पुस्तक समीक्षा: कवि र कविताका छवि दुर्गालाल श्रेष्ठ
काठमाडौँ, १८ भदौ: लेखक आर. मानन्धरले स्नातकोत्तर अध्ययन गर्ने सिलसिलामा राष्ट्रिय प्रतिभा जनकवि दुर्गालालको व्यक्तित्व र उहाँको साहित्यिक योगदानमाथि शोध गर्नुभयो र पछि त्यही शोधपत्रलाई पुस्तकाकार दिनुभयो । प्रस्तुत पुस्तकमा लेखक मानन्धरले जनकवि दुर्गालालको जन्म र जन्मघरदेखिका घतलाग्दा घटनाक्रमलाई एक एक गर्दै उन्ने प्रयास गर्नुभएको छ । गरिबी र विभेदविरुद्ध आजपर्यन्त कलम चलाइआउनुभएको छ जनकविले ।
कवि दुर्गालालको सिर्जनामा निहित उहाँकै निजी भोगाइ र सङ्घर्षपूर्ण आरोहअवरोह मात्र हैन, त्यसबेलाको सामाजिक परिवेश र बेथितिलाई पनि लेखकले सक्दो उधिन्ने प्रयास प्रस्तुत पुस्तकमा गर्नुभएको छ । गीत, कविता, गीति नाटक लेखेर नथाक्नुभएका कवि दुर्गालालले जीवनको उत्तरार्धतिर ‘फूलको आँखामा फूलै संसार’ गीत पस्केर सम्यक दृष्टिबाट संसारलाई हेर्ने र सुधार आफैंँदेखि थाल्ने सन्देश समाजलाई दिनुभयो र यही रचनाले उहाँलाई देशभित्र मात्रै हैन परदेशका नेपाली समुदायमाझ पनि एक लोकप्रिय कविका रुपमा प्रसिद्धि दिलाउन सक्यो ।
असन न्हाय्कँत्वाःको एक सानो घरमा १९९२ सालमा श्रेष्ठ दम्पतीको तेस्रो सन्तानका रुपमा कोमल हृदयका रुन्चे (ख्वबिलु) दुर्गालाल जन्मिनुभयो । साँघुरो गल्लीबाट छिर्नुपर्ने, घाम नपर्ने त्यस होचो घरभित्र बस्नेले दुर्गन्ध र लामखुट्टेको टोकाइ पनि सहनुपथ्र्यो । हातमुख जोर्ने समस्या हुँदा हुँदै पनि आफ्नै घरसँग सटिएको अर्को घर किन्ने जुन अवसर आएको थियो, त्यसलाई उपयोग गर्न केही रुपैयाँ क्रृण लिँदा त्यही साहुको कपटले श्रेष्ठ दम्पती उल्टै बेघर हुन पुग्यो । घर नै त्यागेर हिँड्नुपर्ने नौबत आएपछि झ्यालबाट एक सानो सन्दुक झार्नु थियो । त्यही क्रममा एकाएक डोरी चुँडिएर सन्दुकले गर्भवतीका पेटमा थिचिन पुग्दाको चोटले असमयमै जन्मिन पुग्नुभएको रहेछ दुर्गालाल ।
आमाकै शब्दमा यो कारुणिक घटनाको नालीबेली सुन्नुभएका कवि दुर्गालालका मस्तिष्कमा साहुकारप्रतिको घृणा र आक्रोश भित्रैसम्म गढेर बसेको यो पुस्तक पढ्दा थाहा लाग्छ । यही विस्मयकारी घटनाको चित्रण गर्दै कविले आफ्नो हुर्काइमा मातृवात्सल्य मात्र हैन शोषण मोचनको तात्पर्य पनि लुकेको बताएर आफूभित्रको दमित विद्रोहलाई प्रकट गर्नुभएको छ । त्यसो त लेखकले सोझोपनाको फाइदा उठाएर हुनेखानेले आफ्नै अपराधबाट बच्न निर्दोष बुबालाई अनाहकमा जेल जाकिदिएको घटनाप्रति पनि बुवाकै तस्बिरमुनि ‘आफ्नो मनमा आगो छ’ भनी मनभित्रको उकुसमुकुस पोखेर राखेको प्रसङ्गलाई पुस्तकमा समेटेर त्यस बेलाको विसङ्गतिपूर्ण समाजको झल्को दिनुभएको छ, जुन घटना कवि जन्मिनुअघिको थियो ।
नौ–दश वर्षकै उमेरदेखि उहाँले कविता लेख्न सुरु गर्नुभयो । राति अँध्यारामा चुरोटको बट्टामा शब्दहरू कोर्न थाल्नुभएका उहाँले किशोरवयकै अवस्थामा ‘प्रेम, जीवन र अन्धकार’ नाटक लेख्नुभयो । चियाएर पनि नाटक हेर्न नदिएको घटनाले रन्थनिनुभएका दुर्गालालले जोसै जोसमा साथीभाइसामु नाटक लेख्ने जिम्मा लिनुभएको घटनालाई लेखक मानन्धरले ११–१२ वर्ष उमेर हुँदा भएको भन्नुभएको छ । टोल टोलमा डबली नाटक मञ्चन गर्ने होड चलेको त्यसताका उहाँ नाटक लेख्ने, खेल्ने र खेल्न सिकाउने काममै समर्पित भएर लाग्नुभयो । नाटक लेखन चाहिँ उहाँले नेपाल भाषामा मात्रै लेख्नुभएको खुलासा लेखकले गर्नुभएको छ । गीत र कविताका सशक्त कवि प्रतिभा विस्तारै गीति नाटकतर्फ मोडियो । उहाँका बुद्धकालीन घटनामा आधारित ‘निमन्त्रणा’ जस्ता गीतिनाटक दर्शकले औधी रुचाएर २५ दिनसम्म लगातार चलेपछि दबाब दिएर बन्द गर्न लगाइएको त्यस बेलाको राज्यको वक्रदृष्टिलाई पनि लेखकले कोट्ट्याउन खोज्नुभएको छ ।
नेपाल भाषामा एकाङ्की नाटक लेखिदिनुप¥यो भनेर माग्न आउनेहरूलाई उहाँले लेखेर हैन मुखले ओकल्दै शब्द टिपाउनुहुँदोरहेछ भन्ने कुरा पढ्दा अहिलेको पुस्तालाई अपत्यारिलो लाग्न सक्छ । शिक्षण पेसाबाट परिवारको गुजारा चलाउने उहाँले प्रारम्भिक दिनमा बालबालिकासँग लहसिँदै बालगीत र बालकविताहरू लेख्न थाल्नुभयो । ती धेरैजसो क्रृतुपर्वमा काठमाडौँ उपत्यकामा गाइने गीतका लयमा रचिएका हुन्थे र पात्रहरू अनौठा हुन्थे, यसका दृष्टान्तमा लेखकले कतिपय पात्रलाई पनि उभ्याउनुभएको छ । उहाँका बालगीतलाई विद्यार्थीले यत्ति धेरै मन पराए कि उनीहरूलाई ती गीत कण्ठस्थै हुन्थ्यो । यसबारेका रमाइला प्रसङ्ग पुस्तकमा परेका छन् ।
छाउनीको दरबार कलेज पढ्दाताका नजिकैका खेतमा एक महिला किसानले नेपाल भाषामा गीत गाएको उहाँले सुन्नुभयो । आफ्नै शब्दको त्यो गीत सुनेर उहाँ दङ्ग मात्र पर्नुभएन आफैंँप्रति ती महिला आकर्षित भएको ठान्न पुग्नुभयो । प्रेम र विरहका धेरै गीत लेख्ने कवि दुर्गालालसामु उपस्थित हुने यस्तै यस्तै संयोगले नै होला, त्यही खेतको एक छाप्रामा बसेर पहिलो चोटि उहाँले युगल गीत रच्नुभयो । कविको लेखनीय प्रवीणतालाई उजिल्याउँदै लेखक मानन्धरले पुस्तकमा यस प्रसङ्गलाई अघि सार्नुभएको छ ।
शिक्षक आन्दोलन होस् वा भाषा आन्दोलन, उहाँको सहभागिता टुट्दैनथ्यो । विरोधमा उत्रेकाहरूले थुप्रै पटक पक्राउ खानुप¥यो, प्रशासनका नजरबाट बच्न भागी भागी हिँड्नुप¥यो । पुस्तक पढ्दै जाँदा उहाँ आफूलाई एउटा उपेक्षित भाषाका लागि सङ्र्घषरत आन्दोलनको एक सिपाही ठान्नु हँुदोरहेछ र मातृभाषा अपहेलित हुँदा बेला बेला रुँदोरहेछ भन्ने प्रसङ्गहरुले जनकविको वास्तविक व्यक्तित्व उजागर गर्न सकेका छन् । रेडियो नेपालबाट नेपाल भाषामा प्रसारण हुने ‘जीवन दबू’ कार्यक्रम २०२२ सालमा हठात् बन्द गरिएपछि त्यसका विरोधमा लहर उठ्यो । ‘एक व्यक्ति पुुज्नु मै’ भनेर तत्कालीन शासकविरुद्ध औँला ठड्याउँदै कविता वाचन गर्दा प्रशासनको कोपभाजनमा पर्नुभएका उहाँले एक महिनासम्म साँखुमा भूमिगत जीवन बिताउनुभएको रहेछ । भाषिक दमनविरुद्ध रचिएको ‘घाः जुया जक ख्वैगु खः झी स्याःगुलिं सः तैगु खः’ भन्ने बोलको गीत त्यतिखेर हुने साहित्यिक जमघटमा व्यापक रुपमा गाइएको प्रसङ्ग हामी पुस्तक पढेर थाहा पाउँछौंँ ।
सर्वोच्च अदालतले २०५६ सालमा स्थानीय निकायमा नेपालीबाहेक अन्य भाषा प्रयोग गर्न बन्देज लगाउँदै फैसला सुनाएपछि सो गीत एफएम रेडियोहरूबाट अत्यधिक मात्रामा प्रसारण भएको सन्दर्भलाई पनि लेखकले यहीँनेर जोड्न खोज्नुभएको छ । लोकतान्त्रिक व्यवस्थामै पनि अदालतबाट फेरि भाषिक अधिकार हनन भएको विडम्बनापूर्ण घटनाका विरोधमा फैसला सुनाइएको दिन ती ती समुदायले हरेक वर्ष कालो दिवस मनाइआएको धेरैलाई थाहा भएकै विषय हो । लेखकले ती दुवै घटनालाई एकै ठाउँमा राखेर हेर्न खोज्नुभएको छ । आफ्नो भाषाको उन्नयनका लागि तनमनले समर्पित कवि दुर्गालालकै शब्दहरूलाई प्रस्तुत पुस्तकमा यसरी उद्धरण गरिएको छ, “अरु भाषामा लेख्दा अभ्यासले मात्र म समर्थ हुन्छु तर मातृभाषा लेख्न बस्दा कलममा मेरो रगत बगेजस्तो अनुभव हुन्छ ।” त्यसो भएर भन्नैपर्ने हुन्छ, विशेषतः उहाँका नेपाल भाषाका सिर्जनाहरू आवेगमा हैन, यथार्थ धरातलमा टेकेरै लेखिएका छन् र त जीवित छन् ।
निरङ्कुशतामाथि तिखो प्रहार गर्दै जनजागृतिको बिगुल फुक्ने उहाँ दरबारबाट दलमाथिको प्रतिबन्ध फुकुवा भएको भोलिपल्ट २०४६ साल चैत २७ गते टँुडिखेलमा कविता सुनाउन पुग्नुभयो, आखिर उहाँ परिवर्तनको हिमायती हुनुहुन्छ नै । कोमल हृदयका कवि दुर्गालालले आँसुबाट आगो निकाल्ने मन्त्रणा कम्युनिस्ट नेताहरूबाट पाउनुभएको प्रसङ्ग पुस्तकमा परेको छ । प्रगतिशील देखाउने होडमा जोसै जोसमा थुप्रै कविता लेखे पनि शब्दाडम्बरले ती रसहीन भएको भेउ धेरै पछि मात्रै पाएको कविको स्वीकारोक्ति पुस्तकमा भेटिन्छ । उहाँले लेखेको गीत २०१५ सालको चुनावमा कम्युनिस्ट नेता पुष्पलालको चुनावी गीत नै बनेको रहेछ ।
‘भाषिक र जातीय विभेदका पीडा र आक्रोश पोखिएका रचना अन्य भाषामा अनुवाद नभएर पनि होला, उहाँका त्यस्ता रचनाबाट अन्य भाषाभाषी अपरिचित छन् तर, ती तिख्खर जातीय आवाज हुन् पीडित मनको अन्तरबाट प्रस्फुटित’ भनेर मूल्याङ्कन गर्न चाहने लेखक मानन्धरले यसै अभावलाई ख्यालमा राख्दै लेखककै विशेष अनुरोधमा त्यस्ता केही रचना कवि स्वयंलाई अनुवाद गर्न लगाएर पुस्तकमा प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ जुन धेरै मानेमा सही जँच्छ ।
“आवाज थुनिए पनि भाषा थुनिन्न मार्ने कसको के तागत ?” भनेर हुँकार गर्ने उहाँ भने स्वच्छन्दवादी कविका रूपमा नेपाली समाजमा परिचित हुनुहुन्छ । उहाँ गीतमा जमेका र गीति नाटकमा निखे्रका कवि हुनुहुन्छ । उहाँले कविता कोर्नुलाई ‘कुरेर बस्दा नआउने अनपेक्षित अप्रत्याशित रुपमा झुल्किने प्रेमिका’को संज्ञा दिनुभएको पुस्तकमा पढ्न पाइन्छ । असी नाघेपछि लेख्दै गर्दाको मसी गाढा भएको महसुस उहाँलाई भयो । यसो भनेर उहाँले आफ्नो सिर्जना अरू बढी छिप्पिएको सन्देश दिन खोज्नुभएको हो भनेर सहजै बुझ्न सकिन्छ ।
पुस्तकको सुरुकै खण्डमा प्रख्यात हास्यकलाकार मदनकृष्ण श्रेष्ठले कवि दुर्गालालले लेख्नुभएको गीत गाएर २०२६ सालमा प्रथम पुरस्कार पाएको खुलासा गर्नुभएको छ । राष्ट्रिय एकताको सन्देश बोकेको ‘सय थरी बाजा एउटै ताल’ गीत ‘१५ गते’ नामक टेलिचलचित्रका लागि लेखिदिएर लगाउनुभएको गुनलाई पनि उहाँले स्मरण गर्नुभएको छ । कतिपय साहित्यकार तथा लेखकहरुबाट विभिन्न अवसरमा जनकविसँगको सामीप्यता र सहकार्यलाई लिएर दिइएका अभिव्यक्तिहरुलाई लेखकले पुस्तकको अन्ततिर पस्कनु भएको छ । निश्चय पनि यसले कविको व्यक्तित्व र कृतित्व अरु निखार्न मद्दत पुगेको छ ।
पुस्तकमा घटना विवरण रोचक ढङ्गले पस्किएको छ । पुस्तकमा एकातिर कन्या मन्दिर माविका प्रधानाध्यापक केदारनाथ न्यौपानेको भाषाप्रतिको श्रद्धा र प्रेम देखापर्छ भने अर्कातिर नेपाली समाजको रूपान्तरण चाहने मङ्गलमान र मोती गुर्जु जस्ता विद्रोही पात्रको कथा भेटिन्छ । अनौठो विवाह शीर्षकमा वर्णित कविको बिहेको प्रसङ्गले पाठकलाई झस्काउँछ । वाक्य छोटा छोटा र सरल छन् । परिच्छेदैपिच्छे राखिएका शीर्षक स्वयं नै चखिला लाग्छन् । एक कविको मार्मिक जीवन गाथा र त्यसलाई शब्द संयोजन गरेर आफ्नै सिर्जनाभित्र जीवन्तता दिन खोज्ने उही कविका भेटिएसम्मका रचनाहरूलाई सकेसम्म नछुटाई जस्ताको तस्तै उतार्ने लेखक मानन्धरको प्रयास सराहनीय छ भन्दा अतिशयोक्ति ठहरिँदैन । पुस्तक २४ परिच्छेद र २०० पृष्ठमा फैलिएको छ । एडुकेशनल पब्लिशिंग हाउसद्वारा प्रकाशित यस पुस्तकको मोल भने राखिएको छैन ।