Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
पूजनीय बुबा प्रति (विश्वास दीप तिगेला) - [2017-02-01]

हरेक पटक काम र जिम्मेवारीका
पहाड आउदा
बुबालाई सम्झन्छु र वहाले देखाउनु भएको
प्रेरणालाई आत्मासाथ गर्दै जोतिन्छु
सबैभन्दा ठूलो कुरा मेहनत हो
मेहनत गरेरै जित्नु भएको थियो
बुबाले त्यो सगरमाथा ।

सगरमाथाको सौन्दर्य थियौ
३ बहिनी र हामी ४ भाई
बुबा हुनु त धर्ति नै रहेछ
धर्ति नै भाँसिए पछि
लर्बरने र हल्लनुले
बाँकी उठनै गाह्रो हुने रहेछ

बुबाले यस धर्तिबाट विदाई लिएपछि
धेरै कुराको विदाई भएको छ
हाँसो खुसि र नरनाताको पनि
विदाई भएको छ ।

मान्छेको लेखाजोखा भिन्नभिन्नै हुनेगर्छ
बुबा भगवान वुद्ध जस्तो हुनुहुन्न थियो
तर मेहनत र कृषिमा अनुकरणीय हुनुहुन्थ्यो
मेहनती कृषकको सन्तान हुनुको नाताले
सगरमाथा पनि होचो देख्छु
सप्तकोशीको पुरै पानी हत्केलाले रोक्छु
मलाई कृषकको सन्तान हुनुमा
ठाँमडाँडा जत्रै गर्व हुन्छ ।
जब घाँसहरू देख्छु
बुबाको हत्केलाको स्पर्स भेट्छु
जब सुन्दर खेतीबाली देख्छु
बुबाकै पाईलाका डोबहरू टेक्छु
दुध र घिउका सुवास्नामा
बुबा नै फूलीरहेको आँखा रोप्छु
गैरीखेत, डाँडाखेत ढुंगेनी र टहारी खेत
बुबाकै पसिनाले प्रत्येक बर्ष
निथ्रुक्क भिजेको देख्छु
गंगटेनी, सुरूवाले, तुभांगेपाखा
खरखरे, बिरौटा र टाँकीबारी
सधैसधै वरिपरि देख्छु
सालघारी र जरिंगेबारीमा
उहि वैशालु बुबा र आमाको मुहार रोप्छु
लहलह झुलेको धानबारीमा बुबाकै अनुहार देख्छु ।

साच्चै मेहनतको निम्ति
श्रद्धाको श्रद्धा बुबा हुनुहुन्थ्यो
मेहनत हुनु भनेको घरझगडा नहुनु रहेछ
मेहनती हुनु भनेको प्रत्येक मौषममा
खुसि बाँड्नु रहेछ
कहिले न्वागी चढाएर
कहिले पाठा, बाच्छा, भुनी र चल्ला गनेर
कहिले माना, पाथी र मुरीमुरी भरेर
कहिले बाली भित्रियाएर
बाली भित्रिए संगै
धेरै खुसि र आसहरू पनि भित्रन्दो रहेछ
त्यसैले त भनिएको हुनुपर्छ
खेती नै जीवनको आधार
मेहनती कृषकहरू नहुनु हो त
संसारमा भोकैभोक मात्र हुने थिए
शोकैशोक मात्र हुने थिए
कसो मेहनती बुबाहरूले खुसि दिए
शिक्षा दिए र बाँच्ने प्रेरणा दिए
त्यो भन्दा धेरै
७८ औं वसन्त काटन नपाउदै
२७ अप्रिल १६ को निधन पछि
बुबाको अभावमा यस बर्ष
सम्मान र पीडाको महासागर आँसु पिए ।


(बुबा स्व. मिल बहादुर लिम्बुको जन्म सन् २१ मे १९३९)







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम