पदयात्रा पारखीहरूका लागि खुशीको खबर! सिन्धुपाल्चोक र दोलखाका मनोरम ग्रामीण क्षेत्रलाई समेटिएको गौरीशङ्कर पदमार्ग ७ देखि २० दिनसम्मको पदयात्राका लागि उपयुक्त हुनेगरी तयार गरिएको छ। गौरीशङ्कर हिमाल, च्छो-रोल्पा हिमताल, रोल्वालिङ उपत्यका, थुप्रै गुम्बा, मठमन्दिर र नदीनाला हुँदै अघि बढ्ने यो पदमार्गमा थामी, शेर्पा र तामाङ जातिको जनजीवन तथा संस्कृतिको अवलोकन गर्न सकिन्छ। समुन्द्री सतहदेखि एकहजार मिटरको सिंगटी बजारदेखि ५ हजार ३१० मिटरको यालुङ्ला पाससम्म पुग्ने यो मार्गमा पहाड, उपत्यका, गल्छी, झ्रना, खर्क र जैविक विविधताले यात्रुहरूलाई बेग्लै आनन्द दिन्छन्।
गौरीशङ्कर पदयात्रा राजधानी काठमाडौंबाट एक-डेढ सय किमी पूर्वमा पर्ने दोलखाको रातामाटे र सिंगटी वा सिन्धुपाल्चोकको बाह्रबिसेबाट शुरु गर्न सकिन्छ। सिन्धुपाल्चोकको कर्थली र घोर्थली तथा दोलखाको विगु, चिलंखा, लादुक, बुलुङ, 'राङ, लामाबगर, गौरीशङ्कर, खारे, सुरी, लामिडाँडा र सुनखानी गाविसहुँदै भीमेश्वर नगरपालिकाको दोलखा बजारसम्म फैलिएको गौरीशङ्कर पदयात्रा मार्गमा २४ वटा ग्रामीण बस्ती पर्छन्। गौरीशङ्कर पदमार्गमा पर्यटन पूर्वाधार विकास गर्न सन् १९९७ देखि अष्ट्रियन गैरसरकारी संस्था ईको हिमालले सञ्चालन गर्दै आएको रोल्वालिङ्ग पर्यावरणीय पर्यटन विकास परियोजनाका कारण गाउँमा बस्न-खान दुःख छैन। हरेक पाँच-छ घण्टाको दूरीमा ७ वटा सुविधायुक्त सामुदायिक लज र अन्य १४ ठाउँमा क्याम्पसाइट भेटिन्छन्। ईको हिमालले बनाइदिएको लज र क्याम्पसाइटबाट गाउँबासीले आगन्तुकहरूको सेवासँगै गाउँको विकास गर्न पाएका छन्।
सामुदायिक लजहरूमा सुत्न एकरातको रु.३० देखि १०० र खान एकछाकको रु.५० देखि १५० खर्च लाग्छ। खानामा ढिँडो, सिस्नो, सागपात, तरकारी, लोकल कुखुराजस्ता स्थानीय उत्पादनका परिकारहरू हुन्छन्। अर्डर दिएर आफूलाई मन पर्ने खानेकुरा खान पनि पाइन्छ। सबै लजमा सौर्य बिजुलीसँगै तातो-चिसो पानी आउने बाथरुम र सफासुग्घर शौचालय छन्। लजहरू गाउँ नजिकैका उच्च स्थानमा वरपरको दृश्यावलोकन गर्न सकिने गरी निर्माण गरिएका छन्। कतिपय ठाउँमा साँझ्पख स्थानीय बासिन्दाहरूको सांस्कृतिक कार्यक्रम र नाचगान हेर्न पनि पाइन्छ। सात दिनमा यो क्षेत्रको राम्रो पदयात्राको आनन्द लिन सकिन्छ।
पुग्ने कसरी?
बाह्रबिसेबाट यात्रा थाल्दा शुरुमै लामो उकालो चढ्नुपर्ने भएकाले चरिकोटबाट थालेर बाह्रबिसेमा टुङ्ग्याउनु बेस हुन्छ। सार्वजनिक यातायातमा काठमाडौंबाट रु.२५० देखि २८० मा पाँच घण्टाको यात्रा गरेर १३३ किमी पूर्वको दोलखा सदरमुकाम चरिकोट पुगेपछि सिंगटीसम्म बसमै जान थप दुई घण्टा र रु.१०० खर्च गर्नुपर्छ। तामाकोशी र भोटेकोशीको सङ्गमस्थल सिंगटी यस क्षेत्रकोे व्यापारिक केन्द्र बन्दै गएको छ।
सिंगटी नपुग्दै डाँडामाथिबाट गौरीशङ्कर हिमालको मनमोहक दर्शन पाइन्छ। सिंगटीमा रु.५० देखि १०० मा सुत्न पाइने आधा दर्जन निजी लजहरू छन्। एक रात यो बजारमा बिताएपछि भोटेकोशीमाथिको झ्ोलुङ्गे पुल तरेर तीनदेखि ६ घण्टा लाग्ने पारि लामिडाँडाबाट लादोकको तेर्सो उकालो चढ्नुपर्छ। लादोकमा सामुदायिक लजमा मज्जाले तातो पानीले नुहाएर थकान मेट्दै बाँकी समय गाउँ घुमेर बिताउन सकिन्छ। लादोकमात्र होइन, यहाँबाट पाँच घण्टा 'रालो हिँडेपछि आइपुग्ने अर्को गाउँ लोटिङमा पनि गाउँले खाना र स्थानीय सांस्कृतिक कार्यक्रमको आनन्द उठाउन सकिन्छ।
लोटिङबाट तीनदेखि पाँच घण्टाको आधा तेर्सो र आधा उकालो बाटो हिँडेपछि ३,००० मिटरको उचाइमा रहेको विगु गाउँ आइपुग्छ। शेर्पा, थामी, तामाङ जातिको बाहुल्य रहेको विगुमा ७५ वर्ष पुरानो तासी छेमे गुम्बाले सबैको ध्यान तान्छ, जहाँ आनीहरूको छुट्टै संसार छ। अग्लो पहराको फेदीस्थित गुम्बामा अहिले ५५ जना आनी ध्यान, पूजापाठमा मग्न छन्। यो गुम्बाको चौघेरामा १७ वर्षको उमेरमा आनी बनेकी ६५ वर्षीया सेटाप वाङ्मोदेखि यसै साता आनी बनेकी १० वर्षीया सोनामसम्म छन्। गौरीशङ्कर हिमालको फेदमा चिसो कुइरो र आत्मिक बादलका बीच बसेकी आनी वाङ्मो भन्छिन्, “आफ्नो मनको शान्ति र घर गृहस्थीको झ्न्झ्टबाट मुक्त हुन हामी यहाँ आएका हौँ।”
प्रवेशः चरिकोट
यातायातः पैदल, बस
बासः होटल, सामुदायिक लज
अवधिः ७―२० दिन
आकर्षणः जैविक विविधता, झरना र खर्क
उचित मौसम असोज- वैशाख
खर्चः रु.२५००-रु.९००० सम्म
उचाइः ५३१० मिटर (अधिकतम)
विगुबाट केही परको थामी गाउँमा आलम्फुको स्लेट खानी छ, केही समय यो खानी हेर्न पनि सकिन्छ। विगुमा चौथो दिन बिताएर भोलिपल्ट सिन्धुपलाञ्चोकको दोलंसासम्म पुग्न केही बढी, मज्जैले हिँड्नेलाई पनि ६ घण्टा लाग्छ। बाटाभरि मनमोहक जङ्गल, चौँरीगोठ, आकर्षक झ्रनाले तानिरहन्छन्। यो यात्रामा ३३१९ मिटरको थिङसांगला भञ्ज्याङ पार गर्नुपर्दछ। भञ्ज्याङ पुगेर 'ह्रालो र्झ्नुअघि मौसम खुलेको बेला देखिने गौरीशङ्कर र लाङटाङ हिमशृङ्खला अवलोकन गर्न चुक्नु हुँदैन।
थिङसांगलामा केहीबेर बसेर 'ह्रालो लागेपछि ढुङ्गाका खुट्किलो भएको बाटोले बीचका केही भाग छाडेर बाह्रबिसेसम्मै साथ दिन्छ। यात्राको पाँचौँ बिसौनी शेर्पाहरूको वस्ती दोलंसामा पनि सामुदायिक लज र गाउँलेहरूको न्यानो स्वागत तथा मीठो भोजन र निन्द्रा पाइन्छ। भोलिपल्ट बिहानै उठेर दक्षिणतर्फको फाँटको मनमोहक दृश्य र लज नजिकैको कान्लामा निर्मित गुम्बा र त्यसमा टाँगिएका ध्वजापताकाले आनन्दको अनुभूति दिन्छन्।
दोलंसाबाट तीन घण्टाको दूरीमा कर्थली सामुदायिक लज पुगिन्छ। कर्थलीमा बस्ने हो भने यात्रामा एक दिन थपिन्छ। नभए हिँडेर तीन घण्टामा बाह्रबिसे र त्यहाँबाट गाडीमा तीन घण्टामा काठमाडौं नै पुगिने हुनाले समय छ भने बाटो लाग्न सकिन्छ। दोलंसाबाट बाह्रबिसेसम्मको यात्रामा गाउँका मानिसहरू शेर्पा गाउँमा मकैसँग आलु साटेर फर्कन भारी बोकेर मास्तिर लागिरहेका भेटिन्छन्। कर्थलीबाट बाह्रबिसे झ्रेपछि पाँच रात ६ दिनको गौरीशङ्कर हिमालको सेरोफेरोमा रहेका गाउँहरूको पदयात्रा पूरा हुन्छ।
- मेचीकाली