Online Nepali Literature Forum
   

Users Online : 18
| More
अक्षरको आकार:   - | +
समाचार
नेपाली साहित्यमा सिक्किमेको योगदान ठूलो - [2012-03-30]

काठमाडौँ, १७ चैत । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषाको उच्च सम्मान र नेपाली साहित्यलाई विश्वभर चिनाउने काममा सिकिमका जनताको ठूलो योगदान रहेको बताउनुभएको छ ।

सार्क नेपाली सांस्कृतिक मैत्री सङ्घद्वारा आज यहाँ आयोजित सिक्किमका स्रष्टा सम्मान कार्यक्रममा राष्ट्रकवि घिमिरेले सिक्किममा नेपाली भाषा, नेपाली साहित्य, सङ्गीत तथा कलाको उन्नतिमा उल्लेखनीय प्रगति भएको छ भन्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले भाषा मुलुकको सम्पदा र सांस्कृतिक धरोहर भएको बताउँदै सिक्किम भारतको एउटा प्रान्त भइकन पनि त्यहाँका जनतामा नेपाली भाषा र नेपाली संस्कृति, संस्कारप्रति गहिरो लगाव रहेको उल्लेख गर्नुभयो ।

साहित्यकार मोदनाथ प्रश्रितले नेपाली भाषा विगत वर्षको तुलनामा कम बोल्न थालेको र विदेशी भाषालाई बढी मिश्रित गरेर बोल्न थालेको प्रति चिन्ता व्यक्त गर्दै हरेक क्षेत्रमा अङ्ग्रेजी भाषालाई प्राथमिकता दिन नहुने बताउनुभयो ।

सिक्किमका स्रष्टा सम्मानित व्यक्तित्व विजय वान्तवाले आफूहरूले नेपाललाई पूर्खाको थलोको रूपमा सम्झने गरेको चर्चा गर्दै साहित्य र सञ्चारको माध्यमबाट विश्वमा नेपाल र नेपाली साहित्यको विकासमा लागिपर्ने बताउनुभयो ।

साहित्यकार जगदीश घिमिरेले भारतबाट नेपाल भित्रिने कुनै पनि किताबलाई रोक नलाग्ने तर नेपाली साहित्यिक पत्रपत्रिकालाई भारतले रोक लगाउने गरेकोमा त्यसलाई साहित्यिक क्षेत्रबाट समाधान गर्न पहल थाल्नुपर्छ भन्नुभयो ।

सङ्घले केदार गुरुङ, डा. राजेन्द्र भण्डारी, भानुप्रकाश, चक्रपाणि भट्टराई, मोहन प्रधान, पुण्यप्रसाद शर्मा, टिबी चन्द्र सुब्बा, अमर बानियाँ, राज के श्रेष्ठ, विजय वान्तवा र प्रणय लामिछानेलाई ‘सार्क सांस्कृतिक सम्मान’ र सञ्चारकर्मी कविता शर्मा तथा विजय कटुवाललाई कदरपत्रसहित सम्मान गरेको थियो ।

सार्क नेपाली सांस्कृतिक सङ्घका अध्यक्ष महेश प्रसाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा मञ्जुल, अमर वानियाँ, विष्णु राई, श्रवण मुकारुङ, राजेन्द्र थापा, लक्ष्मी उप्रेतीलगायतले कविता वाचन गर्नुभएको थियो । रासस







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम