Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
गैरफौजी बाटोमा (राजकुमार बानिया) - [2008-08-28]

साहित्यमा अटुट नाता र साइबर संसारका पाठकका लागि विश्वासदीप तिगेला कुनै फौजी नाम लाग्दैन । तर, विश्वासले गैरफौजी जीवन छाडेको नै १४ वसन्त बितिसकेको छ । त्यसो त ब्रिटिस गोर्खामा रहेर थुप्रै तन्नेरीहरू नेपाली अक्षरको बाउसे गरिरहेका छन् । टंक वनेम, रक्ष राइ, दयाकृष्ण राइ, गणेश राइ, दुत पुन, मुलीवीर राइ, रमेश यतिम, लाल राना, नवराज राइ, केदार सुनुवार, जगत नवोदित, मिजास तेम्बे, कुमार इस्वो लगायत थुप्रै नामहरू ।



लाहुरेहरूले साहित्य मन पराउनुमा विशेष कारण केही छैन । लाहुरेहरू पनि अरु सामान्य मान्छे जस्तै हुन् । तर, युवाहरूको दलबल तयार नहु"दासम्म नेपाली साहित्यमा लाहूरेहरूलाई दयाको भिख मात्र प्राप्त हुन्थ्यो । अव त्यस्तो रहेन । धेरै देशका धेरै दुःख देखेका यी लाहुरेहरू आफ्ना अनुभूति लिखित दस्तावेजका रुपमा धमाधम दिदैछन् । कतिसम्म भने, उनीहरू विदेशका घटना, दुर्घटनाहरूको जानकारी स्वदेशलाई चेतनास्वरुप दिन पनि चाहन्छन् ।



लाग्छ, सा"चो साहित्य भनेकै लाहुरे साहित्य हो । यसको मेनुमा हुन्छन्, दुःख पीडा र वेदना अनि देशसितको विछोड । कल्पनाको जहाज उडाउने साहित्य होइन, रणभूमिमा लेखिएको दर्दहरू छन् । विश्वास भन्छन्, "सैनिकलाई कठोर हृदय भएको मान्छेका रुपमा चित्रण गरिन्छ तर सैनिकहरू त्यसको ठीक उल्टो मानवीय संवेदना बोकेका हुन्छन् ।" विश्वासको भनाइमा त सैनिकहरू नै युद्धको विरुद्धमा हुन्छन् रे । सिर्फ नुनको सोझो गर्न र देशप्रतिको बफादारीका लागि युद्धमा होम्मिन बाध्य हुन्छन् । हो, तिनै संवेदना र पीडालाई लाहूरेहरूले साहित्यमा लिपिबद्ध गरिरहेका छन् ।



कलम र बन्दुक दुवै चलाउछन् विश्वास । भन्छन्, "कलम जो कसैले चलाउन सक्छन् तर बन्दुक सबैले चलाउन सक्दैनन् । भरिया दाइले पनि साहित्य लेख्न सक्छन् । हातै नहूनेले पनि खुट्टाले साहित्य लेखिरहेका छन् । बन्दुक चलाउनु भरियाले हातमुख जोडे जस्तै हो । बन्दुक चलाउदै जादा मान्छेको मन हो, रुन्छ, बन्दुक चलाउनेले स्वयं आफै बन्दुकको सिकार भएको महसुस गर्दा कस्तो होला -"धनकुटा, हात्तिखर्क सुन्तले बेसीका मिलबहादुर लिम्बू र टीकामाया लिम्बूका चार छोरा र तीन छोरीमध्ये एक हुन् विश्वास । बाजे श्रीध्वज पूर्वका शक्तिशाली सुब्बा रहेछन् । तिनसित भएको पृथ्वीनारायण शाहसगको १७ पोका सम्झौता पत्रहरू जतनले राखेका छन् विश्वासले । भन्छन्, "लेखनदास ब्रह्मचारी बाजे लेखेर मात्र हिड्थे अरे । पृथ्वीनारायण शाहको फौजसग अन्तिम समयसम्म लड्ने काङसोरे लिम्बू, जो अरुण गडतीरमा मारिए, मेरै वशावलीका हुन् । उनका बारेमा कुमार लिङदेनले कथा लेख्दैछन् ।"



बाल्यकालमा बढी गोठाला गरे उनले । तरकारी लगाउन पनि सिपालु थिए । भन्छन्, "मैले हूर्काएको खुर्सानी, कोपी, काउली, बैगुनका वेर्नाहरू गाउलेले लैजान्थे ।" आमाले राखेको मट्टीतेल चोरेर राति अबेरसम्म साहित्य पढेको पनि सम्झन्छन् विश्वास । गोठालामा पढ्दा गाईबाख्राले भुसुक्कै बाली खान्थ्यो । ओख्रे खोलामा पौडी खेलेको, निगुरो र सिस्नुको फूल टिपेको अनि दिनमा तीन भारी घास काटेको उनले विर्षेका छैनन् । भन्छन्, "गाईबाख्रा अघाएर डम्म भुडी देख्दा औधी खुसी लाग्थ्यो ।"विश्वासले जाल्पादेवी मावि पाख्रीवासबाट एसएलसी गरेपछि धनकुटा बहूमुखी क्याम्पसमा पढेका हुन् उनले । कानुन पढेका विश्वास झण्डै अभिवक्ता भएनन् । भन्छन्, "डेरामा बसिन्थ्यो । गुन्द्रुकले कहिल्य मज्जाले उम्लन पाएन । गुन्द्रुक राम्ररी नउम्लीकन गुन्द्रुक-भात सिद्धिन्थ्यो ।" त्यसो त त्यतिबेला गोपाल गुरुङको 'नेपालको राजनीतिमा अदेख्खा सच्चाई', गोपाल खम्बूको "नेपालको जातीय मुक्ति आन्दोलन' र कैरन पत्रिका पढेर राजनीतिक चेतना पनि आएछ उनमा । भन्छन्, "ती पुराना दिनहरू सम्झदा

लाज लाग्छ र गौरब पनि ।" लाहुरे नभएको भए के हुन्थ्यो भनेर कसैले सोधेमा उनले भन्नेछन्, "सायद सहिद ।"



विश्वासदीपको परिवारमा कोही लाहूरे थिएनन् । र, उनमा भर्ती मोह पनि थिएन । भन्छन्, "दाजु टेकजंगको जबरजस्तीले म लाहुरे भए" । गल्लामा उसैले नाम लेखाइदियो, धरान-पोखरा दाजुले नै अघिअघि लगाएर पुर्‍याएको हो ।" भर्ती भएपछि सबै खुसी हुन्छन् तर रुन थाले विश्वास । सम्झन्छन्, "पोखरामा ब्रिटिस आर्मीका लागि अन्तिम छनौटमा परेपछि देश छाड्नुपर्ने पीडाले खुब रोएको थिए" ।" बेलायती सेनामा भर्ना भएपछि आफूभित्र अङ्कुराएको सिर्जनशीलता हराउने सन्त्रास पनि थियो विश्वासमा । सुनाउछन्, "लाहुर घर हामीले गाउघरमा सुनेको हल्ला जस्तो रहेनछ । अहिले त लाहुरघर पढालेखाको जमात जस्तो भएको छ । उच्च शिक्षा हासिल गर्न पनि लाहूरे नै हुनुपर्छ जस्तो भान भएको छ । देशप्रति केही गर्नुपर्छ भन्ने बोध भएको छ । लाहूरेका रुपमा पनि र्सार्थक जीवन बिताए जस्तो लागिरहेको छ ।"



तर, ब्रिटिस गोर्खामा सूचना क्रान्तिमा होमिएर झन् सिर्जनशील हुने मौका पाए उनले । उनको प्रमुख गैरफौजी काम हो- वेबसाइटहरूको निर्माण । उनी लाहुरेहरूको परम्परागत पहिचान र उनीहरूप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न चाहन्छन् । ब्रुनाई गएपछि आफूभन्दा ठूलो ओहोदाको व्यक्तिको कोठामा पहिलोचोटि कम्प्युटर देखेछन् उनले । अनि इमेल र इन्टरनेटबारे जिज्ञासा राखेछन् । भनिएछ "तिमीहरू जस्ताले यसबारे जान्नु आवश्यक छैन ।" त्यसले कम्प्युटरबारे झन् जिज्ञासु बनायो उनलाई । त्यसैकारण अहिले स्वनामधन्य वेभ डिजाइनर हुन पुगेका छन् । आफ्नै प्रयत्नमा विभिन्न वर्ग, पुस्ता, जाति र पेसालाई लक्ष्य गरी विभिन्न वेबसाइट सञ्चालन गरेका छन् उनले । www.datingHand.com, www.realDomainHost.com, www.realGiftClub.com, www.dhankuta.org.np, आदि । www.sahityaGhar.com उनलाई चिनारी गराउने अर्को साइट हो । त्यस मार्फत सिंगो नेपाली डायोस्पोरालाई नै उनले साहित्यिक एवं बौद्धिक खुराक पस्केका छन् ।त्यसो त विश्वास ब्रिटिस गोर्खा सैनिक र उनीहरूका परिवारका लागि 'सांस्कृतिक सहचरी' को भूमिका पनि निर्वाह गरिरहेका छन् । जाँगिरको सिलसिलामा उनले गोलो पृथ्वीलाई एकचक्कर लगाएका छन् । २५ भन्दा बढी देश घुमेछन् विश्वास । बढी चाहि " बेलायत र ब्रुनाइमा बिताए । उनका देश बोक्नुको पीडा (नियात्रा), गृहयुद्धका पीडा (नियात्रा),, परदेशीका कोसेली कविताहरू



(कवितासंग्रह), अभियान (राजनीतिक शब्दावली), बोर्नियो परिचय (भूगोल परिचय) प्रकाशित छन् । नियात्रामा युद्धविभिषीकाका बीभत्स दृश्य र युद्ध क्षेत्रमा भोग्नुपरेका आफ्नै अनुभवहरू समेटेका छन् ।

विश्वास साहित्यमा आफ्नो स्थान तोक्ने पक्षमा छैनन् । बरु आफूलाई औधि साहित्य मनपराउने इमान्दार पाठक भन्न रुचाउ"छन् । विभिन्न संघसंस्थामा मात्र होइन, अरुका किताब, वृत्तचित्र प्रकाशन गर्न पनि मरिमेटेर लागेका छन् विश्वास । तत्कालै उनी छाप्दैछन्, झमक घिमिरेको आत्मवृत्तान्त जीवन फूल या का"डा, किशोर गुरुङसम्बन्धी पुस्तक अनि धनकुटा प्रतिभा पुरस्कारको स्मारिका आदि ।पल्टने साहित्य उर्लिएर आएको विश्वासहरूकै सक्रियतामा हो । अर्धवाषिर्क पत्रिका प्रवासी वेदनाका आवाजहरू उनकै नेतृत्व तथा सम्पादनमा १० वर्षम्म प्रकाशन भयो । अहिले नया उत्तराधिकारी पाएका छन् उनले । भन्छन्, "भन्नै कर लाग्छ, त्यो वेला पल्टनमा ब्यापक साहित्यिक क्रियाकलाप गर्ने हिम्मत कसैले गरेको थिएन र साहित्य क्षेत्रमा काम गरेबापत मैले पटकपटक कार्वाही बेहोर्नुपर्‍यो । यी कुरा देश बोक्नुको पीडामा पनि छ ।" हो, बढुवादेखि लिएर धेरै अवसर साहित्यमा काम गरे बापत गुमाएका छन् उनले । तर, उनको साहस कहिल्यै धर्मराएन ।



त्यसो त दिदीबहिनीहरूलाई कम्प्युटर सिकाउनु, गोराहरूलाई नेपाली सिकाउनु, पेन्सन जानेहरूलाई कोर्षगर्न सहयोग गर्नु उनका काम हुन् । समग्रमा विश्वास 'सेकेन्ड गोर्खा राइफल' को एजुकेसन सेन्टरमा ब्यवस्थापकीय काम गरिरहेका छन् । भन्छन्, "कलेजबाट शिक्षक झिकाई अंग्रेजी, अफगानी, मले भाषा आदि पढाइ हुन्छ ।" अवकाशपछिको जीवन पनि सिर्जनशील ढङ्गले बिताउन चाहन्छन् विश्वास । लाहुरे जीवनमा नै अक्सफोर्ड युनिभर्सिटीबाट सूचना प्रविधिमा उच्च शिक्षा हासिल गरेका हुन् उनले । साहित्य र शिक्षाका क्षेत्रमा जाँगिरले ठूलो सहयोग गरेको उनको अनुभव छ ।



नेपाली रगत छ विश्वासमा । काम र ज्यान विदेशमा भए पनि मन आफ्नै गाउ"घरतिर छ । बाल्यकाल गाउघरमा बिताएका कारण होला, अझसम्म सबै सपना गाउ"घरकै देख्छन् । भन्छन्, "विदेश बसेको पनि लामो समय भयो । तर, विदेशका सपना कहिल्यै देखेको छैन । कहिलेकाही" लाग्छ, हामी लाहुरेहरू अभागी रहेछौ । हाम्रा नानीहरू बेलायतकै रहनसहनमा हूर्कदैछन् । बृद्धावस्थामा हामी घरदेश हुदा नानीहरू अन्तै हुनेछन् । हामी बेसहारा बन्ने डर छ ।"विश्वास सपरिवार र्सनकिल्फ बेलायतमा छन् । पत्नी भोजकुमारी हुन् भने दुइ छोरी कल्पना र मलियना लिम्बू पढ्दैछन् । दुइ बर्षको छोरा तङनाम विश्वाससितै कम्प्युटरमा झगडा गर्छन् । उनको पारा देखेर बुबाआमा भन्छन् रे- यस्तै गर्दै गइस् भने जोगी हुन्छस् । तर, भविष्यमा खाली पेट, खाली खुट्टा भए पनि विश्वासले प्रशस्त आत्मा गौरब बटुलेका छन् । त्यसो त कहिलेकाही " सगैका साथीहरूको प्रगति हेर्दा केही गर्न नसकेको अनुभव हुन्छ उनलाई । तर, सुगुरे जीवनको पक्षमा उनी छैनन् । उनको विचारमा जीवन एउटा सुन्दर उपहार हो, यसलाई सुरक्षित तवरले सजाउनु जाती हो । त्यसैले होला, साथीहरू रक्सी खान गएको बेला उनीचाहि साहित्य सेवामा जुट्छन् ।



नया" काम गर्नु, नया ठाउ घुम्नु अनि कुनै पनि नया कुरा जान्नु नै उनका शोख हुन् । नया ठाउ घुम्न पाए भातै चाहिंदैन रे । उनको विचारमा गोर्खा भर्ती बन्द गर्ने पुरानै मुद्दा हो । नेपालको सामाजिक संरचना नै गोर्खा भर्ती अर्थात् लाहुरे परम्पराबाट प्रभावित छ । आयस्रोतको अन्य भरपर्दो माध्यम नभइन्जेल भर्ती बन्द गरिनु हुदैन । भन्छन्, "अहिलेको अवस्थामा गोर्खा भर्तीबाट नेपाललाई फाइदा नै भएको छ । बेलायत, सिगापुर, भारत भन्दा हाम्रै देशलाई सम्मुन्नत बनाएपछि यस्तो भर्ती केन्द्र स्वतः बन्द हुने अवस्था आउन सक्छ । गोर्खा भर्ती बन्दको पूर्वाधार भनेको देश विकास गर्नु र देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु हो ।" क्यावात विश्वास ।







तलको लिङमा थिचेर PDF फायलको रुपमा हेर्न सक्नुहुन्छ>>>>>

from: NepaliPatra.com




 Download Biswasdip.pdf




तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम