भारतका मगध सम्राट् अशोक काठमाडौँ उपत्यका आएकामा इतिहासकारबीच विवाद छ । चौधौँ किराती राजा स्थुङ्कोको पालामा उनले उनकी छोरी चारुमतीलाई आफूसँगै ल्याई यहाँका क्षेत्रीय राजकुमार देवपालसँग विवाह गराई फर्केको कुरामा इतिहासकार डानियल राइटबाहेक अरूले शङ्का गरेका छन् ।
तथापि चारुमतीको नाममा दुई हजार तेइस सय वर्षअघि चाबहिलमा ‘चारुमती स्तूप’ बनेको कुरा नेपाली जनमानसमा स्थापित भइसकेको छ । सोही चारुमती स्तूपबारे चारुमती बुद्धिस्ट मिसन नेपालले बौद्धदर्शनका स्नातकोत्तर जुनुवासुकला रञ्जितकारलाई विश्लेषणात्मक अध्ययन गर्न लगाई प्रकाशन गरेको ‘२३सय वर्ष पुरानो ऐतिहासिक चारुमती स्तूप(विश्लेषणात्मक अध्ययन)’कृति(२०६८)ले राजा अशोक, चारुमती र चाबहिल र चारुमती स्तूपबारे अध्ययन गर्न चाहनेलाई इतिहास र पुरातत्वबारेका केही सामग्री पस्कने जमर्काे गरेको छ ।
चारुमती मिसनका अध्यक्ष भिक्षु तपस्सी धम्मको पहलमा विसं २०५९भदौ ६गते चर्केको चारुमती स्तुपको जीर्णाेद्धार २०६१मा सकिएको थियो । जीर्णाेद्धारका क्रममा ब्राह्मी र भुजिमोल लिपिमा ‘चारुवती थुप’ आदि लेखिएका इँटाहरू भेटिएपछि त्यतिबेला स्तूप राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा निकै चर्चामा आएको थियो ।
चारुमतीले मयजु विहार बनाएको र चारुमती विहारचाहिँ उनको मृत्युपछि उनको स्मृतिमा बनाइएको तर्क पनि कृतिमा दिइएको छ । चारुमती स्तूपका अशोक चैत्य, चाबहिल चैत्य, धनद्वय चैत्य, भगवान्स्थान आदि थुप्रै नाम रहेको उल्लेख गरिएको छ । कृतिमा सम्राट् अशोक र चारुमती, चाबहिल शब्दको व्युत्पति, स्तूप र स्तूप वरिपरिका अभिलेख, स्तूप जीर्णाेद्धारको इतिहास आदिबारे सचित्र चर्चा गरिएको छ । त्यस्तै स्तूपसँग सम्बन्धित मिथक, स्तूप वरिपरिका ३७ अभिलेख, अन्य १९स्तूप र पछिल्लो जीर्णाेद्धारका क्रममा धम्मले गर्नुभएको प्रयास सविस्तार वर्णन गरेर कृतिलाई अझ गहन बनाइएको छ ।
अनुसन्धानकर्ताले धन्द्व चैत्य जीर्णाेद्धार समिति सक्रिय हुनुपर्ने, सरकारीस्तरबाटै चारुमती स्तूप संरक्षण समिति गठन गरिनुपर्ने, स्तूपमा जथाभावी रङ पोत्ने र केरमेट गर्ने कार्य रोकिनुपर्ने सुझाव पनि दिनुभएको छ ।
नेपालका राष्ट्रपति डा रामवरण यादव र श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष, संस्कृतिविद् सत्यमोहन जोशी, लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा त्रिरत्न मानन्धर, नेपालका लागि भारतीय, जापानी र श्रीलङ्काली र थाइ राजदूतसमेतको शुभकामना मन्तव्य पाएको कृतिमा अध्यक्ष तपस्सी धम्मले स्तूपको ऐतिहासिकता हेरेर विश्व सम्पदा क्षेत्रमा समावेश गर्न युनेस्को लगायतका संस्थाको ध्यानकर्षण गराउनुभएको छ ।
स्तूप चर्कँदा विभिन्न सञ्चारमाध्यममा आएका समाचारको प्रस्तुति पत्रकार कुमार रञ्जितले दिनुभएको छ । यसबाट यसबारे थप अध्ययन गर्न सहयोग मिल्ने छ । रासस