गीत गाउन मरहित्ते गर्ने धराने ठिटो दीपक लिम्बूका लागि एकल एल्बम निकाल्नु सजिलो थिएन । तर, राष्ट्रव्यापी गायन प्रतियोगिता 'नेपाली तारा' को उपाधि जितेपछि उनलाई अवसरका अनेकौँ ढोकाहरूले स्वागत गर्न थालेका छन् । देश-विदेशका स्टेजमा आफ्नो पकड बनाइसकेपछिको यस माहोलमा उनको पहिलो एल्बम निस्किएको छ, नेपाली तारा ।
यस एल्बमले स्टेजमा अरुको गीत गाउनुपर्ने मेरो बाध्यतालाई हटाइदिनेछ, दीपक भन्छन्, "मलाई चिनाउने र मेरो ट्रेडमार्क हुनसक्ने गीत यस एल्बमबाट जन्मिन सक्छ ।" मलेसिया र सिङ्गापुर जाने तरखरमा रहेका दीपक यसपालिचाहिँ अरूको गीतको ट्रयाक लिएर जाने पक्षमा छैनन् । अब उनीसँग आफ्नै गीत पुग्दा भइसकेका छन् ।
नेपाली तारा बनेपछि पुरस्कारस्वरूप दीपकलाई नीलबाराही प्रोडक्सन र स्टुडियो फोरले यो एल्बम तयार पारिदएका हुन् । एल्बमको वितरण जिम्मा भने सुरतालले लिएको छ । यस एल्बममा शब्द र सङ्गीत छान्ने काम निर्माण समूहले नै गरेका हुन् । तर, दीपकको आप\mनै डिजाइनको पहिलो एल्बम भने यो होइन । उनले यसबाट रोयल्टी पनि पाउने छैनन् । तैपनि, उनी भन्छन्, "निर्माताहरूको संयोजनप्रति म सन्तुष्ट छु ।
पहिलो नेपाली तारा को गायनशैली कुन दिशातिर उन्मुख छ । यो एल्बम सुन्दा थाहा पाइन्छ । यसमा पपगीत पनि छन् । तर, उनी आधुनिक गीतको दुनियाँमा रम्न चाहन्छन् । आधुनिक गीत त चल्दैन नि ! भन्ने प्रश्नमा उनको प्रतिक्रिया छ, नराम्रो गीत कुनै पनि चल्दैन, राम्रो गीत जुनै पनि चल्छ । तर, एल्बमको बिक्रीसँग गीतको स्तरीयताले त्यति सरोकार राख्दैन ।
सधैँ 'नेपाली तारा' भनेर गमक्क पर्ने मनसाय उनको छैन । उनी आफूलाई केही समयभित्रै गायकका रूपमा स्थापित भएको हेर्ने पक्षमा छन् । उनलाई विश्वास छ, उनको यस चाहनाको कदर पहिलो एल्बमले गरििदनेछ । आगामी एल्बमका लागि केही कम्पनीका प्रस्ताव आइरहेको बताउने दीपक दृढता व्यक्त गर्छन्, निरन्तर एल्बम निकालेर र साथीभाइका सल्लाह मानेर गायक भइछाड्नेछु ।
- नेपाल साताहिकबाट