काठमाडौं, २०६८ भदौ ३
साहित्यकार एवं पत्रकारद्वय व्याकुल पाठक र मणि लोहनीलाई यस वर्षको युवावर्ष मोती पुरस्कारबाट सम्मानित गरिने भएको छ ।
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको पुण्य स्मृतिमा राष्ट्रिय युवासेवा कोषद्वारा २०४२ सालमा स्थापना गरी प्रत्येक वर्ष प्रदान गरिदै आएको पुरस्कारको राशि ४० हजार नगद र स्वर्ण पदक सहित प्रदान गरिने भएको छ ।
नेपाली भाषा साहित्यको सिर्जनाका साथै यसको श्रीवृद्धिका निमित्त विभिन्न क्रियाकलाप र गतिविधि संचालन गरी योगदान दिदैआएवापत कदरस्वरुप पाठक र लोहनीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।
सो निर्णय युवावर्ष मोती पुरस्कार छनौट समितिका अध्यक्ष एवं वरिष्ठ सहित्यकार प्रा.डा.चूडामणि बन्धुको अध्यक्षतामा शुक्रबार बसेको वैठकले गरेको कोषका अध्यक्ष्य भीमबहादुर अधिकारीद्वारा विज्ञप्तिमा जनाइएको छ ।