Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
उत्तर आधुनिकतावादले आगामी २० बर्ष भन्दा बढि समय नेपाली साहित्यलाई डोर्‍याउनेछ (डा. गोविन्दराज भट्टराइ) - [2008-09-14]

नेपाली साहित्यका उपन्यासकार, निबन्धकार तथा बरिष्ठ समालोचक प्रा. डा. गोविन्दराज भट्टराइ वेलायत भ्रमणमा आउनु भएको थियो। डा. भट्टराईले लामो समय देखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउदै आउनु भएको छ भने बहाले हाल सम्म १७ वटा चर्चित पुस्तकहरु लेखिसक्नु भएको छ। अनुवादमा पहिलो पी. एच. डी. गर्नुभएका डा. भट्टराईले नेपाली समालोचनाको साहित्यमा सबैभन्दा ठूलो ग्रन्थ उत्तर आधुनिक विमर्श भर्खरै मात्र बजारमा ल्याउनु भएको छ। केही समय अघि वहाको उत्तर आधुनिक ऐना पुस्तक पनि अमेरिकाबाट उत्कृष्ट पुस्तकको रुपमा पुरस्कृत भईसकेको छ। वहाको वेलायत भ्रमणको अवसरमा साहित्यघर डटकमका सम्पादक विश्वास दीप तिगेलाले साहित्यको सेरोफेरोमा लिएको अन्तर्वार्ता प्रस्तुत गरिएको छ।



प्रश्न नं १. नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ? केही प्रकाश पारिदिनु हुन्छ कि?

उत्तरः वर्तमान नेपाली सहित्य अत्यन्तै नौलो हुँदैछ। अतीतको भन्दा शैलीमा, विषयवस्तुमा, विचारमा, सिर्जनाभूमि र सर्जकमा सबै दृष्टिले विविधतापूर्ण हुँदैछ।



प्रश्न नं २. नेपाली साहित्यले अन्तराष्ट्रिय बजारको लागि कस्तो काम गर्दैछ?

उत्तरः अन्तराष्ट्रिय स्तरमा पुग्नको लागि विश्वभाषा (अङ्ग्रेजी) को प्रयोग गरेर हाम्रो साहित्यको समीक्षा समालोचना इतिहास लेखिनु पर्दछ दोस्रो कुरा यसको प्रचुरमात्रामा अनुवाद हुनुपर्दछ र तेस्रो कुरा अङ्गे्जी भाषामै समेत नेपाली साहित्य लेख्न प्रोत्साहित गर्नुपर्दछ। नेपालमा पहिलो कुराको थालनी भएकै छैन भन्दा पनि हुन्छ। दोस्रो र तेस्रो कार्यको शुभारम्भ भएको छ। तर सम्वन्धित निकायको ध्यान पुगेको छैन। अझ अनुवादबाट विश्वसाहित्य पनि हाम्रोमा भित्रIउनु पर्दछ। सो कार्य अल्प मात्रामा हुँदैछ भए पनि दुवै खाले अनुवाद उपेक्षित छ।



प्रश्न नं ३. नेपाली साहित्यमा विभिन्न आन्दोलनहरु भएका छन्, समग्रमा ती आन्दोलनहरुको औचित्य चाहिँ के होला? ती अनगिन्ति आन्दोलनहरुबाट नेपाली साहित्यले के पायो?

उत्तरः आन्दोलन भनेको विचारको नयाँ हाँगो हो एउटा विकल्पको खोजी र विद्यमानप्रति असन्तुष्टि। नयाँ हाँगा नपलाए रुख मर्छ I नयाँ विचार, सिद्धान्त, प्रयोग र आन्दोलन भएन भने साहित्य मर्छ। अथवा गतिहीन हुन्छ। विश्वसाहित्यलाई झैँ नेपाली भाषा र साहित्यलाई पनि विचारले अथवा आन्दोलनले नै गति दिएको छ, अघि बढाएको छ। अघि पनि आए, पछि अरु धेरै आन्दोलन आइरहने छन्। विचारले नै हरेक कुरालाई जीवन्त राख्नेछ। आन्दोलन नयाँ विचारमा सम्बाहक तरङ्ग हुन्।



प्रश्न नं ४. यहाँले उत्तरआधुनिकतावादको अग्रणी नेतृत्व गरिरहनु भएको छ। वास्तवमा उत्तरआधुनिकतावाद भनेको के हो संक्षेपमा प्रस्टाइदिनु हुन्थ्यो की?

उत्तरः स194ङ्क्षेपमा भन्दा उत्तरआधुनिकता भनेको आधुनिककाल पछिको समयलाई व्याख्या र विश्लेषण गर्ने एउटा व्यापक विश्वदृष्टिकोण हो। यो शुरु भएको चार दशक भयो। यसले हेर्दा हरेक वस्तु र विचारको अस्थिरता र निरन्तरता देखिन्छ। यसले नयाँ सत्यको, प्रयोगको र विचारको स्वागत गर्दछ। यसले सधैँ पुरानोलाई उल्टाएर नयाँ खोज्नु भन्छ। यसले सत्यको स्वरुप सधैँ आंशिक हुने हुनाले हामीले चित्त बुझाउने दिन कहिल्यै आउने छैन भन्छ। यसले अतीत र वर्तमान जोडदै सधैँ बहुलता, विविधता, नवीनता र सहअस्तित्वको मार्ग पछाउनु भन्दछ। यसले सिमान्तिकृत, छेलिएका, हेपिएका, मोफसलका, परदेशी सबैलाई केन्द्रमा ल्याउन, केन्द्र बनाउन दिनू भन्दछ। म त्यसै अभियानमा लागेको छु, लागेरै बेलायत सम्म आएको हुँ।



प्रश्न नं ५. उत्तरआधुनिकतावादको परिभाषामा विवाद छ भन्ने सुनिन्छ त्यो कस्तो विषयवस्तुको विवाद हो?

उत्तरः परिभाषामा विवाद छैन तर यसको अस्तित्व स्वीकार्ने कुरामा मतमतान्तर छन्। खासगरी विश्वलाई स्थिर सिद्धान्तले, अपरिवर्तनीयताले, जडताले बाँध्नु पर्छ भन्नेहरु यो निरन्तरताको विरोध गर्दछन्। तर एउटा सत्य के छ भने यहाँ बुद्ध गान्धीको मात्र होइन स्वयम् ईश्वरको पनि विरोध गर्दछन्, विरोध गर्नु मानव धर्म र स्वभाव हो। त्यसमा पनि उत्तरआधुनिकता उदार समाजको निर्माणमा लाग्ने विचार भएकाले त्यसमा विरोध हुनु आवश्यक छ। निरङ्कुशतामा मात्रै विरोध र विमति दबाइन्छ यहाँ त्यसको स्वागत छ। कुरो बुझसक्ता विरोध सेलाएर गइहाल्छन्। तपाईं नै भन्नुहोस् आजको कविताले पनि भानुभक्त्तीय शैली र सोच अपनाउनु पर्छ भन्ने आग्रह र अडान सुन्नु भयोभने त्यो कुरामा सहमति जनाउन अथवा स्वीकार्न सक्नुहुन्छ? आज सबै कुराको परिभाषा नै बदलिएको छ।



प्रश्न नं ६. उत्तरआधुनिकता भनेको पोष्टमोर्डन हो अर्थात भोलिको साहित्य, भावी साहित्य हो, त्यो स्वतसिद्ध स्वीकार्नु पर्ने साहित्य हो। त्यसको लागि किन यति ठूलो बहस?

उत्तरः मैले भने, सबै सत्यको स्वरुप हो कि हो कि जस्तो मात्रै हुन्छ, पक्का हुँदैन। एक पाटो देख्नेले अर्को देख्तैन। त्यसैले विरोध नहुनु भनेको चेतना निस्कृय हुनु हो एउटा सम्पूर्णताको मिथ्याभासले छोप्नु हो। उत्तरआधुनिकतामा बाँच्नेहरु पनि हामी अर्कै समयमा छौँ, हाम्रो जीवन अर्कै सिद्धान्तले चल्छ भन्दछन्। जीवन जगत्को आ-आफ्नो व्याख्याको कुरा हो। तर विरोध गर्दा उत्पन्न भएको कट्टरताले अथवा जडताले विरोध गर्नेलाई नै एक्ल्याउछ, किनभने यतिबेला जडताको समय समाप्त भएको छ। उद्धारताको समयले जितेको छ।



वास्तवमा तपाईंले भनेझैँ हामी जुन जगतमा छौँ, जुन कालखण्ड छ, यो साइबर चेतनाले सञ्चालित छ, आधि भ्रम र आधि यथार्थ छ। हिजो राति यही शहरको एउटा जुवा घरमा भर्चुअल घोडा रेसमाथि वा कार रेसमाथि बाजी थापेको हेर्‍यौँ, त्यस्तै छ आधि जीवन भर्चुअल अर्थात् परोक्ष यथार्थमा आधारित छ। जीवनको यथार्थ नै बदलिएको बेला, ग्लोबल परिवेशमा बाँचेका समयमा जुनजुन अकल्पनीय कुरा भोग्दैछौँ, गर्दैछौँ, त्यहाँ नै उत्तरआधुनिकता उपयुक्त दर्शन लाग्छ। धेरै भ्रान्ति धेरै सत्यका छायाँहरु ओडदै, पस्किँदै, फिजाँउदै। सबै यहीँभित्र, यसैले निखि्रएका।



अब आउने तीन दशकसम्म अरु कुनै जीवन दर्शन यति वलाशाली हुनेछैन। यो भविष्यकै दर्शन हो, अवश्वयम्भावी, हामी जे जस्तो बाँच्ने छौँ त्यस्तै। आजको विश्वचेतना यसैले ढाकेको छ।



प्रश्न नं ७. समग्रमा नेपाली साहित्यको भविष्य कस्तो छ?

उत्तरः नेपाली साहित्य नयाँ छ, कलिलो छ। तर समयले तानेर ल्याउँदा यसमा पनि उमेर नपुगी फल लाग्नु पर्‍यो। असमयमै यो साइबर जगतमा पसिसक्यो विश्वमञ्चमा पसिसक्यौँ। तपाईंको वेवसाइट (www.sahityaGhar.com) हेर्दा यो कुरा प्रष्ट हुन्छ। अरुले पनि यसलाई साइबरमा लाँदै छन्। अरु पुराना, बूढा, स्थापित साहित्य सँगै यसले दौडमा भागलिनु परेको छ। तर लिन्छ, किनभने यो पनि विविधतापूर्ण, नवीन, प्रयोगपूर्ण र अनेक विधामा आत्मादेखि नै भरिएर सम्पन्न भएर आउँदैछ। त्यसो भएपनि हामीले यस्तो उपलब्धीलाई विश्वसमक्ष देखाउन सकेका छैनौँ।



प्रश्न नं ८. नेपाल बाहिर रहेका स्रष्टाहरुको सिर्जनालाई डायस्पोरिक साहित्य भनिन्छ तर डायस्पोरामा लेखिएको सिर्जनाहरु उपेक्षित अवस्थामा रहेको अनुभव गरिएको छ। यस सम्बन्धमा यहाँको अवधारणा के छ?

उत्तरः अघि नेपालबाहिरको साहित्य भन्नाले भारतीय मात्र बुझन्थ्यो। आज बेलायत, अमेरिका हङ्कङ, जर्मनी, फ्रान्स, रसिया, जापान, खाडी मुलुक लगायत अनेकौँ केन्द्रमा नेपाली डायास्पोराको निर्माण भएको छ। ती केन्द्रबाट निरन्तररुपले सशक्ततापूर्वक नेपाली साहित्य आउन थालेको छ, आइरहेको छ। यो कुरातर्फ मूलधारका समीक्षक लेखकलाई त्यति ज्ञान छैन। ज्ञान भए पनि उनीहरु नेपाली साहित्यको परम्परित परिभाषले बाँधिएका छन्, विश्वविद्यालयको पाठयक्रमले बाँधिएका छन्। त्यसकारण आज सबै कुराको परिभाषा बदलिने दिन आएको छ, बदलिएको छ, उनीहरु पुरानो परिभाषाले मात्र हेर्न र बुझ्न सक्तछन्। त्यसैले अनेक नेपाली डायास्पोराको साहित्य उपेक्षित छ, अदृश्य छ।



वास्तवमा यो नेपाली साहित्यको नयाँ स्वरुप हो, भिन्न स्वाद र तेस्रो साहित्य। यसको हिसाब नगरी, यसलाई अलग्याएर हेर्दा नेपाली साहित्य अधूरै रहने छ। आज नेपाली साहित्यको यो विविधतापूर्ण स्वरुपतिर सबैको ध्यान जानु परेको छ।



यही चिन्तालाई ध्यानमा राखेर पहिलोपल्ट मैले आफ्नो उत्तरआधुनिक विमर्श २०६४ मा डायास्पोरिक साहित्यको परिभाषा गरेर त्यहाँ यस्तो प्रकारको साहित्य निर्माण हुने बेलायत, हङ्कङ, अमेरिका जस्ता केही केन्द्रका प्रतिनिधि कृति समावेश गरेको छु। अब उप्रात्त यही अभियानलाई तीब्रता दिन म यहाँ आएको हुँ।



