Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
सुरभिको ७७ औँ शृङ्खला सम्पन्न - [2017-01-31]

२०७३ साल माध १५ गते शनिबार सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यान वाचन कार्यक्रम अन्तर्गत ७७ औँ शृङ्खला सम्पन्न भएको छ । सुरभिका अध्यक्ष बाजुरामको अध्यक्षता र वरिष्ठ गजलकार रामबहादुर पहाडीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विशिष्ट अथिति मदनराज थापा र अतिथि डा. जयन्ती रुपाखेती हुनुहुन्थ्यो । रमेश भट्टराई पुजारी, महेशकुमार वाग्ले, शारदा पराजुली, नवराज राउत, निर्भीक राई, रामचन्द्र खतिवडा, रामकुमार पण्डित क्षेत्री र ऋचाले यस शृङ्खलामा कथा वाचन गर्नुभएको थियो । प्रतिष्ठानका सदस्य रामचन्द्र खतिवडाको स्वागत मन्तव्यबाट सुरु भएको यस कार्यक्रममा वाचित कथाहरुको समीक्षा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराजुली पराशरले गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यतिर मन्तव्यको क्रममा विशिष्ट अतिथि मदनराज थापाले सुरभिले नियमित मासिक कथा वाचन गराएर ७७औँ शृङ्ला पुग्नु भनेको सामान्य कुरा नरहेको भन्दै नियमित कथा वाचन गराउने कार्यमाथि समीक्षा गरिनुले प्रशंसाको योग्य भएको बताउनु भयो । त्यसै गरी प्रमुख अतिथि रामबहादुर पहाडीले पनि कथा वाचनको यो नियमित शृङ्खला निरन्तर चलिरहेको बारे थप प्रशंसा गर्दै यस प्रतिष्ठानको विशेषता भनेकै वाचित कथाहरुमाथि समीक्षा गरिनु हो भन्नुभयो । एक बजे सुरु भएको यस कार्यक्रमको सञ्चालन भने कार्यसमिति सदस्य नगेन्द्र भट्टराइले गर्नुभएको थियो ।

सुरभिको नवौँ स्थापना दिवस

सुरभि साहित्य प्रतिष्ठानले २०७३ माघ १६ गते आइतबार सहिद दिवसको अवसरमा आफ्नो नवौँ स्थापना दिवस तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेको छ । बौद्धस्थित रामहिटीको साहित्य सदनमा सम्पन्न यस कार्यक्रममा प्रतिष्ठानका संरक्षक वरिष्ठ पत्रकार विजय चालिसेको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिमा प्रा. गोपीकृष्ण शर्मा र विशिष्ट अतिथिमा प्रा.डा. राजेन्द्र सुवेदी रहनुभएको थियो । अन्य अतिथिमा डा. दुर्गाप्रसाद अर्याल, डा. शैलेन्दुप्रकाश नेपाल, कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, किशोर पहाडी, तेजप्रकाश श्रेष्ठ र ऐरावतीका प्रबन्धक आनन्द तिवारी रहनुभएको थियो । यसै कार्यक्रममा सुरभि आख्यान पुरस्कार २०७२ र सुलेख आख्यान प्रतिभा पुरस्कार २०७२ क्रमशः विश्वम्भर चञ्चल र कलानिधि दाहाललाई प्रदान गरियो । प्रमाणपत्र र क्रमशः रु.१०००१।– रु.७०००१।– नगद राशि प्रदान गरिएको यस कार्यक्रममा कथाकार विश्वम्भर चञ्चलको कथासङ्ग्रह ‘धाँजो’को विमोचन समेत गरिएको थियो ।
दीप प्रज्वलन गरी सुरु गरिएको यस कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले अतिथि लगायत सम्पूर्ण आगन्तुकलाई शाब्दिक स्वागत गर्नुभई प्रगति विवरण सुनाउनुभएको थियो । पुरस्कृत व्यक्तित्वहरुले सुरभि साहित्य प्रतिष्ठानको प्रशंसा गर्दै कथा लेखनमा अझ कर्तव्य थपिदिनुभएको कुरा बताउनु भयो । अतिथि वक्ताहरुले पुरस्कृत कथाकारहरुलाई बधाई दिँदै सुरभि साहित्य प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । विशिष्ट अतिथि प्रा.डा. राजेन्द्र सुवेदीले विमोचित कथासङ्ग्रहको समीक्षासहित बधाई तथा शुभकामना व्यक्त गर्नुभयो भने प्रमुख अतिथि प्रा. गोपीकृष्ण शर्माले सुरभि साहित्य प्रतिष्ठान कथावाचन कार्य र कथाकारितामा पुरस्कार अर्पण कार्यमा सदा लागिरहोस् भन्ने कामनासहित कथा साहित्यको सबैभन्दा पुरानो विधा भएपनि यस्तो खालको कार्य नयाँ भएकोमा बधाई दिनुभयो । सभाध्यक्ष विजय चालिसेले सबै आगन्तुक अतिथि लगायत प्रतिष्ठानका कार्यसमिति सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै सुरभिको कार्य सराहनीय भएको कुराका साथसाथै साहित्य सदन जनताको एकेडेमी भएकाले यहाँ हुने साहित्यिक कार्यक्रमहरुमा सबैले उपस्थिति जनाई जनकदर गरिनुपर्ने बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गर्नुभएको यो कार्यक्रम छोटो समयमा भव्य र सभ्य रूपमा सम्पन्न भयो ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम