Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
घुम्ती कविगोष्ठीको ५३औँ शृङ्खला - [2017-02-26]

२०७३ फागुन १४ गते शनिबार । घुम्ती कविगोष्ठी नेपालको ५३ औँ शृङ्खला काठमाडौँ, बुढानिलकण्ठ चोकस्थित हिमालय बोर्डिङ स्कुलमा सोही स्कुलका प्रिन्सिपल खेमराज घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । श्री १००८ स्वामी निगमानन्द महाराजको प्रमुख आतिथ्य रहेको यस कविगोष्ठीमा अभिनव साहित्य समाजका अध्यक्ष एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार वेदमणि घिमिरे, घुम्ती कविगोष्ठी नेपालको उपध्यक्ष परशुराम पराशर, वरिष्ठ गजलकार रामबहादुर पहाडी, कवि खगेन्द्र खोल्साघरे, वरिष्ठ कवि ब्रम्हप्रिय पे्रमस्वरूप, मदनराज थापा, हिमालय बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष डोलराज बराल, कवि तथा गीतकार प्रेम राईको आतिथ्य रहेको थियो । यस गोष्ठीमा कविता वाचन गर्नुहुने अतिथि कविहरूमा बालमुकुन्द कार्की, रामकुमार पण्डित, बैरागी जेठा, मञ्जुश्री प्रधान, ओम कोइराला, प्रदीप मैनाली, नरप्रसाद धिताल, ध्रुव मधिकर्मी, बिना थिङ, वाइ आर घले, श्याम सङ्कल्प, कुश गरागाई, उमेश पाण्डे, भुवन शिवाकोटी, टी एन भट्ट, वियोगी बुढाथोकी र इन्दु अंशु हुनुहुन्थ्यो भने अन्य अतिथिहरूले पनि कविता गजल वाचन गर्नुभएको थियो । आश्रमका गुरु गुञ्जन ब्रह्मचारीले भने भायलिनमा मङ्गल धुन बजाएर सुनाउनुभएको थियो ।

वरिष्ठ कवि ब्रम्हप्रिय पे्रमस्वरूपको संयोजन र हिमालय बार्डिङ स्कुलको आयोजनामा सञ्चालित यस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी लगायत धेरै कविकवयित्रीहरूले कविता वाचन गरेका थिए । जसमा आयोजक विद्यालयका विद्यार्थीहरू ससिमा खातुन, अनुज दाहाल, रेश्मा पोखरेल, पूर्णिमा मगर र आश्रम स्कुलका सुदीप पराजुली, सन्देश शाह, सुनयना खड्का पूर्ण गुरुङ थिए । इडनब्रिज स्कुलकी छात्रा सोनिया राईले कविवर माधवप्रसाद घिमिरेको कविता वाचन गरेको यस कार्यक्रममा विराटनगरका शिवनारायण पण्डितले ‘सिंहदरबार’ शीर्षकको कविता मोबाइलमार्फत प्रत्यक्ष सुनाएका थिए । प्रमुख अतिथिको बाहुलीबाट पानसमा दीप प्रज्वलित गरी सुरुगरिएको गोष्ठीमा वेदमणि घिमिरेले वाचित कविताको समीक्षाका साथै पुरस्कृत चार जनाको छनौट गर्नुभएको थियो । जसमा बिना थिङ, टी.एन. भट्ट, अनुज दाहाल, र सुनयना खड्का थिए । पुरस्कृतलाई जनही रु. ५००।– पुरस्कार दिइएको थियो ।

यस गोष्ठीमा घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष परशुराम पराशरले धन्यवाद दिनुभएको थियो भने अन्य अतिथिहरूले घुम्ती कविगोष्ठी नेपालको प्रगतिमा बधाई दिनुभई आफ्ना रचना वाचन गर्नुभएको थियो । घुम्ती कविगोष्ठी नेपालका सचिव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गरेको यस कार्यक्रममा विद्यालयले हरेक कविता वाचकलाई र अतिथिहरूलाई एउटा कलम र डायरी उपहार दिएको थियो । त्यसै गरी आयोजक ब्रह्मप्रिय प्रेमस्वरूपले सबै अतिथिहरूलाई एकएक रुद्राक्षको माला लगाइदिनुभएको थियो । प्रमुख अतिथिले विद्यालयमा यस्ता कवि गोष्ठीहरू आयोजना गर्दा विद्यार्थीको कविताप्रति रुचि बढ्ने कुरा गर्नुहुँदै घुम्ती कविगोष्ठी नेपाल र विद्यालयलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमा सभापति खेमराज घिमिरेले सबैलाई धन्यवाद दिई घुम्ती कविगोष्ठी नेपाललाई महिनाको रु. १०००।– सहयोग गर्ने वचन समेत दिनुभयो । अतिथिहरूलाई खाजा र खानाको राम्रो व्यवस्था गरिएको यो कार्यक्रम बिहान साढे आठ बजे सुरु गरिएको थियो ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम