Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
किन मनाउने तीज ? (अरुणा उप्रेती) - [2008-09-23]

तीजको वर्त प्रतीकात्मक प्रेमको चाड बन्नसक्यो होला, यदि श्रीमान-श्रीमती दुवैले एक अर्कालाई माया गरेर उपवास बसेका भए । तर श्रीमती श्रीमानको लामो आयु होस् भनेर वर्त बसेको दिन, मीठो खानेकुरा पकाइन भनेर गाली गर्ने, र्झकने-र्फकने श्रीमान पर्याप्त पाइन्छन् । कतिपय श्रीमान आनन्दसँग होटलमा बसेर पेटभरि खान्छन् । मदिरापान गरेर लड्खडाउंदै घर आउंछन् र उसैको नाममा भोको बसेकी श्रीमतीलाई चुट्नसमेत बेर लाउंदैनन् ।



पञ्चमीको वर्तको सम्पूर्ण दार्शनिक पक्ष महिलाको शरीरलाई अपमानित गर्न बनाइएको जस्तै छ । महिलाहरू विचार गर्नुस्- के रजस्वला भएर कुनै किताब वा पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागी ठहरिनुहुन्छ - रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिला पापी हुने भए मानवजातिको अस्तित्व नै पापमय भन्ने मान्न सकिन्छ । किनभने गर्भ रहँदा, त्यही रज रोकिन जान्छ र भ्रूण आमाको पाठेघरभित्र बढ्दै जान्छ । त्यही रजबाट बनेको बच्चा कसरी पवित्र भयो होला ?



म १२ वर्षो उमेरमा पहिलोचोटी रजस्वला भएँ, तर भोलिपल्ट दशैं परेकोले मैले मीठो खान पाइन्न, राम्रो लाउन पाइन्न, दशैंको दक्षिणा पाइन्न भन्ने डरले कसैलाई पनि भनिन । दशैंको टीका थापेँ, दक्षिणा लिएँ, मन्दिर गएँ, सबै गरेँ । त्यो बेलामा मैले पाप गरेर भगवानले सात कक्षाको जाँचमा फेल गराइदिन्छन् कि भन्ने अलिअलि डर थियो । तर सात कक्षामा राम्रैसँग पास भएपछि ए भगवान रिसाएका रहेनछन् भन्ने बुद्धि ममा पलायो । त्यसपछि मैले महिनावारीसँग सम्पूर्ण अन्धविश्वास र मान्यता तोड्न पुगेँ । मैले के कुरामा विश्वास गर्नलागेँ भने भगवानले दिएको यो शरीरलाई कसरी प्राकृतिक प्रक्रियाबाट गुज्रिँदा अपवित्र मान्न सकिन्छ - यदि धार्मिक मान्यतामा विश्वास गर्ने हो भने पृथ्वी देवी हुन्, सूर्य भगवान हुन्, किताब सरस्वती हुन् । उनीलाई नछोएर कसरी बस्ने ?

पञ्चमीको वर्तका लागि पछि पण्डितजीहरूले कुनै राम्रो तर्क दिनुभएको खण्डमा भिन्नै कुरा, तर महिलाले आफ्नो शरीर र प्राकृतिक प्रक्रियालाई नै पाप भनेर पखाल्नका लागि क्षमा माग्दै पूजा गर्ने हो भने महिलाले कसरी आफ्नो अस्तित्वप्रति गर्व गर्ने होला ?



आफ्नो विवाहको प्रथम वर्षा तीजको वर्त लिएकी मेरी एकजना दिदी कमला नाम फेरिएको पूजा गर्न हाम्रो घर आएकी थिइन् । म बेलुकापख स्कुलबाट आएर बासी भात लसुन, प्याज, जिरा हालेर भुटेको मीठो मानेर खाइरहेकी थिएँ । कमला दिदी भान्सामा आइन्, मेरो थालमा लोभलाग्दो आँखाले हेरिन् । मैले खाने - भनेर सोधेँ । अँ भनेपछि भुटेको भात ४ गाँस हालिन् । त्यसपछि तीजको वर्त बसेकी कमला दिदी छिटोछिटो गाँस निल्दै, मुख कुल्ला गरेर पूजा गर्ने ठाउँमा गइन् । कमला दिदीलाई अहिलेसम्म म जिस्काउँछु ।

यदि कुन्तीले तीजको वर्त बस्नुपरेको भए कसको नाममा बस्थिन् होलिन् - आफ्ना नपुंसक पति पाण्डुको नाममा वा ती देवताका नाममा, जो उनका सन्तानका बाबु थिए - द्रौपदीले ५ जना पतिको नाममा तीजको वर्त बस्दा सायद २४ घन्टालाई ५ ले भाग गरेर हरेक श्रीमानको लागि घन्टा-घन्टामा बस्थिन् कि - इन्द्रबाट बलात्कारको सिकार भएकी अहिल्यालाई उनका ऋषि पतिले छाडिदिएपछि पनि तीजको वर्त बस्दा ती ऋषिको आयु लामो होस् भनेर बस्थिन् कि - यस्ता प्रश्न सोधियो भने सायद हिन्दू धर्मविरोधी वा हाम्रो नेपाली संस्कृतिविरोधी भनेर हप्काइएला । महिलाले पुरुषका लागि वर्त लिन्छिन् र उनको आयु बढ्छ भने महिलाका लागि पुरुषले वर्त लिएर महिलाको आयु बढाउने काम किन नगर्ने भनेर सोध्दा भुकम्पै जाला ।



धर्म-संस्कृतिका सबै कर्मर्-वर्त महिलाले पालना गर्नुपर्छ भनेर अघि सारिन्छ, अनि जब दानर्-धर्म गर्दा पैसा लिने कुरा आउँछ, पुरोहित जहिले पनि पुरुष हुन्छन् । पुरुषका शरीर पवित्र हुन्छ, महिलाका शरीर नछुने हुने भएकाले अपवित्र हुन्छ भन्नेजस्ता तर्क राखिन्छन् । महिलाको शरीरलाई अपवित्र मान्ने पुरुषले कसरी विचार गर्ला, त्यो अपवित्र शरीरले वर्त बस्दा उसको आयु बढ्छ ?



हिन्दू संस्कृतिमा पुराना र नयाँ सबै उपवास प्रायः महिला बस्छन् । सत्यनारायणको पूजा होस् वा सन्तोषी माताको वर्त । पुरुषले वर्त बसेको कहिले सुनिएको छ - कि सन्तोषी माताले केवल कोमल महिलालाई वचन दिएकी हुन्छिन्, महिलाहरूको वर्त सफल होस् ?

४४ वर्षको उमेरमा मेरी आमा विधवा हुनुभयो । उहाँलाई कुनै तीजको वर्त, कुनै ऋषि पञ्चमीको वर्त, कुनै प्रदोष वा कुनै चतुर्दशीको वर्तले पनि विधवा हुनबाट बचाउन सकेन । मेरी आमाजस्तै मेरी ठूलीआमा, फुपू, बज्यै, काकीहरू र सुदूर पश्चिममा बालविवाह भएका कतिपय दिदीबहिनी र काकीहरू छन् । किन उनीहरूका श्रीमानको आयु बढेन होला - तीजको वर्त र त्यसपछि ऋषि पञ्चमीको वर्त लिने अहिलेकै व्यवहारलाई म नारीजातिको अपमानको रूपमा हेर्छु । किनभने पञ्चमीको दिनमा वर्त बसेर पूजा गरेपछि महिलाले रजस्वला हुँदा कुनै पवित्र वस्तुलाई छोएर पाप गरेकिछिन् भने पनि त्यो पाप पखालिन्छ भन्ने मान्यता छ । महिलाको शरीरको प्रक्रियालाई नै अपमानित गर्ने व्रत बसेर हिन्दू धर्ममा आस्था राख्ने महिलाले के आफ्नै अस्तित्वलाई अपमानित गरिरहेका छैनन् ?



मेरा आमाका दौंतरीहरू, काकी, ठूलीआमा तीजको वर्त बसेर पूजाआजा गर्छन्, पूजामा चढाइएका फलफूल, दक्षिणा, वस्त्र आदि सबै पुरोहितलाई खुसीसाथ दिन्छन् । किन महिला पुरोहितलाई त्यो दान नदिएको होला - यसतर्फपनि कहिले हामीले विचार गरेका छौं - जुन दिन महिलाहरू पतिको लामो आयुका लागि वर्त बसेका हुन्छन्, त्यही दिन कतिपय पुरुष गाउँघरका भट्टीमा बसेर आफ्नो कलेजो जलाउँदै मदिरापान गर्दै हुन्छन्, कतिपय पुरुष पाँचतारे होटलमा बसेर आनन्दसँग मासुभात खाइरहेका हुन्छन् । कुनै पनि पुरुषले मेरी महिलाले वर्त बसेकिछिन्, म पनि उनलाई साथ दिन्छु कहिल्यै भनेको छ ?



एक प्रबुद्ध पुरुषले मलाई भने, विदेशीहरू हाम्रो संस्कृतिलाई कति आदर गर्छन् । तीजको बेला रातो लुगा लाएर महिलाहरू मन्दिर जाँदा कस्तो भव्य दृश्य देखिन्छ । कति श्रद्धा गर्दारहेछन् महिलाले आफ्ना पतिलाई, विदेशीले यसै भन्छन् । उनको कुरा सुनेपछि भनेँ, विदेशीलाई एक दिनको रमाइलो होला - तर तीजको वर्त बस्ने कुरा त दर्शनसँग जोडिएको छ, जसले नारीजातिलाई अपमान गर्छ । यदि त्यो कुरा त्यो विदेशीलाई बुझाउन पाए वा किन पुरुषचाहिँ महिलाका लागि वर्त बस्दैनन् भनेर ती विदेशीले सोधे भने के भन्नुहुन्छ - मेरा कुरा सुनेर ती प्रबुद्ध नागरिक चुप भए । मैले उनलाई अर्को प्रश्न गरेँ, श्रीमतीले तीज र पञ्चमीको वर्त बस्दा तपाईं पनि बस्नुहुन्छ - उनले मलाई ठूलो आँखाले हेरे, कस्ती नास्तिक रहिछयौ - कस्तो मुर्खतापूर्ण प्रश्न - कहिले लोग्नेले पनि स्वास्नीका लागि वर्त बस्छन् - हाम्रो धर्मग्रन्थमा कहीं पनि लेखिएको छैन । पुरुषले पनि वर्त बस्छन् भनेर । ती प्रबुद्ध नागरिक फटाफट् हिँडे । यसको अर्थ थियो, उनी आफ्नी श्रीमतीको लागि वर्त बस्ने काम गर्दैनन्, उनी आफ्नी श्रीमती वर्त बस्दामात्र खुसी हुन्छन् ।

किन धर्मग्रन्थमा केवल महिलाहरूका लागि वर्त बनाइएको होला - कि पुरुषहरू यति धेरै कमजोर हुन्छन्, एकदिन भोकै बसे बिरामी भइहाल्छन् । यदि त्यसो हो भने कति महिलाहरू गर्भावस्थामा, बिरामी हुँदा, लामो यात्रा गर्दा पनि अन्न-जल नखाएर भोकै बसेका हुन्छन्, पतिको दीर्घायुको लागि । बिरामी महिलाले बसेको बिरामी वर्तले कसरी पतिको आयु बढाउँछ होला - बिरामी भएर प्याक-प्याक परेको बेलामा, गर्भावस्थामा गर्भको शिशुले पानी खान दे भनेर गर्भवती आमालाई पानी र खानेकुरा मागिरहँदा त्यस्तो आत्माले बिलौना गरेर बसेको वर्तले कहीं धर्म हुन्छ - कहीं पतिको आयु बढ्छ - तीजको वर्तलाई अब आधुनिकीकरण गर्नुपरेको छ । यस्तो आवाज कहीं-कहीं उठी पनि रहेछ ।



तीजको अर्को पक्ष पनि गजबकै छ । यो दिनमा आफ्ना गहना-लुगा देखाउने, अनेक किसिमका लिपिस्टिक र शृङगारको होडबाजी गर्ने चलन पनि आउन थालेको छ । मेरा छिमेकी तीजको दरमा कुखुरा काट्छन् भने म खसी काट्छु । मेरो अर्का छिमेकी घरमा चेलीबेटीलाई बोलाउँछन् भने म होटलमा बोलाउँछु भन्ने होडबाजी चल्न थालेको छ, सहरी क्षेत्रमा । त्यसैले तीजका लागि विशेष गहना र लुगाहरू बजारमा आउँछन् । खाँच्चै नभए पनि किनिन्छन्, धाक र रवाफ देखाउन । उपहारलाई पनि पैसासँगै तौलेर हेर्ने चलन बढ्दो छ । कसैलाई स्नेहपूर्वक चुरा वा सारी दिइयो भने सस्तो खालको दियो भनेर आलोचना पनि गरिन्छ । हरेक कुरालाई पैसासँग मात्र तुलना गरेपछि प्रेमको के महत्त्व रहयो - यसरी धार्मिक पूजाले नारीको अपमान र आधुनिकीकरणको नाममा तीज पर्वको व्यापारीकरण भइरहेछ । दुवैमा महिला भने मौन छन् । उनीहरू आफू अपमानित भएको र व्यापारीकरणमा परेको कि थाहा छैन, कित विरोध गर्दैनन् । गर्लान् के महिलाहरूले विरोध ?

मैले तीजको वर्त कहिले पनि लिइन, किनभने म वर्त बसेर पतिको आयु बढ्छ भनेर विश्वास गर्दिन । म विश्वास गर्छु पतिको मोटोपन घटाउने सल्लाह दिएर, योग र व्यायाम गर्न उत्प्रेरित गराएर, चुरोट र रक्सी छाड्नको लागि आग्रह गरेर पतिको आयु बढाउन सकिन्छ । जुन दिनदेखि महिलाहरू वर्तले पतिको आयु बढाउँदैन भनेर थाहा पाउँछन्, त्यसै दिनदेखि तीजको वास्तविकता थाहा हुनेछ अथवा जुन दिनदेखि पुरुषले महिलाको लागि प्रेम दर्शाउँदै वर्त बस्न थाल्छन्, त्यो दिनदेखि तीज मान्य हुनेछ ।







अरुणा उप्रेती

from: कान्तिपुर दैनिक





तपाईंको प्रतिकृया

aruna dizu, kunai pani women lai by force barta basna parcha bhanera bhaneko hundaina. tapai lai bethik lagna sakcha tyo chuttai kura ho. ani yauta kura, 1000 barsa purano riti riwaz lai athawa history lai 60/70 barsa banchne manis le galat ho bhanera proof garnu hatkala le surya lai cheknu jastai hoina ra .....? if you don't mind.
bhai samjhunus - Deepak khadka ( brazil )

nice articles..



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम