Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
प्रगतिवादी साहित्यको बारेमा साहित्यकार आनन्ददेव भट्टसँगको अन्तर्वार्ता - [2008-08-17]

प्रश्न : नेपाली साहित्य क्षेत्रका एक चर्चित व्यक्तित्व मानिनुहुने आनन्ददेव भट्ट अहिले के गर्दैछ?

उत्तर : अहिले म सामान्य अध्ययनमा मात्र सीमित छु। मैले आजभोलि साहित्यमा खासै केही गर्न सकेको छैन। घरमै बसेर अध्ययन गर्नु बाहेक अरु मेरो खासै केही छैन।



प्रश्न : साहित्यमा किन तपाईको यसरी अरुचि बढेको?

उत्तर : साहित्यमा मेरो अरुचि भन्दा पनि शारीरिक शक्तिको कारण र म भित्र शारीरिक उर्जा नभएकोले मात्रै हो साहित्यमा निरन्तर लाग्न नसकेको। मान्छेको शरीर जब बुढो हुँदै जाँदो रहेछ तब उसलाई केही गर्ने उर्जा नहुँदो रहेछ। म अहिले शारीरिक रुपमा मात्रै लेख्न नसकेको हो तर मेरो अध्ययन भने जारी नै छ।



प्रश्न : जुन समयमा तपाईको साहित्यिक रफ्तार अघि बढेको थियो त्यो समय र अहिलेको समयको आनन्ददेव भट्टमा के फरक छ?

उत्तर : त्यो समय सँग अहिलेको समय तुलना गर्न सकिंदैन। त्यति बेलाको मेरो जागरण भिन्नै किसिमको थियो। वातावरण र समयको प्रभावले गर्दा यस्तो भएको हो। म उतिबेला साहित्यको एक किसिमको आन्दोलनमा लागेको थिएँ। त्यतिबेला ममा शारीरिक उर्जा थियो। जब उमेर ढल्दै जान्छ तब उसको शक्ति शिथिल हुँदै जाँदो रहेछ। मनस्थिति एउटै नहुँदो रहेछ। उर्जाको कारणले म साहित्यमा निष्त्रि्कय भएको छु।



प्रश्न : तपाईको आजभोलि साहित्यिक गतिविधि कस्तो छ?

प्रश्न : साहित्यिक गतिविधिमा पनि सक्रिय हुन सकेको छैन। यदि नगई नहुने ठाउँ छ भने म त्यस्तो ठाउँमा गईरहेकै छु। साहित्य र साहित्यिक गतिविधिमा समय दिन नसकेकोले मलाई चिन्तित तुल्याएको छ। आफ्नो लेखन कार्य पनि स्थगित अवस्थामा भएको हुनाले म चिन्तित हुनु बाहेक अरु केही छैन। म अहिले ७३ वर्षको भएँ। वास्तवमा मेरो उमेर त्यति धेरै पनि भाको छैन। तैपनि उमेर बढ्दै जाँदा उर्जा पनि घट्दै जाने हुनाले साहित्यमा निष्त्रि्कय हुन पुगेको हुँ। यो प्रकृतिको स्वभाव नै हो।



प्रश्न : यसरी निष्त्रि्कय हुनुपर्दा केही गुमाएको जस्तो लाग्दैन?

उत्तर : गुमाएकै भन्दा पनि यो बाध्यता हो। साहित्यिक लेख नलेखेकोले मलाई मेरा समकालीन साथीभाईहरुले सोध्ने गर्छन। हैन हिजो आज तँ किन लेख्दैनस् भनेर सबैले भन्छन्। तैंले लेखेको आजभोल केही पनि पढ्न पाईएको छैन भनेर पनि भन्छन्। तर के गर्ने मेरो बाध्यता सिवाय केही छैन। अब सधैंका निम्ति लेख्न सक्दिन की भन्ने ठाउँ पनि छैन। यदि शरीरमा केही उर्जा बढ्दै गयो भने लेख्न चाहिं छाड्दिन।



प्रश्न : आजभोलि कुनै साहित्यिक संघ संस्थामा लाग्नु भएको छ की?

उत्तर : म अहिले कुनै साहित्यिक सं संस्थामा आबद्ध छैन। पहिला म प्रगतिशील लेखक संघको अध्यक्ष थिएँ। २०६२ चैत्रमा हामीले अधिवेशन गर्यौं। अनि त्यो अधिवेशनले नयाँ नेतृत्व चुन्यौं। त्यसपछि देशमा लोकतान्त्रिक आन्दोलन सुर भयो। २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा हामी जस्ता स्रष्ट्राहरुले केही सहयोग गर्नुपर्छ भनेर हाम्रो बैरागी काँइलाको संयोजकत्वमा लोकतान्त्रिक स्रष्ट्रा मञ्च गठन गर्यौं। त्यो मञ्चको म सदस्य थिएँ। कर्तव्यले अघि बढाएपछि र कर्तव्य बोध भएपछि त्यसको जिम्मेवारी पूर्वक अभिभारा ग्रहण गर्नुपर्दो रहेछ। तर म अहिले भने कुनै साहित्यिक संघ संस्थामा लागेको छैन।





प्रश्न : तपाईंलाई प्रगतिवादी साहित्यकार भन्ने गरिन्छ, प्रगतिवादी र प्रगतिशील साहित्यमा के फरक छ?

उत्तर : यस बारेमा धेरै पहिलेदेखि चर्चा चल्दै आईरहेको छ। २००६ उप्रान्तकै कुरा हो यो। २००९ सालमा प्रगतिशील लेखक संघ पनि खुल्यो साहित्यमा एक किसिमको आन्दोलननै चलाउनका निम्ति खोलिएको हो पनि भनियो। यो संघ खुलिसकेपछि प्रगतिशील र प्रगतिवादीको बारेमा अझ धेरै बहस हुन थाल्यो। प्रगतिशीलको अर्थ यथा स्थितिमा बस्न नरुचाउने हो। समाज जस्तो स्थितिमा छ त्यस्तै स्थितिको समाज नचाहने विचार प्रगतिशील विचार हो। किनकी मान्छेको जीवन गतिशील छ। संसार एकै स्थितिमा बस्न चाहँदैन। समय र परिस्थितिले मान्छेको जीवन परिवर्तनशील भए जस्तै संसार पनि परिवर्तनशील छ। परिवर्तनशील विचारधाराले समाजका राम्रा नराम्रा पक्षलाई केलाउँदै समाजलाई परिवर्तनको दिशातर्फ अघि बढाउन मार्ग निर्देश गर्छ। जब प्रगतिशील विचारमा मार्क्सवादी विचार जोडिन्छ भने त्यहाँ प्रगतिवादी विचारधारा उत्पन्न हुन्छ। मार्क्सवादी विचारले समाजलाई दुई टुक्रामा बाँड्छ। समाजमा एक थरीले आफ्नो प्रभुत्व चाहन्छ। समाजलाई उनीहरुले हाँक्न चाहन्छन्। तर अर्काथरी भने समाजमा सधैं शोषित र पीडित भएर बस्नु परेको हुन्छ। समाजमा यस्तो हुने अर्थतन्त्रको कारणले हो। किनकी अर्थतन्त्रको कारणले नै शोषण भईरहेको हुन्छ। समाजमा एक थरी सधैं शासन सत्ता र प्रभुत्व जमाउन खाजिरहेको हुन्छ। उत्पादन सधैं एकले गरेको हुन्छ तर त्यो उत्पादनको उपभोग गर्ने अर्कै हुन्छ। उत्पादन गरेअनुसारको उपभोग गर्न उसले पाउँदैन। त्यसैले प्रगतिवादी विचार धाराले यो उत्पादनको सबै अधिकार समाजका सबै मानिसमा हुन्छ भन्ने मान्यता राखेको हुन्छ। समाजमा प्रगतिशीलताले मात्रै हुँदैन। जो शोषक छ, अरुलाई जहिले पनि शोषण गरिरहेको हुन्छ त्यस्ताको हातबाट यो अधिकार खोस्न पर्यो। त्यसैले प्रगतिवादी विचार समाजमा वर्गीय समानताको पक्षमा हुन्छ। समाजमा असमानतालाई समानता तिर लैजानु त्यो प्रगतिवादको चिन्तन हो तर प्रगतिशील विचारले समाजका राम्रा नराम्रा पक्षहरुलाई मात्रै देखाउने प्रयास गर्छ। प्रगतिवादी विचारले भने राम्रा नराम्रा कुरालाई मात्रभन्दा गुणात्मक परिवर्तनको व्यावहारिक पक्षको उद्घाटन गर्दछ।



प्रश्न : त्यसो भए यथार्थवादी साहित्य र प्रगतिवादी साहित्यमा चाहिँ के फरक छ?

उत्तर : यथार्थवादले सत्य कुरा जे छ त्यसलाई जस्ताको तस्तै देखाउन मात्र खोज्छ। कुनैपनि कुराको जे छ, त्यही देखाउँछ। तर त्यहाँ आफ्नो धारणा विचार देखाउने काम भने हुँदैन। यथार्थवादले कुन अवस्थामा के कुरा छ त्यही कुरा मात्रै देखाउँछ। तर प्रगतिवादले यथार्थवादलाई मात्रै देखाउँदैन समाजको गतिशीलता पनि देखाउँछ। प्रगतिवादले नराम्रो कुराको आलोचना गर्छ।



प्रश्न : प्रगतिवादी साहित्यले समाजको कस्तो प्रभाव पार्दछ?

उत्तर : हरेक समयमा हरेक विचारले आफ्नो प्रभाव पारेको हुन्छ। त्यसैले मार्क्सवादी चिन्तनले के भनेको हुन्छ भने पूँजीको माध्यमले गरेको शासन पुरातनवादी शासन हो। जहाँ पूँजीवादी शासन हुन्छ त्यहाँ शोषण, अन्याय, र असमानता हुन्छ। त्यसैले पूँजी लगाएर मात्रै हुँदैन। त्यहाँ वर्गीय समानताको व्यावहारिक प्रयोग हुनुपर्यो भन्ने विचार राखेको हुन्छ प्रगतिवादी साहित्यले। प्रगतिवादी विचारले समाजमा भेदभावरहित वातावरण हुनुपर्छ भनेको हुन्छ। प्रगतिवादी दृष्टिकोणमा समाज गईसकेपछि यथास्थितिवादको समाज परिवर्तनतिर गएको हुन्छ। समाज परिवर्तनको बाटो प्रगतिवादी साहितयले देखाउँछ।





प्रश्न : अहिलेको समसामयिक परिस्थितिमा प्रगतिवादी साहित्यको महत्व कत्तिको छ?

उत्तर : जब नेपालमा २४० वर्षे राजतन्त्रको इतिहास समाप्त भएर गणतन्त्र आयो। यो घटना सबैको लागि असाधारण थियो। २००७ सालमा पनि क्रान्ति भएको थियो। त्यस क्रान्तिपछि नेपालमा राणाहरुको शासन पतन भयो। २००७ सालपछि नेपालमा फेरि निरंकुश पञ्चायती व्यवस्था आयो। जब फेरि २०४६ सालमा आन्दोलन भयो नेपालमा पुन प्रजातन्त्र फर्क्यो। प्रजातन्त्र फर्केको केही वर्षपछि राजा ज्ञानेन्द्रले खुट्टा नचाउन थाले। ज्ञानेन्द्रले देशको सम्पूर्ण बागडोर आफैं सम्हाले। ज्ञानेन्द्रले निरंकुश व्यवस्था ल्याउन थालेको संकेत पाउन थालेपछि कांग्रेस पनि राजाको विरोधीको रुपमा देखा पर्यो। राजाको सामन्तीवादी प्रवृत्तिको विरोध गर्दै कांग्रेस लगायतका दलहरुले आन्दोलन गरेपछि नेपालमा नयाँ वातावरणको सुरुवात भयो। यो नयाँ वातावरणले प्रगतिवादी साहित्यकारहरुलाई बृहत्त साहित्य रचना गर्ने अवसर सिर्जना गरिदिएको छ। अहिले हाम्रो साहित्य परिवर्तनतिर उन्मुख छ। त्यसैले पनि प्रगतिवादी साहित्यको रचना नयाँ वातावरणमा महत्वपूर्ण हुन्छ।



प्रश्न : अब यहाँ कस्तो साहित्यको आवश्यकता छ?

उत्तर : अब चिन्तनको साहित्य मात्रै होईन सबै व्यक्तिको आदर्श व्यवहारको साहित्यको आवश्यकता छ। सबै वर्ग र क्षेत्रको समस्यालाई मात्र नउठाई समाधानको बाटो पनि देखाउने साहित्यको खाँचो छ। अब समाजमा वर्ग विभेदलाई हटाई शोषणमा परेकाहरुको भावनालाई माथि उठाई त्यस्ता वर्गहरुको समान अधिकारको प्रत्याभूति गराउन सहयोग पुग्ने खालको साहित्य सिर्जनाको आवश्यकता छ।



प्रश्न : नेपालका प्रगतिशील विचार धाराका साहित्यकारहरु झोक्की र तगडा स्वभावका हुन्छन् रे हो?

उत्तर : यहाँका प्रगतिशील विचारधाराका साहित्यकारहरु खासै तगडा छैनन्। प्रगतिशील विचारका साहित्यकारहरु सबै लुते छन्। विचार मात्रै प्रगतिशील राख्ने हुन् तर व्यवहारामा भने प्रयोग नगर्ने हो भने त्यस्ता व्यक्ति के को तगडा? उनीहरुको विचार अग्रगामी भएपनि व्यवहार भने छैन। न त हाम्रा कम्युनिष्टहरु विचारमा नै तगडा छन्। विचार भने प्रगतिशील राख्ने तर काम भने केही नगर्ने हो भने कसरी तगडा भए उनीहरु? त्यसैले वामपन्थी विचारका व्यक्तिहरु सबै यहाँ लुते छन्। साहित्य र राजनीतिमा लुते भएकै कारण प्रगतिशील विचारका व्यक्तिहरु सही बाटोमा हिंड्न सकेका छैनन्।







प्रस्तुति : शुकदेव चापागाई







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम