Online Nepali Literature Forum
   

Users Online : 18
| More
अक्षरको आकार:   - | +
समाचार
अनेसास केन्द्रले भानु जयन्ती तथा वार्षिक साधारण सभा सम्पन्न गर्यो - [2010-07-22]

२१ जुलाई, वासिगंटन डी सी, अमेरिका
जुलाई १८, २०१० को दिन, अनेसास डिसी च्याप्टरको सहयोगमा उडब्रिज (भर्जिनिया) को रमणीय लिसिल्भ्यानिया स्टेट पार्कमा १९७ औं भानु जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको उन्नाइसौं साधारण सभा अमेरिकाका लागि नेपालका महामहिम राजदुत डा. शंकर शर्माले व्यानर अनावरण अनावरण गरेर उद्घाटन गर्नुभयो ।

राजदूतबाट आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गर्दै प्रारम्भ भएको पहिलो सत्रमा अनेसास केन्द्रका भूपू अध्यक्ष तथा अमेरिका नेपाल सोसाइटीका अध्यक्ष खेम भट्टचनले स्वागत भाषण गर्नुभएको थियो ।
अनेसास निर्वाचन आयोगका अध्यक्ष डा. श्याम कार्कीले अनेसास केन्द्रीय समिति (२०१०-२०१२) का नव निर्वाचित पदाधिकारीको घोषणा गर्दै अध्यक्ष श्री ज्ञानेन्द्र गदाल र महासचिव श्रीमती गीता खत्रीलाई शपथ ग्रहण गराउनुभयो ।

कथाकार श्री विश्वम्भर चन्चल विशेष आतिथ्यमा सम्पन्न सो सभाको सभापतित्व अनेसासका नवनिर्वाचित अध्यक्ष श्री ज्ञानेन्द्र गदालले गर्नुभएको थियो ।

पहिलो चरणमा नेपाली राजदुतावासको तर्फबाट महामहिम राजदुत डा. शंकर शर्मा र उपनियोग प्रमुख श्री कालिप्रसाद पोखरेल, महासचिव श्रीमती गीता खत्री, डा.श्याम कार्कीले अनेसासको विश्व व्यापी आकर्षण बढेको चासोको उल्लेख गर्दै यसको उत्थानको वारेमा बोल्नुभएको थियो ।

विशेष अतिथि श्री विश्वम्भर चन्चलले अनेसासबाट प्रकाशित ‘प्रथम अन्तर्राष्टिय नेपाली साहित्य सम्मेलन, न्युयोर्क, अमेरिका’ स्मारिकाको विमोचन गर्नुभयो । विमोचित पुस्तकबारे होमनाथ सुवेदीले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान महासचिव कृष्ण बजगाईंबाट प्राप्त पुरानो कार्यकारी समितिको कार्य प्रगति र मूल्याङ्कन विवरण सन्देशको रुपमा कार्यक्रमका सन्चालक तथा विओटीका उपाध्यक्ष श्री भीम रेग्मीले प्रस्तुत गरिदिनुभएको थियो ।

नवनिर्वाचित महासचिव गीता खत्रीले पक्ष विपक्षको भेद नराखी सम्पूर्ण नेपाली डायास्पोरालाई समेटेर हामीले काम गर्नेछौं भन्नुभयो ।

सभाध्यक्ष ज्ञानेन्द्र गदालले अनेसासमा काम गर्ने मौका दिनुभएकोमा धन्यवाद ज्ञापन र आगामी कार्यक्रम कार्यसमितिको बैठक गरी सबैको अगाडि ल्याउने र उहाँको तर्फबाट सबैको लागि काम गर्ने वचन दिदै सभा विसर्जन गर्नुभएको थियो ।

स्मरण रहोस अनेसासका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष ज्ञानेन्द्र गदाल, कोलोराडो, वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाइ बेल्जियम, क्षेत्रीय उपाध्यक्ष अनन्त रिसाल, अमेरिका, क्षेत्रीय उपाध्यक्ष युरोप जया राई, क्षेत्रीय उपाध्यक्ष पुनम क्षेत्री, एशिया, क्षेत्रीय उपाध्यक्ष रन्जना उदास, अफ्रिका र ओसेनिया, महासचिव गीता खत्री, न्युयोर्क, सचिव हरि मानन्धर, इजराइल र कोषाध्यक्ष कृसु क्षेत्री, म्यान्मार छन् ।

दोश्रो चरणको सभाको सभापतित्व अनेसास केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले गर्नु भएको थियो ।

अनेसासको यो साधारण सभामा बिओटीका कोषाध्यक्ष तथा काकास ट्रेजरी कमिटीका सदस्य बासु सत्यालले अनेसासको आर्थिक विवरण प्रस्तुत गर्नु भयो । अनेसाको आय व्ययको सम्पृ्र्ण विवरण अनेसासको मुखपत्र अन्र्तदृटिको आगामी अंकमा प्रकाशित हुने जानकारी गराईयो ।

ग्लोबल नेटवर्क कोअर्डिनेटर पुरुषोत्तम सुवेदीले भन्नुभयो "काकासको अनुरोधमा मैले यो वेभको काम गर्दै आउन परेको हो । अब क्षेत्रीय उपाध्यक्ष पनि थप भइसकेको अवस्थामा मेरो आवश्यकता पनि नरहला र आशा गर्छु उहाँहरुले यसलाई सुचारु रुपले संचालन गर्नुहुनेछ ।"

अनेसासका ट्रस्टी बोर्डका सभापति होमनाथ सुवेदीले अनेसासको उन्नाइसौं साधारणसभाको अन्तमा पुरस्कार प्रायोजकहरु, निर्वाचन समिति र पर्यवेक्षण समितिका सदस्यहरु, काकास र अन्य पदाधिकारीहरु अनेसासको रातोदिन लगाएर काम गर्ने सबैलाई धन्यवाद दिदै भन्नुभयो— मेरा वा मेरा सहकर्मी सबैका काममा त्रुटी भएका भए त्यस्ता भुलचुकहरुमा क्षमा चाहन्छु र भन्छु अनेसासलाई नै बलियो बनाउन लागिपरेका कोही पनि हारेका छैनौं । अब सबै मिलेर अगाडि बढ्नुपर्छ । नेपाली डायास्पोराको भाषा र साहित्यको विकासको निरन्तरता नै हाम्रो जीत हो ।

उक्त अवसरमा मुरारी प्रसाद शर्मा सापकोटा वयस्क कविता प्रतियोगिता भएको थियो । त्यसमा रमेश खकुरेल, विश्वम्भर चन्चल तथा नेपाली दूतावासका प्रथम सचिव श्री आनन्द शर्माको आतिथ्यमा अप्रतियोगी कविता वाचन पनि गरिएका थिए । अनेसासका ट्रस्टी रोहिणी शर्मा ( अरिजुना) को प्रायोजनमा भएको यो कविता प्रतियोगितामा जितेर प्रथम हुने साक्षी कविताको लागि नारायण श्रेष्ठ, द्वितीय हुने नेता भए के भयो कविताको लागि दुर्गा रिजाल , तृतीय ह्ुने ‘समुद्रको लहर’ मन्जु निरौला र चतुर्थ स्थान प्राप्त गर्ने प्यारो मेरो जन्म गाउँ कविताको लागि मनमती ‘मन्जु’ले क्रमशः १००.००, ७५.००, ५०.००, २५.०० यो पुरस्कार जित्नुभयो । यसका निर्णाक विश्वम्भर चन्चल, शरद निरौला, तीर्थ पाण्डे हुनुहुन्थ्यो ।

त्यस्तै वालकविता प्रतियोगिता पनि भएको थियो । यो शहीद दशरथचन्दको स्मृतिमा कवि तीर्थ पाण्डेले प्रायोजन गर्नु भएको थियो । यसमा प्रथम मदन बस्ताकोटी, द्वितीय आयाम शर्मा, तृतीय कृति ज्ञवाली र चतुर्थ स्थान प्राप्त गर्ने प्रिया सुवेदीले क्रमशः ४०.००, २५.००, २०.००, १५.०० यो पुरस्कार र शात्वना पुरस्कार आकाश सुवेदी, स्मारिका शर्मा र आलोक सुवेदी तीन जनालाई प्रतिव्यक्ति ८, ८ डलर प्रदान गरियो । यसका निर्णाक गोपाल रेग्मी, गीता खत्री, विमला निरौला हुनुहुन्थ्यो ।

सो अवसरमा १० वर्षकी प्रिया सुवेदीले लेखेको पुस्तक SUPER GAL को लागि र १४ वर्षकी कृति ज्ञवालीको पुस्तक Poems my heart को लागि सम्मानित गरिएको थियो ।

कार्यक्रममा अनेसासको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्वन्धित व्यक्तिहरुबाट जवाफ दिइएको थियो । शान्त र शिष्टरुपमा संचालित कार्यक्रममा वनभोज र भलिवल खेलले युवा, वाल, वृद्ध लगायत सबैमा उत्साह थपेको थियो ।

दोश्रो सत्रको कार्यक्रमको सन्चालन भीम प्रसाद रेग्मी, बासु श्रेष्ठ र नारायण अधिकारीबाट भएको थियो ।








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम