आज पुन एक दशक भन्दा पनि अगावको याद आयो मलाई । जुन समयमा माध्यमिक तह
सम्मको अध्ययन आफ्नै निजि स्थानमा पुरा गरि सकेपछि असिमित टुक्रा–टुक्री सपनाहरु च्यापेर नया वस्ती, नया परिवेश सगैँ अध्ययनलाई नै निरन्तरता दिने क्रममा पुन धरानको महेन्द बहुमुखी क्याम्पस वाट नया यात्रा चाल्नु पर्ने भयो । हुनसक्छ नया मान्छे भएर क्यारा म भित्र धेरै कौतुहलताहरु जागिरहयो । सोचिरहेँ, म जस्तै हजारौ सपना बोकेका यो क्याम्पसकोः प्राङ्गण भित्र सम्भवत अरुहरु पनि त धेरै होला । सौभाग्य वा सन्जोग हो । अचानक एक सह–मित्र सँग क्याम्पस प्रवेश ढोका नजिकै भेट भयो । परिचय भयो । थाहै नभई म पाँचथर नवमी डाँडा गाँउ बाट आएको हुँ भनि आफ्नो ठेगाना खोलाएको मात्र के थिएँ , साथी अलमल्ल परिरहनु भा थ्यो । ‘कुन नवमी डाँडा ?’ साथी को निर्दोश सोधाइले सोचमग्न मात्र के हो र ! मलाई त हुन सम्मको फसाद पो भयो । ‘ के मेरो गाँउको जस्तो नाम अन्य ठाँउमा पनि रहेछ त ?’ जे होस परिचय गरियो । साथी भइयो । सगैँ कक्षामा प्रवेश गरियो । तर मलाइ भने साथीको गम्भिर सोधाइले सताइनै रहयो ।
कल्पनाको सानिध्यमा पुन म मेरो पान्थर लिम्बुवान भुमि फर्केँ । उहि पञ्चमी, रानीटार, अमरपुर, सिङ्गापुर,सप्तमी, जोरसाल आदि–आदि । ‘ओहो ! थाहै नभई कोठामा पो पुगिएछु ।’ नजिक मेरो हजुरबा हुनुहुन्थ्यो । ‘ पाचँथर भरिमा नवमी डाँडा गाँउको नाम कहाँ–कहाँ रहेछ बाजे ?’ खै नानी ! हाल नामहरु फेरिएको होला ! अहिलेको मलाई थाहा भएन । हाम्रो नवमी डाँडा पनि त पहिला ‘अम्लावुङ’ थियो नी । मलाई मेरो स्वर्गिय बाबाले एक दिन देखाउनु भएको कागच–पत्रहरुको याद पो आयो । उहाँ पनि त पञ्चायती कालमा उप–प्रधानपञ्च भएरै क्यारा दरााजमा धेरै फाइलहरु ह्ुन्थ्यो । फाइल भित्र ‘अम्लावुङ गाँउ पञ्चायत’ लेखिएको हुन्थ्यो । हजुरबाको कुरा ठिकै पनि हो । तर अहिले ‘‘नवमी डाँडा’’ वनाइया छ । के आफ्नो गाँउको नाम यसरी परिर्वतन पनि गर्न पाइन्दो रहेछ त ? म भित्र कौतुहलताको प्रश्नहरु बर्सिन थाल्यो । यो बिडम्वना मेरो गाँउको मात्र हो कि ? अन्य पनि ! मैले एक पल्ट पुन पान्थर भुमिलाई स्मरण गराएँ । उहि फिदिम, सामदिन, चोकमागु ओयाम आदि–आदि । हुनसक्छ, म धेरै जिज्ञासुक नाति भएर क्यारा ! एक दिन मेरो सोधाइको जवाफमा हजुरबाले माथि उल्लेखित ठाँउहरुको नाम ठ्याक्कै उचारण गर्न नसकी फेःतेन, सामःतेन,चोकमाःतेन र अनयेमःतेन भन्नु भएको शब्दको पो याद आयो । भनिन्छ, पान्थर लिम्बुवान भुमि हो । धेरै वर्ष अघि यहाँ लिम्बु भाषाको अधिपत्य हुनमा कुनै दुई मत नहोला । त्यसैले हालको भौगोलीक बनावट र हजुरवाको उचारणलाई तुलना गर्दा ठिकै पनि होला । लिम्बु भाषामा (फेः) भनेको फिजिएको (सम्म), र (तेनः) भनेको ठाँउ हो । (सामः) भनेको विसाएको (तेनः) भनेको ठाँउ हो । त्यसै गरि अन्य नामहरु पनि त यसरी नै नामाकरण गरिएको हुनसक्छ । तर क्रमस भाषा उचारणमा फेरवदल भई, जसरी ‘फेःतेन’ लाई ‘फिदिम’ बनाइए जस्तै अन्य नाामहरु पनि फेरबदल हुन्दै गयो होला । जुन नामहरु आज हामीले प्रयोगमा ल्याएका छौँ । तर कहाँको ‘अम्लावुङ’ कहाँको ‘नवमी डाँडा’ यो त आकाश र पताल कै फरक भयो नि ! होइन र ? के यो समस्या मेरो ‘अम्लावुङ’ को मात्र हो कि ? अन्यको पनि ! पुन मलाई झँल्यास भयो, येहाङ लावती दाज्युद्धारा बि.स २०६२ सालमा लिखित ‘‘ आदिवासी लिम्बु जातिको संक्षिप्त परिचय’’ किताव, जहाँ आङवुङलाई ‘अमरपुर’, माक्लुङवालाई ‘रानीटार’, नाम्भुनयकलाई ‘सिलौटी’ बनाइएका आदि घटनाहरु ।
आः यस्ता सानातिना कुराहरुमा के टाउको दुखाएको ? आखिर इतिहाँसमा पनि त हिजो विजय नारायण मोरङको राजा(हाङ) भए पछि लिम्बुहरुको आस्था भूमिलाई आफ्नो नामवाट ‘ विजयपुर’ राखिएको त ईमान सिं चेम्जोङको (किरात इतिहाँस १९४८) मा उल्लेख भइसक्या छ नि । त्यसो भए अम्लावुङमा पनि त ‘नवमी’ नाम गरेको राजाले राज्य गरेको हुनु प¥थ्यो तर त्यो पनि थाहा छैना । नवमी बजार चाँहि लाग्ने गर्छ है ! त्यसो भए बजार लागेकै कारण नवमी नाम राख्या भए जहाँ–जहाँ नवमी बजार लाग्छ त्यो सवै ठाउँको नाम नवमी राखे भइहाल्थ्यो
नि ।
ठिकै छ, नवमी नै नाम राखिएछ । आखिर नाम त एक सम्वोधन् न हो । के वित्या छ र ? तर खै किन हो कुन्नी ! एक दिन तेजमान आङदेम्वे ज्यु लाइडन विश्वविद्यालयमा अध्ययनरत हुँदा अन्तराष्ट्रिय सम्मेलनको लागि उहाँ भर्जिनिया बिश्वविद्यालयमा जानुभएको रहेछ । परिचयको क्रममा आफु ‘तेजमान आङदेम्वे’ हुँ, भन्दा त्यहाँको गोरा प्रफेसरहरुले उहाँलाई नेपाली नभनी भारतिय आर्य मुलका भन्ठानेको घटनाहरु म सँग पोखाउनु भएको क्षण भने मेरो मन वाट कहिल्यै हट्न सकेन । आखिर नामै त पहिचान रहेछ नि । त्यसो भए पहिचान नै गुमाउने, इतिहाँसै वङ्ग्याउने, करामत जादुको छडि जस्तो के होला त ? कसरी आयो होला यस्तो शक्ति ? एक जना विदेशी विचारक हाइडेगरको भनाई ‘‘ शक्तिले सत्यलाई निर्धारण गर्छ ’’ भनेको कुरा पनि ठिकै हो कि क्या हो ? सुनेको थिएँ, ‘‘ मानव समाज भित्र हार–जितको प्रतिस्पर्धा हुन्छ अरे । जित्नेको इतिहाँस लेखिन्छ अरे,हार्नेको त नामै पो मेटिन्छ अरे ।’’ त्यसैले पो हो कि ? आखिर शक्तिवाला बृटिसले पनि त अठारौँ सताब्दी तिर भारत वर्षलाई उपनिवेश वनाए पछि ‘‘वृटिस इन्डिया’’ नाम राखिदियो नि । ए ! साचैँ कहाँ भारत मात्र हो र ? हाम्रै लिम्वुवान भुमि धनकुटा (भेडेटार) स्थीत अग्लो ढिस्कोलाई पनि त ‘र्चाल्सपइन्ट भ्यु टावर’ वनाइ दियो नि । विदेशीको अगाडी हाम्रो सरकार, प्रशासन र स्थानियताको के करामत चल्यो होला र ? त्यसैले त पशुपतिमा पनि भट्ट पुजारीको नियुक्ति गरिएको छ । शक्तिकै कमिले हुन सक्छ, ०५८ साल जेष्ठ १९ गतेको नारायणहिटी हत्याकाण्डको वास्ताविक्ता हाल सम्म पनि अन्योलमै रहनु । छ्या ! के–के सोचेको ? ए ! साचैँ, पल्लो किरात लिम्वुवान भुमि त लिम्बुहरुको आफ्नै ‘किपटीया’ (थातथलो) हो नि । हिजो त त्यहाँ आफ्नै शक्तिको वोलवाल पनि त थियो होला ! नवमी वजार उठेकै कारण ठाउँको नाम ‘नवमी’ राख्न पनि त ठिकै हो ।
तर त्यहाँको लिम्बुहरुले हिन्दु तिथि (नवमी) मा वजार नउठाई आफ्नै किराती लिम्वु तिथि मानौः लागम्वा, लाअम्वा, लारिङ्वा, लाजेप्पा आदि, अथवा नवमीको बदलामा ‘लाअम्वा’ को नाम वाट वजार उठाएर त्यसै बजारको नाम बाट आफ्नो ठाउँको न्वारन गरिदिए पनि के हुन्थ्यो होला र ? वा किराती सम्बतमा.........। किन खस हिन्दुहरुको तिथि र भाषा नितिको प्रयोग गर्नु पर्यो ? आखिरी इतिहासमै खोटो लगाउने गरी । म मनमनै सोचिरहेँ । आखिर यस्ता शक्तिवाला व्राह्मण हिन्दु (आर्य) हरुको आगमन कसरी ? कहाँ वाट भयो होला ? केहि वेर सोचेँ मनैमा (टुक्कर,१९५७) मा लेखिएको कुराको याद आयो । ‘यि हिन्दु आर्यहरु त तेह्रौँ सताव्दीमा मुसलमानले चितौर ध्वस्त गरे पछि हिन्दु धर्म रक्षाको लागि करर्णालीको किनार हुदैँ नेपाल पसेका मधेसीया सेनहरु हुन् अरे’ । यिनिहरु बिस्तारै नेपालमा अधिपत्य जमाउने क्रम संगै सुदुर पूर्वी पल्लो किरात लिम्बुवान भुमि सम्म नै आफ्ना प्रशासनीक मान्यता, भाषा, संस्कृतिहरु बिस्तार गरेका कुरा त डोर बहादुर बिष्टले पनि त ‘‘भाग्यवाद र विकास (Fatalism and development 1991)’’ मा उल्लेख गर्या छ । त्यसो भए पूर्व तर्फको विस्तार वादि हिन्दु (आर्य) हरुले पशिचम झन के बाँकि राख्थ्यो होला र ? यसरी नै हिन्दु/आर्य(व्राह्मण) हरुको अधिपत्य बढ्दै गयो होला । अझ राजा पृथ्वीनारायण शाहको ‘ एक जात, एक धर्म, एक भाषा निति’ ले त अन्य जातिलाई विस्थापित मात्र नगरेर सामान्य काम व्यवहार देखि लिएर प्रशासनीक क्षेत्रमा समेत एकै जातिको वाहुल्यता, एकै भाषाको मात्र वोलवाल हुने परिस्थितिहरु सृजना हुन्दै गयो होला । तिनै तत्कालिन राजाले चालिएका कदमहरुलाई अझ शसक्त बनाउन यहाँका भावी राज्यशत्ताधारीहरुले पनि नया–नया पोलिसीहरु निर्माण गर्दै गए होला । कालान्नतरमा आएर अझ राजा महेन्द्रको पाला पछि त झन कुटनितिक तरिकाले देखावटी समावेसी झैँ मन्त्रि मण्डलमा पनि विविध थोरबहुत आदिवासी जनजातिहरुलाई सामेल गराई (जहाँ लिम्बुलाई पनि समावेश गरिएको थियो) भाषामा पनि परिर्वतन गरि जसरी ‘हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष’ जस्ता नाराहरु लिई उहि राज्यको आन्तरीक अभियानलाई अझ सशक्त रुपमा अगाडि बढाइयो होला । जस्को परिणाममा एक जातिय,एक भाषियको बोलवाल हुन ठिकै पनि हो । सायद त्यसैले पो हो कि ? इलाम बरवोटेका भु पु. सैनिक लिम्वुहरु व्याक्तिगत स्वार्थको लागि पनि आफ्नो जिल्लाको प्रशासनीक कार्यमा कार्यरत उच्च जातिवल्ला वर्ग ज्युहरुको इष्ट बनेका, जुन एल. कप्लानले ‘‘भुमि र सामाजिक परिवर्तन Land and Social (change in east Nepal 1970)’’ मै उल्लेख गरिसक्या छ ।
आखिर कामको लागि पनि त उहाँहरुकै इष्ट बन्नु पर्ने । प्रशासनिक क्षेत्रमा पनि त उहाँहरुकै भाषा निति चाहिने । किनकि निति निर्माण सबै उहाँहरुकै दाइजो । हुन सक्छ राज्यको पोलिसिनै त्यहिँ हो कि ? त्यसैले अन्य भाषिक नितिहरुको बिस्थापित हुने क्रम पनि निरन्तर नै रहयो होला, सभंवत त्यसैको परिणमाम ! लिम्वुवान भुमि पान्थरको ‘ जोरपोखरी’ मा खस नेपाली भाषा उच्चारण असक्षम लिम्वुनी आमाहरु आफ्ना विदेशी छोराहरु संग मातृभाषामा टेलिफोन सम्र्पक गर्न खोजेको अवस्थामा त्यहाँका सैनिकहरुद्धारा सञ्चार माध्यम नै प्रतिरोध लगाई ति आमाहरु छोराहरु सँग विना सम्र्पक रुवाई संगै घर फर्केका दर्दनाक घटनाहरु हाङमा लावतीद्धारा सन २००४, ८, २० गते ‘ हिमालय टाइम्स’ मा लेखिएको थियो । त्यो घटना मैले पनि पढेको थिएँ । हुन त समय सापेक्षित सञ्चारको नियती दर्दानक पनि हुनसक्छ तत्कालिन समयमा देश जटिल मोडमा थियो । जोरपोखरीमा अवुझ भाषाको सञ्चारमा प्रतिरोध लाउन ठिकै पनि होला । तर अम्लावुङ त एउटा नाम न हो । परिवर्तन गरिनै हाल्नु पर्ने त थिएन होला ? तर व्याक्ति, समाज ,राष्ट्र माथिनै अप्ठ्यारो र असहज परिस्थितिहरु आए पछि त कस्को के जोर चल्छ होला र ? आखिर गाँउ मुलिहरुको पनि त केहि करामत चल्छ जस्तो लागेन । मुलि भए पछि त सवैको साझँेदार पो हुनुपर्छ,आदेशको पालना गर्नु पर्दछ किनकि उहाँहरुलाई पनि त आफन्त, प्रशासन र राष्ट्र चाहिन्छ, जसरी इलाम बरबोटे वासी भु.पु सैनिक लिम्बूहरु झैँ । तर फरक यति हो कि, नितान्त ब्यात्तिगत स्वार्थको लागि चाँहि कदापि होइन होला ! त्यसैले त क्षेत्र अभियानको सिलसिलामा हिजोको लिम्वुवानी ‘अम्लावुङ’ गाउँ पञ्चायत, गाउँ र्फक अभियान २०३१ सगैँ छिमेकी पञ्चायत ‘सुर्केनागी’ (आर्यहरुको वाहुल्यता रहेको ठाँउ) सँग हातेमालो गर्न ‘नवमी डाँडा’ गाँउ पञ्चायत बनाइयो होला । ठिकै छ, कुनै आपति छैन । भनिन्छ, ‘परिर्वतन नै विकास हो’ । आखिरी ‘अम्लावुङ’ लाई ‘नवमी डाँडामा परिवर्तन गराउन पनि त विकासको सङ्केत होइन र ? मेरो गाँउको विकासे नियतिलाई सलाम त गर्ने पर्ने हो, तर किन हो कुन्नी कवि उपेन्द्र सुब्बाको एक हरफ कविताले भने यो सलामी मन्लाई सधैँ अमिलो मात्र बनाइ रहयो । (‘‘हाऔ, लुङ्गा हो ! माङ्धाने कान्छिको झुम्के बुलाकी काठमण्डौ सहर छिर्दा त अप्ठ्यारो पो भयो रे,’’ फुकालेर पोल्टोमा राखेको त हराएको कान्छिलाई फुमै पो भएन रे)। साँचै सवैलाई अप्ठ्यारो र असहज मेरो ‘अम्लावुङ’ कान्छिको झुम्के बुलाकी झै हामीलाई फुमै नभई हराएर जाने पो हो कि ? एः लिम्वुवानी ‘आदाङ्मा’ए ओझेलिन लागेको मेरो ‘अम्लावुङ’ लाई जोगाई देऊ है । उदासिएको ‘नवमी डाँडा’ वनाएर होइन, जगमगिएको ‘अम्लारी फुङ’ वनाएर फुलाई देऊ है । सधैँ भरि म तिम्रो साथ पछ्याई रहने छु ।
सेवारो
हाल : कीर्तिपुर