Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
मेरो नेपाल मेरो नयाँ सिद्धान्त (राजेन्द्रराजन आचार्य) - [2008-09-16]

मेरो नेपालमा आज

जन्माएको छु मैले एउटा नयाँ सिद्धान्त

जसको पुच्छर हो फूटवाद दिमाग हो लूटवाद

हात हो कुटवाद शीर हो गूटवाद ।

नाम राखेको छु यस सिद्धान्तको मैले

छुटवाद ! छूटवाद !!

नामै क्या राम्रो, आहा !

लोकतन्त्रको पुरापुर प्रवाह

यो वाद चानचूने होइन पुरै सग्लो नोट हो

यो गाँजा हो चरेस हो कोकीन हो

एक सर्को ताने पछि तानीरहूँ जस्तो लाग्ने

एक चोटी हानेपछि हानीरहूँ जस्तो लाग्ने

छोड्नै नसकिने तोड्नै नसकिने तोडियो भने जोड्नै नसकिने

यसको मुहान तपाइहरुले दिएको भोट हो

कहिले यो धोती कूर्तामा नाँच्छ त कैले टाइ कोटमा

कैले यो दौरा सुरुवालमा नाँच्छ त कैले सुरुवाल दौरामा

कहिले यो नाङ्गै नाँच्छ त कैले लुगा लगाएर

सडकमा महलमा दरवारमा बङ्गलामा होटेलमा डिस्कोमा वारमा

आऔँ पसौँ सधैँ बसौँ जीवन कै मज्जा लिऔँ

सधैँ बस्न सकिन्न भने एक सर्को तानेर जाऊँ यस सिद्धान्तको

छिटो, सीट सीमित छ

सीमित सीट भित्र असीमित अधिकार छ

स्वागतम ! सु-स्वागतम !!

यसमा, जसमा

जसले जसलाइ जसरी जुनसुकैवेला जहाँ जे गर्दा पनि छूट छ

नेपालीमा बोले पनि छूट छ हिन्दीमा बोले पनि छूट छ

कुटेर मारे पनि छूट छ मारेर कुटे पनि छूट छ

लुकाएर बेचे पनि छूट छ बेचेर लुकाए पनि छूट छ

पानी बढेर लोडसेडिङ्ग गरे पनि छूट छ पानी घटेर लोडसेडिङ्ग गरे नि छूट छ

घेरे पनि छूट छ केरे पनि छूट छ टेरे पनि छूट छ नटेरे पनि छूट छ

यस्तो प्रिय वाद मैले जन्माएको छू आज

ल्याएको छु तपाइहरुको माझ

आशा छ यसले प्रियता पाँउछ

सवैको मनमा गुँड लाउँछ

जय होस ।।







राजेन्द्रराजन आचार्य

काठमाडौ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम