मिलन देवान अनेसामं स्मृति पुरस्कार वितरण
धनकुटाका युवा स्रष्टा राजेश राई यस वर्षको मिलन देवान अनलाइन साहित्य मञ्च स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन्।
गत मंसिर २९ गते राजधानीमा आयोजित एक विशेष कार्यक्रममा राईलाई दश हजार रुपैयाँ राशीसहितको उक्त पुरस्कार बरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईले प्रदान गर्नुभएको हो ।
सोही कार्यक्रममा लिम्बु भाषाका साहित्यकार सेसेमी से नाल्बो र नेपाली भाषातर्फका तनहुँमा रहेर साहित्य सिर्जना गरिरहेका युवा स्रष्टा अर्जुन अधिकारीलाई पाँच/पाँच हजारसहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै बरिष्ठ समालोचक डा. भट्टराईले पछिल्लो पुस्तामा आशलाग्दो ढंगले साइबर साहित्य फस्टाएको उल्लेख गर्दै यसमा अनलाइन नेपाली साहित्य मञ्च बेलायतलगायतका अनलाइन र संघसंस्थाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अनलाइनका बारेमा स्नातकोत्तर तहका शोधार्थीमध्ये दुई जनाले अनलाइनका विषयमा अनुसन्धान गर्ने निर्णय भएको जानकारीसमेत दिनुभयो।
कार्यक्रममा बेलायतमा रहेर नेपाली साहित्य सिर्जनामा लागिरहनु भएका विश्वासदीप तिगेलाले अनलाइन नेपाली साहित्य मञ्च स्थापनाको उद्देश्य, हालसम्म गरेका क्रियाकलाप र भावी योजनाबारे उल्लेख गर्नुभएको थियो भने नाटककार तथा सभासद हरिराज तिगेला लिम्बु, साहित्यकार रमेश पौडेल र अमर तुम्याहाँगले पनि बोल्नु भएको थियो । ।
|