Online Nepali Literature Forum
   

Users Online : 16
| More
अक्षरको आकार:   - | +
समाचार
प्रख्यात कथा चौथो भाग विमोचित - [2011-08-23]

काठमाडौं, २०६८ भदौ ३
पत्रकार व्याकुल पाठकद्वारा सम्पादित ‘प्रख्यात नेपाली कथा’ खण्ड ४ को विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला र वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईले शनिबार संयुक्त रूपमा गर्नुभएको छ ।

एनसेल नेपाली साहित्य मेला झम्सिखेलमा आयोजित कार्यक्रममा विमोचित कथासंग्रहबारे मन्तव्य राख्दै प्रा. राजेन्द्र सुवेदीले कुनै पनि संग्रह गुणस्तरीय हुनका लागि लेखक, सम्पादक र प्रकाशकको त्रिकोणात्मक सम्बन्ध उत्तम हुनुपर्ने चर्चा गर्नुभयो । उहाँले प्रख्यात नेपाली कथा शृंखलामा यो सम्बन्ध राम्रो देखिएकोले हरेक दृष्टिकोणले संग्रह स्तरीय भएको चर्चा गर्नुभयो । समालोचक सुवेदीले पुस्तकमा संगृहीत कथाहरू आधुनिक शैलीका रहेको व्याख्या गर्दै कथा छनोट गर्न सक्ने यही खुबीले सम्पादक पाठकलाई ‘स्रष्टा सम्पादक’ का रूपमा परिचित गराउँदै लगेको उल्लेख गर्नुभयो ।
अर्का समालोचक डा. ज्ञानू पाण्डेले प्रख्यात नेपाली कथामा हरेक किसिमले समावेशी मान्यता अनुसरण गरिए पनि कथाको स्तरमा सम्पादकले कन्जुस्याइँ नगरेको बताउनुभयो । उहाँले यो कथाको शृंखला पूरा भएपछि समसामयिक नेपाली कथाको कालजयी दस्तावेज बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईले आपूmले पनि धेरै वर्षअघि यस्तै खालको सामयिक संकलन गर्दाको दुःख स्मरण गर्दै भन्नुभयो– ‘साहित्यिक पुस्तक सम्पादन गर्नु भनेको निकै कठिन काम हो । यस्तो कठिन काममा हात हालेर चार खण्डसम्म प्रकाशित गराउनु र अन्य खण्डको तयारी गरिरहनु सह्राहनीय छ ।’ उहाँले प्रख्यात नेपाली कथाशृंखला हरेक नेपालीको घर घरमा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

राईले अहिलेका कथामा कथातत्व हराउँदै गएको चर्चा पनि गर्नुभयो । भन्नुभयो– ‘दर्शन, मनोविज्ञानलगायत पक्षहरू अहिले कथाको काँधमा चढेका छन्, कथातत्वचाहिँ थिचिएको छ । कथातत्व हाबी भएका वास्तविक कथा लेख्नुपर्ने आवश्यकता देखिन थालेको छ ।’

प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले काइँलाले बजारमा उपलब्ध विभिन्न स्वादका कथाहरूमध्येबाट उत्कृष्ट चयन गरी समसामयिकतालाई समेत ध्यानमा राखी पाठकीय रुचिअनुसार पस्कने प्रयास गर्नु आफैंमा चुनौतीपूर्ण रहेको बताउनु भयो उहाँले समकालीन कथा र कथाकारबारे निरन्तर रूपमा गहन अध्ययन गरेर सन्तुलित संग्रह सम्पादन गरिरहेकोमा सम्पादक पाठकलाई बधाई र धन्यवाद दिंदै यो यात्रा जारी राख्न शुभकामना दिनुभयो ।

पुस्तकका सम्पादक व्याकुल पाठकले अहिलेको युगको कथा दस्तावेज तयार पार्ने र साहित्यप्रति आम पाठकको रुचि बढाउने उद्देश्यले कथा शृंखलाको शुरुवात गरिएको र यसको दसौं शृंखलासम्मको योजना बनिसकेको जानकारी गराउनुभयो । पाठकको सम्पादनमा यसअघि ‘प्रख्यात नेपाली कथा’ को तीन खण्डसम्म प्रकाशित भइसकेका छन् ।

कार्यक्रममा सम्पादक पाठकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष्य राधेश्याम लेकालीले सम्मान पनि गर्नुभएको थियो ।








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम