Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
मायाको क्यानभासमा (शर्मिला खड्का /दाहाल) - [2008-09-16]

कथाकार दिवाकर नेपालीज्यू, तपाईको कथा 'कल्पनाको क्यानभास'मा पढे। अद्भूत लाग्यो। तपाई कसरी अमूर्त कलालाई मूर्तता दिन सक्नुहुन्छ। प्रेमको अमूर्त कलाको उद्बोधलाई मैले मुरीमुरी धन्यवाद दिए। वास्तवमा प्रेम नै संसार हो, प्रेम नै ईश्वर हो र प्रेम नै सत्य हो। प्रेम र समपर्णको त्यो सचित्र चित्रणलाई म कसरी व्याख्या गरू। मलाई खुसी लागेको छ। तपाईले मजस्तो एउटा सामान्य नारीको समिप्यबाट यति सुन्दर रचना सिर्जना गर्नुसक्नुभयो। वास्तवमा तपाई महान हुनुहुदो रहेछ। म पनि तपाईको प्रतिभाबाट प्रभावित भएर आफूलाई यसैमा सर्मपित गर्न खोजिरहेकी छु। तपाईजस्तो कुनै पनि आफ्नो अनुभूतिलाई तुरुन्त कलामा उतार्न त म सक्दिन तर पनि पात्रको अनभूतिलाई उनीहरूको भाषामा चाहि कोर्न सक्छु। भनाै उनीहरूको भाषामा ब्यक्त गर्नसक्छु।



तपाईले कल्पना गर्नुभएको त्यो क्यानभासको अमूर्तकलामा मैले मेरा कथाहरूको बिम्ब पाए त्यहा मैले मेरो अति प्रियवस्तुको प्रतिबिम्ब पाए। वास्तवमा त्यो अमूर्तकला प्रेमको एउटा अदभूत उद्बोधन हो। मैले भनि सके म तपाई जस्तो अमूर्तकला सिर्जना गर्न त सक्दिन तर अहिले म मेरो मायाको क्यानभासमा दुईटा पात्रहरूको चित्र कोर्न गइरहेकी छु। कसरी उनीहरूको आकस्मिक मिलनले प्रेमको आकार लिएर विछोडमा परिवर्तन भयो भन्ने कथाको चित्रलाई मूर्तरूप दिन गइरहेछु। मेरो मायाको क्यानभासमा ती दुई पात्रहरूको चित्र यसरी चलचित्र बन्छन्। अनि एक आपसमा भावनाहरू यसरी साटासाट गर्छन् –



प्रिय उपासक, म तिम्रै बाटो कुरेर बसिरहेकी छु। तिमीले छोडेर गएका तिम्रो बन्धकीरूपी प्रेमसग म बाचिरहेकी छु। मैले त्यसलाई मिल्काउन सकेकी छैन। तिमीले हामीबीच प्रेमको नौलो अनुभूति सिर्जना गरेर कतै हरायौ। मलाई थाहा छ तिमी अर्कै दुनियामा छौ त्यो संसारमा जहा साइबर युग छ। विज्ञानका सबै अत्याधुनिक चमत्कारहरू छन्। सायद तिमीले भुलि पनि सक्यौ होला – अठारौ शताब्दीको दुनियामा बाचेको प्रेमको अद्भूत अनुभूतिलाई। सायद तिमीलाई सम्झने फुर्सद पनि नहुन सक्छ। किनभने तिम्रो आत्मा नै विज्ञानका चमत्कारहरूमा साटिइसकेको छ। तिमी त निर्जीव रोबोटसरह मात्र काम गरिरहेका हुन सक्छौ। तर म तिम्रो प्रेमको वासना बोकेर हावामा, नदीमा, पहाडमा बाचिरहेकी छु। तिम्रो प्रेम मैले नदीमा देखेकी छु। प्रत्येक पल तिम्रो मायाको सन्देश बोकेर– लाग्छ ती तिमीलाई खोज्न दौडिरहेका छन्। मैले तिम्रो प्रेम सूर्योदयको पहिलो किरणमा भेटेकी छु। ती किरणहरू तिम्रै उपस्थितिको दृश्य हेर्न भौतारिरहेको पाएकी छु। हावाहरू तिम्रै उपस्थितिको सुगन्ध खोज्न हिडेको पाएकी छु।



तर तिमी हरायौ – जसरी आकाशमा इन्द्रेणी आफ्नो अद्भूत सौन्दर्य छरेर क्षणभरमा नै अदृश्य बन्दछ। अनि आफ्नो सौन्दर्य छर्न फेरिफेरि पनि उदाउने गर्दछ। हो त्यसरी नै अहिले तिमीले एउटा प्रेमको सन्देश पठाएका रहेछौ। प्रिय उपासक, अहिले म त्यो सन्देश पढिरहेकी छु –



प्रिय मधुरिमा,



असीम स्नेह



दृश्यहरू बादलका टुक्रा भएर छरिदै, बटुलिदै गर्दथे। हामी पनि बादलका टुक्रा भई उडिरहेका थियौं। कतिखेर बादलहरू पहाडमा ठक्कर खाई हाम्रा कल्पनाहरूझै छतछुल्ल हुन्थे, हामीलाई थाहा हुदैन्थ्यो। प्रकृतिको मनोरमतामा तिम्रो उपस्थितिले थप सुगन्धको काम गरेको थियो। जीवनका कोलाजहरू हामी यतै कतै खोजिरहेका थियौं। अनूभुति र विचारका आकृतिहरू भत्कदै बन्दै गर्दथे। हामी त्यसलाई जीवनको सार्थकतामा साट्ने प्रयास गरिरहेका थियौ। प्रिय मधुरिमा, तिम्रो रूप र सौन्दर्यले एउटा नया आयाम सिर्जना हुनसक्दथ्यो। त्यसमा डुबेको म स्वंयम् आफैलाई हराइरहेको पाएको थिए। प्रेमको एउटा नया अनुमूति नयँ सिद्धान्त प्रतिपादन गर्न खोजिरहेका थियौ हामीहरू।



मल्ााई थाहा छ तिमीले वर्डस्वर्यको लुसी पढेकी छैनौ, देवकोटाको लुनी पढेकी छैनौ। तर म त बगिरहेको थिए– लुसी र लुनीमा। तिमी प्रकृतिमा रमाएकी सुन्दर फुल– तिम्रंो सुगन्ध, तिम्रो सौन्दर्यमा पहिलो स्पर्श मैले गरेको छु। तिमी पहाडबाट बगेकी कञ्चन झरनाको पवित्रतालाई परावर्तित गरिाखेकी थियौ – मेरा आखाहरूमा। तिमी र म हुनुको बीचमा झरनामा तिनै कञ्चन थोपाहरू साक्षी थिए।



प्रिय मधुरिमा, तिमी र म बग्दै गयौं। झरनाको कञ्चन पानीमा हामी कहाबाट कहँ, कुन आकृतिमा बग्यौं हामीलाई थाहा हुन सकेन। बग्नु नै हाम्रो नियति थियो। हामी फर्केर फेरि मुहानमा पुग्न सक्दैनथ्यौं। प्रिय मधुरिमा, न तिमी समयलाई बाध्न सक्थ्यौं, न म नै बाध्न सक्थे। समय बगिरहेको थियो। झरनाको पानी भएर मैले आफूभित्र तिमीलाई खोजे अनि तिमी भित्र आफूलाई। तिमीलाई गरेको प्रेमको परिभाषा खोजे। मैले बादलमा खोजे, झरनाको पानीमा खोजे, प्रकृति आफैले बनाएका सुन्दर पहाडहरूमा खोजे। प्रेमको नौलोनौलो परिभाषा यतैकतै पाए मैले। मैले स्पर्श गरे प्रेमको त्यो मीठो अनुभूतिलाई, मैले साक्षात्कार गरे प्रेमको त्यो सुन्दर आकृतिलाई, मैले आलिङगन गरे प्रेमको त्यो मूर्तिलाई र विराजित गरे हृदयमा कहिले अदृश्य नहुनेगरी।



प्रिय मधुरिमा, तिमी सधै यस्तै प्रेमको प्रतिमूर्ति भएर बाच्न सक्छौं? कतै तिम्रो सौन्दर्य शरदको चिसोले कठयाङ्ग्रिने त हैन अथवा कतै तिम्रो सौन्दर्यलाई ग्रीष्मको अविरल बर्षाले चुटेर रूपहीन पार्ने त होइन अथवा कतै बसन्तको हावाले उडाएर कतै पुर्‍याउने त होइन? प्रिय मधुरिमा, कतै तिमीप्रतिको मेरो प्रेम आकृतिविहीन, अस्तित्वविहीन भएर हराउने त होइन? किनभने जीवनका प्रत्येक वस्तु नाशवान छन्। कही यतैकतै हाम्रो प्रेम हराएर म भौतारिहरेको हुने त छैन? तिमी जीवन मात्र होइनौं, तिमी प्रकृति पनि हौ। प्रकृति कहिल्यै नाशवान हुन सक्दैन। अनुभूति कहिल्यै मर्न सक्दैन। कैयौ प्राकृतिक दुःख खेपेर फुलेकी तिमी कहिल्यै झर्न सक्दिनौं।



प्रिय मधुरिमा, त्यो दिनको दृश्य स्मरण गर्दै छु अहिले म। पर्यटकलाई स्वागत गर्न बसेकी तिमी सायद तिम्रो हातको माला मेरो गलामा पहिरिन उत्सुक भइरहेका थिए होलान्। त्यसैले समय र परिस्थितिले तिमीले हजाराै स्नेह र आस्थाका थुगा मिलाएर उनेकी माला मेरो गलामा पहिरिन संयोग मिलेको थियो। सायद ती प्रत्येक थुगाका सौन्दर्य मिलेर तिमी बनेकी थियौं। अलिकति प्रकृतिले आफ्नो सौन्दर्य तिम्रो रूपलाई अर्पित गरेको थियो क्यारे, अलिकति फुलहरूले र अलिकति मेरा आखाहरूले। तिमी शुक्लपक्षको चन्द्रमाझैं सौन्दर्यको मधुरो प्रकाश छरिरहेका थियौं। प्रकृतिको मनोरम गाउ– तिम्रो रानीगाउ। साच्चै तिम्रो गाउ सौन्दर्यकी खानी थिई। प्रत्येक सौन्दर्य पारखीकी मुटुकी रानी थिई। सायद सौन्दर्यपारखीलाई पनि मुस्किल पर्न सक्थ्यो – तिम्रो सौन्दर्य र तिमंो गाउको सौन्दर्यलाई तुलना गर्नेका लागि।



पर्यटकहरूको स्वागतको भब्य तयारीमा जुटेको – तिम्रो गाउ। आधुनिकताको नाममा एउटा एयरपोट र तारविनाको एउटा टेलिफोनबाहेक अरू कुनै कुरा भेट्न मुस्किल पर्दथ्यो। चारैतिर प्राकृतिक मुस्कानहरू छरिएका थिए। अनि व्यवहार र बोलीवचनमा निश्छलता, हार्दिकता र आत्मीयता थिए। कतै मिसावट थिएन। तर हामी सहरियाहरूमा विशुद्धता थिएन। हामी आफूआफू नै अविश्वास र अनास्थाका पुजारी थियौं। हामीले हाम्रो व्यवहारको सिकार तिमीलाई बनाउन पुग्यौं। हामीले त्यो दिन बेलुका तिमीमाथि आरोप र लाञ्छनाका बल्छी फ्याक्यौ। तिमीलाई घाइते बनायौ। तिम्रो रूप र सौन्दर्यमा दोष र खोट मात्र देखायौं । राति कोठामा सुत्ने तरखर गर्दा कुनै एउटा साथीको केमरा र बहुमुल्य सामान भएको झोला हराउदा हामीले त्यो दृष्कार्यको सम्पूर्ण जिम्मा तिमीमाथि थोपार्‍यौं। हामी सहरिया मानिस अमानवीय र अविश्वासी वातावरणमा हुर्कको मान्छे, तिम्रो पवित्र हृदयको मूल्याङ्कन नै गर्न सकेनौं। भोलिपल्ट तिमीले जब कतै बेवारिसे भइरहेको त्यो झोला सकुशल ल्याईदिएका थियौं तब तिमीप्रतिको मेरो विश्वास, आस्था र प्रेम चुलिएर सगरमाथा भएको थियो। हामी हिनताबोधले ग्रस्त भएका थियौ। त्यसपछि मैले आफ्नो हृदयमा तिमीलाई राखेको थिए।



प्रिय मधुरिमा, त्यसपछि रानीगाउको प्रत्येक कुनाकुना हाम्रो प्रेमबाट परिचित हुन पुग्यो। म डोरिएको थिए तिमीसगै, कहिले डाडामा, कहिले सामुदायिक वनमा, कहिले झरनाहरूमा हामी रानीगाउको प्रत्येक वस्तुसग साटियो। कहिले मेरो शिर तिम्रो काखमा अलौकिक प्रेमानुभूतिको मीठो स्पर्शमा हुन्थ्यो भने कहिले तिम्रो शिर मेरो काखमा। दिनहरू घण्टामा बदलिन्थे , घण्टाहरू मिनेटमा बदलिन्थे र मिनेटहरू सेकेडमा। हामी पनि समयसग बदलियौं। हामी कहिले ठोसबाट तरल बन्यौं। कहिले तरलबाट ठोस बन्यौ.। कहिले वाफिएर हावा भएर अखण्ड ब्रमाण्डमा विचलन गर्न पुग्यौं। फेरि तरल भएर ठोसमा परिवर्तन भयाै। समय बलवान थियो। हाम्रो मिलन, हाम्रो ढुकढुकी र हाम्रो एकात्मकताभन्दा बलियो थियो। त्यसैले तिमीसगको अलौकिक प्र्रेभानुभूतिको अविस्मरणीय भारी बोकेर म एक्लै फर्कनु परेको थियो। त्यो विछोडको पिडा सायद म शब्दमा वर्णन गर्न सक्दिन। सायद तिमी पनि क्षत विक्षत भएर टुक्रिएकी थियौं। त्यो पिडाले तिमीले आफ्नो खण्डित अर्न्तहृदयलाई मुस्किलले जोडेर मलाई विदा गरेकी थियौं।



प्रिय मधुरिमा, अब म फेरि तिमीलाई उही रूप र सौन्दर्यमा फेरि कहिले, भेट्न सकुला? मलाई डर लाग्छ कतै तिम्रो मेरो मिलन अतीत बनेर हराउने त होइन? तर पहाड, बादल झरना साक्षी छन् – मैले तिमीलाई गरेको पवित्र र अमर प्रेमको कथा। सायद हाम्रो प्रेमको कथा प्रकृतिले सधै गाइरहनेछ।





तिम्रो उपासक









प्रिय उपासक, तिमीले आफ्नो सन्देशमा धेरै कुरा लुकाएका रहेछौ नि तिमी र म जङ्गलजङ्गल दौडदै गर्दा तिमीलाई सिस्नोले पोलेर कहालिएको कुरा त लेख्न नै बिर्सेछौ नि। फेरि हामी दुई एकान्तमा हराउदा कसैले थाहा पाउछ भनी सतर्क भएका कुरा र थाहा पाए कि भनी डराएको कुरा त भन्नै सकेनौ किन हो? हाम्रो मायासगै फूल मात्र होइन काडा र विषालु झारहरू पनि सगै उम्रेका थिए। हामीले काडा र बिषालु झार फाल्न धेरै मिहिनेत र युक्तिहरू प्रयोग गरेका थियाै। कतिपय ती युक्तिहरू सफल पनि भए र कतिपय असफल पनि भए। सफल हुदा हामी हर्षित हुन्थ्यौ र असफल हुदा हामी चिन्तित। तर पनि हामी हाम्रो प्रेम विशुद्ध, कञ्चन र स्वच्छ हावामा फुलाउन सफल भएका थियौ। एकपल्ट तिमी मलाई भेट्न आउदा खेतको कान्लाबाट पछारिएर तल पुगेको कुरा त खुलाएनछौ नि किन हो बिर्सेछौ नि त्यो बेला तिम्रो खुट्टा भाचिएको भए के गर्ने भनेर म औधी डराएकी थिए। तर ईश्वरको कृपाले तिमीलाई केही भएन। त्यो बेला तिमीले सबै कपडा भिजेर सुकाउनु परेको थियो। अनि तिमीले जङ्लका ठूलठूला रूखका पातहरूले आफ्ना गोप्य अङ्गहरू छोपेको कुरा लाजले होला खोल्न नै सकेनछौ नि मैले त कुनै कुरा बिर्सेको छैन। सबै कुरालाई जीवन्त बनाएर हृदयमा साचेर राखेकी छु।



तिमीले मलाई त्यसबेला एउटा कविता पनि कोरेर कोशेलीको रूपमा छोडेका थियौ। उसबेला छोडेको कविता अहिले पनि मलाई कठस्थ छ –



प्रिय मधुरिमा



तिम्रो माया फुल्नु थियो फुल्यो



तिम्रो माया खै कहा फुल्यो भनू?



तिम्रो माया फूलमा फुल्यो भनू भने



प्रत्येक रात अध्यारोको डरले तडपनुपर्ने थिएन



तिम्रो माया माटोमा फुल्यो भनू भने



सुगन्ध छर्दै मुस्कुराउन कफर्यूको आदेश मान्नुपर्ने थिएन।



तिम्रो माया बारुदमा फुल्यो भनू भने



तिम्रो मायाको आयु क्षणिक हो भन्न गाह्रो हुने थिएन।



तिम्रो माया फुल्नु थियो।



फुल्यो।



त्यो स्वाभाविक थियो।



तिम्रो माया पहाडमा फुल्यो क्यार



त्यसैले तिम्रँे मायाको सुगन्ध लिन हावाहरू बतासिइ रहेछन्।



तिम्रो माया सागरमा फुल्यो क्यार ?



त्यसैले नदीहरू बेजोडले भेट्न दौडिरहेछन्।



तिम्रो माया सायद यतै कतै फुल्यो कि ?



तिम्रो माया मेरो मनमा फुल्यो क्यारे ?



त्यसैले मेरो मन तिम्रो मायाले भरिएको बेलुन भएर उडिरहेको छ।



तिम्रो माया सायद मेरो तनमा फुल्यो क्यार ?



त्यसैले मेरो तन तिम्र्रो मायाको बिद्युतीय तरङ्गले तरङि्गत भइरहेको छ।



तिम्रो माया सायद मेरो भावनामा फुल्यो क्यार ?



त्यसैले मेरो भावानाहरू अवरोधहरूका अविरल वर्षालाई रोकेर



सप्तरङ्गी इन्द्रेणीझै हास्न सफल भइरहेछ।



तिम्रो माया सायद मेरो चाहनामा फुल्यो क्यारे ?



त्यसैले अवरोधका हजारौ शिखर काटेर



गङ्गाझै अविरल बगिरहेछ।



प्रिय उपासक, तिमी शिक्षित मानिस। तिमी एक्काइसौ शताब्दीमा बाचेको मानिस। तिमी जीवनको अनुभूतिलाई कलामा सिगारेर बाच्ने मानिस। तर म अठारौ शताब्दीमा रुमलिएकी मसग तिम्रो जस्तो अनुभूतिलाई कलामा उतार्ने खुबी छैन। म आफ्ना भावानाहरू प्रकृति मार्फत मात्र व्यक्त गर्न सक्छु।



तिम्रो सन्देशले लाग्छ तिमी जसरी भएपनि हाम्रो प्रेमलाई जीवित राख्न अवश्य आउनेछौ। अहिले सम्म तिम्रो मधुरिमा तिम्रो पर्खाइमा उही रूप, उही सौन्दर्य उही आत्माकाङ्क्षाका फूलले सजिएको माला बोकेर उभिइरहेकी छे , पर्खिबसेकी छे।



प्रिय कथाकार दिवाकर नेपालीज्यू, मेरो मायाको क्यानभासका यी दुई पात्रहरूको कथा पनि हाम्रो जस्तै मिलनपछि विछोडमा बदलिएको छ। हाम्रो मिलन त क्षणिक थियो। हाम्रो मिलनमा यति धेरै एकात्मकता, आत्मीयता र समर्पण थिएन। तर मेरो मायाको क्यानभासका यी दुई पात्रहरूको प्रेम मीठो अनुभूतिमा डुबुल्की मार्दै उत्रर्दै गरेका छन्। त्यसैले यी दुई पात्रको अवश्य भेट हुनुपर्दछ। यी दुई पात्रलाई तपाईको अमूर्त कलाले कसरी व्याख्या गर्दछ म भन्न सक्दिन147 तर मेरी मधुरिमाले प्रेमको अदालतमा अवश्य न्याय पाउनेछे भन्ने ठानेकी छु किनभने मधुरिमा उपासकविना सधै अधुरो र अपूरो रहन्छे।





शर्मिला खड्का (दाहाल)

इटहरी







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम