Online Nepali Literature Forum
   

Users Online : 18
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
तराईमा मात्र सीमित छैन छठ पर्व (हिमांशु चौधरी) - [2011-11-01]

शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

पहिला तराई तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै आएको छ । यसै वास्तविकतालाई दृष्टिगत गरी सरकारले छठ पर्वमा अब देशभर नै सार्वजनिक बिदा दिन थालेको छ ।


जीवनदायी शक्ति सूर्य देवता र छठी माताको आराधना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । सबैका समान श्रद्धाको यो छठ पर्व एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्श स्थापित गर्दछ, यहाँका जलाशयहरूले ।

जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रूपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । नगरको बीच भागमा रहेका यी पोखरीहरूमा प्रत्येक वर्ष ६ देखि १५ हजार छठैतिन र छठका व्रतालुले छठ पर्व गर्ने गरेको अनुमान छ ।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवम् चर्मरोग निको हुने जनविश्वास छ । ज्योतिषशास्त्रका आधारमा छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारी समेत मानिएको छ ।

छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी व्रत, सूर्य षष्ठी पर्व, रविषष्ठी व्रत र छठी पर्व उल्लेख छ ।

छठका अवसरमा मैथिल कन्याहरूद्वारा प्रसादका सामग्री बोकी कुनै नदी वा तलाऊसम्म जाने बेला गाइने लोकगीतमा दीनानाथ र छठीमायालाई सम्बोधन गरिएको हुन्छ ।

यसको अभिप्राय हो– दीनानाथ अर्थात् सूर्यदेव, छठीमाया अर्थात् षष्ठीका देवी दुवैको छठ पर्वमा पूजा हुन्छ । संस्कृतिविद् डा. राजेन्द्र विमल यस पर्वको वैदिक नाम सूर्य षष्ठी रहेको बताउनुहुन्छ ।

यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीको देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौणरूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एक अर्काका पूरक हुन्छ र एउटाको पूजा गर्दा दुवैका भागमा हुन्छ । त्यस्तै सूर्य+षष्ठी सूर्यषष्ठी पूजा पनि हुन्छ ।

सूर्यको पूजा गर्दा षष्ठीका देवी अर्थात् छठमाताको र छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुन्छ । षष्ठीका देवीलाई अह्लादिका शक्तिका रूपमा गौणपूजा हुन जान्छ भन्ने डा. विमलको तर्क छ ।

साहित्यकार डा. रेवतीरमणलाल षष्ठीका दिन बेलुकी अस्ताउन थालेको सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ तथा सप्तमीको उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्नुहुन्छ । षष्ठीका देवीलाई कार्तिकेयकी पत्नी मानिन्छ र षष्ठी देवीलाई प्रकृतिको छैटौं अंश र देवसेना पनि भनिन्छ ।

पौराणिक ग्रन्थहरूमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकाले षष्ठीलाई छठमाता र सप्तमीलाई सूर्य (रवि) मानिन्छ । षष्ठी र सूर्य गरी सात अंश बनेकै कारणले मानव जीवनमा सात अङ्कको अधिक महत्व रहेको छ ।

साताको सात दिन, सूर्यदेवको रथमा सात घोडा, सात समुद्र, सात अजुवा, सङ्गीतको सात सुर आदि कुरा सूर्यसँगको कथासँग सम्बन्धित रहेको पुष्टि हुन्छ । यस पर्वमा व्रतालुहरूको आस्था र कठोरतालाई लोकगीत मार्फत यसरी व्यक्त गर्ने गरिएको छ–


केरा जे फरल घडरमे ओहयिर सुगा मंडराय
मारको रे सुगवा धनुष से सुगा गिरे मुरुझाय
सुगनी जे कानति वियोगसँ दीनानाथ होयब सहाय

छठपूजाका लागि राखिएको केरालाई जुठो नपार, नत्र सुगा धनुष वाणले हान्छु र तिमी मर्छौ भने तिम्रो सुगनी (दुलही) रुन्छे, हे दीनानाथ सोको पाप मलाई नलागोस् भनी सूर्यदेवलाई कामना गरिएको गीतको भावले पनि यस पर्वमा चढाइने कुनै पनि कुरा स्वच्छ र पवित्र हुनुपर्दछ भन्नेतर्फ इङ्गित गर्दछ ।

सूर्य पुराणमा वर्णित कथा अनुसार कात्तिक शुल्क षष्ठीका दिन हुने छठ पर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसुयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ ।

द्वापर युगको महाभारत कालमा पाण्डवहरू अज्ञातवासमा हुँदा द्रोपदीले आफूहरूको अज्ञातवास सफल होस् भन्ने कामनाका साथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ ।

ऋग्वेदमा ‘आदित्यो वै तेज ओजो बलं, यशश्चक्षः श्रोय आत्मामनः’ उल्लेख छ, जसको अभिप्राय आदित्यमण्डलको अन्त्यःस्थित सूर्यदेव अधिक प्रेरक, अन्तर्यामी परमात्मा स्वरूप छ तथा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन हो ।

श्रापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गर्नुभएकाले नै त्यहीं देखि सूर्यको आराधना सुरु भएको मत पनि पाइन्छ । यस पर्वको विधि चतुर्थीदेखि नै सुरु हुन्छ । चतुर्थीका दिन व्रतालुले शुद्ध शाकाहारी भोजन गर्ने गर्छन्, जसलाई ‘अरबा–¬अरबाइन’ र ‘नहा खाय’ अर्थात् नुहाएर खानु भनिन्छ ।

पञ्चमीका दिन गोबरले घर¬आँगन लिपपोत गरी पवित्र भइ दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इ्रत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन् । यसलाई खरना भनिन्छ ।

षष्ठीका दिन गहुँको पीठो र चामलको पीठोबाट क्रमशः ठकुआ र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुभन्दा अगावै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ । प्रसादका रूपमा ठकुआ, कसार, केरा, उखु, मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिस विभिन्न खाद्य वनस्पति पनि राखिन्छ ।

सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुयती, नाङ्लो, माटोका कुरबाट सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाको किनारमा गई सबैथोक सजाएर राखिन्छ ।

व्रत बस्नेहरू कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन् । सप्तमीका दिन बिहान उषाकालमा व्रतालुहरूले पुनः अघिल्लो दिनको क्रम दोहो¥याउँछन् । सूर्यदेवलाई अर्घ दिंदा परिवारका सदस्यहरूले गाईको दूध चढाउँछन् । ‘हुँ सूर्या यै नमः, ॐ भास्करयै नमः’ को मन्त्रोचारण गरी व्रतालुहरूले सूर्यको आराधना गर्ने गरेको पाइन्छ ।

यो पर्व मुस्लिम धर्मावलम्बीहरूले पनि मनाउन थालेको देखिन्छ । यसले धार्मिक सहिष्णुतामा समेत थप बल पु¥याएको छ । यो पर्व तराईका प्रायः सबै ठाउँमा मनाइने गरेको पाइन्छ भने पछिल्ला वर्षाहरूमा राजधानी काठमाडौँ लगायत तराई बाहेकका अन्य ठाउँहरूमा पनि सङ्घसंस्थाहरूको सहयोगमा छठ पर्व मनाउने क्रमको विकास हुँदै गएको छ ।

प्राज्ञ रमेश रञ्जन छठ आस्थाको पर्व भए पनि यो पर्व प्रकृति पूजासँग सम्बन्धित पर्व पनि हो भन्नुहुन्छ । छठ पर्वमा बाँसको काम गर्ने, माटोको काम गर्ने, कृषि उत्पादनमा लाग्नेजस्ता श्रमलाई उपयोग गरिएको देखिन्छ ।

बाँसका सामग्रीमा अर्घ दिएपछि वंश वृद्धि, केरामा भगवान विष्णुको बासजस्ता धार्मिक आस्था र पूजा सामग्रीका रूपमा श्रमलाई दिइएको महत्वले यो पर्वको विशिष्टता झल्काउँछ ।

- रासस


फोटो: तराईको महान पर्व छठका लागि बत्तिको साजसज्जाबाट साँझ बेहुलीको मुहार झैं धपक्क बलेको वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरी परिसर । यो परिसरको साजसज्जाको लागि समितिले करिव १२ लाख रुपैयाँ खर्च गरेको छ ।

फोटो: शंकर आचार्य/ईकान्तिपुर








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम