Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
नवराज सुब्बाको कलात्मक अभिव्यक्ति 'मनको मझेरी' (दधिराज सुवेदी) - [2008-08-31]

आधुनिक नेपाली वाङ्मयका उपवनमा केही कविता, केही कथा, केही गीत, केही गजल, केही कला र केही निवन्ध लेखेर आफूलाई वाङमय सेवीका रूपमा स्थापित गर्न सफल स्रष्टाको नाम हो - नवराज सुब्बा ।



अन्तराष्ट्रिमय स्रष्टामञ्च लन्डनको आयोजनामा अनलाइन वेभक्याम मार्फत विश्वका ११३ नेपाली कविका कवितामा प्रथम भएर प्रतिष्ठा प्राप्त गर्ने यी पौरखी पुरुषले 'जीवन मेरो शव्दकोशमा' कवितासङ्ग्रह - २०६३, 'मनको मझेरी' संस्मरणात्मक लघु निवन्धसङ्ग्रह - २०६४, 'जनस्वास्थ्य पाटा, बाटा र अनुभूति' विश्लेषणात्मक लेखसङ्ग्रह - २०६२, 'साँम्बा लिम्बूको बंशावली' -२०५६ जस्ता एकदर्जन जति कृतिहरू लेखेर यस युगलाई उपहार स्वरुप प्रदान गरेका छन् । साहित्य सिर्जनामा सुन्दर विचार, स्पष्ट दृष्टिकोण र अनुभवको चाहना राख्ने यी लेखकले आफ्नो पछिल्लो कृति 'मनको मझेरी' मा नयाँ नयाँ विचार, दृष्टिकोण र वस्तुस्थितिलाई सुन्दर ढङ्गले सजाएका छन् । तिनै कुराहरूको विहङ्गावलोकन गर्ने प्रयत्न यहाँ गरिएको छ ।



शुभ्र, शान्त र स्निग्ध मुखाकृति र निर्मल मनका अनि बहुमुखी प्रतिभाका धनी नवराज सुब्बाको मनको मझेरी ज्यादै सुक्सुकाउदो र फराकिलो छ । जसरी गृहस्थ जीवनलाई आवश्यक पर्ने अँगेनो, गग्रेटो, चूल्होचौको, भर्‍याङ्, आट आदि मझेरीमा ओरिपरि सजाइएका हुन्छन् त्यसरी नै 'मनको मझेरी' भित्र जीवन र जगतका स्थूल एवं सूक्ष्म कुराहरूलाई अटाउने प्रयत्न गरिएका छन् । त्यसैले यसमा विषयवस्तु, घटनाक्रम आदि पाठकका मनका मझेरीमा जीवन्त रूपमा रहनेछन् भन्ने कुरामा कुनै सन्देह छैन ।



नवराज सुब्बा कल्पना भन्दा यथार्थमा रमाउने स्वभाव र शैलीका लेखक हुन् । उनलाई ग्रामीण परिवेश औधी मनपर्छ । त्यसैले उनलाई र उनका सिर्जनालाई सबैले मन पराउँछन्, उनी साझा व्यक्तिका रूपमा अगाडि बढिरहेका छन्, सरल अभिव्यक्तिमा गहन भाव प्रक्षेपण गर्नु निवन्धकार सुब्बाको सिर्जनात्मक विशेषता हो । त्यसैले उनका सिर्जना सबै पाठकका लागि रूचिकर मानिन्छन् । पढ्न थालेपछि बीचमा विश्राम लिने मन गर्दैनन् ।



सरल भाषा, सुन्दर भाव, जीवन्त चिन्तन, सरल र सरस अभिव्यक्ति सम्बेदनशीलता, बौद्धिकता, रोचकता र कलाकौशलता आदि नै नवराज सुब्बाका शिल्प सौन्दर्य हुन् । उनका कलमले सामाजिक जीवनको उचाइ र गहिराइ नाप्ने प्रयत्न गरेको छ । यसका निमित्त उनी अत्यन्तै सफल सावित भएका छन् । मलाई लाग्दछ - उनका निबन्धमा भावनाको प्रबलता छ । विषय र प्रस्तुतिले आफ्नो वर्चश्व कायम गरेका छन् । त्यसैले आफ्नो निबन्धकलामा उनी सबल र सफल पनि छन् । उनी जति रसिला र मिजासिला छन्, बौद्धिक जटिलताबाट जोगिएका छन् र नै सबै निबन्ध सबैका लागि मिठासपूर्ण रहेका पाइन्छन् ।



सकारात्मक सोच, सद्भाव र समृद्धिका निमित्त साहित्य लेख्ने नवराजले निबन्धलाई सामाजिक जीवनका प्रतिविम्ब मानेका छन् । उनका निबन्धात्मक अभिव्यक्तिमा निजात्मकता छ । भावना र बौद्धिकताका संवेगहरू दौडिएका छन् । मनोगत स्वतन्त्र अभिव्यक्ति दिने निजात्मक भावलाई निबन्धका रूपमा प्रस्तुत गर्दै जाँदा उनको यो कृति तयार हुन पुगेको छ । यहाँ बौद्धिक जटिलताको जालो पाइँदैन । विषयवस्तुको यथार्थतालाई विस्थापित नगराइ प्रतिकात्मकतामा नअल्मलिइ आदर्शवादको सोझोबाटो सरासरी हिडेकाले नवराजका निबन्धहरू सबैका लागि सुबोध र सुपाच्य बन्न पुगेका छन् । त्यसैले उनको 'मनको मझेरी' फराक, सुक्सुकाउँदो अनि उज्यालो पनि छ ।



यस निबन्धसङ्ग्रहभित्र भूमिकाकार परशु प्रधानले निबन्धकारका शालीनताको यसरी चित्रण गर्नु भएको छ - "उहाँ सुब्बा मेरो मानसमा कोरिएको रेखाचित्र उहाँसँग मिल्दैन । माछामासु, अल्कोहल छुदैनन् । अरूलाई सेवा गर्नमा रमाइलो मान्छन् । नेवार समुदायको ज्वाइँ भएर जातीय पर्खाल भत्काएका छन् । व्यवहार र बोलीमा जुन संस्कार र परिमार्जन देख्छु - आफैलाई आश्चर्य लाग्छ । नरम, सरल व्यवहार, विनम्र संवेदनशील, उदार र विवेकपूर्ण व्यक्तित्वका धनी नवराज सुब्बाको जति प्रशंसा गरे पनि थोरै लाग्छ ।" भूमिकाभित्रै उहाँ लेख्नु हुन्छ - "यो कृति निबन्ध हो, प्रबन्ध हो, यात्रा-नियात्रा हो, स्तभ्भ वा समाचार हो, कथा हो, यसमा संस्मरण छ, आत्मवृत्तान्त छ, कविता छ, कथा छ, खबर छ, घटना छ, अनुभूति र विचार छ ।"



निबन्ध एक कला हो, यसमा लेखकले आफ्ना अनुभव र अनुभूतिलाई प्रस्तुत गर्ने जमर्को गरेका छन् । निबन्धकार सुब्बाले पनि यस सङ्ग्रहका बीसवटै निबन्धहरूमा रमाइलो पाराले आफ्नो अतीत र वर्तमानका सन्दर्भहरूलाई स्मरण गर्ने प्रयत्न गरेका छन् । जसमा केही उल्लेख्य पक्षहरूमा चञ्चु प्रवेशको प्रयत्न गरिएको छ ।



लाटा, बहिरा अथवा अपाङ्गका जीवनमा पनि समृद्ध संसार अटाएको हुन्छ, उनीहरू बोल्न, सुन्न अनि सपाङ्ग सरह जीवन यापन गर्न सक्दैनन् ता पनि 'नयाँ नेपालको चित्र' कोरेर त्यसमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र अखण्डता भाव भरिरहेका हुन्छन् । उनीहरूका मनमा मझेरीमा सुवासयुक्त राष्ट्रिय फूल मग्मगाइ रहेको अनुभव हुन्छ ।



निबन्धकार सुब्बा कवि पनि हुन् । उनी हरेक तस्बीरमा गहन भाव अटाएका कविता देख्दछन् । तस्बीर साहित्यलाई सत्य ठान्दछन् । तस्बीर कविता जस्तै मीठो र महाकाव्य जस्तै गहन हुनसक्तछ भन्ने उनको अठोट छ । त्यसैले 'तस्बीरमा पोखिएका कविताहरू' मा उनी दुःखपछिको सुख र क्रान्तिपछिको शान्ति देख्दछन् । यो निबन्धकारभित्रको सकारात्मक पक्ष हो । उनी जीवनलाई नकारात्मक चिन्तनबाट धेरै टाढा राख्न चाहन्छन् । सर्वे भवन्तु सुखिनः उनको जीवनदर्शन हो ।



मान्छेलाई डोर्‍याउने सवैभन्दा ठूलो इच्छा शक्ति हो । यसैले डोर्‍याएको थियो विवाह नै नगरी बसेकी बूढीकन्या साइलीबजू भन्ने लिम्बूनीबूढीलाई । गुलावको बोटमा फूल र काँडा सँगसँगै रह झैं ती बूढीमा पनि शिष्ठता र दुष्टता दुवै थिए । उनी कुनै बेला हातमा चिरपट लिएर स्कुले विद्यार्थीलाई लगार्थिन् भने कुनै बेला याङ्गबेन, छ्यापी, दुङ्दुङे र रामभेंडाका मीठामीठा परिकारहरू तयार पारेर खान दिदै माया गर्थिन् । उनमा प्रसस्त आफ्नो मौलिकपन थियो र नै लेखकले उनी मरेपछि पनि बिर्सन सकेनन् र 'श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई' अर्पण गरिरहे । यो निबन्धकारको श्रद्धा र सद्भाव हो , जसमा ममता र मानवता सन्निहीत भएर रहेका पाइन्छन् ।



हरेक 'आमाका रूपहरू' मा माया, ममता, बात्सल्य, स्नेह, प्रेम, श्रद्धा, सद्भावना, सहनशीलता र सहानुभूति अटेसमटेस भएर रहेका पाइन्छन् । यस्ती परमादरणीय आमाका विविध रूपहरू जान्न र बुझ्न आमाकै जत्रो विशाल हृदय चाहिन्छ । आमा पृथ्वी पनि हुन् र सृष्टि पनि हन्, यसमा विविधता र विशालता दुवै अटाएको हुन्छ । यस कुरालाई हामीले देख्न र जान्न सक्नु पर्दछ ।



अन्तराष्ट्रिय सङ्गीत दिवसका अवसरमा 'हाक्पारे सङ्गीत' संझेर रमाउने नवराज सुब्बा गीतभित्रका शव्द, सङ्गीत र स्वरले सम्मोहित बन्न पुग्दछन् । कोमल मन, उदार विचार र विस्तृत परिवेश अटाएका मान्छेका हृदयहरू गीतसङ्गीतका माधुरीमा रमाउनु र भावुक बन्नु अस्वभाविक होइन । त्यसैले कविहृदयका यी स्रष्टा भावुक भएर आफ्नो जातीय संस्कृतिको संरक्षणमा संलग्न रहन सबैलाई अपिल गर्दछन् ।



कला जीवन हो, जीवन नै कला हो । कलाले व्यक्तिमा व्यक्तित्वको निर्माण गर्दछ । भगवान कृष्णका जीवनमा पनि विशेष प्रकारका सोह्र कला थिए । कलाले आनन्द दिन्छ । जीवनको परम् लक्ष्य आनन्द नै हो । यो कुरा 'गीत सङ्गीतभित्र देश र जीवन खोज्दै' हिड्ने लेखकलाई राम्ररी थाहा छ । यसभित्र लेखकको सिर्जनाशक्ति, नेपाली जातीय भाव जसरी मुखरित भएको छ, त्यसरी नै उनी भित्रको स्वाभिमान पनि मुस्कुराएको छ ।



आफ्नो पारिवारिक अभीष्ट पूरा गर्न 'एक जोडी परेवा' लिएर परिवारहरूसहित धरानको बुढासुब्बा मन्दिर गएका नवराज पुजारीलाई ब्याधाका रूपमा पाउँछन् । निरासा बोकेर र्फकन्छन् । उनी लिम्बू भए पनि माछामासु र रक्सी खाँदैनन् । उनी स्वभाव र संस्कारले उठी सकेका उदार विचारका असल मान्छे हुन् । उनलाई जातीय बन्धनले बाँध्न सकेन । अन्तर्जातीय विवाह गरेर चञ्चला श्रेष्ठलाई अर्धाङ्गीनी र निशा थापालाई बुहारी बनाएर भित्र्याए । उनी पाँचथरे लिम्बू हुन् तापनि आफूमा संस्कार र सभ्यता भरेर समुन्नत बनी सकेका छन् । उनको संस्कार, सेवा र समर्पणको मूल्याङ्कन हुन थालेको छ ।



जीवनाकाशमा लाग्ने निरासाका बादलमा पनि चाँदीको घेरा देख्ने निबन्धकार सबैका असल कर्मलाई सकारात्मक रूपले हेरेर आनन्द बटुल्ने प्रयत्न गर्दछन्, मायाको द्यौरालीमा जुटेर वरपीपल रोप्दै रमाउन चाहन्छन्, आफ्ना प्रभाव, प्रेरणा र प्रोत्साहनका प्रोत्साहनका प्रतिमूर्ति यज्ञनिधि दाहाललाई अन्तरात्मादेखि नै श्रद्धापूर्वक जदौ गर्दछन् । यसमा दाहालका उदारता र महानताको मुक्त कण्ठले प्रशंसा गरिएको छ ।



'साहित्यकार इमान्दार हुन्छ', जसले जीवन र जगतको सत्यतथ्य समुद्घाटित गरिदिन्छ । कसैले राम्रो वा नराम्रो जे काम गरेको छ त्यसलाई बिना पूर्वाग्रह साहित्यकारले हेर्न जान्नु पर्दछ भन्ने निबन्धकारको आग्रह छ । ठीकै हो, एकजना हिन्दीका विद्वानले - 'जहाँ न पहुँचे रवि, उहाँ पहुँचे कवि' भनेका छन् ।



सिर्जनात्मक प्रतिभाहरू राष्ट्रका अनमोल सम्पत्ति हुन् । यिनीहरूका मूल्याङ्कन समग्र जीवनको उर्जा, उपलव्धि र योगदानलाई समेटेर गर्नु पर्दछ । 'स्रष्टाप्रति समाजको अपेक्षा' सधैं रहन्छ । त्यसैले सर्जक आफ्नो सिर्जनामा सुन्दर विचार, पवित्र दृष्टिकोण एवम् अनुभव र अनुभूति प्रस्तुत गर्न सक्नु पर्दछ भन्ने लेखकको आग्रह छ ।



पशु पनि प्राणी हो । उसलाई दयाकासाथ राम्रो व्यवहार गर्नु पर्दछ । पशुलाई मारेर खाने जात हो भनेर पीडा दिने काम गर्नु हुँदैन । उनीहरूमा पनि मान्छेमा जस्तै ज्ञान हुन्छ । मनको कुरा अभिव्यक्त गर्ने भाषा हुँदैन । त्यसकारण हामी मानिस क्रूर र अमानवीय नबनौं, 'पशुप्रति मानवीय सम्वेदना' प्रकट गरौं संवेदनाशून्य नबनौं, पशु अधिकारको रक्षा गरौं भन्ने लेखकको आग्रह छ ।



'पुस्तकालय' सभ्य मानिसको साधनास्थल हो । यसको महिमा र महत्वमा कहिल्यै कमी आएको छैन र आउँदैन पनि भनेर ठोकुवा गर्न निबन्धकार जनआन्दोलन गर्नेहरूले साहित्यकार, कलाकार र चिन्तकहरूका सडक चोकका सालिकहरू तोडफोड गरेकामा दुःख प्रकट गर्दछन् । यस्ता दुःखद घटनाले देशवासीको दिल दुख्नु पर्दछ भन्ने उनको धारणा छ ।



'बैंकक शहरमा काइलीको स्वर' सुनेर रमाउने अनि भिखारीको गीत सङ्गीतमा उनीहरूका अन्तरात्माको आवाज पत्ता लगाउने यी लेखकमा मानवताको प्रचूरता छ । जहाँ जसलाई जस्तो सहयोग वा सेवा आवश्यकता छ त्यहाँ सोही प्रकारको सेवा र सहयोग दिन उनी पछि पर्दैनन् किनभने उनी असल स्वास्थ्यकर्मी पनि हुन् । त्यसैले परदेशमा पनि परसेवा गर्न उनी पछि परेका छैनन् ।



'स्मृतिका छालहरूमा प्रधानबा' ले ताछेर खुवाएका मीठा हलुवाबेतसँगका प्रेम, श्रद्धा र सौहार्दतामा अर्थात् त्यहाँ अभिव्यक्त मानवप्रेममा रमाएका सुब्बाका जीवनका क्षणहरू सधैं रमाइला र मीठासपूर्ण रहेका पाइन्छन् । मलाई लाग्छ - उनी जति रसिला छन् त्यति नै रमाइला पनि छन् । उनी स्वयम् पाकेका हलुवाबेत हुन् । जसमा स्वाद, सौन्दर्य र सौहार्दता एकसाथ घनिभूत भएर रहेका हुन्छन् जसको उत्पत्ति प्राणी सेवाका निमित्त भएको मानिन्छ ।



जीवनका भोगाइ र अनुभूतिलाइ प्राप्ति ठान्ने यी बहुमुखी प्रतिभाका व्यक्तित्व जुन वातावरणमा जान्छन् त्यही अनुरूपको बनिदिन्छन् । उनी कतै प्रशिक्षक, कतै पत्रकार, कतै साहित्यकार, कतै गीतकार, कतै गायक, कतै स्वास्थ्यकर्मी त कतै असल मित्र र सबैतिर सबैले मनपराउने ज्ञान, बुद्धि र विवेकले भरिएको असल मान्छेको रूपमा प्रस्तुत भएका पाइन्छन् । उनमा सङ्कीर्ण भाव, अनुदार विचार र स्वार्थी भावना पाइँदैन । उनका निबन्धहरू पनि उदार र फराकिला छन् । स्वार्थको सीमित घेराले उनलाई छेक्न सकेको छन ।



अकाल्पनिक पात्रहरूका बीचमा आत्मपरक शैलीमा लेखिएका यथार्थ एवम् स्पष्ट अभिव्यक्ति दिने नवराज सुब्बाका निबन्धहरू पाठकमा जिज्ञासा जगाउन, कौतुहलता र उत्सुकता जागृत गर्न अनि पाठकको मन परिवर्तन गर्न सबल र सक्षम रहेका पाइन्छन् । मलाई लाग्छ - उनी नीति र नियमका लेखक हुन् । अनुशासनको परिधिमा उनको लेखकीय वर्चश्व कायम भएको छ । ज्ञान र विज्ञानको समन्वय गराउँदै उनी अगाडि बढेकाछन् । त्यसैले नयाँ र पुराना दुवै विचारका मानिसलाई उनका चिन्तनहरू प्रिय लाग्छन् । उनले आर्जन गरेको प्रतिष्ठा पनि यही नै हो ।



अन्त्यमा नवराज सुब्बा मानवीय संवेदनाका लेखक हुन् । उनी जे लेख्छन् - राष्ट्रियता, मानव अधिकार र प्रजातन्त्रका लागि लेख्छन् । सरल भाषा, मीठो शैली र जनजीवनका हृदयका कुरालाई एकसाथ आत्मसात गर्दै अगाडि बढ्ने उनको जीवनशैली भएको छ । उनी सबैका साझा ब्यक्ति बन्न सफल भएका छन् । त्यसैले उनको 'मनको मझेरी' मा सबै सजिलैसँग अटाएर रमाउन सक्छन् भन्नु कुनै अत्युक्ति नहोला । अस्तु ।



भाद्र २०६५, विराटनगर, नेपाल



'मनको मझेरी' डाउनलोड गर्नः www.nrsubba.com.np








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम