटनाहरुमा ऊ बेहि्रएको छ। उसले बाँचेको सारा जीवनमा ऊ एउटा नायक बनेर समस्याहरुसँग जुध्ने, निर्णय दिने, समाधानका उपायहरु खोज्ने र आफ्नो आश्रयमा हुर्किरहेकाहरुको अभिभावक बन्ने संर्घषमा संलग्न छन्। चरित्रको मूल्याङ्कन गरी समाजमा व्यक्तिहरु कोही नायक कोही खलनायक र कोही घटना सहायमात्र देखिएका हुन्छन्, तर वस्तुगतरुपमा हेर्न सके प्रत्येक व्यक्ति आफ्नो परिवेशको नायक हुन्छ।



हामीले गरिल्याएको परम्परागत मूल्याङ्कन प्रविधिले असल चरित्र भएका समाज र परिवारको पक्षमा सदा सकारात्मक व्यवहार गर्ने, निष्ठावान व्यक्ति कथाको नायक बन्दछ। कथामा त्यसले अरु पात्रहरुलाई उछिनेर आफ्नो सकारात्मक चरित्र प्रस्तुत गर्दछ। उसले देखेको सत्य, उसले भोगेको दुःख, उसले उठाएको बोझ तथा उसले भोग्न थालेको कथा नै बाँकी अरु पात्रहरुको पनि खेल्ने ठाउँ बन्दछ। कथामा आउने अरु पात्रहरु कि नकारात्मक हुन्छन्, कि निरीह, कमजोर र दयाभागी हुन्छन्। ती अरु कमजोर सहायक पात्रहरुका तुलनामा ऊ नायक बनी कथाको उपसंहार र निर्णायक पक्तिको हकदारमा उभिन्छ।



कथा कुनै एउटा पात्रलाई चिन्न लेखकले मनमा खेलाउँछ। त्यो एउटालाई आफ्नै व्यक्तित्व दिन खोज्दा लेखकले भएको सबै बुद्धि उसले छानेको नायकमा खन्याइदिन्छ। नायक स्वय लेखकको प्रतिविम्ब हो। लेखक नायक निर्माणको यात्रामा संलग्न हुँदा अरु पात्रहरुप्रति अन्यायी र पक्षपाती बन्न पुगिरहेको हुन्छ। अन्य पात्रहरु जो स्वयं पनि नायक नै थिए, तर कथामा तिनलाई टालटुले चरित्रमा लेखकले प्रयोग गर्दा, ठूलै संसार छायाँमा परिसकेको हुन्छ। लेखकले खडा गरेको नायक भन्दा कथामा टुप्लुक्क देखिन आइपुगेको सहयात्री कति प्रभावी र शक्तिशाली विशेषणताको हुनसक्छ।



पात्रलाई आ–आफ्ना विशेषताहरुमा स्वतन्त्र छोडिदिने हो भने एउटै कथामा कतिजना नायकहरु उपस्थित हुन सक्छन्। नायकहरु धेरै भए भने तिनका बीच उत्पन्न प्रतिस्पर्धाले असल चरित्रको भनी निर्माण गरिएको व्यक्तित्व सबभन्दा कमसल र खराब बन्न सक्छ। लेखकले छानेको नायक चाहिँ कति नकारात्मक चरित्रको भएर उभिन सक्छ। नायकको छनोट गर्नुअघि नायक ठानिएका पात्रहरुलाई कथामा उत्तिकै महत्व दिएर छोडिदिने हो भने उत्तरार्द्धतिर गएर नायक वास्तविक नायक आफै छर्लङ्ग छुट्टिन सक्छ। पूर्वाग्रह र पूर्वयोजनाद्वारा नायकको निर्णय गर्नाले कथामा विषयले वास्तविक चरित्र प्राप्त गर्न सकेको हुँदैन।



लेखकले पात्रहरु मध्येबाट कुनै एउटालाई उठाएर त्यसलाई धेरै माया गरेर जबरजस्ती नायक बनाउन खोज्दा नै बारम्बार लेखकहरु नराम्ररी उल्झन पुग्छन्। त्यसरी तयार गरेको नायकलाई प्रत्येक ठाउँमा बचाउन, जोगाउन हरेक खतराको सूचना दिन, अप्ठ्याराबाट उठाउन, ठाउँ–कुठाउँ लेखकले कृतिमा उपस्थित हुनुपरिरहन्छ। यसरी लेखकको अनावश्यक उपस्थितिले कृतिमा नायक निरकंुश र स्वेच्छाचारी बन्दछ। लेखकले रोजेर कुनै एउटा पात्रलाई नायक बनाउँदैन, उसमा विशेषताहरु थप्दै जाँदा नायक यति कमजोर भइसकेको हुन्छ कि त्यसले उत्तरदायित्व निर्वाह गर्न सक्दैन। श्री कृष्णले अर्जुनलाई अझ कयौ वीर व्यक्तिहरुका तुलनामा नायक बनाउन खोज्दा जब निर्णयक क्षणमा जब युद्धघोषमा पुगियो, उसले अस्त्र फ्यालिदियो।



अनि उत्तरदायित्वबाट पलायन भयो। श्री कृष्णले आफ्नो नायकलाई तङ्ग्रयाउन कति कठिन पर्‍यो। महाभारतको त्यस्तो मोटो पुस्तकनै त्यहाँ पुगेर झ48डैझ48डै दुर्घटनाग्रस्त भएको छ। महाभारत पढेर त्यसबाट हामी नायक निर्माण गर्ने लेखकको हविगत बु137न सक्दछौ।



लेखकले जबरजस्ती निर्माण गरेका नायकहरुका कारण कयौ व्यक्तिहरु दूर्घटनामा पर्ने गरेको देखिन्छन्। साहित्यमा नायक निर्माण गर्ने परम्पराले कृतिहरु निजात्मक भइसकेका छन्। ती कृतिमा केही पृष्ठहरु पढ्दै त्यसको सन्देश कथानक र उपसंहार आभास भइसकेको छ।



कालान्तरदेखि नै प्रयोग हुँदै आएको प्रविधिले अब साहित्यमा पाठकलाई आकर्षित गर्ने शक्ति क्षीण हुदै गएको भान हुन्छ। यथार्थमा पात्र निर्माण गर्नु लेखककै दिमागको उपज भए पनि त्यसमा प्रतिस्थापित चरित्र भनेको समाजको उपलब्धि हो। लेखकले समाजबाट पात्रहरुलाई टिपेर कागजमा खन्याउँछ। लेखकसँग उसको शैली र प्रस्तुति कलाबाहेक अरु कुरा आफ्ना हुँदैनन्। समाजले खपिरहेको र भोगिरहेको कुरामा लेखकले कला भर्दछ। समाजमा नायक–अनायक भन्ने हुँदैनन्। प्रत्येक व्यक्ति आ–आफ्ना विशेषताहरुले नायक छन्, तिनको नायकतालाई कृतिमा यथोचित सम्मान दिंदा कृति पूर्वाग्रही र उपेक्षित नबनेर समाजको यथार्थ चित्रण बन्न पुग्दछ। जसभित्र प्रत्येक पात्र भूमिका अनुसारका नायक बन्दछन्।



आख्यानमा विषयवस्तुले प्रवेश पाउँछ पात्रका माध्यमबाट। पात्रहरु खेल्न थालेपछि विषयवस्तुले पाठभरी नै आफुलाई फैलाउँदै जान्छ। पाठक पात्र मार्फत कथामा पसिरहन्छ र निस्कन्छ रमाउँदै अन्तिम पृष्ठबाट। पाठमा कसको भूमिका ठूलो? प्रश्न सँधै अन्तिम उत्तरको माग गरिरहन्छ। “तिमीलाई अन्तिम उत्तर छैन, तिमी सानो बन” भनी कैयौं दार्शनिक र चिन्तकहरुले भनीरहेका छन् तर प्रश्न वाचक (?) झन झन भीमकाय बन्दै गइरहन्छ।



पाठमा पात्र नाचिरहन्छ। कस्ता कस्ता अनौठा घटना र प्रसङ्गहरुमा तिनीहरुले आफूलाई सामेल गराउँछन्। नचाहँदा नचाहँदै तिनीहरु कथाभित्र झन् झन् भासिंदै जान्छन्। विषयवस्तुलाई सम्पन्न गराउने क्रममा पात्रहरुले आफ्नो यथार्थतालाई नै भुल्दै पूर्णतया पाठको अधिनमा आफूलाई समर्पण गर्दछन्। तिनीहरुका आफ्ना बेग्लै पाटाहरु पनि थिए होलान्, कैयौं उज्याला र नीजि विश्वास पनि थिए होलान तर विषयको अधिनमा परेर आफ्ना सबै कुरा भुल्दै भूमिका खेलिरहन्छन् पाठभरी। पाठबाट बाहिर आउँदा तिनीहरु आफूबाटै रित्तिइसकेका हुन्छन्। आफ्नै लागि रुनुपर्ने पनि कथैका लागि रोइसकेका हुन्छन्, आफ्नै लागि हाँस्नुपर्ने पनि विषयकै लागि हाँसिसकेका हुन्छन्।



पाठमा नायक को हुन्छ? प्रश्न उठेको छ अचेल। परम्परागत लेखनमा नायक चिन्नु सबैभन्दा सजिलो छ। कृतिको प्रथम पृष्ठ नै नायकसँग बाट उद्घाटित हुन्छ। फिल्ममा, नाटकमा, कथामा, उपन्यासमा, काव्यमा जहीं पनि नायक सबैभन्दा चाँडो भेटिन्छ परम्परागत हेराइले। नाङ्गो चौरमा चरिरहेका भैंसी देखिएझैं कृतिमा सबैभन्दा पहिला चिनिने र देखिने नै नायक हुन्छ। तर अचेल प्रश्न उठ्न थालेको छ नायकमाथि। के पहिलो झल्कोमा 137वाट्टै देखिने नै पाठको नायक हुन्छ वा त्यही नै नायक हो त? नायक वास्तवमा को हुन्छ वा कस्तोलाई नायक भन्ने?



परम्परागत आँखामा – नायक धिरोदात्त हुन्छ, बुद्धिमान, बलियो, विजयी, ज्ञानी, सर्वगुण सम्पन्न वा जसको वरिपरि विषयले फन्को मार्छ, जो कथाको केन्द्रमा छ, जताबाट पनि विषयले जसमाथि विश्राम लिन्छ नायक त्यही हुन्छ। यो नायक चिनाउने परम्परागत मान्यता। सबैभन्दा लोकप्रिय र सत्यजस्तो लाग्ने मान्यता पनि यही हेा। तर अब यसमाथि प्रश्न चिन्ह लाग्न थालेको छ। पाठमा जतासुकै देखिने र विषयको अधिकारी नै नायक होला त? नायक हुनका लागि पाठमा देखिनै पर्ला र?



अचेल कृतिमा (पाठमा) पनि र जीवनमा पनि नायक चिन्न कठिन परेको छ। प्रत्येक पात्र आफ्नो भूमिका भरीको लागि नायकीयत्वले उभिएको हुन्छ। विषयलाई सम्पन्न गर्न, अघि बढाउन र पूर्णतादिन उपस्थित प्रत्येक पात्र आफ्नो पाठभरी पूर्णरुपमा जिम्मेदारीका साथ उपस्थित भएको हुन्छ। पाठमा उसको उपस्थितिको अवधि, भूमिकाको पक्षधरता र प्रस्तुतिले जति स्थान दिइएको भए पनि यदि उसको अनुपस्थिति कृतिमा अभाव बन्थ्यो भने उसको भूमिका भरीको शक्तिले ऊ स्वयं पनि त्यसक्षण नायक बनिरहेको हुन्छ। नायक बन्न कथाभरी नै त्यसले दुःख पाइरहुन पर्दैन। एउटै नायकले वर्षौं वर्षसम्म कथालाई घिसाुर्न पर्ने र ठेल्दै लानुपर्ने दुःख पनि अबको साहित्यमा सम्भव छैन।



पुरानो पारामा केही विशेष व्यक्तिहरु कथाका अधिकारी बन्थे, तिनीहरु समाजका जिम्मेदार पनि मानिन्थे। तिनीहरुले सबैको उत्तरदायित्वको अहम् पनि बोकेका हुन्थे। एउटा गाउँमा एक जना विशेष व्यक्ति हुन्थ्यो र उसैको निर्णय त्यस गाउँको कानुन बन्थ्यो। उसले नियाँ निसाफ दिन्थ्येा। उसलाई सोधेर समाजले यात्रा गर्‍थ्यो। तर अब स्थिति त्यो रहेन। नायकीय त्यो परम्परा अब समाजमा उपस्थिति जनाउन असमर्थ भयो। अब प्रत्येक व्यक्ति आफ्नो जीवनको नायक छ, प्रत्येक व्यक्ति आफ्नो कथाको नायक छ। समाजमा प्रत्येक व्यक्तिको वैयक्तिक समान उत्तरदायित्व छ। पाठले सकारात्मक वा नकारात्मक जुनै सन्देश बोकेास् तर त्यसको नायक त हुन्छ नै। एउटा नायक हुने र त्यसलाई अरु सबैले सघाएर उभ्याउने त्यसलाई राजा बनाएर अरु शासित हुने, त्यसलाई मालिक बनाएर अरु नोकर हुने, त्यसलाई हाकिम बनाएर अरु कारिन्दा हुने कथाहरु अब पुराना ढर्राका बन्दै गए, गइरहेका छन्। एउटै कथाभित्र बहुनायकत्वको स्थितिलाई चिन्न थालिएको छ। कथालाई पूर्णता दिन नभई नहुने हरेक पात्र त्यो कथाको पूर्णताका लागि नायकीय भूमिकाले नै सम्पन्न छ।



एउटा पाठमा एउटा पात्रलाई सबैभन्दा धेरै भूमिकाको भारी बोकाई अरुले त्यसलाई गल लगाउँदै। भरथेग गर्दै, ठेल्दै अन्त्यतिर पुर्‍याउने र त्यो अत्याधिक भूमिकाले थिचिएको पात्रका सबै गुणदोषहरु नायकीय मान्यताले स्वीकृत हुँदै जाने परम्प्रा अब पुरानो भएको छ।



यथार्थ जीवनमा पनि अब परिवर्तनका नयाँ दृष्यहरु देखा परिरहेका छन्। शासनसत्तामा बस्नेहरु पनि अब समावेशी कुरा गर्न थालेका छन्। थिचिएका, दबिएका,पछि परेकाहरु समेत आफ्नो स्थापनाको आवाज उठाउन थालेका छन्। कथामा सबैको भूमिकाको समान रुपले कदर हुनुपर्छ। नाटकमा सिंगारकर्मी देखि पर्दा तान्ने सम्मको भूमिकाको मूल्यांकन हुनुपर्छ। नाटकमा कथा खेल्नेहरुको मात्र होइन, अब नाटक हेरिरहने समेतको द्रष्टीय नायकत्व स्वीकार हुनुपर्छ। यस्ता विचारहरु आउन थालेका छन्।



पाठमा उपस्थित हरेक पात्र उसको भूमिका भरीको ऊ नायक हुन्छ। उसको उक्त नायकीय स्थितिको मूल्यांकन अब पाठकहरुको इमान्दारीतासँग समेत जोडिन थालेको छ। लेखकसँग मात्र होइन पात्रहरुले पाठकसँग समेत न्याय माग्न थालेका छन्। लेखकले पूवाग्रही भई, पक्षधरताको आधारमा केही खासहरुलाई विशेष भूमिका दिई नायक बनाए पनि पाठकहरुले स्वतन्त्र र निर्वैयीक्तक दृष्टिद्वारा अन्य पात्रहरु माथि उनको भूमिकीय महत्ताको मूल्यांकन गर्नुपर्छ भन्ने उनीहरुको मत छ। परम्परावादी लेखकहरु आफूलाई सृष्टिकर्ता जस्तो कथा निर्माता ठानी पात्रहरुको स्तर निर्धारण गर्न स्वतन्त्र रहेको ठान्छन् र परम्परावादी पाठकहरु लेखकलाई अन्तिम आधार स्वीकार गर्दै आज्ञाकारी छात्रले जस्तो पाठलाई पढि रहन्छन्। तर अब पात्रहरुले लेखकको नियोजनबाट मुक्ति खोजिरहेका छन्। लेखकले भनेको नमान्न चाहन्छन् र पाठकहरुसँग समेत उनीहरु अटेरी बन्न खोज्दछन्। लेखकले जुन ढंगले पात्रलाई प्रस्तुत गरे पनि अब पाठकले आफ्नो पाठकीय स्वतन्त्रताको उपयोग गर्दै तिनीहरुको पाठभित्रको स्थितिको मूल्याङ्कन गर्नुपर्ने भएको छ। नायक हुनका लागि ― एकैछिनको विशेष उपस्थिति नै पर्याप्त हुने धारणाहरु पनि प्रबल हुँदै आइरहेका छन्।



वास्तमा जीवन नै अब यस्तो भइसकेको छ। प्रत्येक व्यक्ति समुदाय, विचार र सोच आफैंमा स्वतन्त्र र विशिष्टताको मानक केन्द्रको दाबी गर्दछ। एउटा व्यक्ति, पार्टी, समूह, जाति, वर्ग, पेशा, व्यावसाय, धर्म, परिवार, भाषा आदि मध्ये कुनैले अब एक्लै समाज वा विषयलाई एकल नेतृत्व गर्न सक्दैन। अब प्रत्येकले आ–आफ्नो धरातलको खोजी गरिरहेका छन् विश्वभरी नै। रङ्गभेद, लिङ्गभेद, जातिभेद, वर्गभेद तथा क्षेत्रीयता, स्थानीयता आदि विषयहरुका विभेदकारी शक्तिहरु स्वत्त धरासायी हुँदै अब प्रत्येकको अस्तित्वको प्रश्न उठिरहेको बेला छ। जसरी अब राजनीतिमा, संस्कृतिमा, भाषामा, रोजगारीमा, कानुनमा सबैतिर प्रत्येक–प्रत्येकको समानुपातिक उपस्थिति अनिवार्यबोध भइरहेको छ ― त्यसैले नायकको खोजी र नायक माथि प्रश्न (?) गर्न थालेको छ।



के अब परम्परावादी शासनसत्ताले त्यसरी नै शासन गर्न सक्छन्? के देवताले अब पहिलाकै जस्तो मन्दिरमा बसिरहेर पूजा आराधना पाउँछन्? प्रत्येकले आफ्नो अस्तित्वको खोज गर्नु पर्दा अब अनेकौं विस्थापनाका दृष्यहरु देखा परिरहेका छन्। हजारौं वर्षदेखि चलिआएका महाविश्वासहरु सजिलै धरासायी भइरहेका छन्। विश्वभरी नै समावेशी चेतनाले शिर उठाइरहेको छ। सानाहरुले हामी साना किन भनी प्रश्न गर्न थालेपछि ठूलाहरु हामी यसकारण ठूला भन्न असमर्थ हुन थालेका छन्। धेरैले एउटालाई ठूलो बनाउन आफ्ना सबै अहम्हरु त्याग गर्ने शास्त्रीय विश्वासहरु विसर्जन गर्न पुगेपछि नायकको विघटन भएको छ। अब नायक भन्ने नै छैन। नायकीयता नै अब अनुपस्थित भएको छ। नायकका ठाउँमा पात्रहरु छन् र तिनीहरु रमाइरहेछन्, नाचिरहेछन्। उनीहरु बीचबाटै फेरि कुनै नायक बन्न खोज्ने र त्यसलाई सबैले तानेर आफ्नै भीडमा मिसाउने खेल प्रारम्भ भएको छ।



तर यति हुँदा हुँदै पनि कतै न कतै नायक त उभिएकै हुँदोरहेछ। विषयले जति नै उदार र स्वतन्त्र छु भने पनि थाहै नपाई नायकको निर्माण भइसक्दो रहेछ। सबै नायकहरु देख्नसकिने, छुन सकिने वा बोल्न सकिने–सुनिने नै हुन्छन् भन्ने कुरा पनि भूल हुँदोरहेछ। सबै पाठमा नायकहरु उपस्थित नभएरै पनि आफूलाई सावित गरिरहेकै हुँदारहेछन्। हरेक कथामा सामान्य पात्रहरुका बीच नायकले पुग्नै पर्ने र खेल्नै पर्ने आवश्यकता अब हराउन थालेको रहेछ। अबको पाठमा बहुनायकीय भ्रमको सिर्जना हुन थालेछ। एउटा कथामा अनेक पात्रहरु छन् र सबैजना नायकीय भूमिकामा छन्। बहुनायकत्वको स्थिति त्यहाँ सृजित छ तर त्यहीं सकिंदो रहेनछ पाठको भूमिका। पाठले त नायकलाई भूमिगत राखेर पनि पाठकको समिप पुर्‍याउँदो रहेछ। सर्वसाधारण पात्रहरुको भीडबाट जोगाउँदै, लुकाउँदै पाठले खुसुक्क नायकलाई पाठकको दिमागमा प्रवेश गरायसक्दो रहेछ। जस्तो ―

खेतमा काम भइरहेकेा छ। कोही जोतिरहेका छन्, कोही बिहु काडिरहेका छन्, कोही हिलो खेलिरहेका छन्, कोही रोपीरहेका छन्। विहानदेखि नै धमाधम छ त्यहाँ। प्रत्येकले प्रत्येकलाई अह्राइरहेका छन्। कोही कसैसँग रिसाइरहेको छ। निकै मान्छेहरु यान्त्रिकता पूर्वक खेतमा काम गरीरहेका छन्। त्यहीं भित्र नायक, नायिका, खलनायक, खलनायिकाहरु पनि व्यस्त छन्। कोही काम अह्राउने कोही काम गर्ने पनि भइरहेका छन्।



तर, वास्तविक नायक त त्यहाँ पुगेकै छैन। त्यो खेतमा कामको वातावरण मिलाउने, ज्याला दिने, त्यसबाट भोलि हुने आम्दानीको उपभोग गर्ने मुख्य व्यक्ति त्यहाँ छैन। ऊ उपस्थित नभए पनि परबाट देख्नेले― “आज कृष्ण धराबासीको खेतमा रोपाईं रहेछ, खेतालाहरु काम गरिरहेका छन्।” भनिरहेछ। त्यो सम्पूर्ण समारोहमा उँभिदै नउभिएर, भाग नलिएर, नदेखिएर पनि धराबासी कतै न कतै महानायकको स्थानमा विराजमान हुँदैछ।



अस्ति अस्ति देखिने नायकहरु अब अदृष्य भएका छन्। तिनीहरु त्यहँा छैनन्, त्यसकारण तिनीहरु हारे, पराजित भए भन्ने ठानिए पनि यथार्थमा तिनीहरु कतै अदृष्यमा बसी फेरि पनि अरु नै कसैलाई नायकको भ्रम उत्पन्न गराउँदै तर प्रकारान्तरले आफैंलाई नायक स्वीकार्न बाध्य गराइरहेका छन्। परिवार, समाज र सत्ता सबैतिर नायकको अदृष्यता उपस्थित छ तर शासन गरिरहेछ मनोग्रन्थीहरुबाट बोध र चेतहरुबाट।



दृष्यबाट हराएको नायक, मस्तिष्कमा पुगि विराजमान भएछ। नाचिरहेका सबै पात्रहरु स्वनायकत्वको घोषणा गर्दै वस्तुतः कठपुतली पो नाचिरहेछन्, झन् झन् परिचय गुमाइरहेर–निर्जीवताको स्थितिमा।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम