लिम्बुवानको सम्बन्धमा संक्षिप्तमा केही कुराहरु:
बर्तमान दावी गरिएको लिम्बुवान भूमिको नाम समय अनुसार यस प्रकार रहेको थियो
१. याक्थुङ लाजेः जुनवेला आदि, अनादीकालबाट याक्थुङ जातिहरुको मात्र बसोवास थियो
२. लिम्बुवानः भेन्सिटार्ड र इमानसिंका अनुसार छैठौ शताब्दिको विद्रोह सफलता पछि लिम्वुवान लेख्ने सहमति भयो । दोस्रो – राजा पृथ्वी नारायण शाह संगको सम्झौता पत्र वि. स. १८३१ को लालमोहरमा पनि उल्लेख भएको पाइन्छ ।
३. पल्लो किरातः राणा शासनको बेलामा ३६ जिल्लामा विभाजन गरिएको बखत, राणाहरुको उदय वि. सं. १९०३ पश्चात
४. मेची, कोशिः अंचल विभाजन वि. सं. २०१७/१८ बाट
लिम्बुवान र लिम्बु
छैठौ शताब्दिका ८ याक्थुङ राजाहरुको विरुद्ध १० सरदार याक्थुङहरु लगायतको नेतृत्वमा विद्रोह भयो । धनुषकाँडको प्रयोगबाटै उक्त विशाल विद्रोह सफल भयो र त्यसपछि भेला भएर विजय गरेको क्षेत्रलाई लिम्बुवान भन्ने निर्णय भयो । ‘लि’ को अर्थ धनुष, ‘अम्बु’को अर्थ हानेर जितेको, ‘वान’ को अर्थ क्षेत्र हुने भएकोले लिम्बुवान नामाकरण गरियो र लिम्वुवान क्षेत्रमा बस्ने सवै जाति लिम्बु र लिम्बुवानवासी कहलाइए ।
सिमानाः
अरुण (अरङवा) पूर्व र हाल दार्जिलिङ र सिक्कममा पर्ने टिष्टा (तिवा) पश्चिमको भाग, दक्षिणमा जोगवनी देखि दक्षिण ६६ कि. मि. दुरिमा रहेको पूर्णिया जिल्लामा पर्ने जलालगढ र उत्तरमा भोट सम्म थियो । लिम्बुवानको बीचमा रहेको तम्मोर नदिलाई त्यसवेला ताम्वा भनिन्थ्यो ।
स्वायत्त राज्य
गोरखा र लिम्बुवान बीच १७ पटक सम्मको युद्धमा पनि हारजीत नभएपछि वि. सं. १८३१ मा लिम्बुवानको तर्फबाट कुम राय, सुन राय, जङ राय र गोरखाका राजा पृथ्वी नारायण शाह बीच ऐतिहासिक सन्धि (लालमोहर) गरेर लिम्बुवान पूर्ण स्वायत्त रहने गरि नेपालमा गाँभिएको थियो । उक्त सन्धि विजयपुर (धरान नजिक) दरबारमा भएको थियो । वि. सं. १९४५ सम्म काठमाडौमा लिम्बुवानको एकजना प्रतिनिधि रहने ब्यवस्था पनि थियो जसले दुतको काम गर्दथ्यो । वि. सं.२०२५ सालमा किपट प्रथाको कानुनमा परिवर्तन गरि क्रमशः अन्त्य गरियो ।
पद्वी र पहिचान
राय, राइ को अर्थ राजा पद्वी हो । यो पद्वी लिम्बुलाई पनि दिइन्थ्यो । लिम्बुले राय लेख्नु भन्दा पहिला याक्थुङ्वा लेख्दथे । लालमोहरहरुमा राय, राइ लिम्बुहरुलाई पनि प्रयोग गरेको पाइएकोले पद्वी हो भन्ने देखिन्छ । लिम्बुहरुलाई सुब्बा को पनि पद्वी दिइएको थियो र हाल पनि सुब्बा लेख्ने चलन छदैछ । सुब्बा पद्वी गुरुङ, थकालीहलाई पनि दिएको पाइन्छ । राइ (राजा) पद्वी खम्बुहरुले धेरै प्रचलनमा ल्याएकाले अन्ततः थरको रुपमा विकास भएको तर्क पाइन्छ । उनीहरुले पहिला खम्बु लेख्दथे आजकाल पनि लेख्दै आएका छन् । लिम्बुहरुले सुब्बा पदवी बढि प्रयोग गरेको भए थर नै सुब्बा हुनेथियो र गुरुङ, थकाली सुब्बाहरु पनि सुब्बा जाति कहलाउन सक्दथ्यो, अधिकाश लिम्बुले अहिले पनि सुब्बा लेख्ने गर्दछन् । एकै क्षेत्रमा बसोवास गर्ने खम्बु, लिम्बु, याख्खा, देवान, सुनुवार, जिरेल, सुरेल, धिमाल लगायतकाहरु गौरवशालि किरात सन्तति हुन् ।
कुन सघिय प्रणाली ?
गोरखा राज्यको एकात्मककरण अभियानमा अन्यहरुलाई पनि रुक्का, इस्तिहार, सनद, लालमोहर दिइएको पाइन्छ यद्यपी लिम्बुवानलाई दिइएको लालमोहर बिशेष र महत्वपूर्ण मानिन्छ । नेपालका धेरै भूभागहरु युद्धमा जितेर नेपालमा गाँभिएको भए पनि तिनीहरु युद्धपूर्व छुट्टै राज्य थिए र लिम्बुवान, मुस्ताङ लगायतको भूमिहरु सहमति र सम्झौताबाट नेपाल संग जोडिएकोले नेपालको संघिय प्रणाली युनियन ढाँचाको हुनु सान्दार्भिक देखिन्छ ।
- विश्वासदीप तिगेला
(येहाङ लावती ज्यूको सहयोगमा विश्वास दीपबाट प्रस्तुत)