विश्वसाहित्यको स्वरुप जस्तै नेपालीको पनि स्वरुप बदलिएको छ। आज सयौँ प्रकारका अङ्ग्रेजी साहित्यहरु जन्मेका छन्, ती बेलायतभन्दा बाहिरै हुर्किंदै छन्, पुरस्कृत हुँदैछन्। ठीक नेपाली साहित्यले पनि त्यही बाटो लिँदैछ। अनेक देशमा उत्पादित अनेक प्रकारका, अनेक रङका नेपाली साहित्यहरु जोडिएर मात्र मूलधार बन्दछ। यस कुरालाई उपेक्षा गरियो भने नेपाली साहित्य अधूरो हुनेछ। त्यसैले अब प्रकाशनमा, मूल्याङकनमा, सम्पूर्ण नेपाली साहित्यिक गतिविधिमा नेपाल केन्द्रले विविध डायास्पोरिक शक्तिलाई समेटेर चल्नु पर्दछ। उनीहरुले गरेको योगदानलाई बेलैमा समेट्ने परम्परा थाल्नु पर्दछ। नत्र कुनै दर्घटना हुनसक्छ।



प्रश्न नं ९. नेपाली साहित्य र छापाको सवालमा साझा प्रकाशनको नाम लिनै पर्छ तर साझा प्रकाशनको इतिहास हेर्ने हो भने सिमान्तकृत जाति र क्षेत्रका लेखक साहित्यकारहरुका पुस्तकहरु छापिएको देखिँदैन। पछिल्लो समयमा परिस्थिति बदलिएको छ। यो नयाँ परिवेशमा साझा प्रकाशन आवश्यक छ या छैन?

उत्तरः साझा प्रकाशनको आवश्यकता छैन भन्न मिल्दैन। यसको गौरवमय इतिहास छ। बरु यसको नवीकरणको आवश्यकता छ। तपाईंले भने झैँ यसले एकरेखियताबाट पाखा आउनु पर्छ, अनेकता र विविधता समेट्न, अनि किनारिएकालाई स्थान र सम्मान दिन यसले आमूल परिवर्तन गर्नु पर्दछ। यो अत्यन्तै परम्परित शैलीमा घस्रिरहेको छ। आज म भन्छु सबै कुरा नयाँ पस्थितिमा पुनरपरिभाषित हुनु पर्छ, सङ्गठित, पुनसंयोजित। अब पुराना ढर्राहरु समाप्त हुने दिन आइसक्यो।



प्रश्न नं. १० पहिले रोयल नेपाल एकेडेमी र अहिले नेपाल एकेडेमी बनाउने प्रकृया चलिरहेको छ। अबको नेपाल एकेडेमी कस्तो हुनुपर्छ?

उत्तरः अघि भनिएझैँ, यो पनि पुरनपरिभाषित र पुनसङ्गठित हुनु पर्दछ। किनारालाई केन्द्रमा आउन दिने, व्यापक स्वरुपको नेपाली साहित्यलाई समेट्ने। फेरि नेपाली साहित्यको परिभाषा पनि नयाँ हुनु परेको छ। जुनसुकै भाषामा वा लिपिमा लेखिए पनि नेपाली मानसिकताको, जीवनको, संस्कृतिको सिर्जना नेपाली साहित्यमा पर्दछ। डायास्पोरिक लेखन त्यसको झन् अभिन्न अङ्ग हुनुपर्दछ। अबको एकेडेमीले यी कुरा समेट्नु पर्दछ।



सामन्तिकालकै अनेक ढर्रा र संरचना छन्, ती भत्काएर मात्र त्यो गर्न सकिन्छ। यस्ता कुरा बुझ्ने बुझाउने व्यक्ति त्यहाँ आउनु पर्छ।



प्रश्न नं ११. तपाईंका भावी योजनाहरु के के छन्?

उत्तरः भावी योजना धेरै छन्। ती मडारिएर आउँदा थाम्न नसकिएला जस्तो लाग्छ। बेलाबेलै हुरुक्क हुन्छु। ती फिँजाउने समय नपाएर फेरि बहुलाउन खोज्छु।



व्यक्तिगतरुपले म उपन्यास र निवन्धको सिर्जना गर्न चाहन्छु तर समीक्षा समालोचनापटि्ट लागेकोले ती कुरा ओझेलमा पर्लान् कि भन्ने डर बढिरहेको छ। समालोचनाले सर्जकलाई निलिदिन्छ। यो जान्दछु तर मलाई यतिखेर राष्ट्रको जिम्मेबारीले छोपेजस्तो लाग्छ आफैँ। नयाँ पुस्ता, मोफसल र डायास्पोराको जिम्मेबारीले थिचेजस्तो पनि लाग्दछ। वर्तमान विश्वमा भएका परिवर्तन जस्तै नेपाली साहित्यको स्वरुप पनि भिन्न हुँदैछ। अब के लेख्ने, कसरी लेख्ने, कसले कहाँ कसरी लेखिरहेछ भन्ने कुराको जानकारी गर्न खोज्दा, अरुलाई त्यसको जानकारी दिन खोज्दा मेरो समय भुसुक्क हुँदैछ।



म आफूलाई मेटेर पनि नयाँ समयको लागि बाँच्न चाहन्छु नयाँ पुस्ताको लागि, नयाँ समयको लागि, सिमान्तिकृतको लागि, अन्तराष्ट्रिय जगतमा नेपाली साहित्यलाई स्थापित र परिचित गराउनको लागि।



प्रश्न नं १२. तपाईं त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित हुनुभएकोले यही मौकामा केही कुरा सोधौँ। देश बाहिर पुग्नु भएका विद्यार्थीहरु नेपालबाटै उच्चशिक्षा हासिल गर्न चाहनेहरुको लागि कुनै व्यवस्था गरिएको छ की?

उत्तरः एकै देशको नागरिकको लागि अन्य व्यवस्था छैन। तर अब दुई प्रकारका नेपाली विद्यार्थी आउन सक्छन् नागरिकता भए पनि आफ्नो संस्कृतिमा अनभिज्ञ छन्, विदेशमा केही डिग्री लिएर नेपालमा पढ्न चाहन्छन्, केही अन्य देशकै नागरिक भइसकेका छन्। दुवै प्रकारका नेपाली विद्यार्थीको लागि विश्वविद्यालयले वा देशले सोच्नुपर्ने दिन आइसकेको छ I आजसम्म त्यस्तो कुनै प्रवन्ध भएको छैन।





प्रश्न नं १३. घरदेश नेपालभन्दा बाहिर रहेका साहित्यिक स्रष्टाहरुलाई के भन्न चाहनु हुन्छ?

उत्तरः दुःख त्यहाँ पनि छ यहाँ पनि। सबैले पाएको समय उत्ति नै हो। लेख्ने जागिरमा कोही छैन, पढ्ने समय कसैलाई अतिरिक्त प्राप्त छैन। तर पनि लेख्ने लेखिरहेछन्, पढ्ने पढिरहेछन्। त्यसैले परदेशी मित्रजनलाई भन्दछु, वातावरण कमी भए पनि नेपाली साहित्य खोजेर पढ्ने गर्नुहोस् पढेर मात्रै लेख्ने गर्नुहोस्। तपाईंहरुसँग व्यापक र विशाल परिस्थितिको ज्ञान छ अनुभव छ त्यो लेख्नोस्, साहित्यका विविध विधामा प्रवेश गर्नुहोस। जीवन नाशवान छ, अमरताको बाटो खाली र खुल्ला छ, यसतिर आजै पाइला चाल्नोस्। एकदिन पनि पर्खिने समय छैन। त्यसको मूल्याङकन हुन थालेको छ, अब हुन्छ। आज परदेशको आँगनमा बसेर तपाईंले सोधेका यी प्रश्नको उत्तर दिन पाएँ। यो साक्षात्कारको लागि विश्वास भाइ, तपाईंलाई धेरै धन्यवाद छ। हामीले धेरै वर्ष बेलायती घाम ताप्यौँ, अब म चाहन्छु, बेलायतमा सधैँ नेपाली घाम लागिरहोस्।



अन्त्यमा सवै डायास्पोरिक समुदायमा बसेर साहित्य संस्कृति कलामा संलग्न भइरहेका सम्पूर्ण सर्जकसमक्ष मेरो एउटा निवेदन छ I मैले यस समूहको अध्ययन आरम्भ गरेकाले गर्दा आ-आफ्नो कृतिरचनाबारे मलाई जानकारी दिनुहोला भन्ने सबैमा आग्रह गर्दछु।








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम