Online Nepali Literature Forum
   

Users Online : 19
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
निडरता (रामकुमार श्रेष्ठ) - [2009-07-20]

करीब ढाइ बर्षको अष्ट्रेलिया बसाइपस्चात नेपालमा डेढ बर्ष विताइ करीब तीन बर्ष अघि वेलायत आएर १२ वर्षको छोरो पुरकले प्रबेश परीक्षाको सफलतापछि ग्रामर स्कूल (वेलायतमा छानिएका विद्यार्थीहरुले मात्र पढ्न पाउने स्कूल) मा पढ्न पाउने भएपछि उस्लाई शिक्षकहरुसंग प्रश्न गर्न र सोधेका प्रश्नहरुको जबाफ दिन डराउन हुन्न भनी संझाइरहेको बेलामा ६ वर्षकी छोरी पूजा संदा झैं उनको उमेरकाहरुलाई जवाफ दिन अति कठीन प्रश्न तेसार्छिन्, “वावा अस्ति श्यामलाई असाध्यै मूर्ख छ पट्टक्कै डराउँदैन भन्नु भएको होइन अनि अहिले फेरि दादालाई डराउन हुन्न किन भन्नु भएको त?” “बदमाशी गर्न नडराउने मानिसलाई मूर्ख भनिन्छ तर राम्रो काम गर्न भने डराउन हुन्न नि त । शिक्षकहरुसंग प्रश्न गर्ने र सोधेका प्रश्नहरुको जबाफ दिने भनेको त बढी जान्नको लागि हो त यस्तो काममा डराउन हुन्न नि छोरी” - संक्षेपमा यस्तो जबाफ दिएँ छोरीको जिज्ञासा पुरा गर्न मैले । योभन्दा बढी जान्न पहिला छोरी ठूलो हुनुपर्छ भन्दै छोरीलाई तानेर काखमा राखी माया गर्न थाल्छु । छोरीको खुशीको सीमा थिएन सधै अनेक बहाना बनाएर काखमा बस्न खोज्नेलाई आफैले काखमा राखिदिएकोमा ।



निर्भयता, भयहीनता, महसूरपना जस्ता शब्दहरुलाई पर्यायबाचीको रुपमा मान्न सकिने निडरताको बारेमा सामान्यत मानिसहरुले खासै सोचेको अथवा चासो दिएको पाइन्न यसलाई बिशेषणको रुपमा प्रयोग गर्न र कहिलेकाही त्यस्ता ब्यक्तिहरुको कुरो गर्न वाहेक यद्यपि ब्यक्तिगत एबं सामाजिक जीवनमा यस्ले गर्दा पर्न सक्ने क्षणिक एबं दूरगामी संभाबित बिभिन्न परिणामहरुका कारण यसबारे सोचिनु र यस्लाई महत्व दिइनु भने अति आबस्यक देखिन्छ । ब्यक्ति ब्यक्तिमा पाइने निडरताको प्रकृति र त्यस्को श्रोत अनुसार त्यस्को असर ब्यक्ति, समाज, देश र संपूर्ण बिस्वमा आ-आफ्नै किसिमले परिरहेको हुन्छ । वास्तबमा निडरता के हो त, यो आबस्यक कुरा हो कि होइन, निडरताका श्रोतहरु के के हुन सक्छन्, यस्लाई कसरी वर्गीकरण गर्न सकिएला, निडरताले ब्यक्ति र समाजमा के कस्ता असरहरु पार्न सक्ला त - यी यस्ता प्रश्नहरु हुन जुन निडरताको बिषयमा गहन जानकारी हासिल गर्न सहायकसिद्ध हुन सक्छन् ।



कुनै पनि काम कुरो निर्भिकतापूर्बक बिना हिचकिचावट गर्न सक्ने क्षमता राख्न सक्नु निडरता हो, तर बिभिन्न ब्यक्तिमा पाइने निडरताको प्रकृति भने त्यस्को श्रोत एबं कारणको आधारमा फरक फरक हुन्छ र सोही अनुरुप हुने त्यस्को प्रदर्शन र कार्यान्वयनको असर बिभिन्न ब्यक्ति र समाजमा बेग्लाबेग्लै तवरले पर्छ पनि । निडरताले गर्न पर्ने काम कुराप्रति व्यक्तिमा पाइने आत्मबलको मापदण्ड तोक्न सक्छ अनि ब्यक्तिले गर्ने काम कुराबारेको प्रस्तुतिको गुणात्मक पक्ष र ज्ञानको मात्रालाई परिभाषित गर्न सक्छ । कुनै पनि काम कुरा गर्ने सिलसिलामा ब्यक्तिद्धारा प्रदर्शित निडरताको परिणाम या त निर्णयको रुपमा देखा पर्छ या त निर्णयलाई सहायकसिद्ध हुने प्रकृयाको रुपमा । त्यसै गरी यस्को प्रयोग क्षमता अभिबृद्धिको लागि पनि हुन सक्तछ र क्षमता प्रदर्शनको लागि पनि । सामान्यतः व्यक्तिमा अन्तर्निहित ज्ञान शक्ति, आडको संभाबना, अहंकार, पारिवारिक एबं सामाजिक परिबेश, न्यायसंगत मान्न नसकिने कुराहरुमा भएको श्रृङ्खलाबद्ध संलग्नता, यथार्थता लुकाउन पर्ने वाध्यतामा प्राप्त श्रृङ्खलाबद्ध आंशिक एवं पूर्ण सफलता आदि जस्ता कुराहरु श्रोत मान्न सकिन्छ निडरताको लागि । उपर्युक्त कुराहरुबाट स्पष्ट हुन्छ कि ब्यक्ति ब्यक्तिबाट प्रदर्शन हुने निडरताले बिभिन्न ब्यक्तिहरु र समाजमा सकारात्मक र नकारात्मक दुबै किसिमका परिणामहरु दिन सक्तछ ।



जे जस्तो सामाजिक पृष्ठभूमिमा मानव सभ्यता अगाडि बढिरहेको छ त्यस्लाई मध्यनजर गर्दा बिना हिचकिचावट निर्भिकतापूर्बक गरिएको देखिने अधिकांश काम कुरोको पछाडि त्यस्तो परिणाम देखाउन सहायकसिद्ध हुने बिभिन्न उत्प्रेरकहरुः नियमित अभ्यास, लोभ लालच, बाध्यता, श्रृङ्खलाबद्ध अभ्यस्तता, बिशेष समर्थन जस्ताले काम गरेको पाइन्छ । बिषय वस्तुको जटीलताले गर्दा उदाहरणको प्रस्तुति बढी सान्दर्भिक हुन सक्छ । एउटा परिवारमा श्रीमानले सम्बन्धमा नै गतिरोध आउन सक्ने किसिमले लगाइएको श्रीमतिको अभियोगलाई अनेकन तबरबाट होइन भन्ने विश्वाश दिलाउन प्रयास गर्‍यो तर धेरै कारणले गर्दा आफूले लगाएको अभियोग सत्य हो भन्ने बुझ्दा बुझ्दै पनि पेश नै गर्ने प्रमाण पनि नभएको र घटनालाई बढाउँदा विद्यमान सामाजिक परिबेशले गर्दा आफ्नो सामाजिक प्रतिष्ठामा समेत असर पार्ने ठानी मौन बसी मानसिक तनाव कम गर्न ध्यान पनि शुरु गर्न थाली । यस्लाई श्रीमतिको कमजोरी ठानी श्रीमानले आफ्नो लागेको बानीलाई बिभिन्न रुपमा निरन्तरता दिन थालयो । कहिलेकांही पुनः त्यस्तो केही महसूस गरेपछि श्रीमति कैयौं दिनसम्म श्रीमानसंग राम्रोसंग बोलचाल गर्न छाड्थी र त्यसबाट उस्ले बुझ्थ्यो कि उस्को आँखा चोर कामको उस्ले भेउ पाइ । एकातिर सामाजिक परिबेश र अर्कोतिर बढ्दै गएका केटाकेटीको भबिस्यको बैशाखी टेक्दै जीवनमा वाध्यतापूर्बक धेरै झिझ्यारलाग्दा आरोह अबरोह पार गर्दा गर्दै अब त यस्तो बिन्दुमा आइसकेको थियो कि एउटालाई अर्कोले बिस्वास गर्दैन भन्ने बुझेर पनि झूटो बोल्नु, बहाना बनाउनु, जसरी पनि जित्नै खोज्नु केही न केही भैसक्यो भने अर्कोलाई अर्कोले बोलेको कुरालाई सुने पनि नसुने झैं गर्नु र साथी भाइको सामू औपचारिकताको हाँसो हाँस्नु सामान्य भैसक्यो । अति संबेदनशील र जटील उदाहरण हो यो । यहाँ win win को नभएर loss loss को सिद्धान्त लागु भएको छ । श्रीमति त संधै हार खाएकी छे परिस्थितिबश - क्रमशः निडर बन्दै गएको श्रीमानको निडरताको प्रदर्शनको नकारात्मक असरको चपेटामा परेकी छे भने सफलता पाएको ठान्ने श्रीमानले सफलताको बिजयोल्लास कहिल्यै कहीं मनाउन पाएको छैन आफ्ना गल्ती कमी कमजोरीहरुलाई ढाक छोप गर्न फट्याईं गर्ने बानीलाई आदतमा परिणत गरेर परिवारमा अशान्ति ल्याउन र सामाजिक प्रतिष्ठामा आउने -हासलाई बिबसतापूर्बक स्वीकार्नु बाहेक । लागेको बानी छुटाउनुको अलावा बिभिन्न रुपमा दिइएका त्यस किसिमका कि्रयाकलापको निरन्तरताका कारण खेल्न परेको दोहोरो भूमिकाले गर्दा सधै बाध्यतापूर्बक बोल्न परेको झूटद्धारा सिर्जित भित्रभित्रै दमित पीडाले गर्दा शरीरभित्र पैदा हुने अनाबस्यक हर्मोनले बेमौसमका शारीरिक र मानसिक असन्तुनका लक्षण र संभाबनाहरु बिस्तारै बिस्तारै बढ्दै जानु अस्वाभाबिक होइन ।



काग कराउँदै गर्छ पीना सुक्तै गर्छ भने झैं बिरोध पनि हुँदै गर्ने बिरोध गराइले कुनै अर्थ पनि नराख्ने राजनीति र भ्रष्टाचार जस्ता क्षेत्रको उदाहरण लिने हो भने बाध्यताबश त्यस्तो कार्यमा संलग्न हुन पर्ने नयाँमा वाहेक त्यस्तै बाध्यता अथबा बिभिध अन्य कारणले गर्दा श्रृङ्खलाबद्ध रुपमा त्यस किसिमको कार्यमा भएको बहु संलग्नता तथा शक्ति आडको बैशाखी टेक्नेहरुको आफ्नै किसिमको अहंपना जस्ता कारणले गर्दा जे जसरी निर्धक्कसंग भ्रष्टाचार गरिरहेका हुन्छन सतही रुपमा हेर्दा भ्रष्टाचारमा संलग्न पक्षहरु आर्थिक र सामाजिक पक्षको एउटा पाटोमा बिजयी भएको देखिए पनि उनीहरुलाई राम्रोसंग बुझ्नेको नजरमा भने सामाजिक पक्षको अर्को पाटोमा भने हार भएको देखिन्छ । समग्र भ्रष्टाचारको दुष्परिणाम समाज र देशले कसरी भोग्न पर्छ भन्ने यथार्थता त सबैमा जग जाहेरै छ । सामान्य जीवन यापन गर्न धौ धौ पर्ने जागिर खाएर लखपती करोडपती बन्नुको पछाडि जिम्मेवार छ यही नै खुल्ला रहस्य । हालसम्म प्रमाणित हुन नसकेको तर रासायनिक र जैबिक हतियारको निहुँ पारेर शुरु भएको इराकसंगको युद्ध र त्यसपछि हालसम्म भैरहेको अति महँगो सैनिक कार्यबाही जस्ता कारण पनि जिम्मेवार छैन र वर्तमान विस्वव्यापी आर्थिक मन्दीको लागि? जे जस्तो कारण देखाएर युद्ध गरिए तापनि युद्धको खास कारण भने लुक्न नसकेको रहस्य नै हो ।



सधैं सबै कुरो सबै ठाउँमा समान रुपमा लागु नहुन सक्छ भन्ने यथार्तताबाट यो प्रसंग पनि अपबादरहित नभै रहन सक्तैन । प्रकृति अथाह छ अति बिचित्रको छ - यस्ले कसैलाई पनि अर्कोसंग ठ्याक्कै उस्तै हुनै दिदैन । प्रत्येकलाई केही न केही बिशेष गुण दिएकै हुन्छ । कोही धारा प्रबाह बोल्न सक्छ, तर लेख्न सक्तैन भने कोही मजासंग लेख्न सक्छ, तर बोल्न जान्दैन । कहिलेकांही यस्तो पनि देखिन्छ कि केही बिषयमा सामान्य जानकारी भएकोले उस्कोभन्दा धेरै जानकारी भएकोले भन्दा राम्रो प्रस्तुति गरेको । एउटै संस्थामा कोही जन साधारणसंग राम्रो संपर्क राख्न सक्छन् भने कोही प्रतिबेदन आकर्षक ढंगले लेख्न, कोही मरेर काम गरिरहेका हुन्छन् र पनि गरेको काम देखाउन सकिरहेका हुन्नन् भने कोही काम चोर हुन्छन् र पनि मरेर काम गर्नेले भन्दा बढी काम गरेको देखाउन खप्पिस हुन्छन् । सामान्यत वाकशक्ति राम्रो भएकोलाई क्षमताबान भन्ने गरिन्छ र त भन्ने गरिन्छ कि बोल्नेका पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन र पनि सबैलाई राम्ररी चिनेर बुझेर उपयुक्त ब्यक्तिलाई उपयुक्त स्थान दिन सकेको खण्डमा संस्थाबाट दिन पर्ने परिणाम राम्रो परिणाममुखी बनाउन सकिन्छ । यसरी कहिलेकाही पकृति प्रदत्त केही बिशेष बिशेषता तथा अन्य कतिपय कारणले गर्दा कसैले आफैले भोगेको, गरेको तथा देखेको काम कुरा नै निर्धक्कसंग निडरता पूर्वक प्रस्तुत गर्न नसक्ता उस्को प्रस्तुतिमा आशंका उब्जने वाताबरण तयार हुन्छ भने कसैले आफैले नभोगेको नगरेको तथा नदेखेको काम कुरा पनि यस्तो किसिमले प्रस्तुत गर्छन् कि सो प्रस्तुतिमा शंका गर्न कठीन पर्छ । यस्तो स्थितिमा निडरताको सामान्य सिद्धान्त काम गर्न सकिरहेको हुन्न ।



माथि उल्लिखित प्रसंगहरुलाई संक्षेपमा चार्टको रुपमा तल प्रस्तुत गर्न प्रयास गरिएको छ । समग्रमा भन्नु पर्दा कुनै पनि काम कुरोको सन्दर्भमा कुनै पनि व्यक्तिले निर्धक्कसंग भन्न गर्न सक्नाकॊ पछाडि दुई कारणहरु देखिन्छन्ः सत्य र असत्य । सत्यको गहिराइको बिषय बस्तु अति गहन छ र त्यसबारेको प्रस्तुति यस लेखको आशय होइन । अधिकांश व्यक्ति कुनै न कुनै स्तरसम्म अज्ञानताको उपज बनिरहेको हुन्छ र आफूमा अन्तर्निहित सो अज्ञानताको पत्र नफालुन्जेल आफू र आफ्नो सोंचको बीच कुनै बिभेद छुट्याउन नसक्नाले के सही र के गलत भन्ने स्पष्टताको वास्तबिक रुपमा यकीन गर्न सकिरहेका हुन्नन । फलतः कतिपयले नचाहँदा नचाहँदै पनि गल्ती गरिरहेका हुन्छन् । अज्ञानताको सो पत्र फालेपछि मात्र वास्तबिक सत्यसंग साक्षात्कार हुन्छ र वास्तबिक सत्यको पहिचान गर्नेहरुमा कुनै स्वार्थ हुँदैन, कुनै लोभ लालच हुँदैन र गल्ती गर्ने संभाबना अति न्यून हुन्छ संधै होसियारीपूर्बक जिउने भएकोले । गल्ती नगरेपछि डर पनि हुँदैन । गल्तीको श्रोत नै काम, क्रोध, लोभ, मोह भएको र सत्यको पहिचान गरिसकेकाहरुको लागि यी सब स्वतः महत्वहीन भैदिने भएकोले उनीहरुको उद्धेस्य नै अरुको उद्धार, सहयोग र प्राणी मात्रको कल्याण हुन्छ । उनीहरुबाट निस्वार्थ काम कुरो हुने भएकोले त्यस्मा संलग्न दुबै पक्षमा गरिएका काम कुराको नकारात्मक असर केही पर्दैन । सत्य पहिचानको अभाबमा इमान्दार हुन खोज्ने मानिसहरुले समेत निस्वार्थ पूर्बक काम गर्न खोज्दा खोज्दै पनि कहिलेकांही कतिपय कारणबश परिणाम सोंचे अनुरुप नभैदिनाले चिन्ताको कारण बन्न सक्छ । तल प्रस्तुत चार्टले स्पष्ट गर्छ कि जस्को आधार सत्य छ, निडरता उनीहरुको बिशुद्ध गुण हो र सम्मानजनक सकारात्मक परिणाम ल्याउनु यस्को धर्म हो भने आधार असत्य हुनेहरुले जानाजान आफ्नो अथवा कसैको स्वार्थपूतिको लागि गर्न नहुने काम कुरोमा निडरता प्रदर्शन गर्न पनि सक्छन बिभिन्न कारणहरुले गर्दा र त्यस्को परिणाम भने हुन्छ कुनै न कुनै रुपमा समाजमा र आफूमा बिभिन्न नकारात्मक असरहरुको सिर्जना । सही र राम्रो काम कुरा गर्न खोज्दाखोज्दै पनि कहिलेकांही अज्ञानताको कारण सत्यलाई आधार बनाउने प्रयास असफल भइ चाहे जस्तो परिणामको सट्टा नकारात्मक परिणाम दिने किसिमले काम कुरो भैदिन पुग्छ ।



सामान्यतः सामाजिक एबं कानूनि मान्यतानुरुप गर्न नहुने काम कुरो भन्न गर्न मानिसहरु डराउनु वा हिचकिचाउनु पर्ने हो तापनि त्यस्तो नभएर अधिकांशप्रायः मानिसहरु निडरतापूर्वक त्यस्तो काम कुरोमा संलग्न भए गरेको पाइनुको पछाडि स्वार्थ, बाध्यता, महत्वकांक्षा, दबाब, अहंपना, बदलाको भाब, भैरहेको अथवा संभाबित समर्थन प्राप्त शक्ति जस्ता थुप्रै कारणहरु हुन सक्तछन र त्यसको आधारमा प्राप्त सफलतालाई उपलब्धि माने तापनि त्यो उपलब्धि सीमित ब्यक्ति र समूहलाई त हुन सक्ला तर समग्रमा त्यस्ले समाजमा बिभिन्न किसिमका नकारात्मक असर पार्न सक्तछ । अर्कोतिर जति निर्धक्कसंग त्यस किसिमका काम कुरामा संलग्न भएर आफ्नो कम्जारी लुकाउन खोजे तापनि यथार्थता कुनै न कुनै रुपमा सार्बजनिक हुँदा प्राप्त सामाजिक प्रतिष्ठा यथाबत रहन नसक्ने एउटा पक्ष छ भने अर्को पक्ष अरुलाई ढाँटेर समाजमा आफूलाई जे जसरी प्रस्तुत गरे पनि जुन पृष्ठभूमिमा गरिएको काम कुरो हो त्यसले भित्रभित्रै एक किसिमको त्रास, पीडा र अस्थिरता पैदा गरी शरीरभित्र बिकारयुक्त हर्मोन पैदा गरेर शारीरिक एबं मानसिक समस्याहरु सिर्जना गर्ने काममा सहायक भूमिका निर्बाह गरिरहेको हुन्छ त्यस्ले । इमान्दार हुन खोज्दाखोज्दै पनि कतिपय कारणबश हुने गल्तीका कारण हुने नकारात्मक परिणामहरु पनि अलि बढी होसियार भएको खण्डमा न्यूनिकरण गर्न सकिन्छ । स्पष्टतः सत्यलाई आधार मानेर बहु जन हितायको सिद्धान्तलाई ध्यानमा राखेर गरिने काममा प्रदर्शन हुने निर्धक्कपना सबैको हितमा हुनुका साथै आत्मा सन्तुष्टि दायक हुन्छ भने बिभिन्न कारणबश स्वार्थपूर्ण पृष्ठभूमिमा आफू र कसैको स्वार्थ पूर्तिका लागि गरिने निर्धक्कतापूर्ण कि्रयाकलापको कारण स्वार्थ पुरा गर्न समर्थ हुनेहरु वाह्य रुपमा सफल र खुशी देखिए पनि नैतिक रुपमा असफल र चिन्तित हुने र शारीरिक रुपमा पनि दुस्प्रभाब पर्ने कुरामा भने सन्देह छैन जस्को अन्तत्वगत्वा परिणाम हुन्छ बिभिन्न किसिमका सामाजिक समस्या ।





- केण्ट, वेलायत





तपाईंको प्रतिकृया

Ramu dai katha ramro lekhnu vayeachha
think you

Ram Kumar Dai,
I am impressed with your writing and specially with the way you write this article. I agree with previous comment, it sound like essay or reflective article than story.
Indeed there is good credit in writing.

Interesting article. Trying to reflect reality.

Very interesting article, but why there is no chart as mentioned in the second last paragraph .

Interesting and good article

Very nice article, but this should be not in story category. This must be either in article or essay category. And another comment, where is the chart mentioned in the second last para? I think that must be very important as it seems to be the summary of the article as mentioned by the writer.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम