रोल्पा, २३ पौष २०७३ । स्रष्टा भगवती बुढामगरले शनिबार लिबाङमा एकल रचना वाचन गरिन् । ललित साहित्य परिषद्ले द्वैमासिक रुपमा सञ्चालन गर्दै आएको एकल रचना वाचनमा बुढामगरले आफ्ना रचनाहरु सुनाएकी हुन् । शनिबार सम्पन्न भएको २८ औं एकल रचना वाचन हो ।
कार्यक्रममा बुढामगरले ६ वटा कविता, २ वटा गजल र एउटा छोटो लेख वाचन गरिन् । बुढामगर ललितको पूर्व उपाध्यक्ष समेत हुन् । कविता र गजल लेखनमा क्रियाशील बुढामगरको ‘सम्पत्ति’ गजलसंग्रह प्रकाशित छ ।
कार्यक्रममा साहित्यकार महेन्द्र महकले बुढामगरको व्यक्तित्वमाथि प्रकाश पारेका थिए भने समग्र कार्यक्रमको समीक्षा साहित्यकार डी.बी. टुहुरोले गरेका थिए । का.बा. अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिषद्का महासचिव नारायण जिज्ञासुले गरेका थिए । लिबाङस्थित वाचनालयमा सम्पन्न कार्यक्रममा यहाँका साहित्यकार तथा साहित्यप्रेमीहरुको उपस्थित रहेको थियो ।