पुर्कोट तनहुँ, धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको तनहुँ जिल्लाको पुर्कोेट अवस्थित थानदेवी माईको मन्दिर आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
जिल्लाको विकट स्थानमा रहेको यो मन्दिरको सम्बद्र्धनमा स्थानीय राजनीतिक नेताहरुको पनि खासै चासो नहुँदा धार्मिक महिमा ठूलो हुँदाहँुदै पनि बत्ती मुनिको अध्याँरोको अवस्थामा रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
करिब १८ औँ शताब्दीतिर तिब्बतको भोटबाट मानिसहरु जाडो छल्नका लागि सो स्थानमा आउने गरेको र एक पटक जाडोछल्न आउँदा एक भोटे जातिका आमा र छोरी पनि आएका र जाडोपछि अरु फर्केर जादाँ पनि उनीहरु नगएपछि त्यहाँ ठूलो आँधीबेहरी आई ती आमाछोरी त्यँही अलप भएको भन्ने किम्बदन्ती प्रचलित छ ।
उनीहरु अलप भएकै रात त्यहाँका बासिन्दा जमानिसंह पाटामगरको सपनामा ुहामी गाउँलेको रक्षार्थ आएका हौं हामीलाई प्रत्येक महिनाको पहिलो मङ्गलबार कोरा पूजा गर्नुु भनेकालॆ भोलिपल्ट गाउँ सबैले त्यस ठाउँमा खनेर हेर्दा ठूलो र सानो गरी दुईवटा शिला भेट्टाएको जनविश्व्ाास छ ।
ती शिला भेट्टाएको बेलादेखि त्यसस्थानमा मन्दिर बनाई प्रत्येक महिनाको पहिलो मङ्गलबार पूजा गर्ने प्रचलन बसेको स्थानीय पाकाहरु बताउँछन् ।
सो मन्दिरमा भाकल गरेमा सम्पूर्ण भाकल पूरा हुने जनविश्वास रहिआएको स्थानीय बासिन्दाको भनाइ छ ।
सो मन्दिरमा आफूले गरेको भाकल पूरा भएपछि एक सय आठहात लामो बाबियाँको डोरीमा फूलको माला उनेर अघिल्लो दिन सोमबार सत्यनारायणको पूजा लगाई सो मालालाई डोलीमा राखेर मन्दिरमा बाजागाजासहित लैजानुपर्ने परम्परा रहिआएको पूजारी रामानन्द मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो मन्दिरमा विभिन्न स्थानबाट भाकल गर्न आउने र भाकल पूरा भएपछि डोली लिएर आउने गरेका छन् ।
गण्डकी लुम्बिनी बाग्मती र नारायणी अाचलबाट अत्यधिक मात्रामा डोली लिएर आउने गरेको बताउँदै पुजारी मगरले थानदेवी माईको विश्वास देशभर फैलाउन सके धार्मिक पर्यटनको राम्रो गन्तव्यस्थल हुन सक्ने जानकारी दिनुभयो ।
आफ्नो भाकल पूरा भएपछि डोली लिएर सो मन्दिरमा पुगेका स्थानीय बासिन्दा आसबहादुर गोदारले आफू आर्मीको जागिरे भएको र जागीरका क्रममा शान्ति सेनामा जाने अवसर पाएको भन्दै शान्तिसेनाबाट राम्रोकाम गरी सकुशल घर फर्कन पाउँ भनी गरेको भाकल पूरा भएपछि डोली लिएर आएको बताए ।
फूल राखेर ल्याएको डोली फूलचढाएपछि रित्तै लान नहुने परम्परा भएकाले आठ वर्ष ननाघेकी कन्यालाई सो डोलीमा राखी आफ्नो घरतर्फ लानुपर्ने यहाँ परम्परा छ ।
गोदार मात्र हैन उनीजस्तै आफ्नो भाकल पूरा भएर डोली चढाउन आउनेहरुको सङ्ख्या प्रत्येक महिनाको पहिलो मङ्गलबार करिब डेढ सय नाघ्ने गरेको थानीमाई व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष पदमबहादुर िसंजालीले बताउनुभयो ।
उहाँले डोली लिएर आउनेहरुका लागि व्यवस्थापन समितिले रु १०० भन्दा माथिको टिकट काट्नुपर्ने नियम रहेको बताउनुभयो । टिकटबाट एक महिनामा करिव रु ५० हजार हुने भएकाले यसबाट आएको रकम एक भाग पुजारीलाई एक भाग त्यहाँ रहेको थानदेवी माध्यमिक विद्यालयलाई र बाँकी दुई भाग मन्दिर व्यवस्थापनको लागि राखिने गरेको अध्यक्ष िसंजालीले बताउनुभयो ।
त्यसैगरी मन्दिरको प्रचारप्रसारमा लागेका स्थानीय समाजसेवी हर्कबहादुर थापा मगरले अहिले पर्यटन वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकेमा थानदेवीको मन्दिर मात्र नभएर सो क्षेत्रलाई नै पर्यटकीय गन्तव्य क्षेत्र बनाउन सकिने धारणा राख्नुभयो ।
यो क्षेत्रको अर्को आकर्षण सूर्योदय हो । भक्तपुरको नगरकोटबाट भन्दा प्रष्ट रुपमा यहाँबाट सूर्योदय देख्न सकिने भएकाले प्राकृतिक सुन्दरताको मनोरम दृष्य हेरेर जुनसुकै पर्यटक पनि रमाउन सक्ने विश्वास थापामगरले व्यक्त गर्नुभयो ।
उहाँको कुरालाई समर्थन गर्दै चेलीमाया मगरले यहाँ मगरजातिको सांस्कृतिक परम्परालाई समेत सुक्ष्म रुपले अध्ययन गर्न सकिने भएकाले पर्यटकीय दृष्टिकोणमा यो क्षेत्र निक्कै राम्रो हुन सक्ने बताउनुभयो ।
उहाँले पिउने पानीको समस्याले यस क्षेत्रका बासिन्दाहरुलाई मुख्यरुपमा पिरोलेकाले यहाँ होमस्टे साचालन गर्न नसकेको गुनासो गर्नुभयो ।
स्थानीय बासिन्दा सावित्री थापाले देशमा भइरहेको राजनीतिक खिचातानीले तनहुँको यो रमणीय गाउँलाई पनि छोएको बताउँदै पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि विभिन्न राजनीतिक दलहरुको मतभेदकै कारण कठिन भइरहेको प्रतिकि्रया दिनुभयो ।
थानदेवीको धार्मिक महत्वका साथै त्यस क्षेत्रको प्राकृतिक आकर्षणबारे प्रचारप्रसारमा जोड दिने हो र त्यसै अनुरुप भौतिक पूर्वाधारको विकास गर्दै लाने हो भने तनहुँको पुर्कोट पर्यटकीय गन्तव्यस्थल हुनेमा दुईमत छैन ।
यसवर्ष नेपालले पर्यटन वर्षका रुपमा मनाइरहेको छ । यो पर्वलाई नै छोपेर यस्ता ऐतिहासिक धार्मिक एवं पर्यटकीय महत्व बोकेका महत्वपूर्ण स्थलहरुको विकासमा पनि ध्यान पुर् याउन सकिए यसले स्थानीय जनतालाई मात्र नभई मुलुकलाई नै फाइदा पुग्ने छ । रासस आलेख सम्पादनः श्रीरामिसंह बस्नेत
------