भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको विकासमा सक्रिय योगदान दिने, उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरणका साथै राष्ट्रिय थोकवितरकको रूपमा विकास गर्दै जाने जस्ता उद्देश्यसाथ स्थापित साझा प्रकाशन स्थापनाकालदेखि नै आफ्नो घोषित उद्देश्यप्राप्तिका लागि क्रियाशिल र प्रतिबध्द छ।
भाषा, साहित्य, संकृति र शिक्षाको विकासका लागि वि सं १9७० सालमा सरकारी स्तरबाट गोरखा भाषा प्रकाशिनी समितिको स्थापना भयो र वि सं १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित भएपछि त्यसैको उत्तराधिकारीको रूपमा सहकारी ऐन 2016 अन्तर्गत वि सं 2021 सालमा साझा प्रकाशनको स्थापना भयो । यसरी गोरखा भाषा प्रकाशिनी समिति तथा नेपाली भाषा प्रकाशिनी समिति साझा प्रकाशनको पूर्वरूप अथवा इतिहास हो । पाठ्यपुस्तक तथा पाठ्यसामग्री र सिर्जनात्मक कृतिहरू प्रकाशनकार्यमा संलग्न नेपाली भाषा प्रकाशिनी समितिले गर्दै आएका कार्यहरू सरकारी स्तरबाटै साझा प्रकाशनलाई प्राप्त भएको हो । नेपाली भाषा प्रकाशिनी समितिबाट प्राप्त केही भौतिक सामान र दुई लाख मूल्यबराबरका पुस्तकहरू प्राप्त गरी साझा प्रकाशनले आफ्नो कार्यसञ्चालनको सुरुआत गरेको हो । हालसम्म यसले विभिन्न विधाका साहित्यिक ग्रन्थहरूका साथै विद्यालयस्तरका सन्दर्भ पाठ्यपुस्तक तथा उच्चशिक्षाका विभिन्न पाठ्यसामग्रीसहित एक हजारभन्दा बढी शीर्षकमा पुस्तकहरू प्रकाशित गरिसकेको छ । यसरी साझा प्रकाशनले भाषा-साहित्यको संवर्धनका लागि पुस्तकहरूको उत्पादन मुद्रण र बिक्रीवितरणको कार्य अनवरत रूपमा गर्दै आएको छ ।
साझा प्रकाशनको स्थापना भएदेखि नै यसले साहित्यिक कृतिहरूको प्रकाशनका साथै विद्यालयस्तरका पाठ्यपुस्तकहरूको प्रकाशन, उत्पादन र वितरण गर्दै आएको थियो, तर २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि पाठ्यपुस्तक प्रकाशन-उत्पादनकार्य साझा प्रकाशनले गर्न पाएन । यसपश्चात् विद्यालयस्तरका पाठ्यपुस्तकको निर्माण पाठ्यक्रम विकास केन्द्रले गर्दै आएका छन् भने साझा प्रकाशनले नेपाल अधिराज्यभरि पाठ्यपुस्तकको बिक्रीवितरण गर्दै आएको छ । जनक शिक्षा सामग्री केन्द्रद्वारा उत्पादित प्राथमिक स्तरका पाठ्यपुस्तक साझा प्रकाशनले २०२४ सालदेखि अधिराज्यभरि बिक्रीवितरण गर्दै आएको हो । आफ्नो व्यवस्थित संरचनाद्वारा साझा प्रकाशनले अधिराज्यका अत्यन्त दुर्गम स्थानहरूमा समेत निश्वित समयमा सुलभ रूपमा पाठ्यपुस्तक उपलब्ध गराउने गहन अभिभारा कुशलतापूर्वक सम्पन्न गर्दै आएको छ ।
साझा प्रकाशनमा कवि, लेखक, साहित्यकार, कलाकारको बाहुल्य रहेको छ । साझा प्रकाशनले साझा पुरस्कार, लोकसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार र गरिमा सम्मान पुरस्कारको व्यवस्था गरेको छ ।
उद्देश्यहरू
१ भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने,
२ नयाँ र पुराना लेखक र साहित्यकारहरूलाई सम्भाव्य सहयोग गर्ने,
३ नेपाली भाषा र साहित्यको विकासमा सक्रिय योगदान दिने,
४ अंशियारहरूमा साझा वा सहकारी सहयोगिताको भावना दिने,
५ उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरणका साथै राष्ट्रिय थोकवितरकको रूपमा विकास गर्दै जाने,
६ आयस्रोत बढाउँदै संस्थालाई दरिलो पार्दै लाने,
७ पत्रकारिताको विकासमा सहयोग पुर्र्याउने,
८ पुस्तक व्यवसायको विकास र पढ्ने बानीको अभिवृध्दि गर्न तालिम तथा गोष्ठीहरूको आयोजना गर्ने-गराउने ।
भावी योजना
१ यो संस्था ऐसियाली सहप्रकाशनको सक्रिय सदस्य भई काम गर्दै आऐकोमा अझ सक्रिय हुँदै जाने,
२ पुस्तक बिक्रीवितरणलाई सुदृढीकरण गर्ने र अझ व्यापक तथा सुगम बनाउने,
३ मुद्रणपक्षलाई अझ बढी टेवा दिँदै जाने,
४ भाषा-साहित्यका साथै नेपाली भाषामा नै प्राविधिक विषयका पुस्तकहरू तयार गर्दै जाने,
५ नेपाली भाषाका पुस्तकहरू अरू भाषामा र अरू भाषाका पुस्तकहरू नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने,
६ पढ्ने बानीको विकासका लागि सर्वेक्षणं गर्ने-गराउने,
७ पुस्तक प्रदर्शनीको व्यवस्था गर्दै लाने,
८ अन्ततोगत्वा यसलाई लेखकहरूको सहकारी संस्था बनाउनेतर्फ कार्य गर्दै जाने,
९ साझा प्रकाशनलाई आत्मनिर्भर र व्यवसायीकरण गर्न विद्यालयस्तरीय पाठ्यपुस्तकहरूका साथै पाठ्यक्रममा आधारित उच्चमाध्यमिक र विश्वविद्यालयस्तरीय पाठ्यपुस्तकहरू पनि क्रमश उत्पादन गर्दै जाने ।
क्रियाकलाप
साझा प्रकाशनले नेपालको पुस्तक बिक्रीवितरणको एक मात्र राष्ट्रिय स्तरको प्रतिनिधि संस्थाको रूपमा युनेस्कोद्वारा २०३५ सालमा नेपालको निमित्त राष्ट्रिय एजेन्सीको रूपमा मान्यता प्राप्त गरेको छ । युनेस्कोअन्तर्गतको एसिया तथा प्रशान्तक्षेत्र सांस्कृतिक केन्द्र (एसीसीयु) को सहप्रकाशन कार्यक्रममा साझा प्रकाशन पनि सम्मिलित भई बर्सेनि एसीसीयुद्वारा प्रकाशित पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्दै आएको छ । युनेस्कोको आयोजनामा हुने विभिन्न सम्मेलन, कार्यशालागोष्ठी, सेमिनार, पुस्तकमेला, तालिम आदिमा साझा प्रकाशनले विदेशी भाषाका पुस्तकहरू नेपाली भाषामा अनुवाद र प्रकाशन गरी साहित्यिक क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
साझा प्रकाशन सेवामूलक व्यावसायिक संस्था हो । यसले आफ्नो निश्चित व्यवसाय तथा कारोबारबाट अर्जित अधिकतम हिस्सा नेपाली भाषा-साहित्यको श्रीवृद्धिका लागि लगानी गर्ने गरेको छ । तर हाल देशमा परिकल्पना गरिएको प्रतिस्पर्धात्मक आर्थिक वातावरणअनुरूप निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने एक व्यवसायीक संस्थाले आफ्नै खर्चमा भाषा-साहित्यको प्रकाशन तथा विकास गर्ने जस्तो राष्ट्रिय दायित्व वहन गर्न ज्यादै कठिन हुन्छ । आफ्नो कुल कारोवारको ७० प्रतिशत कारोबार पाठ्यपुस्तक वितरणमा मात्र केन्द्रित रहेको यस संस्था आफैँमा सक्षम एवम् आत्मनिर्भर हुन पुस्तक मुद्रण, प्रकाशन र वितरणको कार्यलाई समन्वयात्मक रूपमा अघि बढाई हालको वितरणको कार्यलाई समेत निरन्तरता दिँदै आगामी ५ वर्षमा सो कारोबार ७० प्रतिशतबाट तल झारी ५० प्रतिशतभन्दा कममा ल्याउनुपर्ने देखिन्छ । यसका लागि संस्थाले निम्न विषयहरूलाई बढावा गराउनुपर्ने हुन्छ ।
१ स्कुलस्तरका सन्दर्भ पाठ्यपुस्तकको प्रवर्द्धन गर्ने ।
२ साझा अभ्यास पुस्तिका (कापी) उत्पादनलाई बढी प्रभावकारी बनाउने ।
३ विश्वविद्यालयस्तरका पाठ्यपुस्तकहरू बढी छापी बिक्री गर्ने ।
४ संस्थाको छापाखानाको कारोबार बढाउने ।
५ विश्वविद्यालयस्तरका नेपाली विषयबाहेक अन्य विषयको पनि पाठ्यपुस्तकहरू तयार गरी छाप्ने ।
६ विभिन्न कोषहरूको प्रवर्द्धन गर्ने ।
भाषा-साहित्य, शिक्षा, संस्कृति, कला तथा ज्ञान–विज्ञानको उन्नति नै सुसंस्कृत तथा समुन्नत राष्ट्रको पहिचान हुन सक्तछ । यस्ता गहन जिम्मेदारी पूरा गर्ने सरकारको दायित्वप्रति आफ्नो क्रियाशील सहभागिता अपेक्षित रूपमा उपलब्धिपूर्ण सहयोग हुनेछ भन्ने साझा प्रकाशनको अभीष्ट हो। समग्र नेपाल राष्ट्रको समुन्नतिका लागि देशभर शिक्षा साथै साहित्यको मर्म र महत्त्व विस्तारित होस् भन्ने अभिप्रायले साझा प्रकाशन आफ्नो कार्यक्षेत्रलाई सक्दो विस्तार र व्यापक गर्न प्रयासरत छ । शेयरसहभागिता-द्वारा प्राप्त न्युन रकम र पुस्तक प्रकाशन, मुद्रण तथा बिक्रीवितरणद्वारा अर्जित स्रोतको आधारमा महत्तम सेवामा समर्पित यस संस्थाप्रति राष्ट्रको हरेक क्षेत्र अझ खास गरी उच्च निकायको सदभाव र सहानुभूति अपेक्षित हुन्छ।
सारांशमा भन्नुपर्दा साझा प्रकाशन नेपाली भाषा-साहित्यको संवर्धन तथा शिक्षाको विकासमा समर्पित संस्था भएकाले यसको निश्चित र निरन्तर भविष्यका लागि राष्ट्रको नीतिनिर्माण तहबाट नीतिगत रूपमा प्रकाशन, मुद्रणका साथै पाठ्यपुस्तकको बिक्रीवितरणजस्ता कार्यका लागि उचित संरक्षण र सहयोग प्राप्त हुने कुरामा आशावादी हुनु स्वाभाविक हुन्छ ।
साझा प्रकाशनको कार्यक्षेत्र
साझा प्रकाशन निम्नलिखित मुख्य कार्यक्षेत्रमा विस्तारित छ—
(१) प्रकाशन– आफ्नो मुख्य कार्यक्षेत्रअन्तर्गत साझा प्रकाशनले हालसम्म उपन्यास, कथासङग्रह, कविता-काव्य, निबन्ध, नाटक, समालोचना, भाषा-व्याकरण, शब्दकोश, इतिहास, विज्ञान र प्रविधि, कला र संस्कृति, कृषि, जीवनी, दर्शन र अध्यात्म आदि विषयमा गरी १२०० भन्दा बढी शीर्षकका पुस्तकहरू प्रकाशित गरिसकेको छ ।
(२) वितरण– साझा प्रकाशन पुस्तकहरूको अधिराज्यव्यापी बिक्रीवितरणका लागि समर्पित छ । स्कुलतहका सम्पूर्ण पाठ्यपुस्तकका साथै अधिराज्यका ४० भन्दा बढी प्रकाशनसंस्था र अरू निजी प्रकाशकहरूका पुस्तक साझा प्रकाशनले केन्द्रीय भण्डारबाहेक आफ्ना २७ ओटा शाखाहरू र ४३७ एजेन्टका साथै झन्डै २००० स्थानीय बिक्रेतामार्फत अधिराज्यभरि बिक्रीवितरण गर्दछ । साझा प्रकाशनको वितरणप्रणाली भरपर्दो र छिटोछरितो भएको कारणले श्री ५ को सरकारले शैक्षिक सामग्रीको अधिराज्यव्यापी वितरणको जिम्मासमेत साझा प्रकाशनलाई दिने गरेको छ । साझा प्रकाशनले बर्सेनि पुस्तकप्रदर्शनीको आयोजनासमेत गर्ने गरेको छ ।
(३) पाठ्यपुस्तक निर्माण– विदेशी पाठ्यपुस्तकहरूको माध्यमबाट बर्सेनि करोड रुपैयाँ नेपालबाहिर जाने गरेको सन्दर्भमा यसरी राष्ट्रिय सम्पत्ति विदेश जानुबाट जोगाउने र विद्यार्थीहरूको पाठ्यसामग्री राष्ट्रिय सन्दर्भअनुकूल होऊन् भन्ने उद्देश्यले साझा प्रकाशनले स्वदेशी विद्वानहरूद्वारा नै निम्नअनुसार पाठ्यपुस्तक लेखाई उत्पादन गर्ने काम गरेको छ ।
क) उच्चशिक्षाका पाठ्यपुस्तक— साझा प्रकाशनले त्रिभुवन विश्वविद्यालय तथा उच्चमाध्यमिक शिक्षा परिषद्अन्तर्गतका पाठ्यपुस्तकहरू तयार गर्ने काम गर्दै आएको छ । उच्चशिक्षाका विभिन्न विधा र विषयका पाठ्यपुस्तकहरू नेपाली भाषामा सकेसम्म धेरै सङ्ख्यामा तयार गर्नु यसको उद्देश्य छ ।
ख) विद्यालयस्तरीय सन्दर्भ पाठ्यपुस्तक— साझा प्रकाशनले स्कुल तहमा नेपाली हावापानी र वातावरणअनुकूलका सन्दर्भ पाठ्यपुस्तक निर्माण गर्ने गरेको छ ।
(४) मुद्रण— आफ्ना प्रकाशनका पुस्तकहरू पाठक तथा विद्यार्थीहरूले सस्तो र स्तरीय रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले साझा प्रकाशनले २०३५ सालमा छापाखानाको स्थापना गरेको हो । हाल साझा प्रकाशनमा आधुनिक मुद्रणप्रणालीका लागि चाहिने सम्पूर्ण सामग्रीका साथ पाँच ओटा अफसेट प्रविधिका छापाखाना सञ्चालित छन् ।
(५) कापी तथा स्टेशनरी उद्योग— सम्पूर्ण शैक्षिक समूहले स्तरीय लेख्य सामग्री सस्तो मूल्यमा पाउन सकून् भन्ने उद्देश्यले साझा प्रकाशनले २०४९ सालदेखि कापी तथा स्टेशनरी उद्योग सञ्चालन गरिरहेको छ ।
(६) मासिक पत्रिका प्रकाशन— पाठकहरूको पढ्ने बानी विकास गर्नुका साथै साहित्यको उन्नतिका लागि साझा प्रकाशनले २०३९ सालदेखि मासिक साहित्यिक पत्रिका गरिमा प्रकाशन गरिरहेको छ । २०६१ कात्तिकसम्ममा यसको २६३ पूर्णाङ्क निस्किसकेको छ ।
(७) पुरस्कार— साझा प्रकाशनले भाषा, साहित्य र सम्पूर्ण वाङमयको क्षेत्रमा समर्पित साधकहरूलाई प्रेरणा प्राप्त होस् भनी निम्न पुरस्कारहरू प्रदान गर्ने गरेको छ—
क) साझा पुरस्कार– साझा प्रकाशनद्वारा वर्षभरि प्रकाशित विभिन्न विधाका पुस्तकहरूमध्ये सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने गरी वि सं २०२६ सालमा स्थापित यस पुरस्कारबाट २०५९ सालसम्ममा जम्मा ३५ कृतिका ३१ स्रष्टाहरू पुरस्कृत भइसकेका छन् । हाल यस पुरस्कारको राशि २५,०००।– रहेको छ ।
ख) लोकसाहित्य पुरस्कार– साझा प्रकाशनले प्रकाशित गरेको स्व बोधविक्रम अधिकारीको नेपाली दन्त्यकथानामक पुस्तकको लेखकले पाउने लेखकस्वको रकमबाट उहाँकै इच्छाअनुसार साझा प्रकाशनले २०३२ सालमा स्थापना गरेको यो पुरस्कार नेपाली भाषामा लेखिएको नेपाली लोकजीवन, लोकसंस्कृति, लोककथा, लोकगीत, लोकभाषा आदि विषयका कृतिहरूमध्येबाट प्रत्येक वर्ष एक कृतिलाई प्रदान गरिन्छ । हाल यस पुरस्कारको राशि १०,०००।– रहेको छ ।
ग) गरिमा सम्मान पुरस्कार– गरिमा मासिक पत्रिकामा वर्षभरि प्रकाशित गद्य विधातर्फ १ र कविता विधातर्फ १ गरी जम्मा २ जना स्रष्टालाई प्रदान गरिने यो पुरस्कार २०५२ सालमा स्थापना भएको हो । यस पुरस्कारको राशि प्रत्येक विधामा ५,०००।– छ ।
घ) साझा बालसाहित्य पुरस्कार– बालसाहित्यका स्रष्टालाई प्रोत्साहित र सम्मानित गर्ने उद्देश्यले २०५४ सालमा यो पुरस्कारको स्थापना गरिएको हो । नेपाल अधिराज्यबाट वर्षभरि नेपाली भाषामा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिने यस पुरस्कारको राशि १०,०००।– छ ।