काठमाडौँ। प्रत्येक वर्षको माघ १ गते पर्ने मकर सङ्क्रान्तिबाट सूर्य उत्तरायण हुने भएकाले यो पर्व विशेष गरेर सूर्यको गतिसँग सम्बन्धित रहेको पाइन्छ । सृष्टिको आरम्भकालदेखि नै मकर सङ्क्रान्तिको प्रचलन रहेको खगोलविद्हरुको विश्वास रहेका छन् ।
मकर सङ्क्रान्तिका दिनबाट असार मसान्तसम्म सूर्य उत्तरायण हुने भएकाले यस अवधिभर देवकार्यलाई प्रधान मानिने र त्यसपछि छ महिनासम्म दक्षिणायण हुने समयमा पितृ कार्य प्रधान मानिने वैद्धिक मत रहेको छ ।
मकर सङ्क्रान्तिलाई नेपालमा माघे सङ्क्रान्तिका रूपमा विभिन्न जाति र समुदायले मनाए पनि थारु जातिले यसलाई ठूलो चाडका रूपमा माघी पर्व भनेर मनाउने परम्परा रहिआएको छ ।
संस्कृतिविद् डा ऋषिप्रसाद शर्माले मकर सङ्क्रान्ति अर्थात् माघे सङ्क्रान्तिका दिन सूर्य एक राशिदेखि अर्को राशिमा प्रवेश गर्ने भन्दै त्यस दिन सूर्य दक्षिण कर्कट राशिमा बसेर उत्तरतर्फ फर्की मकर राशिमा प्रवेश गर्ने बताउनुभयो ।
उहाँले सङ्क्रान्ति शब्दको सामान्य अर्थ एउटा ठाउँबाट अर्को ठाउँमा गएर मिल्नु हुने भए पनि मकर सङ्क्रान्ति भनेर परापूर्वकालदेखि नै मनाइने गरेको बताउनुभयो ।
यो समयमा स्नान गरेर शरीरमा तेल लगाएमा विभिन्न रोगव्याधीबाट मुक्त भई स्फूर्त रहने भएकाले नयाँ र सकारात्मक सोचको विकास हुने र यो दिन विभिन्न कन्दमूललगायत उखुको रस, तिलको लड्डुलगायतका प्रोटिनयुक्त वस्तु सेवन गरेर शरीरलाई स्वस्थ बनाउन सकिने मान्यताका साथ सबैले सो कार्य गर्ने गर्दछन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय बौद्ध अध्ययन विभागका प्रमुख डा मिलन शाक्यले माघे सङ्क्रान्तिदेखिको सूर्यको किरण तेजिलो भएर घाम पारिलो हँुदै जाने, यो एक महिनाको समयावधिभरमा विभिन्न धार्मिक गतिविधिलगायत अन्य पूजा व्रत गरी अनुष्ठान गरिने प्रचलन रहेको र यो समयमा मानिसको मृत्यु भएमा सदगति प्राप्त भई मोक्ष प्राप्त हुने वैद्धिक धर्मावलम्बीहरुको विश्वास रहेको बताउनुभयो ।
उहाँले मकर सङ्क्रान्तिका दिनबाट सूर्य मकर राशिमा प्रवेश गरी त्यसै दिनदेखि प्रकाशको अन्धकारमाथि र घामको शीतमाथि विजययात्रा आरम्भ हुन्ो भएकाले यसै दिनबाट रातको अवधि लामो दिनको अवधि छोटो भई सूर्यको उत्तरायणकाल प्रारम्भ हुने भन्नुभयो ।
महाभारत युद्धका चर्चित तथा तत्कालीन हस्तीनापुरका ज्येष्ठ योद्धा भीष्मपितामहले सूर्य उत्तरायण भएपछिमात्र वीरगति प्राप्त गरेबाट पनि यो पर्व अत्यधिक पुण्यदायक भएको विश्वास गरिन्छ ।
यस दिन जीवन र स्वास्थ्यदायक सूर्य, वायु र जलदेवताको पूजाका साथै अखण्ड सुख शौभाग्य, धनधान्य र सन्तति प्राप्तिका लागि कृष्ण र यशोदाको पूजा गर्ने चलन पनि छ ।
नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने करिब ४० लाख थारुले यस दिन मकर सङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउने र यसै दिन गाउँको संरक्षकसम्म चुन्ने प्रचलन रहिआएको छ ।
थारु माघी महोत्सव मूल आयोजक समितिका सदस्य एवम् समाजसेवी मिनराज चौधरीले थरुहट तराईका थारुहरुले मकर सङ्क्रान्तिलाई विशेषगरी माघीडेवानी भन्ने गरेको भए पनि यो मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व र थारु सभ्यतासँग जोडिएको बताउनुभयो ।
थारुहरुले माघी सङ्क्रान्तिको अघिल्लो दिन घरघरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिन भनिने र मासु, ढिकरी -पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीसहित खानपिन गरी रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन रहेको पाइन्छ ।
यस पर्वलाई थारुहरु स्वतन्त्रता दिवस, गतवर्षको व्यवहार समीक्षा र आगामी वर्षको योजना बनाउने, मान्यजनसँग आशीर्वाद लिने पर्वका रूपमा मनाइने उहाँले बताउनुभयो ।
विसं २०५९ मा सरकारले माघीमा थारु कर्मचारीलाई सार्वजनिक बिदाको व्यवस्था गरेपछि थरुहट सबै क्षेत्रमा माघीपर्व महोत्सवका रुपमा मनाइन थालेको र यस पर्वलाई थारु समुदायमा आफ्नो बारेमा निर्णय लिन स्वतन्त्र हुने पर्वका रुपमा उनीहरुले लिएका छन् ।