साहित्यका विविध लेखनमध्येमा सम्भवतः हास्यव्यङ्ग्य लेखन नै सबैभन्दा रोचक, मनोरञ्जनात्मक र पाठक तान्ने क्षमताको लेखन हुनुपर्छ । हास्यव्यङ्ग्य लेखन छुट्टै विधा नभएर शैली हो र साहित्यका प्रत्येक विधामा घोलिएर आइरहेको हुन्छ । त्यसैले हास्यव्यङ्ग्य लेखनको प्रारम्भविन्दु खोज्दै जाने हो भने सिङ्गो नेपाली साहित्यको प्रारम्भविन्दुसम्मै पुग्नुपर्ने हुन्छ । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा लिखित हास्यकदम्ब नाटकदेखि स्पष्ट देखिँदै आएको हास्यव्यङ्ग्य शैली यसभन्दा अघि सुवानन्ददासको कविता र पृ- वीनारायण शाहका दिव्योपदेशमा समेत हास्यव्यङ्ग्यको मीठास घोलिएको पाइन्छ । त्यहाँदेखि यहाँसम्मको हास्यव्यङ्ग्यको यात्रामा धेरैका नामहरू जोडिन्छन्, जसले हास्यव्यङ्ग्यलाई यो स्थानमा पुर्याएका छन् । भानुभक्त आचार्य, सन्त ज्ञानदिलदास, वासुदेव शर्मा लुइँटेल, केशवराज पिँडाली, भैरव अर्याल, बालमुकुन्ददेव पाण्डे, श्याम गोतामे, सूर्यबहादुर पिवा लगायतका स्रष्टाले हास्यव्यङ्ग्य शैलीमा उचाई थपेर गएका छन् । जीवित स्रष्टाहरू पनि प्रशस्तै छन् तर हास्यव्यङ्ग्यप्रति मात्रै समर्पित लेखन भएका स्रष्टाहरू भने कमै छन् ।
साहित्यिक पत्रकारिताभित्र हास्यव्यङ्ग्य पत्रकारिता कुनरूपमा रहेको छ र यसको स्थान के कस्तो छ भन्ने सम्बन्धमा यहाँ चर्चा गर्न लागिएको हो । हाँच्छ्यु, टुटुल्को, सोक्पा, चड्कन, मुस्कान, हाँसौँ, फित्कौली, सिस्नुपानी लगायतका हास्यव्यङ्ग्यप्रधान पत्रिकाहरू निस्किदै, बन्द हुँदै गरेर यतिबेला लगभग सबै नै बन्द भइसकेका छन् । हास्यव्यङ्ग्य समाज, नेपाल -हासने प्रतिष्ठान) छ, सिस्नुपानी नेपाल छ, यस्तै अरू पनि संस्थाहरू होलान् तर हास्यव्यङ्ग्य साहित्य र हास्यव्यङ्ग्य पत्रकारिताको उत्थानमा खासै उल्लेख्य काम गर्न सकेको जस्तो देखिँदैन । वर्षमा एक पटक भए पनि गाईजात्राका अवसरमा पत्रपत्रिकाहरूले हास्यव्यङ्ग्य विशेषाङ्क निकाल्थे तर केही समययता यो क्रम रोकिएको जस्तै छ । लेखकले लेख्ने, पाठकले रुचाउने तर पत्रपत्रिकाहरू चाहिँ प्रकाशित नहुने भन्ने दुःखकै विषय हो । यसै सन्दर्भमा प्रस्तुत छ- हास्यव्यङ्ग्यका क्षेत्रमा समर्पित स्रष्टा नरनाथ लुइँटेल -सम्पादक, फित्कौली), धर्मराज बराल -सम्पादक, मुस्कान) र लक्ष्मण गाम्नागे -सम्पादक, रकेट, चड्कन, सिस्नुपानी) सँग गरिएका कुराकानी-
- साहित्यिक पत्रकारिताका क्षेत्रमा हास्यव्यङ्ग्य पत्रकारिताको स्थान कस्तो देख्नुहुन्छ ?
- नरनाथ लुइँटेल- साहित्यिक पत्रकारिता समग्रमै टाक्सिएको अवस्थामा छ । सिङ्गो पत्रकारितामै साहित्यिक पत्रकारिताको योगदान अग्रणी छ । शारदाकालीन पत्रकारिताका उत्पादन अहिले पनि साहित्यिक पत्रकारिताको मूलप्रवाहमै छन् तर पनि राज्यको दृष्टि यसतर्फ पुगेको छैन । पत्रकारितामा पुर्याएको योगदानको मूल्याङ्कन नगरिनु र उदासिनता देखाउनुले ओझेलमा परेको अवस्थामा छ भने यसैभित्रको हास्यव्यङ्ग्य पत्रकारिताको अवस्था के राम्रो होस् Û हास्यव्यङ्ग्य पत्रिका छैन बराबर छ । अन्य पत्रपत्रिकाहरूमा मिसिएर अचारको काम गर्दै आएको छ यसले । गाईजात्रे अवसरमा केही निस्किन्छन् । तीन वर्षदेखि लगातार निस्किएको फित्कौली पनि १९ अङ्कबाट विश्राममा छ । दार्जीलिङतिरबाट केही हल्काफुल्का पत्रिका निस्किन्छन् तर यहाँ निस्किने, हराउनेक्रम छ । धेरैको रुचिको क्षेत्र हुँदाहुँदै पनि स्थायित्व र फस्टाउँदो अवस्थामा छैन ।
- धर्मराज बराल- हास्यव्यङ्ग्य पत्रकारिताको स्थान राम्रो हुँदाहुँदै पनि सङ्घसंस्थाहरूको कमीका कारण स्थायित्व छैन । जे जति भएको छ व्यक्तिगत प्रयासमै भएको हो । व्यक्तिगत प्रयासका सकुञ्जेल निस्किने र नसकेपछि बन्द हुने हुन्छन् । मुस्कान ले पनि ठूलै मेहनत गरेको हो तर विक्रेताहरूले धोका दिँदा थलै पर्यो । वि.सं. २०४७/०४८ तिर प्रज्ञाप्रतिष्ठानले उत्कृष्ट गाईजात्रे विशेषाङ्कलाई पुरस्कृत ग- र्यो । मुस्कानले तीन पटकसम्म पुरस्कार पाए- यो । २०-२२ हजारप्रति बिक्ने पत्रिका भुतुक्कै भयो । विक्रेताले आफैँले मात्र खाइदिँदाको अवस्था हो यो । झोलामा बोकेर चलाउन सकिँदैन । पाठकले अत्यधिक रुचि राख्दाराख्दै पनि त्यहाँसम्म पुर्याउन सकिएको छैन । राज्यस्तरको प्रबर्द्धन आवश्यक हुन्छ दिगो हुनलाई ।
- लक्ष्मण गाम्नागे- हास्यव्यङ्ग्य पत्रकारिताको अवस्था अहिले अलिक घटेको जस्तो लाग्दछ । राजनीतिक अवस्थाले पनि प्रभाव पारेको हुनुपर्छ । हिजो प्रतिबन्धितकालमा डराईडराई कार्यक्रमहरू गर्दा होस् वा हास्यव्यङ्ग्य लेख्दाÙ थोरै भए पनि महìवको हुन्- यो । गाईजात्राका अवसरमा सबैले प्राथमिकताका साथ विशेषाङ्कहरू निकाल्थे । अहिले यो अवस्था छैन । मुलुक गणतन्त्रमा पुगिसकेको छ । सर्वत्र खुल्लापन छ । यसका कारण पनि हास्यव्यङ्ग्य पत्रपत्रिकाहरूमा कमी आएको हो तर सिङ्गो पत्रकारितामै मिसिएर भए पनि हास्यव्यङ्ग्यका सामग्रीहरू धेरथोर आइरहेकै छन् ।
- हास्यव्यङ्ग्य साहित्य मनोरञ्जनात्मक मात्र नभएर समाजलाई मार्गदर्शन र रूपान्तरण गर्नसक्ने माध्यमका रूपमा पनि अग्रणी हुनुपर्नेमा ओझेलमा परेको जस्तो अनुभव हुन्छ नि ?
- नरनाथ लुइँटेल- हास्यव्यङ्ग्यकारहरू प्रशस्त छन् र लागिरहेका पनि छन् । चासो हुँदाहुँदै पनि व्यवस्थित हुन नसकेकाले हो । लेखक छन्, पाठक छन् तर प्रकाशक छैनन् । संस्थागत प्रयासमा कमी हुँदा केही गर्न चाहनेहरू पनि गर्न सकिरहेका छैनन् । आठ/दस हजार विक्री हुने, विज्ञापनबाट उठ्ने भन्ने अवस्था छैन । मूलतः साथ-सहयोगकै कमीका कारण ओझेलमा परेको हो ।
- धर्मराज बराल- साहित्यिक पत्रकारिताले नै यसलाई पनि हाँक्नुपर्छ । पाठक त छन् तर समाजको लागि हास्यव्यङ्ग्य मार्गदर्शक हो भन्ने बोध सम्बन्धितहरूले गर्न नसक्नु दुर्भाग्य हो । केही संस्थागतबाहेक साहित्यिक पत्रपत्रिकाहरूको अवस्था दयनीय नै छ । यसका माध्यमबाट पनि हाम्रो प्रचारप्रसार हुन्छ भन्ने व्यवसायीको सोच बनेकै छैन । जीवनका शैली र पद्धतिहरू बदलिनुपर्छ । यसका लागि हास्यव्यङ्ग्यकारहरूले पनि बरु छातासंस्था बनाएरै केही गर्नुपर्छ ।
- लक्ष्मण गाम्नागे- हास्यव्यङ्ग्यका पनि दुई पाटो छन्- मनोरञ्जन र गम्भीर साहित्यिक खुराक । हास्यव्यङ्ग्य साहित्यका क्षेत्रमा लाग्नेहरू थोरै छन् । पहिलेपहिले गाईजात्रालाई जुन किसिमको महìव दिइन्- यो, अहिले त्यस्तो छैन । सिङ्गो साहित्यिक पत्रकारितामै धरमरको अवस्था छ । दैनिक पत्रिकाहरूले एकफेर हास्यव्यङ्ग्यलाई ठाउँ छुट्याएका थिए तर अचेल छैन । कार्टुनचित्रतिरबाट हेर्दा चाहिँ बरु राम्रो छ ।
- हास्यव्यङ्ग्यकै क्षेत्रमा मात्र लागेर पनि अमर बनेका साहित्यकारहरू छन् तर पछिल्लो समयमा आएर हास्यव्यङ्ग्यकारको अभाव देखिनुलाई के भन्नुहुन्छ ?
- नरनाथ लुइँटेल- हास्यव्यङ्ग्य क्षेत्रमा मात्र नभएर सिङ्गो साहित्यलाई नै पहिलो प्राथमिकता र व्यवसाय बनाएर जीवनयापन गर्नसक्ने अवस्था छैन । हरेकका क्रियाकलापहरू बाँडिएका छन् । मान्छेमा गम्भीरपन आउनै सक्दैन । लगावमा पनि कमी छ । निखि्रएर लाग्ने अवस्था नभएकाले कमी भएको हो । लगावका साथ लागेकाहरू अमर भए । विगत केही वर्षयता भने पेशेवर लेखकहरू पनि देखिएका छन् । यसबाट लेखेरै जीवनयापन हुनसक्ने दिन आउँछन् कि भन्ने आश पलाउँछ ।
- धर्मराज बराल- हास्यव्यङ्ग्यका क्षेत्रमा हास्यव्यङ्ग्य समाज, नेपाल
-हासने प्रतिष्ठान) ले केही संस्थागत काम गरेको हो तर साथ दिने सङ्घ-संस्थाहरू निस्किएनन् । प्रज्ञाप्रतिष्ठानजस्तो संस्थाले पनि साथ दिएन । हास्यव्यङ्ग्यलाई आˆनो क्षेत्रभन्दा बाहिरको ठानियो । हामीले केही गर्छौं भन्दा पनि सहयोग भएन । यतिसम्म कि कार्यक्रम गर्छौभन्दा पनि हलभाडामा छुट दिइएन । प्रतिभाहरू निस्किन प्रोत्साहन र माध्यम आवश्यक हुन्छ । आफैँले केही गरेर उठ्नुपर्ने भएकाले जुरुक्क उठ्न नसकेका हुन्, क्रमशः प्रतिभाहरू अगाडि आउँछन् ।
- लक्ष्मण गाम्नागे- सबै क्षेत्रमा यस्तै हो । कोही आउने, कोही हराउने हुन्छ । खडेरी नै परेको चाहिँ होइन । भैरव अर्याल, केशवराज पिँडालीहरूले एउटा उचाई बनाए । त्यसपछि मानक व्यक्तित्व बन्न सकेको छैन । आशा गरौँ- त्यस्तो व्यक्ति जन्मिएला । हास्यव्यङ्ग्य रचनाहरू पत्रपत्रिकाले खोजीखोजी छापिरहेकै छन् भने त्यो दिन आउन सक्ला ।
- टेलिभिजनहरूमा धारावाहिक हास्यशृङ्खलाहरू दर्शकले रुचाएका र प्रायोजक पाउने कार्यक्रममा परेका छन् भने गाईजात्रे कार्यक्रमहरू हलमा प्रदर्शन गरेर वर्षमा एक पटक भए पनि प्रशस्तै दर्शक बटुलेको देखिन्छ । यसको तुलनामा हास्यव्यङ्ग्य पत्रिका चल्न नसक्नुको कारण के हो ?
- नरनाथ लुइँटेल- मान्छेको रुचिमा परिवर्तन भइरहेको छ । पढ्नेभन्दा आँखाले झलमल हेर्न चाहन्छन् पाठक तर पनि पत्रिकाहरू व्यवस्थित तरिकाले सशक्त र प्रभावपूर्णरूपले निकाल्ने हो भने चल्छ । टेलिशृङ्खलामा आउने भनेको हास्यव्यङ्ग्यका नाममा विकृतिहरू ज्यादा छन् । केहीलाई छोडेर ती हास्यव्यङ्ग्य नै होइनन् । हास्यव्यङ्ग्य भनेको जीवनप्रति व्यङ्ग्य गर्नु पनि हो तर कोटमुनि कट्टु लगाएर जवर्जस्ती हँसाउनु हास्यव्यङ्ग्य होइन । संवेदना र सहानुभूति देखाउनुपर्ने ठाउँमा उट्पट्याङ दृश्य प्रस्तुत गर्दा त्यसले पनि राम्रो सन्देश दिँदैन । बौद्धिकताभन्दा क्षणिक मनोरञ्जनतिर तानिएका पाठकलाई पुनः पठन संस्कृतिमा तान्नलाई हामीले पहल गर्नुपर्छ ।
- धर्मराज बराल- मुस्कान पत्रिका निकालुञ्जेल पाठकले त्यसलाई रुचाएको, खोजीखोजी पढेको अनुभव छ तर राम्रो व्यवस्थान गर्न नसक्दा थला पर्यो । पाठकले स्तरीय सामग्रीको खोजी गरेका छन् तर त्यहाँसम्म पुर्याउन सकिएको छैन । एक समय २० हजार प्रतिसम्म बिकेको पत्रिका २२ अङ्कसम्म निस्किएर अशक्त भयो । संस्थागत साथ-सहयोग नभएसम्म स्थायित्व नहुने रहेछ ।
- लक्ष्मण गाम्नागे- हास्यव्यङ्ग्यको मात्र नभएर सिङ्गो पत्रपत्रिकाकै पनि बजार घटेको अवस्था छ । अहिले समय बाँडिएको छ । हास्यव्यङ्ग्यमा लागेकाहरूको अल्छीपनले गर्दा पनि हो यस क्षेत्रमा प्रभावकारी काम हुन नसकेको । बजारको अभाव होइन, लाग्नेहरूको लगावमा कमी भएर हो । हास्यव्यङ्ग्यकारहरूको संस्था सिस्नुपानी खडा गर्दा उद्देश्यहरू व्यापक थिए । प्रारम्भमा राम्रै काम गर्यौँ पनि । संस्थालाई व्यावसायिक बनाउन सकिएन, स्वयंसेवकका रूपमा धेरै गर्न र निरन्तर लाग्न सकिएन । सामूहिक आँट गरियो भने फेरि पनि केही गर्न सकिन्छ ।
- हास्यव्यङ्ग्य साहित्यको भविष्य कस्तो देख्नुहुन्छ ?
- नरनाथ लुइँटेल- यति धेरै अप्ठ्यारो परिस्थिति हुँदाहुँदै पनि हास्यव्यङ्ग्य क्षेत्रको भविष्य अन्धकारै चाहिँ छैन । पाठकको जमात छ, उनीहरू स्तरीय सामग्री पढ्न चाहन्छन् । भैरव अर्यालका हास्यव्यङ्ग्यमा सर्वकालिकता छ, अहिलेकै समयका हुन् जस्ता ताजा लाग्दछन् । नयाँपुस्ताका पनि केही स्तरीय छन् । व्यवस्थित र सङ्गठित भएर कोही अग्रसर हुनसक्छ । त्यसो भएमा हामी पनि साथ-सहयोगमा जुट्ने छौँ ।
- धर्मराज बराल- हास्यव्यङ्ग्यको भविष्य राम्रो छ । अहिलेको सन्दर्भबाट हेर्दा संयोजनपक्ष कमजोर भयो । यसलाई प्रबर्द्धन गर्न बुझेकाहरू नै लाग्नुपर्छ । सीपमूलक व्यवस्थापनसहित अगाडि बढ्नसके राम्रो हुन्छ । कविगोष्ठीहरूमा हास्यव्यङ्ग्य सिर्जनाले नै ताली र वान्समोर Û पाउने गरेका छन् । हासने प्रतिष्ठानले साथ-सहयोग पायो भने केही गरेर देखाउन सक्ने आँट छ । यसका लागि सरकारी सङ्घसंस्थाहरूको सक्रिय सहयोग आवश्यक हुन्छ ।
- लक्ष्मण गाम्नागे- हास्यव्यङ्ग्यको बजार अत्यन्त राम्रो छ । रचनाहरू राम्रा र स्तरीय पनि छन् । टेलिभिजन, रङ्गमञ्च र लेखनमा पनि उत्तिकै प्रभावकारिता छ । मूल कुरो-यसलाई उठाउन संस्थागतरूपमा लाग्नेको खाँचो छ । यसमै लागेर पनि केही गर्न सक्छु भन्ने आँट पालेका युवाहरूलाई हौसला दिनुपर्छ । यसो भयो भने हास्यव्यङ्ग्यका हरेक माध्यम उत्तिकै प्रभावकारी हुनेछन् र फस्टाउने छन् ।
हास्यव्यङ्ग्यका पाठक प्रशस्त छन् र लेखकहरूको पनि कमी छैन तर हास्य र व्यङ्ग्य दुवैले पूर्ण रचनाहरू सिर्जना गर्ने लेखक चाहिँ औँलामै गन्नुपर्ने हुन्छ । उट्पट्याङ लेखेर हँसाउनु र ठाडो व्यङ्ग्य गरेर घोच्नुलाई हास्यव्यङ्ग्यका क्षेत्रमा पाठकले पचाउने अवस्था छैन । यसकारण पनि हास्यव्यङ्ग्य जुनरूपमा फस्टाउनुपर्ने हो, त्यसरूपमा फस्टाउन सकिरहेको छैन । पत्रपत्रिकाहरू पनि दुईचार अङ्क निस्किने र बन्द हुने अवस्थाले हास्यव्यङ्ग्यको क्षेत्र अलमलमा परेको पो हो कि भन्ने अनुभव हुन्छ ।
from: madhuparka